Skip to content


नौलो भेट भयो नयाँ नजरमा सौभाग्यले कामना
अर्जी सादर यो इलाम भूमिको यो देशको नाममा ।।
स्वागत् शिष्ट सधैँ नयांँ अतिथिको श्रद्धा र सद्भावना ।
गर्नू शिष्ट स्वभावले र हँसिलो मुहारले वन्दना ।।

पुर्खाकै सीप सिद्ध स्वागत मीठो आतिथ्यको साधना ।।
बाँचोस् वर्ष अनन्त आशीष बनी इलामको कामना ।।
भाषामा भरिँदैन भावहरू जो देखिन्छ आँखा भरी ।
भन्छन् पारखीले पहाडहरूमा इलाम रानी चरी ।

डाँडा बोल्न सके इलाम भरिका मिलेर बोल्ने थिए ।
भुल्के घामसँगै बजाई नगरा ऊठेर भन्ने थिए ।।
पुर्खाको पसिना र राष्ट्र महिमा भुल्दै नभुल्ने सुन ।
सीमा शान र मान मर्दन हुँदा घुर्दै नघुर्ने सुन ।।

यात्रा अन्तु जुरे पुगे पशुपति दर्शिन्छ आँखा भरी ।
बर्दी बेगरको इलाम प्रहरी सीमान्तको केशरी ।।
खल्ती खालि हुँदैन पौरख गरे ईमानले भर्दछ ।
नांगो ढाड हुँदैन अल्छी नगरे जमानले छल्दछ ।।

लज्जा हुन्न यहाँ हलो र हँसिया नाम्ला र दाम्लासित ।
खेल्ने पण्डित हुन् किसानहरूका इलामका इज्जत ।।
यौटै पीर छ देशको र घरको ईलामको आखिर ।।
थाम्ने को छ र ख्वै ? युवा र युवती रोज्गारको खातिर ।

पुस्ता पौरखिला पलायन हुँदा हेरेर बस्ने कति ।
विद्या सीप कला विदेशिन गए यो देश रित्तिन्छ कि ।।
बैनी भाइ सँगी समाज घरको, अन्योल यो देशको ।
बुझ्ने पुत्र नजन्मनू यदि भने, के अर्थ सन्तानको ।।

बाज्दैमा बितिगो भने बलबुता नेताजिको देशको ।
कस्तो हुन्छ दशा भविष्य नहुँदा मेची महाकालीको ।।
हो हैन, भन है, बगान वनका चीया चिरैतो बुटी ।
पैलो सूर्यसँगै इलाम नउठी नेपाल उठ्तैन कि ?

नेता तिन् तिरकै मिले मुलुकमा विधान बन्ने थियो ।
बाजा नौ मतिका बजाई मजिरा इलाम नाच्ने थियो ।।
माटो बिर्सनु हुन्न यो धरतीले सराप दिन्छिन् अरे ।
अर्जी यै छ इलामको किनभने सन्तान यौटै अरे ।।

नेपाल साप्ताहिक ४५६

Leave a Reply

Your email address will not be published. Required fields are marked *