अधिकांश लोकप्रिय गीतको पृष्ठभूमिमा छन् घतलाग्दा प्रसंग ।
जागिरको एकनास दिनचर्याबाट वाक्क भएर राजेन्द्र थापा काठमाडौँबाट पूर्वतिर हान्निए । झापामा पुगेपछि उनलाई पहाडकी रानी इलाम जाने इच्छा भयो । त्यसबेला आजजस्तो यातायात सर्वसुलभ थिएन । ल्यान्डरोभर या रसियन जिपबाहेक यातायातका साधनको विकल्प थिएन । त्यस दिन उनले पनि बल्लबल्ल एउटा जिप पाए तर उभिएर जानुपर्ने । २०३१ सालतिरको कुरा थियो यो । जिपले उफार्दाउफार्दा शरीर थिलथिलो भएको थियो । सोक्तिम पुगेपछि मन पनि उद्वेगपूर्ण बन्यो । मनको पीडा कतै अभिव्यक्त हुन आतुर थियो । उनले जिपको खलाँसीले कानमा सिउरिएको सिसा कलम थुते र तीन पंक्ति लेखे :
पोहर साल खुसी फाट्दा, जतन गरी मनले टालेँ
त्यही साल माया फाट्यो, त्यसलाई पनि मनले टालेँ
यस पालि त मनै फाट्यो, केले सिउने, केले टाल्ने ?
थापा भन्छन्, “यी तीन हरफ मनबाटै आएका हुन्, बाँकी अन्तराहरू भने विभिन्न ठाउँमा लेखिएका हुन् ।” त्यसको केही महिनापछि हिउँदमा उनी पोखरा पुगे र फेवातालको किनारमा बसेर यी हरफहरू सिर्जना गरे :
सास फेरेँजस्तो लाग्छ तर भन्छन् मरिसकिस्
तेरो भाग यत्ति नै हो, भोग चलन गरिसकिस्
सलहको भाग्य मेरो, मर्ने बाँच्ने ठेगान छैन
भाग्य फाटे सिउँथेँ बरु तर मन सिउने केले ?
उनले यो गीत अम्बर गुरुङलाई दिएको घटना पनि स्मरणीय छ । उनी त्यस दिन रेडियो नेपाल पुगेका थिए । अम्बर गुरुङ, नारायणगोपाल र हरभिक्त कटुवाल ‘पोखिएर घामको झुल्का भरी सँघारैमा’को रेकर्डिङ् सकेर स्टुडियोबाट बाहिर निस्कँदै रहेछन् । त्यहीबेला थापाले गुरुङको हातमा यो गीत राखिदिए । अम्बरले यो गीत नारायणगोपालका लागि नै धुनबद्ध गरेका थिए तर अरुणा लामाले हत्ते गरेपछि उनको स्वरमा रेकर्ड भयो । यस गीतको धुन भर्दा सांगीतिक कोमलताका लागि अन्तिम स्थायी पंक्तिको अन्त्यमा अम्बरले नै ‘हो’ शब्द जोडिदिएका हुन् ।
गीत सामान्यतया कुनै घटना या प्रसंगबिना जन्मिँदैन । रचना हुँदाको कुनै न कुनै घटना गीतसँग जोडिएकै हुन्छ । सामान्यतया चलचित्रमा घटना, अवस्था र पात्रपात्राहरूमाथिको कथामा केन्द्रित रहेर गीत रचना गरिन्छ । तर, स्वतन्त्र रूपमा लेखिएका गीतहरूमा पनि कहीँ न कहीँ गीतकारलाई विभिन्न प्रसंगहरूले प्रेरित गरिरहेका हुन्छन् ।
गीतकार किरण खरेलका दुईवटा गीत जन्मिँदा पनि प्रासांगिकताको यो कुरा लागू भएको छ । खरेल त्यसबेला रेडियो नेपालमा कार्यक्रम प्रस्तोता थिए । कार्यक्रमहरू प्रत्यक्ष प्रसारण हुन्थे, आजजस्तो आफूअनुकूल रेकर्ड गरेर प्रसारण गर्ने प्रविधि र प्रचलन थिएन । उनी राती ११ बजे कार्यक्रम सकेर घर र्फकन्थे । यसै क्रममा जन्मिएको हो :
तिमीले हेरिरह्यौ बोलाउनै सकिनँ
म हेर्दै गएँ रोकिनै सकिनँ
अनमोल त्यो पलालाई छेक्न
तिमीले सकिनौ, मैले सकिनँ ।
खरेलको गीत र उद्घोषण भनेपछि हुरुक्क हुने एक महिला उनको एक झल्को पाउन राती उनी ११ बजे पनि बाटोमा प्रतीक्षा गर्दी रहिछन् । अलिपछि मात्र खरेललाई यो कुरो थाहा भयो । तर, उनीहरूबीच न बोलचाल भयो, न त ती फ्यानले खरेलसँग वचनमा आफ्नो मनको तिर्सना मेट्न नै पाइन् । तर, एउटा सर्जक मनले यस्तो हुरुक्क हुने कुरामा मौनता साँधेर बस्न सक्ने कुरा पनि थिएन नि ! अनि त जन्मियो यो हेराहेरमा मात्र सीमित मायाको गीत ।
खरेलकै अर्को गीत छ, जुन गीत पनि उनले कुनै पात्राका लागि लेखेका हुन् । त्यसबेला खरेल तत्कालीन शाही नेपाल चलचित्र संस्थानमा कार्यरत थिए । कार्यालयको कामविशेषले विदेश गइरहनुपर्थ्यो । आफ्नै कार्यालयमा काम गर्ने एक महिला थिइन् । सायद उनी खरेललाई सधैँ आफ्ना आँखाअघि देखिरहन चाहन्थिन् । त्यसैले खरेल विदेश जाँदैपिच्छे भन्थिन्, “चाँडै आउनूस् है !” खरेललाई अचम्म लाग्थ्यो । उनले आजपर्यन्त पनि बुझ्न सकेका छैनन्, ती महिलाको उनीप्रित लगाव ? यो कस्तो प्रेम थियो ? यद्यपि, अँगालै हालेर त तिनी चाँडै आउनूस् भन्न सक्तिन थिइन् तर खरेलले गीतमा चाहिँ लेखिदिए :
उल्ले अँगालो हालेर भनी, चाँडै आऊ है !
आँखाको बत्ती बालेर भनी, चाँडै आऊ है !!
सहदेव राणाले रचेका ‘सान्ननीको गालैमा कालो कोठी रैछ, नजर नै तिर्मिर गराउने’ गीत पनि कुनै घटनामै आधारित मानिन्छ । यसका रचयिता राणा र संगीतकार नातिकाजी त अब हामीमाझ छैनन्, त्यसैले यस गीतको वास्तविक कथा किटान गरहिाल्न सकिँदैन । तर, गायक फत्तेमानचाहिँ ठ्याक्कै घटना थाहा नभए पनि गीत वास्तविकतामै आधारित रहेको स्वीकार्छन् । फत्तेमान यो गीत आफूसँग सम्बन्धित नभएको बताउँछन् तर गीतकार राणासँग असम्बन्धित रहेको चाहिँ भन्दैनन् ।
त्यस समय अत्यन्तै चर्चामा रहेको यो गीत वीर अस्पतालकी कुनै एक नर्ससँग सम्बन्धित रहेको बताइन्छ । चर्चा चले अनुसार यसका गायक या गीतकारमध्ये एक जना बिरामी भएर वीर अस्पताल भर्ना भए र केही समय त्यहीँ व्यतीत गरे । बिरामीको स्याहारसुसार गर्ने नर्स असाध्यै सुन्दर थिइन् र तिनको बायाँ गालामा कालो कोठी थियो । चन्द्रमालाई सानो दागले सुन्दर बनाएझैँ ती नर्सको गालाको त्यस कोठीले तिनलाई मेनकाले विश्वामित्रको ध्यान भंग गराएझैँ गायक या गीतकारको मन भंग गर्यो अनि जन्मियो ।
त्यतिबेला नगेन्द्र थापा, गोपाल योञ्जन र नारायणगोपालको त्रिवेणी बनिसकेको थिएन । तर, नगेन्द्र र गोपाल दार्जीलिङको एउटै कलेजमा पढ्थे र मित्रता प्रगाढ भइसकेको थियो । नगेन्द्रले त्यतिबेला गीतलाई छोएकै थिएनन् भने पनि हुन्छ । गोपालले उनका एक-दुइटा गीतमा मात्र धुन भरेका थिए । उनी कवि, अझ मुक्तककारका रूपमा दार्जीलिङभरि प्रसिद्ध थिए । उनी नेपालीमा यति पारंगत थिए, शिक्षकले उनैलाई कक्षा चलाउनसमेत जिम्मेवारी दिन्थे । उनले कतिपल्ट त आफ्नै कक्षाका नेपाली परीक्षार्थीहरूको कापीसमेत जाँचेका छन् । त्यसैले उनलाई साथीहरूले ‘गुरु’को उपाधि दिए । उनी हिलभ्यु होस्टेलमा बस्थे । त्यस होस्टेलमा बस्ने एक जना साथीले एक साँझ आफ्नो प्रेमकहानी सुनाए, “हेर गुरु ! म त्यो केटीलाई असाध्यै चाहन्छु तर ऊ मेरी हुन सक्तिन । त्यसैले म चाहन्छु जीवनमा फेरि ऊसँग मेरो भेट नहोस् । त्यसलाई म सीमान्त माया गर्छु तर मलाई त्यसले हेरेको पनि बिझाउँछ । यो ऊ मेरी हुन सक्तिन भन्ने पीडाको परिणाम हो ।” नगेन्द्रको मनलाई साथीको यस वियोगान्त कथाले मर्माहत पार्यो । उनी भन्छन्, “अन्तत: यो लोकप्रिय गीतको रचना भयो ।” यो कथा सुनेको भोलिपल्ट गोपाल र उनी हिमालय कला मन्दिर गए । गोपालले लय खोजे अनि नगेन्द्रले गीतका बान्की । यसरी जन्म्यो यो गीत :
बिर्सेर फेरि मलाई नहेर
यहाँ एक जीवन आँसुमा डुब्छ
निको भइसकेको पुरानो त्यो घाउ
अनायासै फेरि बल्झेर दुख्छ ।
नारायणगोपालले गाएको यो गीत त्यसताका यति प्रसिद्ध भयो कि बाल, युवक र बृद्ध सबै उमेरले दु:खमा पनि र खुसीमा पनि गुनगुनाए ।
उनको अर्को गीतको रचना पृष्ठभूमि पनि रमाइलो छ । गोपाल र उनी दार्जीलिङबाट कालेबुङ जाँदै थिए । बाटामा पर्ने टिस्टानदी किनारमा उनीहरूले एकछिन यात्रा बिसाए । त्यही बेला नगेन्द्रका दृष्टि टिस्टा किनारामा डुंगा अड्याएर बसेको एक माझीमाथि पर्यो । अनि, उनको कल्पना बेत्तोडसँग दौडदै भर्खर अन्मिएर त्यस किनारामा पुगेकी एक बेहुलीमा रूपान्तरित हुन पुग्यो । बेहुली वारि छ, घर पारि । त्यसैले माया यता पनि छ, उता पनि । तर, उसको साँचो संसार अब नदीपारि छ, जहाँ उसको पति उसको प्रतीक्षामा छ । यी भावहरू उनका मन-मस्तिष्कमा यति तीव्र बेगका साथ तरंगित भए, नगेन्द्रको कलमले तुरुन्त गीत जन्मायो :
तारी न देऊ हे माझी दाइ माइतीको पाप लाग्ला है
छाडी न देऊ ए माझी दाइ, मायालुको श्राप लाग्ला है ।
कालीप्रसाद रिजालले २० वर्षको अन्तरालमा दुईवटा कालजयी गीत लेखे । यसका प्रेरक थिए, स्वरसम्राट नारायणगोपाल । ०३२ सालको कुरा हो, नारायण सांस्कृतिक संस्थानमा महाप्रबन्धक थिए भने रिजाल सूचना विभागमा महानिर्देशक । पत्रपत्रिका पढ्न रुचि राख्ने नारायणको सूचना विभाग धाउने क्रममा रिजालसँग परिचय भयो र दुई-चार भेटपछि उनले यस मान्छेले गीत लेख्न सक्छ भन्ने ठम्याए ।”एकदिन नारायणगोपालले मुखै फोरेर भने,” रिजाल तीन दशकअघि व्यतीत त्यस क्षणलाई सम्झँदै भन्छन्, “रिजालजी तपाईं मेरा लागि गीत लेख्नूस् न !” रिजाललाई निकै अप्ठ्यारो पर्यो । किनभने, नारायणगोपाल अरू गायकजस्तो जस्तो पायो त्यस्तो गीत गाउँदैन थिए । अझ उनले त के पनि सुनेका थिए भने, “मन परेन भने गीतकारकै अघि गीत घ्वारघ्वारी च्यातिदिन्छन् ।” यस्तै परििस्थतिको सामाना गर्नुपर्यो भने ? यस सवालले उनलाई निकै दिनसम्म पिरोलिरह्यो ।
तर, नारायणले उनलाई ‘गीत तयार भयो त ?’ भन्न छाडेका थिएनन् । अनि, एक शनिबार सारा काम छाडेर उनले कोठा थुने र गीत कप्न थाले । रिजाल त्यसबेला उमेरले ३५ नाघेका थिएनन् । तर, उमेरभन्दा धेरै पाका दुई-दुईवटा गीतहरू जन्मिए, ‘आँखा छोपी नरोऊ भनी भन्नु पर्या छ’ र ‘झरेको पातझैँ भयो उजाड मेरो जिन्दगी’ । रिजाल भन्छन्, “हो, मैले त्यस उमेरमा बैँसका गीत लेख्नुपर्ने हो तर मेरो मनले मसँगै सल्लाह नगरी यस्ता उदास गीतहरू लेखिदियो ।” आज उनी पञ्चायतकालको असन्तोष, कुण्ठा र विद्रोह सबै यी दुई गीतमा पोखिएको ठान्छन् । ‘आँखा छोपी’को ‘मुटुमाथि ढुंगा राखी हाँस्नु पर्या छ’लाई त्यसबेलाका दरबारियाहरूले पञ्चायतलाई संकेत गरेको भनेर कचिंगल मच्चाउने चेष्टा पनि गरे तर सफल भएनन् । तर पनि ‘आँखा छोपी’ लामो समयसम्म रेडियो नेपालको प्रसारणमा प्रतिबन्धित हुनपुग्यो ।
युवा गीतकार राजुबाबु श्रेष्ठका कलमले पनि एकदिन ठट्टैठट्टामा एउटा जीवन्त रुमानी गीत जन्मायो । उनी भान्छामा श्रीमती अञ्जुलीसँग बात मार्दै चिया पिइरहेका थिए । उनले ठट्टामै सही, आरोप लगाइन्, “केटा मान्छेहरू बाहिर निस्केर ठिटीहरू देखेपछि घरकी स्वास्नीलाई पनि भुल्छन् ।” यसो भन्दा अञ्जुलीको अनुहारमा यति स्वणिर्म मुस्कान पोखियो कि राजुले तत्काल एक पंक्ति गीत गुनगुनाइहाले, “तिम्रो मुस्कानभन्दा ठूलो अर्को खुसी कहाँ छ र ?” एउटी पारंगत दोहोरी गायिकाले जस्तै अञ्जुलीले पनि तत्काल उत्तर दिइन्, “तिम्रो साथभन्दा न्यानो अर्को सुख कहाँ छ र ?”
गीतकार कृष्णहरि बरालको प्रसंग अलि फरक छ, उनको गीतजस्तै । ०५८/५९ तिरको कुरा हो, देश द्वन्द्वको चरम पीडामा छट्पटिइरहेको थियो । तर, गीतकार बरालकहाँ संगीतकार र गायकगायिका प्रेमकै मात्र गीत माग्न आउँथे । पहिलापहिला त उनले स्वाभाविकै ठाने । तर, एक समय, द्वन्द्वको डढेलोले विकराल रूप लियो, मानौँ समग्र राष्ट्र नै वेदनामा छ । यति हुँदाहुँदै पनि उनीकहाँ प्रेमका गीत माग्न आउनेहरूको घुइँचो घटेन । अनि, उनको कवि मनले विद्रोह गर्यो र उनको कलमले लेख्यो :
यहाँ देशको छ चिन्ता, तिमी माया माया भन्छ्यौ
साँच्चै नबुझ्ने हौ कि नबुझ्नेजस्तै बन्छ्यौ
तिम्रै सुरक्षा गर्न गाह्रो छ यहाँ मलाई
तिमी धर्ती छोडी माथि आकाशका तारा गन्छ्यौ ।
अर्का गीतकार दिनेश अधिकारीले एउटा जमघटमा गीतको विषय पाए । विषयमा नौलोपन पनि थियो र यथार्थ पनि । सुदूर पश्चिम नेपालका दुई जना मित्रहरू गफिँदै थिए । गफको सन्दर्भ प्रेमिका थिई । अलि सिकुटे मित्र अलि मोटो मित्रलाई भन्दैथिए, “तिमीले मनमा राख्नुपर्नेलाई नङमा राखेछौ ।” अनि, दिनेशका दिमागमा गीतका हरफहरू स्वत:स्फूर्त सलबलाए :
माया गर्छु भन्थ्यौ मलाई, तिम्ले ढाँटेछौ
मनमा राख्नुपर्ने माया नङमा राखेछौ ।
दिनेशले जागिरका क्रममा नेपालका विभिन्न ठाउँ घुमेका छन् र ठाउँठाउँका उखानतुक्काहरू सुनेका छन् । उनलाई सुदूर पश्चिमका तुक्काहरूले असाध्य छुन्छन् । उनी भन्छन्, “कति राम्रो विम्ब मन र नङको !” मनको विम्ब त परम्परित भयो नै तर अर्को विम्ब बढो अर्थपूर्ण छ । नङलाई पालेर जति लम्बाए पनि अथवा काटेर छोट्याए पनि हुन्छ । नङलाई धेरै अर्थमा बुझ्न सकिन्छ । जस्तो यसलाई दिनैपिच्छे भिन्न भिन्न रङको पालिसले सिँगारे पनि हुन्छ र ‘रमिोभर’ लगाएर सबै रङ मेटे पनि हुन्छ ।
समग्रमा कतै न कतै भेटिएको कुनै न कुनै सन्दर्भ या घटनाले गीतकारलाई सिर्जनाको भावभूमि जन्माइदिन्छ । प्राय: भन्ने गरिन्छ, हरेक सिर्जनामा स्रष्टा आफैँका भोगाइहरू बढी हुन्छन् । तर, माथिका विभिन्न गीतकारहरूका गीतसिर्जनापछिका प्रसंगहरूलाई मनन गर्दा सर्जकको आफ्नो अनुभवसँगै आफूवरपिरकिो परविेश, घटना र सुनेका भरमा पनि कालजयी गीतहरू जन्मिन सक्छन् । यसैका नमुना उदाहरण हुन् यी गीतकारहरू, जसले कहिले आफ्नै त कहिले अरूको अनुभूतिलाई गीतमा ढालेर जीवन्तता प्रदान गरे ।
नेपाल साप्ताहिक ४५६