Skip to content

२०६७ को साझा पुरस्कार दुबसु क्षेत्रीलाई


२०६७ को साझा पुरस्कार वरिष्ठ साहित्यकार दुबसु क्षेत्री (पुरा नाम: डा. दुर्गाबहादुर सुवेदी क्षेत्री)लाई प्रदान गरिने भएको छ । उनको हालै प्रकाशन भएको ‘अश्वमेध यज्ञका घोडाहरू’ कविता-संग्रहको लागि उक्त पुरस्कार प्रदान गर्न लागिएको हो ।

साझा प्रकाशनले गत भदौ ३ गते सो कुराको घोषणा गरेको हो ।

‘अश्वमेध यज्ञका घोडाहरू’मा कवि दुवसु क्षेत्रीले २०४७ सालपछि मूलशीर्षक वरिपरि रचिएका कविताहरू समाविष्ट गरेका छन् । रंगभेद, धर्म-साम्प्राय, असमानता, दासत्त्व, आदि अमानवीय समाजको विरूद्धमा कलात्मक ढंगले प्रहार गरिएको यस कृतिका कविताहरूप्रति समालोचकहरूबाट सकारात्मक प्रतिकृयाहरू आउन थालेका छन् (रमण घिमिरे, नेपाल साप्ताहिक)। यस कृतिमा पौराणिक पात्र र घटनाहरूलाई प्रतीक बनाएर आधुनिक समाजमाथि व्यंग्य गरिएको छ ।

स्मरण रहोस् साझा प्रकाशनले २०२६ सालदेखि प्रत्येक वर्ष प्रकाशित नयाँ कृतिमध्ये सर्वोत्कृष्ट मौलिक ग्रन्थलाई बर्षेनी प्रदान गर्दै आएको साझा पुरस्कारको राशि रु. ५१ हजार छ । यस पुरस्कार हालसम्म प्राप्त गर्नेहरूमा भूपी शेरचन (२०२६), बालकृष्ण सम (२०२९), चुणामणि बन्धु (२०३६), मदनमणि दिक्षित (२०३९), लक्ष्मीप्रसाद देवकोटा (२०४९), माधव घिमिरे (२०५४, २०५८), आदिको नाम उल्लेखनीय छ ।

साहित्यकार दुबसु क्षेत्रीका पुरस्कार प्राप्य यस कृति बाहेक हालसम्म ‘दुबसु क्षेत्रीका केही कविता’ (कविता संग्रह), ‘दुबसु क्षेत्रीका प्रारम्भिक कविता'(कविता संग्रह), ‘दुबसु क्षेत्रीका प्रारम्भिक गजल’ (गजल संग्रह), ‘तिमीले छोडेका यादहरू’ (गीत संग्रह), आदि मौलिक कृतिहरू र अन्य सम्पादित पुस्तकहरू प्रकाशित भैसकेका छन् ।

यस अघि साहित्यकार दुबसु आदिकवि भानुभक्त पुरस्कार, मेखा-मालिका साहित्य पुरस्कार, युवा-वर्ष मोती पुरस्कार, गरिमा पुरस्कार, आदि एक दर्जनभन्दा बढी पुरस्कारद्वारा सम्मानित भैसकेका छन् ।

सुवेदी हाल जापानका लागि नेपाली राजदुतावासका उप-नियोग प्रमूख समेत रहेका छन् ।

सन्दर्भ सामग्री:

2 thoughts on “२०६७ को साझा पुरस्कार दुबसु क्षेत्रीलाई”

  1. दुबसु क्षेत्रीज्यूलाई बधाइ
    मझेरीको तर्फबाट साहित्यकार दुबसु क्षेत्रीज्यूलाई बधाइ छ ।

  2. प्रत्यक्ष धेरै पढ्न नपाएपनी
    प्रत्यक्ष धेरै पढ्न नपाएपनी नेपाली साहित्यमा धेरै उल्लेख्य नाम हो दुबसु छेत्री। अवस्य उहाको उक्त कृति महत्वपूर्ण र सार्थक छ नै होला जसले साझा पुरस्कार बाट सम्मानित हुने सौभाग्य पाएको छ। आशा गर्छु उक्त कृति छिट्टै पढ्न पाउनेछु। दुबसु दाई लाई हार्दिक हार्दिक बधाई एबँ अझै धेरै सफलताको कामना !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *