Skip to content


गएको असार २५ गतेको कुरो हो । पङ्क्तिकार जीवनमा पहिलोचोटि जनवादी वैवाहिक कार्यक्रममा सहभागी हुनपुगेको थियो । दोलखा जिल्ला बुलुङनिवासी सुष्मा आचार्य तथा काठमाडौँ, कलङ्कीका पुजन भण्डारीबीचको जनवादी विवाहलाई माओवादी नेता, कार्यकर्ताले सहजरूपमा हेरे पनि अरूका लागि भने यो निकै कौतुहलप्रद थियो । एनेकपा माओवादी जिल्ला सङ्गठन समिति दोलखाको आयोजकत्त्वमा प्रज्ञा प्रतिष्ठानमा आयोजित वैवाहिक कार्यक्रममा शीर्षस्थ नेता क.मोहन वैद्य(किरण)लगायत विभिन्न दलका प्रतिनिधि सहभागी थिए भने नागरिक समाजका अगुवा सुन्दरमणि दीक्षित सपरिवार त्यहाँ पुगेका थिए । उद्घोषक विशाल खड्काले आफूलाई क्षेत्रीको छोरो भए पनि पुरेत बताउँदै वैवाहिक कार्यक्रम अघि बढाउँदा रोचकता थपिएको थियो । काङ्गे्रसी नेता जिपछिरिङ लामाले ‘आफू कार्यक्रममा आइसकेपछि मात्र ढुक्क भएको नत्र कार्ड(निम्तोपत्र) हेर्दा केटी-केटीबीचको बिहे रहेछ कि भन्ठानेको’ भन्दा हाँसोको फोहरा नछुटाउने कोही थिएनन् । माओवादीले राजनीतिक सक्रियता बढाउनुपूर्व यस्ता सुधारवादी सामाजिक, सांस्कृतिक काम गर्दै बढेको जानकारी क. मोहन वैद्यले दिनुभयो भने डा. सुन्दरमणि दीक्षितले विवाहका नाममा बढ्दो विकृति रोक्न यस्ता विवाहको औचित्य दर्साउनुभएको थियो । वर, वधूले मैनबत्ती बाली जीवनभरि एक, अर्कालाई सहयोग गर्ने तथा राष्ट्रका लागि समर्पित हुने बाचाबन्धन पनि गरे । सङ्क्षिप्त जलपान कार्यक्रमसहित जनवादी वैवाहिक कार्यक्रम सम्पन्न भयो ।

विवाहका नाममा बढ्दो तडकभडक तथा दाइजोको कहालीलाग्दो विकृति रोक्न र एमाओवादी कार्यकर्तामा विद्रोहात्मक ऊर्जा कायम राख्न जनवादी विवाह औचित्यपूर्ण रहेको ठहर सरोकारीवृन्दमा प्रचुर रहृयो भने सहभागी गैरमाओवादीका ठनाइमा चाहिँ जनवादी शब्द नराखिकनै विवाह गरिएको भए अझ बेस हुने थियो ।

दोलखामा कम्युनिष्ट आन्दोलनका गुरू तथा माओवादीका अगुवा देवराज आचार्यकी छोरी पुजनको यो वैवाहिक समारोहमा हजुरआमा पुण्यकुमारी आचार्य पनि अप्रसन्न हुनुहुन्थेन तर उहाँको भनाइमा पोते र सिन्दुरसम्म लगाइदिएको भए, बेस हुनेथियो ।

यसो गरेको भए हुन्थ्यो, त्यसो नगरेको भए हुन्थ्यो जस्ता विभिन्न दृष्टिकोण कानेखुसीका विषय बनेको भए पनि विवाहका नाममा बढ्दो बेथिति रोकिनुपर्नेमा चाहिँ सबैको एकमत रहृयो ।

सशस्त्र विद्रोहको भूमिगतकालमा पनि युवक, युवतीबीच विवाह निषेध थिएन । उर्लंदो यौनचाहनाले विद्रोहलाई खुकुल्याउनसक्ने भएकाले पनि विवाहलाई सहज स्वीकृति प्रदान गरिएको हुनुपर्छ । त्यतिखेर बारूदको टीको र बन्दुकको माला लगाई विवाह सम्पन्न गरिन्थ्यो-क. देवराज बताउँछन् ।

प्रगतिशील विवाह केही दसकदेखि चिनिनथालिएको सिलसिलामा जनवादी विवाहको परिपाटी चलेको छ । नेकपा(माले) भूमिगतकालमा हुँदा यसका कैयन् नेता, कार्यकर्ताले प्रगतिशील विवाह गरेका छन् । प्रगतिशील विवाह अहिले पनि जारी छ । एनेकपा(माओवादी)सम्बद्ध विवाह जनवादी र माले, एमालेलगायतका विवाह प्रगतिशील भनिएको पनि नसुनिने होइन ।

प्रगतिशील विवाह होस् अथवा जनवादी विवाहले विवाहका नाममा चल्दै आएको विकृति, विसङ्गति रोक्ने दिशामा खेल्दै आएको भूमिका पक्कै नराम्रो छैन, खासगरी सजातीय, अन्तरजातीय तथा फरक वर्गबीच वैवाहिक सम्बन्ध गाँसिनुलाई सुन्दर पक्ष मान्नसकिन्छ तर यो राम्रो कामले पनि समाजमा किन स्थान जमाउन सकिरहेको छैन ? सरोकारी सबैले घोत्लिनैपर्ने भएको छ ।

पूर्वप्रधानमन्त्री तथा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले केहीअघि आयोजित सञ्चारकर्मीद्वय टेकराज थामी र कालिका खड्काबीच भएको प्रगतिशील विवाहका अवसरमा भने अनुसार उनले एकै व्यक्तिसँग दुईचोटि विवाह गरेका छन् । पहिलो पटक एउटा सानो कोठामा प्रगतिशील विवाह गरेका नेता नेपालले पछि परिवारको मन राख्न उनै श्रीमती गायत्रीसँग पुनः परम्परागत विवाह गरेका हुन् ।

मानिसका लागि विवाह अनिवार्य आवश्यकता भए तापनि कस्तो खाले विवाह बढी उपयुक्त हुनेबारे किटान गर्न गाह्रो छ । दुनियाभरि देश, काल, पात्र, परिवेश अनुसार फरक-फरक विवाह प्रणाली छन् । परम्परागत हिसाबमा गरिने विवाहले प्रायः धार्मिक आवश्यकतालाई प्राथमिकतामा राखेको पाइन्छ । जन्मौँजन्मको सम्बन्धको विश्वास यहाँ हुन्छ । युवकले आˆनो बायाँ हातमा र युवतीले आˆना दायाँ हातमा ज्योतिषीबाट अनेक जिज्ञासा शान्त गर्ने प्रचलन अझै रोकिएको छैन । हिन्दुसमाजमा महिलालाई वामाङ्गी मान्ने चलन पुरानै हो । शास्त्रमा यस्तो लेखिएको पनि छ-

स्वेच्छामयः स्वेच्छ्यायं द्विधारूपो वभूव हः ।
स्त्रीरूपो वामभागांशो दक्षिणांशः पुमान् स्मृतः ।।

अर्थात्, स्वेच्छामय भगवान् स्वेच्छासाथ दुई रूपका भए, वाम भागको अंशबाट स्त्री र दक्षिण भागको अंशबाट पुरूष बने ।

विवाहबारे प्राचीन धर्मशास्त्रमा अनेक पक्ष उल्लिखित पाइन्छ । मनुस्मृति अनुसार विवाह आठ प्रकारका छन् । ब्राहृमविवाह, दैव विवाह, आर्ष विवाह, प्राजापत्य विवाह, आसुर विवाह, गान्धर्व विवाह, राक्षस विवाह र पैशाच विवाह । कन्याका बाबुले अलङ्कार आदिबाट विभूषित कन्यालाई विद्वान्, शीलवान् पुरूषलाई कन्यादान गर्ने विवाहलाई ब्राहृम विवाह भनिन्छ भने यज्ञमा यज्ञकर्ता ऋत्विकलाई वस्त्र, अलङ्कार आदिले सिँगारी कन्या दान गर्नु दैवविवाह हो । यज्ञादि धार्मिक कार्यका निम्ति वरसित एउटा अथवा एकजोडा गोरू वा गाई लिएर कन्यादान गर्नु आर्षविवाह हो । ‘आपसमा मिलेर गृहस्थाश्रमको आचरण गर्नू’ भनी वरलाई पूजा गरेर दिइने कन्यादान प्रजापत्य विवाह हो । आˆनै इच्छाले कन्यालाई वा कन्याका नातेदारलाई धन दिएर गरिने विवाह आसुर विवाह हो । कन्या र वरबीचको प्रेमबाट हुने विवाह गान्धर्व विवाह हो । कन्याका आफन्तलाई पिट्दै, घरद्वार फोर्दै, रूँदै गुहारिरहेकी कन्यालाई हरण गरी विवाह गर्नु राक्षस विवाह हो र निदाएकी, मदिरापानले लट्ठ भएकी वा अन्य कारणले उन्मत्त महिलासित एकान्तमा लहस्सिई गरिने विवाह पैशाचविवाह हो । यिनमा पहिला चार विवाहलाई मात्र सकारात्मक मानिन्थ्यो ।

मागी विवाह, चोरी विवाह, भागी विवाह, जारी विवाह, प्रेम विवाह आदि पनि स्मरणीय छन् ।

हिन्दु धार्मिकग्रन्थ अनुसार मानिसले पितृऋण, देव ऋण तथा गुरू ऋण तिर्न गृहस्थाश्रममा प्रवेश गर्नुपर्छ । यसका लागि विवाह नगरी नहुने कार्य हो । गृहस्थी चलाउन, धर्मकार्य गर्न, सन्तान उत्पन्न गर्न तथा मोक्ष प्राप्त गर्न विवाह अनिवार्य छ ।

एकचक्रो रथः यद्वदेकपक्षो यथा खगः ।
अभार्योपि नरस्तद्वयोग्य सर्वकर्मसु ।।

जसरी एउटा पाङ्ग्राको रथ हिँड्नसक्दैन र एक पखेँटाको चरो उड्नसक्दैन, त्यस्तै भार्या(पत्नी)रहित एक्लो पुरूष पनि केही गर्नसक्दैन ।

विवाहको पृष्ठभूमि पहिल्याउनेक्रममा भनिन्छ-यसको पूर्वरूप भेदभावबेगरको सामूहिक यौन सम्बन्ध हो । समाजशास्त्रीका अनुसार मानिस झुन्ड बनाई हिँड्नथालेपछि सामूहिक विवाहको प्रचलन आयो र यसैबाट दाम्पत्य सम्बन्ध प्रारम्भ भएको हो । धेरै पति वा धेरै पत्नी राख्ने मान्यता उहिल्यै बढी थियो भने अहिले एक पति, एक पत्नीको अवधारणा व्यापक छ । धेरै पति राख्ने विवाह प्रथा तिब्बत(चीन), भुटान, भारतीय पहाडी भेगका साथै नेपाली हिमाली भेगमा अझै छ । धेरै पत्नी राख्ने कुरीति त छ नै । उदाहरणका लागि जाजरकोट जिल्लाको झाप्रा-१ फुम्नाका १८ वर्षीय बमबहादुर वादीका पाँचपत्नीलाई लिनसकिन्छ । १३ वर्षको उमेरमा कक्षा सातमा पढ्दाखेरि पहिलो विवाह गरेका बमबहादुरको कानुनी हिसाबमा विवाह गर्ने उमेर २० पुगेकै छैन ।

अप्राकृतिक विवाह भनिने पुरूष-पुरूष वा स्त्री-स्त्रीबीच हुने समलिङ्गी विवाह पनि विकसित, विकासोन्मुख देश हुँदै अल्पविकसित मुलुकमा समेत हुनथालेका छन् । समलैङ्गकि विवाहलाई कानुनले मान्यता नदिएको ठाउँमा पनि लुकीछिपी वा खुलेआम विवाह हुनेक्रम बढ्दो छ । गएको असार ६ गते सोमबार दक्षिणकालीमा यस्तै समलैङ्गकि विवाह हिन्दुविधि अनुसार पञ्चैबाजा बजाई जन्तीसमेत गएर धुमधामसाथ भएको खबर दुनियाभरि रोचक विषय मानियो । कोलोर्‍याडोस्थित डेनभरकी कोर्टेनी मिचेल तथा सराह बेल्टनबीच भएको विवाहको तारतम्य नीलहीरा समाजले मिलाएको हो । यसअघि पोहोरसाल बेलायती तथा भारतीय समलिङ्गीबीच गोप्यतबरबाट विवाह गराएको जनाउने समाजको भनाइमा सार्वजनिक हिसाबमै धुमधामसाथ गरिएको समलैङ्गकि विवाह कोर्टेनी-सराहको पहिलो हो । गत जुनमा समलिङ्गी विवाहसम्बन्धी कानुन आएपछि न्युयोर्कमा यही साउन आठ गते विवाह गर्ने पहिलो जोडीचाहिँ ७६ वर्षीया फिलिस सिगल र ८४ वर्षीया कन्नी कोपलेभको बनेको छ ।

तराई-मधेसमा विवाहलाई दाइजो प्रथाले विकराल स्वरूप दिएको छ । दाइजोको लोभमा विवाह गर्ने, दाइजो कम भएमा अथवा आफूले मागे जति नपाएमा दुलहीको हत्या गरिदिनेजस्ता आमानवीय घटना हुँदै आएका छन् । यही साउन एकगते आइतबार रातिको कुरो हो । रौतहट, चन्द्रनिगाहपुर-५ बस्ने २२ वर्षीया किरन गुप्ताको हत्या गरियो । दाइजो नल्याएको भनी पति गुड्डु तथा सासू उर्मिलादेवी शाहले किरनको हत्या गरेको आरोप छ । विवाह भएको डेढ महिनाजतिमै किरनले मारिई पङ्खामा झुन्डिनुपरेको दारूण दृश्य न केवल परिवारजन, छरछिमेक, गाउँलेले समेत सहज मान्नसकेका छैनन् । रौतहट जिल्लामा बितेको १६ महिनामा दाइजोसम्बन्धी यो १० औँ हत्या हो ।

पर्सा, अलौकी २१ वर्षीया शान्तादेवी पनि स्मरणीय छिन् । सिलाइ मेसिन दाइजोमा नल्याएकामा पति प्रदीपकुमार पटेलले मट्टतिेल खन्याई आगो लगाएका थिए । समयमै छरछिमेक नपुगेका भए शान्ताको ज्यान जाने थियो । पर्सा जिल्लामा पनि गत एक वर्षभित्र दाइजोका कारण पाँच जनाको हत्या भइसकेको छ । बारा, पर्सोना-७ की सुष्माको ज्यान पनि यही दाइजोकै कारण गएको उनका पिता हृदयनारायण साहको भक्कानोफुटाइ छ । यी केही उदाहरणमात्र हुन्, अन्यथा सार्वजनिक नभएका, भित्रभित्रै गुम्सिएर रहेका घटना कत्ति छन् कत्ति । काठमाडौँ उपत्यका तथा शहरी भेगमा पनि कुरो छिन्ने, स्वयम्बर, ढोगभेट आदिका बखत हुने लेनदेन चिन्तनीय छन् । ‘अरू केही चाहिँदैन, दुईदिनको इज्जतचाहिँ राखिदिनुहोला’जस्ता अभिव्यक्तिभित्र लुकेको विकृतिको जरो निश्चय पनि कम घातक छैन ।

विवाहका लागि आमा, बाबु वा इष्टजनको ख्याउँख्याउँ पनि कम हुँदैन । मन खाने योग्य केटो वा केटी नभएसम्मन् अन्योल हुनु स्वाभाविक हो । यस्तै समस्यामा रहेकी ताइवानी ३० वर्षीया युवती चेन वी ईले पोहोरसाल रचाएको अनौठो विवाह प्रासङ्गकि बनेको छ । यस विवाहमा सबै कुराको चाँजोपाँजो मिलाइएको थियो, केवल दुलाहामात्र थिएन । आफैले आफैसित गराएको यो विवाह पक्कै अभूतपूर्व हुनुपर्छ ।

ताइवानमा नयाँ वर्षको अवसरमा गरिने वैवाहिक कार्यक्रमको छुट्टै विशेषता छ । त्यहाँ हजारौँ जोडीले सामूहिक विवाह गर्छन् । नयाँ वर्ष २०११ को शुभारम्भका दिन सातहजार जोडीले विवाह गरेको सुन्दा आश्चर्य लाग्नसक्छ । पोहोरसाल ६ हजार जोडीले विवाह गरेका थिए रे ।

सामूहिक विवाह अनावश्यक तडकभडक तथा खर्च कटौतीका उद्देश्यले सुन्दर माध्यम हुनसक्छ । यहाँ फाट्टफुट्टबाहेक सामूहिक विवाह आयोजना गरिएको दृष्टान्त पाइँदैन ।

विवाह खर्चिलो बन्दै गएको पिरलोमा बेलायती नागरिकसमेत छन् । त्यसबाट बच्ने उम्दा उपाय पनि तिनले निकाले । ‘ओटोभाड’ नामको यो मेसिनले ‘बटन’ थिचिनासाथ साङ्गीतिक धुनसँगै मन्त्रोच्चारण गर्दै प्लास्टिकको औँठी पनि निकालिदिएपछि विवाह गर्नेलाई अरू के चाहियो । एक डलरमै विवाह गराउने यो मेसिनको रूस, ब्राजिल आदि देशमा ठूलो माग रहेको बताइन्छ ।

अनौठो हिसाबमा विवाह गर्ने लहड पनि चलेकै छ । पानीमा, आकाशमा विवाह गर्ने रहर धेरैले राखेका छन् । सगरमाथाको चुचुरामा विवाह गर्ने मोनी मुलेपती र पेमदोर्जी सेर्पालाई पनि बिर्सन मिल्दैन ।

ज्यादै अनौठो विवाह गर्दा फसादमा परिने घटनाचाहिँ चीनमा देखियो । गएको अक्टुबर पहिलो साताको कुरो हो । हुनान प्रान्तनिवासी युवक, युवतीले नाङ्गै वैवाहिक कार्यक्रम आयोजना गरेर सञ्चारमाध्यम घन्काइदिएका थिए । यसलाई सामाजिक शिष्टाचार र मर्यादाको घोर उल्लङ्घन बताउँदै प्रहरी पछि लाग्दा बेपत्ता भएको त्यो जोडीको अझैसम्मन् जुत्ता, टोपी केही फेला पर्नसकेको छैन ।

गर्भे विवाह यहाँको विडम्बनापूर्ण पाटो हो । केटाकेटी नजन्मँदै विवाहको टुङ्गो लगाइदिने प्रथा आजको २१ औँ शताब्दीमा पक्कै कलङ्ककै कुरो हो । बाजुरा जिल्ला, बिच्छ्या गाविसस्थित गुम्बा गाउँमा गर्भेविवाहले निरन्तरता पाइरहेको छ । यहाँ गर्भमै विवाहको छिनोफानो हुने र १० वर्ष नबित्दै विवाह गराउने प्रचलन छ ।

१० वर्षीया पेमा लामाको विवाह चारवर्षीय देवबहादुर लामासँग भइसकेको छ । भनिन्छ, यस गाउँमा भएका २४ परिवारमा पाँचवर्षमुनिका केटाकेटी ३५ जना जति छन् र ती सबैको बिहावारी तय भइसकेको छ ।

बिधुवा विवाह निश्चय पनि सुधारवादी कदम हो, क्रान्तिकारी काम हो तर अपेक्षित दिशामा अझै रोडाकर्कट कम छैनन् । यस सन्दर्भमा झापा, तोपगाछीका उत्तमकुमार गौतमलाई सलाम गर्नैपर्छ । उनले आˆनी बिधुवा बुहारी २६ वर्षीया निर्मला कट्टेलको धरमपुर-२ का ३८ वर्षीय गणेशबहादुर कार्कीसँग मागी विवाह सम्पन्न गराएका छन् । काठमाडौँका जीवन वाग्लेले पनि बुहारीको कन्यादान गरेको सुनिएको छ, ती सबै धन्यवाद र प्रशंसाका पात्र हुन् ।

अहिले हुनेगरेका विवाहलाई छोटकरीमा परम्परागत विवाह, प्रेम विवाह तथा दर्ता(कोर्ट म्यारिज) विवाह भन्नसकिन्छ । परम्परागत विवाह पुराना धर्मशास्त्र तथा प्रचलन अनुसार हुनेगरेका छन् भने प्रेमविवाह गरिँदा परम्परागत अथवा दर्ता विवाह वा जनवादी, प्रगतिशील आदि आधारमा गरिन्छ र दर्ता विवाहचाहिँ सरकारी अड्डामा गई गरिन्छ । वि.सं.२०२८ सालमा ऐन आएदेखि दर्ता विवाहको दैलो उघि्रएको हो । जुनसुकै खालको विवाह गर्नेले पनि विवाह दर्ता गराउनु कानुनीरूपमा अनिवार्य छ । गाविस वा नगरपालिकाका पञ्जिकाधिकारीको कार्यालयमा गई विवाह दर्ता गराउनाले कानुनी मान्यता प्राप्त हुने भए तापनि आवश्यक चेतनाको अभावमा स्थिति सकारात्मक ठहरिएको छैन ।

केही वर्षयता नक्कली विवाहको चलन बढ्दो छ । विदेश जान अथवा विदेशमै टिकिराख्न गरिने नक्कली विवाह र केही वर्ष नबित्दै छोडपत्रले विवाहसम्बन्धी परम्परागत अटुट सम्बन्धको धारणालाई ठाडै नकारिदिएको छ । सोझासाझा युवतीलाई विवाहको फाँसोमा पारी भारतका मुम्बई, कोलकाता आदि सहरमा बेचिने दुरवस्था पनि कम कहालीलाग्दो छैन ।

विवाहलाई कतिले पति, पत्नीबीचको सातजन्मको त कतिले जन्मौँजन्मको सम्बन्ध भन्छन् भने यसलाई पुरूष तथा महिला बीचको सम्झौता पनि मानिएको छ । चाहेको बेलामा सम्बन्ध विच्छेदसमेत हुनेभएकाले विवाह करार भएको तर्क पनि कम सुनिन्न । नेपाली समाजमा यो सम्झौता, करारबाहेक एक संस्कारका रूपमा पनि परिचित छ ।

कुनै पनि प्रकारका विवाह सफल, असफल दुवै भएका छन् । प्रगतिशील विवाह टुटेका उदाहरण छन् भने जनवादी विवाह असफल भइरहेका कथाव्यथा पनि छरपस्ट छन् । एनेकपा(माओवादी)को सम्बद्ध एकाइमा पीडित युवतीले छिनोफानोनिम्ति दिएका निवेदन सयौँको सङ्ख्यामा हुनुबाट स्थितिको गाम्भीर्य बुझ्न हम्मे पर्दैन । युद्धकालमा गरिएका जनवादी विवाहको खास सबुत नहुँदा अड्डा, अदालतबाट समेत युवतीले न्याय पाउन नसकेका गथा धेरै छन् ।

विवाहलाई कलङ्कति बनाउनेगरी बढ्दै गएका तडकभडक, तिलक-दाइजो, बालविवाह, अनमेल विवाह, बहुविवाहजस्ता कुकृतिविरूद्ध ठोस कदम चाल्नुपर्नेमा विमति रहँदैन । यसका निम्ति ऐन, कानुन बनाएर मात्र नहुने कुरो, सामाजिक व्यवहार(सुधार) ऐन-२०३३ जारी हुनुबाट प्रस्ट भइसकेको छ । देशका अगुवाजनले कानुन अनुसार सही कदम नउठाउँदा भद्रगोल तेर्सिंदै आएको हो । सामाजिक, सांस्कृतिक सुधारका कदमबाट मात्र गलत प्रवृत्तिको अन्त्य सम्भव भएकाले यतातिर तमाम अगुवा वर्ग जाग्नु आवश्यक छ । विवाहसँगै गाँसिएर आएका विकृति रोक्न कुनै एक दल वा केही दलको मात्रै प्रयास पर्याप्त नभएकाले यस दिशामा सर्वपक्षीय अभियान आजको खाँचो बनेको छ । सामाजिक-सांस्कृतिक महत्त्वको विवाहलाई लट्ठी पनि नभाँचिने र सर्प पनि मर्ने अर्थात् संस्कृतिको पनि जगेर्ना हुने र विकृति पनि मेटिने हिसाबमा अघि बढाउनु उचित होला कि !

शनिबार, गोरखापत्र
श्रावण २१, २०६८

Leave a Reply

Your email address will not be published. Required fields are marked *