Skip to content

‘को म्हेन्दोला छिग गदे’ (टटेलाको फूल भित्रको शब्दहरू)

  • by
20110812_RajeshRumbaLama_Samikshya


नेटको दुनियाँमा भेटिएका मेरा एक आदरणीय कवियात्री एवं परम् प्रिय मित्र सकुला तामाङ पेसागत रुपमा पत्रकार हुनुहुन्छ । साथै दर्जनौं सामाजिक सघंसंस्थासँग आबद्द रहेर जनहितको निम्ति पनि अनवरत रुपमा कार्यरत हुनुहुन्छ। उहाँ जति मिठो मातृभाषामा कविता रच्नुहुन्छ त्यति नै सुमधुर वाणीको धनी पनि हुनुहुन्छ। सबैसँग समान व्यवहार गर्न रुचाउने हुने सकुलाजीको मुहारमा हरदम मन्द मुस्कानले बास गरिरहेको आभाष पाउन सकिन्छ।

सर्वप्रथम फेसबुककै माध्यमबाट चिनजान भएको मित्र सकुलालाई जति मैले पहिले चिनेको थिएँ त्योभन्दा अझ बढी उहाँलाई जान्ने मौका उहाँसँगैको प्रत्यक्ष भेटघाट २०६७ मा नेपालमा पाएँ । आफ्नो पेशा र साहित्यलाई सँगसँगै लैजान सक्ने खुबी उहाँमा देखेँ। उहाँको मातृभाषामा कथा, कविता लगायत विभिन्न रचनाहरू विभिन्न पत्रपत्रिकामा प्रकाशन यसभन्दा अघिदेखि नै हुदैंआएको पाईन्छ। यसै क्रमलाई निरन्तरता दिदैँ पनि आउनु भएको छ । साहित्य जगतमा तामाङ भाषामा प्रतिभाशाली नारी हस्ताक्षरको रुपमा स्थापित हुने क्रममा अग्रपंक्तिमा हुनुहुन्छ सकुला तामाङ। उहाँले आफ्नो साहित्यिक यात्रालाई निरन्तरता दिने क्रममा हालसालै (२०६८ वैशाखमा)’को म्हेन्दोला छिग गदे’ (टटेलाको फूल भित्रको शब्दहरू) कविता सँग्रह विमोचन गर्नुभएकोछ।

समयको महत्वलाई नजिकैबाट बुझ्नुभएको स्रष्टा सकुल तामाङ साहित्यका अलावा राजनीतिमा पनि सकृय रुपमा लाग्नुभै एक चेतनशिल नागरिकको रुपमा आफूलाई स्थापित गर्न सफल हुनुहुन्छ।

उहाँको यति धेरै बिषेशताहरू बिच मैले आज यस लेख मार्फत उजागार गर्न खोजेको पाटो चाँहि उहाँको हालसालै प्रकाशनमा आएको कविता सँग्रह ‘को म्हेन्दोला छिग गदे'(टटेलाको फूल भित्रको शब्दहरू) समिक्षा हो ।

हुन त म कुनै समालोचक हैन न म कुनै पुस्तकको समिक्षा गर्न सक्ने हैसियत भएको व्यक्ति नै हुँ । तथापि एउटा पाठकीय मनले हेर्दा उहाँको कृति भित्र सरल शब्द, उच्च भाव पाएँ । मेरो यो सानो मस्ष्तिस्कको बुझाईमा यो एउटा मायाप्रेमको अलावा जुझारु र पृथक खालका रचनाहरूले प्रतिबिम्बित मिठो गीति कविता सँग्रह हो । सामन्ती शोषक बिरुद्द दरो आवाज उठाउन सफल यस कृतिले तमाम युवावर्ग लगायत पिछडिएका वर्गहरूलाई आफ्नो हक अधिकारको निमित्त उठ्न र डटेर लड्न अभिप्रेरित गरेको छ।

उहाँले विगत देखि वर्तमान हुदैं भविष्यमा हुन सक्ने सम्भाव्यतालाई देखाउन खोज्नु भएको छ। हरेक घटनालाई सुक्ष्म तवरबाट सरल शैलीमा आफ्नो मौलिकता झल्किने हिसाबले आफ्नै भाषामा पाठकलाई, जनतालाई बोध गराउन खोज्नुभएको छ साथै उहाँको यस कृतिमा एउटा छोरी हुदाँको पीडा, नेताहरूको असली चरित्र, आफ्नो जातियता, आमाको दु: ख, सिंहदरबार देखि लुम्बिनी सम्म अटाउन सफल छ ।

अत: दुई शब्दमा भन्ने हो भने यस सङ्ग्रहका कविताहरूले आजको समयमा भोग्नुपरेको सामाजिक तथा सांस्कृतिक विकृति र विसङ्गतिलाई उजागर गरेका छ । आजका नारीहरू परम्परागत नारीहरूझैँ पराधीन भएर अपमानको साङ्लोले बाँधिएर बस्न सक्दैनन् । यस्ता विभेदलाई भत्काएर समानता, स्वतन्त्रता र आफ्नो अस्तित्वको लागि नारीहरू सक्षम छन् र हुनुपर्छ भन्ने आवाज सङ्ग्रहका कविताहरूले गरेको छ । सधैँ विचरा, निरीह र पराधीन नबनेर नारी अस्मिताको रक्षा गर्न तथा पितृसत्तात्मकताको विरोधमा कवयित्री सकुलाको .”नाना आङ्ग छोर्दोजी”(दिदि बहिनि जागौं) कविताले यसरी बोलेको छ।

नाम्सा गाङ्साला नानाआङा
याङ्लान ज्याबा रे बातोजि
म्हेर्सी चिबा दुई आहिन चु
थार्बाला ज्ञामदा चुङ्तोजि
लेबा फेबाला च्याल्दादा
क्योनोन डिक्सी टाङ्तोजि
जा थेन जामे आफेबा
च्यो च्योला ठिम्दा बातोजी….

नेपालीमा:
गाउँ बस्तीका दिदीबहिनी हो
हाम्रो नि सुदिन ल्याउनुछ
सुतेर बस्ने होइन बेला यो
मुक्तिको बाटो समाउनुछ
विभेदका साङलाहरूलाई
सबैजना मिली तोड्नु छ
छोरा र छोरी नभन्ने
समानताको नीति ल्याउनुछ ।

अन्त्यमा सामाजिक चेतनाको विगुल फुक्ने उहाँको यस कविता सँग्रहमा यति धेरै राम्रा पाटाहरू हुदाँहुदै पनि केही कमी कमजोरी देखिन्छन्। हरेक सृजनाको सबल र दुर्बल पक्ष हुने नै गर्छ यसै क्रममा मैले पहिलो प्रयासमा देखेको कमिकमजोरीमा चाहिं कवयित्रीले जुनै पनि कवितामा शब्दहरू उन्न अलि अल्छी मानेको झैं भान भो किन कि धेरै कविताहरू छोटो हरफका मात्रै छन्, ६, ८, १२ हरफका मात्रै.शायद हुन सक्ला राम्रो कुरा धेरै आबस्यकता पर्दैन भने झैं.त्यसो त आफ्नो भाषामा यसरी पुस्तक नै निकाल्नु चानचुनको कुरा चाहिं होइन । आगामी दिनहरूमा उहाँले यस्ता छिट्पुट कुराहरूमा आफ्नो ध्यान केन्द्रित गर्नुहुने नै छ भन्ने आशा पनि गरेको छु। अबका दिनहरूमा उहाँका रचनाहरू अझ खारिएर स्वतन्त्रताको लडाईलाई अझ शसक्त रुपमा उठान गर्दै हामी पाठकहरू बिच सुर्योदय झै तेजिलो प्रकाश छर्न सक्षम हुनेछन् भन्ने आशाका दियो बाल्दै प्रतिक्षारत छौं।

लेखिका: सकुला तामांग ब्लोन (सन्चु तामांग ब्लोन ग्लान )
आमा, बाबा: बुद्दिलक्ष्मी ग्लान तामांग, लालबहादुर ब्लोन तामांग
जन्मस्थल: शंखु ७ ललितपुर
अध्ययन: स्नातक
कविता सँग्रह’ को म्हेंदो न्हान्गला छिग्कादे (टटेलाको फूल भित्रको शब्दहरू)
प्रकाशन : बैशाख २०६८
प्रति: ५००
मूल्य: रु ५५, (संस्थागत रु. २००)
ISBN : ९७८-९९३७-८३०७-१-३

Leave a Reply

Your email address will not be published. Required fields are marked *