कोठाभित्र म,
मभित्र संसार
म देखिरहेछु भित्ता,
झ्याल अनि पर्दा ..
पर्दा पछाडि के छ ?
कोशिशहरूका बाबजुद
मात्र अन्धकार देख्छु
मेरा दृष्टिदोष या भ्रम
या औंशीको उपाहार हो?
अन्धकार…
औंशीको स्थायित्व हुँदैन
दृष्टिभ्रम सत्य होइन
सोचाइका वायुमण्डलभित्र सोच्छु म
आकांक्षाको सगरमाथा उचाल्दै
कल्पनाको शहर बसाउदै
प्रदुषण मुक्त खोला सोच्छु
हराभरा जीवन सोच्छु म
अन्धकार यथावत रहन्छ
तर म सोच्नुको नाममा
मात्र सोचिरहन्छु
सुन्दर भविष्यहरू ..
कथाहरू कविताहरू…
भविष्यभित्र के छ ?
मलाई थाहा छैन तर
प्रत्यक पल वर्तमान भेट्छु
लान्छित, प्रदुषित, कलुषित
अनुत्तरदायी, स्वार्थी वर्तमानहरू
एउटा आक्रोशको तरंग उठछ
र फेरि स्थिर हुन्छ
अनि शायद संचित हुन्छ
स्थिर तलाउमा कम्पन …
ढक..ढक..अवाजहरू ढोकामा
मेरो संसार मेटाउन पर्याप्त छन्
लालचका सौगात बिना पनि
इन्द्रिय भुलाउन बिद्रोह भडकाउन
पर्याप्त छन् अवाजहरू
आस्थाहरू जोशहरू आक्रोशहरू
अवाजसँगै बुलन्द हुँदै
दौडनछन् सडक, मैदानतिर
अवाजभित्र के छ ?
मलाइ थाहा छैन
तर प्रत्येक पटक विकृत
वर्तमानको पटाक्षेप देख्छु
जोश दुगुना बढेर बिद्रोह उम्लन्छ ।
नतिजा भत्किएका सडक
बार क्याबिनेट जेल बैंक
घाइतेहरू बेपत्ताहरू शहिदहरू
नेपथ्यमा आवाजहरू गुन्जिरहन्छन
समस्या बाध्यता बिकृतिहरू
यथावत रही रहन्छन
क्रान्तिको नाममा क्रान्ति गरिरहन्छु
क्रान्ति भित्र के छ ?
मलाइ थाहा छैन
तर प्रत्यक पल विकास देख्छु
कालो बादल फाटे पछिको
स्वच्छ निलो आकाश देख्छु
आवाजहरू गुन्जिरहन्छन ….
म फेरि एक्लो हुन्छु
कोठाभित्र म
म भित्र संसार …
फुल्दै गएका केशहरू
शिथिल हुदै गएका जोशहरू
अनि बढ्दै गएका आक्रोशहरू
आक्रोश भित्र के छ ?
मलाइ थाहा छैन तर
प्रत्येक पल असन्तुष्टि भेट्छु
समाजदेखि संस्कारदेखि
श्रीमतीदेखि र फेरि
असन्तुष्टि जन्मन्छ जीवनदेखि
बिना योग्यताका कर्महरू
समर्पण बिनाका धर्महरू
मरुभूमिमा बग्ने पसिनाहरू
उद्देश्यहरू लथालिंग
आकांक्षाहरू भताभुंग भएपछि
आक्रोश अनि बिद्रोहको के काम ?
मलजलले फुल्ने फूल ओइलिए पछि
सृजनाका स्रस्टाहरू
बिनासमा अल्मलिएपछि
बस दुर्गन्धित खण्डहरहरू…
त्यसैले खण्डहरभित्र म
म भित्र संसार
पुरिएको भत्किएको
अनि उकुस मुकुस्सिएको
आक्रोश अझै जीवित रहेको
बिद्रोह जंगी रहेको
जारी रहेको उद्धार अनि
अपर्याप्त बानी ब्यबहार…
बादल कहिले फाट्ने हो??
सवाल जवाफका शृंखलामा
अस्ताउन लागेको घामलाई
बिहानसँगको सरोकार
घामले जवाफ दिनै पर्छ
फूल कहिले फुल्ने हो??
जुनलाई के सरोकार
माली सकृय हुनै पर्छ
सपनाभित्र म
म भित्र यथार्थ
म सपनादेखि रहेथे
सपनाभित्र के छ ?
यथार्थ छ
सृजनाका हातहरू बाँधेर
अल्मलिदै यथार्थ भुलेर
म बँच्नुको नाममा बाचीरैछु
गन्तव्य फगत मृत्यु सम्झी
किरा फट्यांगँरा सरी बाँचिरैछु
साँचेर सपना, आक्रोश..असन्तुष्टि
धर्तीलाई बोझ बनी…..
बाँच्नुको नाममा बाची रैछु
हातमुख जोरेर बाची रैछु
जवाफ छैन बिपनामा
फूल कहिले फुल्ने हो?