हिमाल होचिन मान्दै मान्दैन
तराई भन्छ –
“ऊ मात्रै चुलिने ?”
उसो त नदी पनि उर्लिन नचाहेको होइन,
तर धरती ?
धरतीको लागि त तीनै तत्त्व समान छन्
कसलाई लाखा गरोस्, कसलाई पाखा गरोस् ?
हो,
हिमाल उँचिनुमा गर्व छ, ईज्जत छ
धरती चाहन्छ,
“आफ्नो हिमाल सगरमाथै होस्,
न कि कुनै झ्यास-झुसे हिउँको थुप्रो !”
अनि,
“हिमालय झैं दिनानुदिन अग्लिँदै जाओस् ।”
सगरमाथा बनाउन सके त तैबिसेक,
नत्र तराई कराइहाल्छ ।
तराई भन्छ –
“म फलाउँछु, म फुलाउँछु, म पाल्छु;
मेरो परिचय खै ?”
हो तराईबिना
घरमा माड पाक्तैन,
टुस्स बस्ने ठाउँ मिल्दैन
टुस्स बस्ने समय मिल्दैन ।
तर टुस्स बसेर मात्रै त मन थामिन्न ।
धरतीलाई केही बेर पौडिन मन लाग्छ ।
तराई नदीलाई सौता सम्झिन्छ
किनभने नदीले धरतीलाई रसाउँछ, रुझाउँछ, हरियाली दिलाउँछ
तराई सम्झन्छ,
“सबै भेलहरू बाढी हुन्,
सबै वर्षा प्रकोप हुन्,
पानीका हर पिण्ड आफूलाई विस्थापित गर्ने रुप हुन् ।”
यता नदी !
ऊ विवश छ
ऊ सहनशील छ
तराईलाई रसिलो पार्ने आफैं भए पनि
उसलाई थाहा छ – ऊ धरतीको लागि पहिलो प्राथमिकता बन्नै सक्तैन,
ऊ तराईको हठ र व्यस्तताबिच
ऊ हिमालको महत्त्वकांक्षाबिच
लुकी चोरी समय निकाली,
आफ्नो अस्तित्व खोज्छ ।
धरतीलाई सबैको चाहना टार्नु छ
हिमाल र तराईको अन्तरसंघर्षको बाबजुद
थोरै भए पनि नदीको ईच्छा परिपूर्ति गर्न चाहन्छ,
यी तीनको बिचमा पावर ब्यालेन्स र पावर सेयरिङमै उसलाई हम्य छ ।
धरतीलाई थाहा छ,
यो अन्तर्द्वन्द्व र द्विविधामा
ऊ नाइल र मिसिसिपी त के
गंगा र सिन्धु समेत जन्माउन सक्तैन
ऊ नाइल र मिसिसिपीको भेलको परिकल्पना गर्दै
फुर्चे खोलामै सीमित आफ्नो यथार्थमा चित्त बुझाउँछ
ऊ नाइल र मिसिसिपी हेर्दै घुटुघुटु थुक लिल्दै
फुर्चे खोलामै सीमित आफ्नो यथार्थमा चित्त बुझाउँछ ।
फुर्चे खोलाको आँसु
पूर्ण र अंशको तनावमा मन पगालेर कविता लेख्नुभएछ ॥ मनले मनलाइ छुन्छ , मन पग्ले आँसु बग्छ ॥ कला भए आँसु पनि सुन्दर बन्दोरहेछ ॥
एकातिर होचिन नमान्ने हिमाल अर्कोतिर अरुको सेखी नझारी नछोड्ने तराइ अनि फेरी उर्लेर सोरपटार लाउने नदी ! अंशहरुको बांडफाडमा धर्ती च्यातिन लागेको आभास दिलाउनु भयो ॥ हाम्रो धर्तीको छाप तपाइको दिलमा निकै गढेको रहेछ ॥
कविता राम्रो छ ॥ विम्वको प्रयोग सुन्दर छ॥ यस्तो कविताले मझेरीको अलंकार बढाउछ ॥ तर कुमारजी, यो फुर्चे खोला चाहिं कहां परेछ नि ?
-सुशील सुब्बा
सुशीलजी, प्रतिकृयाको लागि धन्यवाद
सुशीलजी
प्रतिकृयाको लागि धन्यवाद छ ! कविताको मर्म बुझिदिनु भयो ।
तर कहीं कालिदासको औंलाको अर्थ लगाएझैं मैले सोचेभन्दा गहिरो अर्थ त लगाउनुभएन ? 🙂
फुर्चे खोला काल्पनिक नाम हो; तर नामबाट पनि कुनै अति सामान्य र सानो खोल्सोबाट निस्केको खोलो, जो केही समयमै आफूभन्दा ठुलो खोलो या नदीमा आफ्नो अस्तित्व र परिचय सुम्पन बाध्य हुन्छ, लाई ईङ्कित गर्न खोजिएको मात्र हो ।
बड्ता भए माफ पाउं
कुमारजी, बढ्ता भए माफ पाउं है हजुर ॥
-सुशील सुब्बा