Skip to content

बोल बमको महत्वसँगै भित्रीएको कुरीति

  • by


श्रावणको महिनासँगै सुरु हुने यो शुद्ध र शान्त मनले विशेष पर्वको रुपमा मनाइने “बोल बम बोल बम”ले हिन्दु राष्ट्रहरूलाई एकसुत्रमा बाँधी भाइचारा र धर्म संरक्षणको विशेष ज्ञान दिएको छ । यो श्रावण महिनाको सोमबारलाई विशेष गरी शिवजीको पूजा आराधना गरेर महिला तथा पुरुषहरूले आफ्ना पति तथा पत्नी अनि घरपरिवारमा सुख शान्तिको लागि बरदान मागेर वेलपत्र अनि अरु पुष्प गुच्छाहरूले पूजा गर्ने चलन छ ।

यो हामी हिन्दुहरूको लागि खुसीको कुरा हो कि यस पर्वको माध्यमले नेपालका विभिन्न ठाउँमा छरिएर रहेका नेपालीहरू भेट भई मित्रत्व र वन्धुत्वको संदेशहरू आदान प्रदान गरेर एकसुत्रमा बाँध्ने काम गरेको पाइन्छ । तर विस्तारै विस्तारै यो पावन पर्वलाई कतिपयले फेशन, रवाफ, धाक, धन र ठूल्याँई प्रस्तुति गर्ने माध्यम पनि बनाउन थालेकोले यसलाई रोक्नको लागि हिन्दु धर्मावलम्बीका प्रमुख पण्डित तथा संचालकहरूबाट कुनै ठोस नीति अपनाउनु पर्ने र अनैतीक तरिकाबाट पूजापाठको नाममा भिडभाड मात्रै गराउन आउनेहरू, फेशन तथा अन्य कुनै पनि आफ्नोपनलाई ठूल्याँई देखाउनेहरूलाई र गरिब, दीन, दुःखी र सच्चा हृदयले पूजा गर्न आउनेहरूको एउटै भेषभुषा अनि साधारण तरिकाले हृदयदेखीनै भगवान शिवको पूजा गर्नुपर्ने मान्यताहरूलाई सर्वसाधारण माझ राखेर जानकारी गराउनु पर्ने कुराहरू पनि यथाशिघ्र लागु गरिनु पर्ने देखिएको छ ।

साँचो र सत्य हृदयले पूजा गरिने यो पर्वलाई देखावटी पूजाको रुप देखाएर अरुको अगाडि यस्ले पनि धर्म मान्नेरहेछ भन्ने भान पार्नको लागि जसले पनि यो पूजा गर्दछ उसले गरेको पूजाआजाको कुनै महत्व नरहने कुराहरू हामीले हाम्रा धर्मशास्त्रहरू गिता, रामायण, सुकसागर, पुराणहरूबाट जानकारी पाएका छौं भने यस्तो प्रकारको पूजाले आफैलाई हानी गर्नेकुराहरू पनि मनन् गर्नु आजको आवश्यकता छ । प्रेम भरिएको आत्माले भगवान शिवमा आत्मैदेखी भाव र वैराग्य सहित मन, मस्तष्कि र चेष्ठा लगाएर गरिने पूजाले आफू लगाएत आफ्ना सन्ततिहरूमा सुख, शान्ति र भयबाट मुक्त गराई यस लोकमा आनन्दले बसी परलोकमा पनि सद्गति प्राप्त गर्ने कुरालाई नकार्न सकिंदैन ।

साइकल, मोटर साइकल, कार अनि विभिन्न प्रकारका सावारी साधनको प्रयोग गरी गरिने धर्म भन्दा आफ्नै खुट्टाले हिँडेर त्यस ठाउँसम्म पुगी पूजा गरिने पूजकलाई धेरै पुण्य प्राप्त हुने विश्वास पनि हामी हिन्दुहरूमा प्रवलै छ र यो सत्य पनि हो । टाढाबाट आउने भक्तहरूले पनि मन्दिर परिसर भन्दा धेरै पर बस वा सवारी साधनबाट उत्रेर पैदलै मन्दिरसम्म पुगेको कुरालाई पनि आत्मसाथ गर्दै यसबाट पनि पुण्य आर्जन गरेको महशुस गरिएको पाइन्छ । तर आजको यो दशकसम्म आइपुग्दा कुनै पनि धर्मको लागि होस् या व्रतको लागि होस् लगभग ७० प्रतिशत मानिसहरूले देखावटी र ठूल्याँइ देखाउनको लागि अनि भ्रमण तथा सयर गर्न पाइने साथै घरको कामधन्दाबाट फूर्सत पनि पाइने हुनाले मात्रै व्रत तथा पूजापाठ गर्ने गरेको पनि बढ्दो क्रममा पाइएको छ ।

अन्त्यमा, सबै धर्ममा समाहित हुनुभएका भक्तालु एवं धर्मालुहरूमा भगवानले शक्ति दिउन् र हामीले पनि अनिति र कुरीतिलाई धर्मक्षेत्रबाट जरैदेखी उखेली सच्चा प्रेमभएको हृदयले भगवानको पूजा आर्चना गरी पुण्य आर्जन गरौं । तपाईहरूलाई थाहै छ, भगवानलाई खुशी पार्न धन, सम्पत्ती, राक, धाक, रवाफको जरुरी छैन । धर्मशास्त्रमा पाइने भगवान र भक्तको प्रेमलाई हेर्दा भेलनी बुढी आमाको परखशक्ती र भगवान प्रतिको निष्ठा अनि भक्तिले दिएको पुण्य तथा भगवानको दर्शन अनि सुदामाले गरेको भगवान प्रतिको आस्था विश्वास र प्रेमले विराट स्वरुपको दर्शन पाएको कुराहरूलाई आत्मसाथ गरी हामी पनि यस्तै भक्त र श्रदालु बनी ईश्वरको सम्मुखमा बस्दै आफ्नो जीवनलाई संधै भक्तिमय र पुण्यमय बनाऔं । जय शिवशंकर, बोल बम ।।

सुरज गिरी (शिवमन्दिर–२)

Leave a Reply

Your email address will not be published. Required fields are marked *