Skip to content

मझेरी भलाकुसारी, अंक ०९ (दीप्स शाह)

DeepsShah_Cover_Aago


नमस्कार दीप्सजी! मझेरी भलाकुसारीमा स्वागत छ । शुरुमा, आफ्नो व्यक्तिगत तथा साहित्यिक परिचय दिनुस् न ।

नमस्कार यहाँलाई पनि! साथै धन्यवाद पनि । म दीप्स शाह, धादिङ् थाक्रे-८ जुगेखोला मेरो जन्मस्थान । विवाहित, हालको बसाइ काठमाण्डौ र तत्काललाई भने बैदेशिक रोजगारको क्रममा मध्यपूर्बी मुलुक इजरायलमा कार्यरत छु । साहित्यिक परिचय भन्नुपर्दा म समाजशास्त्रसँगै नेपाली साहित्यमा स्नातक गरेको साहित्यको विद्यार्थी हुँ । धेरथोर लेख्छु र साहित्यसँग सम्बन्धित साथीहरूले दीप्स शाह भनेर चिन्नुभएकोछ ।

साहित्य क्षेत्रमा कसरी प्रवेश गर्नुभयो?

साहित्य मेरो रुचिको कुरो थियो सानैदेखि । फुर्सदको समयमा जतिबेला पनि केही न केही पुस्तक अध्ययन गरिरहने मेरो पुज्य बाबाको बानीले मलाई पनि अध्ययनतर्फ आकर्षित गर्यो र खासमा बाबाकै प्रेरणाले मेरा पाइला साहित्य तर्फ मोडियो भन्ने मलाई लाग्छ ।

नेपाली तथा अन्तराष्ट्रीय भाषाका साहित्यमा मनपर्ने लेखक को हुन्?

मनपर्ने त धेरै अग्रज लेखकहरू र पुस्तकहरू छन् । तर म लगाब र साधना दुबैका हैसियतले शिशु लेखक हुँ । त्यसैले मेरो अध्ययनको दायरा पनि सानो नै रहेको हुँदा तोकेरै छान्ने अवस्थामा आफू पुगिनसकेको मेरो ठहर छ । यद्यपि सरसर्ती सम्झेर भन्नुपर्दा तसलिमा नसरिन, भाल्दिमिर नाबोकोब, म्याक्सिम गोर्की लगायत नेपाली लेखकहरूमा महाकवि लक्ष्मीप्रसाद देवकोटा, सरुभक्त, युवराज नयाँघरे, पद्मावती सिंह र अन्य पनि धेरै हुनुहुन्छ जसको पुस्तक मैले एक बार होइन बारबार पढेको छु ।

तपाईंका हालसम्म प्रकाशित गर्नुभएका कृतिहरू बारेमा बताइदिनुहुन्छ कि?

मैले पुस्तकाकारको रुपमा प्रथमपटक २०६२ सालमा ‘प्रसून’ नाम दिएर एउटा साहित्यिक सँगालो बाहिर ल्याएको थिएँ । त्यसपछि गत बर्ष, यानेकि २०६७ मा, “आगो” कविता संग्रह बजारमा ल्याएँ । भर्खरै मात्र “आगो” कै दोस्रो संस्करण पनि बाहिर आइसकेको छ जुन यतिबेला व्यवस्थापनको तयारीमा छ ।

केको निम्ति लेख्नुहुन्छ ?

पहिलो त म आफ्नो आत्मसन्तुष्टिको निमित्त लेख्छु । र दोस्रो भनेको आफूले केही लेखेर आफ्नो ज्ञानको दायरा फराकिलो पार्नुको साथसाथै पाठकलाई केही दिन चाहन्छु जसले थोरै मात्रै भए पनि केही सान्त्वना, केही भरोसा र केही ज्ञान मिलोस् । समय र समाजलाई नियाल्ने दृष्टिकोणमा केही राहत र नयाँपन आओस् ।

अहिलेसम्म के कस्ता पुरस्कार र सम्मान पाउनुभएको छ ?

छिटफुटको हिसाबमा गीत, कविता लेखेर स्कुल कलेजमा पाएका पुरस्कारका सम्झना स्मृतिमा छन् । तर समय र नाम उस्तो सम्झन सक्दिन । औपचारिक रुपमा लेखेरै पाएको भनेको “आगो” ले पाएको २०६७को नइ गणेश-दुर्गा पुरस्कार र सन् २०१० को अनलाइन लिटरेचर का तर्फबाट “कवितातर्फ उत्कृष्ट” सम्मान ।

आफूले आफूलाई कुन बिधाको लेखकको रुपमा परिचय गराउन चाहनुहुन्छ ?

साहित्यका सबै बिधालाई मायागर्दागर्दै पनि म आफूलाई कविताको क्षेत्रमा स्थापित गराउन चाहन्छु । तर अनुभूतिले बिधा माग्दो रहेछ । सायद त्यसैले कविता बाहेकको बिधामा पनि हात भने हालिरहेको छु ।

निकट भविष्यमा केही विशेष योजना छ?

भर्खरै आएको “आगो” को दोस्रो संस्करणमै अल्मलिएको छु अहिलेलाई । त्यस्तो त खासै केही छैन निकट भविस्यमै । तर सम्भवत: अबको पालो भनेको कुनै आख्यानिक कृति बाहिर आउन सक्छ ।

तपाईंलाई कस्तो समयमा भावना फुर्न र लेख्न आउँछ?

म अब यो बिषयमा लेख्छु भनेर लेख्न बसेर अति कम लेख्छु । त्यसैले यस्तो बेलामा नै लेख्न आउछ भन्ने छैन । दृष्य, घटना, वातावरणले प्रभाव पारेको कुनै पनि बेला भावना फुर्न सक्छ र समय मिलाएर त्यसैलाई खेस्रा बनाउने गर्छु । त्यसैले मेरा लागि भावना फुर्ने अनुकुलताको कुनै निश्चित समय र स्थान नै हुँदैन, जहाँ पनि जतिबेला पनि भावना फुर्न सक्छ ।

पत्रकारिताको पनि अनुभव रहेछ । के-कस्ता कामहरू गर्नुभयो ?

पत्रकारिताको क्षेत्रमा मैले बजार प्रतिनिधिदेखि सह-सम्पादक सम्मको कार्यभार सम्हालेको छु केही सीमित समयको लागि । त्यस अवधिमा केही जीवनी पुस्तकको सम्पादन पनि गरेको थिएँ ।

पत्रकारिता र साहित्य लेखनका बिचका समानता र भिन्नता के पाउनुभयो ?

पत्रकारिता र साहित्य लेखनको केही प्रकृति मिल्दोजुल्दो पाएँ । लेखन आखिर लेखन नै हो । तर पत्रकारितामा भावनाको लम्बाइ-चौडाइको सीमा साहित्यलेखनको तुलनामा साँघुरो हुन्छ । अर्थात् साहित्यलेखनमा भावनाको फैलावटसँग सम्झौता गर्नु त्यति पर्दैन जहाँ पत्रकारितामा निश्चित दायराभित्र रहेर गहन र प्रत्यक्ष जिम्मेवारी अनुसार काम गर्नुपर्ने हुन्छ । तर बिचारको सम्प्रेसणका हिसाबले पत्रकारिता र साहित्य लेखन दुबै मेरा रोजाइका रहे ।

एउटा लेखक बिदेसिनुपर्दा कस्तो अनुभव हुँदो रहेछ ?

पेटको सवालमा बिदेसिनु परेका सबै मनहरूको अनुभव एकै हुन्छ अवस्य र त्यो अनुभव हो पीडा । जुन मैले पनि अनुभूत गरेँ । तर एउटा लेखकको मनबाट नियाल्दा भने अझै बेसी मन कोतरिएको महसुस मैले गरेको थिएँ/गर्दैछु । बिचारको बुलन्दीमा लागिपरेको मान्छेले खतराको सामना गर्न र हरेश नखान सिकेको हुन्छ चाहे त्यो लेखेरै बिचार सम्प्रेषण गर्ने किन नहोस्, अनि बिचार र भावनाको कमी कहाँ हुन्छ र! हाम्रो देशमा पनि थिएन/ छैन । कमसेकम तिनै ताजा सोचबिचार र चेतनाका शब्द खेती गरेरै पेट पाल्न सकिने बातावरण हाम्रोमा किन भएन? कस्ले हुन दिइरहेको छैन? भन्ने प्रश्नले बेसरी कोतरेको थियो बिदेश लाग्दको क्षण र आज पनि ।

ईजरायलतिर के-कस्ता साहित्यिक गतिबिधिमा संलग्न हुनुहुन्छ ?

इजरायल सानो मुलुक आँफैमा । नेपालीहरूको सङ्ख्या पनि ज्यादै कम्ती अनि तीमध्ये साहित्यिक रुचीका मनहरू त झनै न्यून । तर यति बिचमा पनि हुने गरेका सबैजसो साहित्यिक गतिबिधिमा सकेसम्म मेरो सहभागिता रहँदै आएको छ । चाहे त्यो कवि गोष्ठी, साहित्यिक छलफल बिमर्श होस् या कुनै प्रेरक अग्रजहरूको सम्झना पूण्य तिथिहरूमा हुने साहित्यिक जमघट नै किन नहोस् ।

तपाईंका कविताहरूमा शब्द संयोजन, प्रस्तुति र भावनात्मक रुपमा निकै जमेको देखिन्छ । यो मात्र प्रतिभा हो या केही हदसम्म कसरत पनि गर्नुहुन्छ ?

कसरत भन्नाले कस्तो ? साहित्यसम्बन्धी पुस्तक पत्रपत्रिका, अन्य सिर्जनाको अध्ययनलाई इंगित गर्नुभएको हो भने ती त म अवस्य गर्छु । अध्ययन र साधना बिनाको सिर्जनामा दम हुँदैन यो मेरो अनुभव र मान्यता दुवै हो । अब यसमा आंशिक भूमिका भने आफूमा निहित प्रतिभाको त हुन्छ नै अवस्य ।

कस्ता कृतिहरू जन्माउन चाहनुहुन्छ ?

साहित्यले समाजलाई सधैँ सकारात्मक बाटोतिर उन्मुख गर्दै समय र परिवेशअनुसार चल्न र ढल्न दृष्टिगोचर गर्नसक्नुपर्छ भन्ने मान्यता राख्छु म । र अबको साहित्यले समस्याको उजागर गरिकन त्यसको निदान पनि प्रस्ट्याउने क्षमता राख्नुपर्छ । मेरा सिर्जनाका उद्देश्य पनि यिनै र यस्तै कृति पस्किने नै हो । मेरो लेखन प्रयासरत छ ।

आफ्नो व्यक्तिगत र साहित्यिक जीवनसँग कत्तिको सन्तुष्ट हुनुहुन्छ ?

व्यक्तिगत जीवनमा शतप्रतिशत सन्तुष्ट र प्रफुल्ल छु । म भाग्यमा पनि आम्सिक विश्वाश राख्ने मान्छे हुँ यसर्थमा आफूलाई भाग्यमानी मान्छु । साहित्यिक जीवनको सवालमा भने सिर्जनाको कोणबाट अवस्य सन्तुष्ट छैन । मैले अझै धेरै धेरै समय, साधना लगाएर अझै सार्थक सिर्जनाहरू पस्किनु बाँकी नै छ । तर लागिपरेको क्षेत्रको हिसाबले भने साहित्य मेरो हार्दिक सन्तुष्टिको बिन्दु हो । यसर्थमा भने सन्तुष्ट छु अवस्य ।

नेपाली साहित्यको हालको स्थितिलाई कसरी मूल्यांकन गर्नुहुन्छ? साहित्यक्षेत्र उचित दिशातर्फ गइरहेको जस्तो लाग्छ?

नेपाली साहित्यक्षेत्रको हालको स्थिति सन्तोषप्रद र उकालो लाग्दो अवस्थामा रहेको मेरो स्वकीय ठहर छ । अग्रजहरूको मेहनत र युवाजमातको प्रगाढ लगाबको उपज हाम्रो साहित्यक्षेत्र विश्वसाहित्यको लम्काइतर्फ उन्मुख रहेको आभास गर्न सकिने अवस्था छ अहिले ।

नेपाली साहित्य जगतमा देखिएका सकारात्मक प्रवृति र विकृतिहरू के हुन् जस्तो लाग्छ ?

नेपाली साहित्य जगतमा देखिएका सकारात्मक प्रवृत्ति भनेको भोगाइका उच्छ्वास र कुण्ठा अनि प्राप्तिका प्रफुल्लताको फेहरिस्त मात्रको प्रस्तुतिबाट अलिक माथि उठेर जीवन र जगतको चित्रण, सकारात्मक भोलिको निम्ति सम्भावनाको मार्ग प्रसस्ती र समस्याको पहिचानसँगै समाधानका गोरेटो पहिल्याउने खालको प्रस्तुति गर्ने प्रवृतिलाई मान्न सकिन्छ । बिकृतिको सवालमा भने कतिपयको सोचाइ अनुसार जे लेखे पनि साहित्य बन्छ भन्ने भ्रमको बाहुल्यता साथै समग्र साहित्यको उत्थानको खातिर एकले अर्कोलाई सही सुझाब र आवश्यक हौसला दिनुको सट्टा खुट्टा तान्ने प्रवृति हुन् भन्ने लाग्छ ।

नेपाली साहित्यलाई इन्टेर्नेटको कत्तिको प्रभाव देख्नुहुन्छ?

समय र प्रबिधिको छलाङ्गसँगैविश्वसमाजले लिएको गति र विश् वसाहित्यले फेरेको काँचुलीको असर भनुँ नेपाली साहित्यले पनि पछिल्लो समयमा आफूलाई निक्कै तिब्र गतिमा फेरबदल गर्ने कसरत गरिरहेको अनुभव अवस्य गर्न सकिन्छ । र त्यसो हुनुमा धेरैभन्दा धेरै हात र प्रभाव इन्टर्नेटकै रहेको तथ्य नकार्ने ठाउँ नै छैन ।

फेसबुक र ट्विटरजस्ता सामाजिक सञ्जालहरूले कसरी उपयोग गरिरहनुभएको छ ?

मनोरञ्जन र सम्पर्क सुत्रको नाममा बिकसित भएका तमाम सामाजिक सञ्जाल मध्यका व्यस्त र चर्चित मानिने ट्विटर र फेसबुक सञ्जालहरूमध्ये पनि खास गरी फेसबुक चाहिँ, मेरो लागि भने खास गरी साहित्य साधना र सिर्जना आदानप्रदान गर्ने र संसारभरि छरिएर रहनुभएका साहित्यप्रेमी, साहित्यकर्मी तथा आफन्त-मित्रहरूसँगको सम्पर्कको माध्यम साबित भएका छन् । मुलत: साहित्यिक खुराकहरू खोजी-खोजी ग्रहण गर्ने काममै उपयोग गरिरहेको छु ।

इन्टर्नेटतिर देखिने नेपाली ब्लगहरू हेर्ने हो भने अधिकांश लेखहरूमा ह्रस्व-दीर्घका गल्तीहरू भेटिन्छन् । यस्ता अशुद्धीहरू किन हुन्छन् जस्तो लाग्छ? नेपाली भाषा अलि जटिल छ, वा विद्यालयको नेपाली शिक्षण प्रभावकारी छैन?

शुद्द नेपाली अक्षरका निमित्त प्रयोगमा आउने प्रीति लगायतका केही फन्टहरू केही जटिल मानिन्छन्। खासगरी अहिलेको सर्बसुलभ युनिकोड सेवाको तुलनामा । मलाई लाग्छ सयमा लगभग तीन चौथाइ लेखकहरूले अहिले इन्टर्नेटमा युनिकोडनै प्रयोग गर्ने गर्छन् । त्यसै गरी लगभग सबैजसो ब्लगहरूमा युनिकोडलाई नै प्रयोगमा आउने गरी अप्डेटको व्यबस्था गरिएको हुँदा पनि युनिकोड प्रयोग गर्नु ब्लग चलाउने र अप्डेट गर्नेहरूको एक खालको जरुरत नै पनि बनेको छ । समस्या के हो भने युनिकोडले कतिपय शब्द र खासगरी ह्रस्व दीर्घलाई शतप्रतिशत सही रुपमा दिदैन । यसो हुँदा कतिपय भाषिक र व्याकरणिक ज्ञान हुनेले पनि अशुद्धिलाई अंगाल्नुपरेको छ भने कतिपयलाई चाहिँ भाषिक-व्याकरणिक ज्ञानकै अभाव छ । तर नेपाली भाषा नै जटिल छ भन्ने मलाई लाग्दैन । तुलनात्मक रुपमा नेपालीभन्दा धेरै जटिल भाषा अन्य पनि छन् । अझै बिद्यालयहरूमा नेपाली भाषाको शिक्षण प्रभावकारी छैन भन्नुमा त झनै कुनै तुक छैन । कसैले त्यसो भनेर पन्छिन या आफ्नो कमजोरी लुकाउन चाहला, त्यो अर्कै कुरा हो ।

मझेरी कत्तिको हेर्ने गर्नुहुन्छ ? यसलाई कस्तो मूल्यांकन गर्नुभएको छ? र यसलाई कसरी अँझ प्रभावकारी बनाउन सकिन्छ?

बिगत केही समयदेखि नै मझेरीलाई नियाल्दै आएको छु समयले साथ दिएसम्म । खासगरी कुनै वेबसाइट ब्लगमा म नित्तान्त साहित्यिक उद्देश्यले नै टहल्छु । यसर्थमा मैले साहित्यिक गतिबिधिमात्रै नियालेको हुन्छु भन्दा फरक पर्दैन । त्यसो हुँदा साहित्य इतरका बिषयबारे म केही भन्न सक्दिन । अहिलेका चर्चित साइटहरूमा पर्ने मझेरी डट कमले नेपाली भाषा-साहित्यको उत्थानमा आफ्नो हैसियत बलियो बनाएको मेरो अनुभव छ । यसलाई अझै प्रभावकारी बनाउनमा सूचना-संचार, समाचार, मनोरन्जन, विश्वगतिबिधि, श्वासथ, प्रबिधि लगायतका अन्य धेरै पक्षहरूलाई ध्यान दिनु आफ्नो ठाउमा आवश्यक छँदैछ । मेरो प्रमुख सरोकार साहित्यको कोणबाट हेर्दा भने अहिले नै पनि कम प्रभावकारी छैन । यसलाई अझै चार चाँद लगाउनलाई बिशुद्ध साहित्यिक खुराक, व्यक्ति-व्यक्तित्वहरूलाई निरन्तर र निष्पक्ष स्थान दिँदै जानुपर्ला जस्तो लाग्छ ।

मझेरीका संसारभरि छरिनुभएका लेखक तथा पाठकहरूलाई के सन्देश दिन चाहनुहुन्छ?

मझेरी आँफैमा गौरबपूर्ण नाम बनिसकेको छ । यस्तो माध्यमबाट केही भन्ने अवसर पाउँदा सन्देशभन्दा पनि अपिल गर्न चाहन्छु म । तमाम मझेरी-श्रद्धेय पाठकहरूको सदा साहित्यिक अभिरुचिको कामना गर्दै यसै मार्फत मलाई पढ्नुहुने सम्पूर्ण पाठकहरूसमक्ष सिर्जनाको बाटोमा मलाई सधैँ झक्झक्याइरहन र आवश्यक सुझाब सल्लाह दिइरहनुहुन सादर अनुरोध गर्न चाहन्छु ।

अन्तमा, केही भन्न चाहनुहुन्छ भने बताइदिनुहोला ।

अन्तमा, लेखनको फाँटमा तातेताते गर्दैगरेका मेरा शिशु पाइलालाई मझेरीले आफ्नो न्यानो छातीमा उभिने अवसर दिएकोमा हृदय रित्याएर धन्यवाद भन्न चाहन्छु । साथै मझेरीले साहित्यिक गतिबिधिका साथै अन्य सबै क्षेत्रमा सार्थक सफलता पाइनैरहोस्, भन्ने मेरो सुभेक्षा सदैव रहिरहने छ पनि भन्न चाहन्छु । धन्यवाद ।

दीप्सज्यूलाई पनि मझेरीको तर्फबाट हार्दिक धन्यवाद !

दीप्स शाहका रचनाहरू

6 thoughts on “मझेरी भलाकुसारी, अंक ०९ (दीप्स शाह)”

  1. धन्यवाद र बधाई/भलाकुसारीमा भला कुरा सुनाउनु भकोमा
    नौला कुरा पढ्ने अवसर दियौ
    तिमीलाई पनि धन्यवाद मझेरी
    यी गफ सुनेर सरकारलाई सराप्न मन लाग्यो
    सरकार आफैँ नाङ्गो छ
    हामी जनतालाई के सुरक्षित भविष्य दिन्थ्यो
    साहित्य हाम्रो रहरको खेती भको छ
    लेख्ने वातावरण छैन
    लेखेर समय व्यय गर्दा पेट भरिन्न
    धेरै वाध्यताका बीच सर्जक दीप्स शाह लेखन क्षेत्रमा क्रियाशील हुनुभको रछ
    निरन्तर चलोस् कलम
    शुभकामना
    फेरि
    मझेरीमार्फत विचार सार्वजनिक गर्न युवा सर्जक पछि नपरौँ
    किनकि.

  2. सबको सरोकार
    पुराना पुस्ता र नयाँ पुस्ता बीचको विविध पक्ष वारेका भिन्नता पत्ता लगाई ठोस निष्कर्ष निकाल्ने तवरको
    अनुसन्धात्मक कार्य हुँदैछ
    कम्तिमा 50 सर्जकको खोजीमा छु

  3. दीप्सलाई धन्यवाद !
    दीप्सजीलाई मझेरी भलाकुसारीमा सामेल हुनुभएकोमा धन्यवाद छ ! वहाँ युवा पुस्तामा आशा लाग्दो अनुहार हुनुहुन्छ, यसमा द्विविधा छैन । हामीलाई आशा छ यो भलाकुसारीबाट दीप्सजी र पाठकहरूले एक अर्कालाई अरू बुझ्न सक्नुहुनेछ ।

    अनि एउटा कुरा भन्नै पर्छ कि, वहाँका रचनाहरूले मझेरीमा अधिकतम “फेसबुक लाइक”हरू पाउँछन् । अहिलेको व्यस्त युगमा कमेन्ट लेखिरहने समय नपाउने पाठकहरूले वहाँको रचनाहरू मन पराउनुभएको कुराको यिनै “लाइक”हरूबाट बुझ्नु पर्छ !

  4. भावना र आदर्शकी पुन्ज प्रतिभा
    भावना र आदर्शकी पुन्ज प्रतिभा कवयित्री तथा कथाकार दीप्स शाहसितको भलाकुसारी पढ्ने अवसर दिनु
    भएकोमा धन्यवाद / दीप्सजीका साहित्यिक पाइलाहरु निरन्तर अघि बढून् र समय सन्दर्भका
    प्रेरक अक्षरहरु अझै पढ्न पाइयोस भन्ने शुभकामना अर्पण गर्दछु /
    शरण आँसु

  5. वहिनी दीप्सलाई हार्दिक वधाई तथा शुभकामना !
    सरल रुपमा भावनालाई पस्किन सक्ने एउटा राम्रो प्रतिभाको रुपमा मैले वहिनी ‘दीप्स’लाई लिएको छु । भौतिक रुपमा भेटघाट नभए पनि सिर्जनाको माध्यमबाट वारम्वार भेटघाट भैरहने मध्येमा पर्छीन उनी । दीप्सका सिर्जनालाई नछुटाईकन पढ्ने गर्छु । विगत लामो समय देखि उनका रचनाहरु पढ्दै आएको छु । साहित्य साधनामा निरन्तर लागिरहने वहिनी ‘दीप्स’लाई हार्दिक वधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छु !

    साथै एउटा सशक्त स्रष्टालाई भलाकुसारीमा अवसर दिनु भएकोमा मझेरी डट कमलाई पनि हार्दिक धन्यवाद दिन चाहन्छु । धन्यवाद ।
    – केशु बिरही, तेह्रथुम ।
    keshubirahi2008@yahoo.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *