Skip to content

सपना सङ्घर्ष र सफलता

  • by
LakpaSherpaSamarpit

सपना सबैले देख्छ पुरा कति हुन्छ कति हुदैन फरक पाटो हो । सङ्घर्ष सबैले गर्दछन् – फरक कतिले मनदेखि त कसले तनदेखि पुराउने कोसिस गर्दछन् । तर कुरा जब सफलताको आउँछ थोरैले मात्र चाखेको हुन्छ ।

यहाँसम्म पुग्दा कति आफै हराइन्छन सपना त कति अरूबाट दबाइन्छ सपना । थोरै मात्र सपना र संघर्षको परीक्षा पास गरेर सफलताको चरणमा पुग्दछ । सपना फरक फरक यहाँ हुन्छ सबको फरक हुन्छ पुरा गर्ने तरिका सफलता को खुशी एउटै हुन्छ जसले जति सफलता पाए पनि । जब मान्छेलाई भोक लाग्छ तब उसले मिठो देऊ भन्दैन खाना देऊ भन्छ । सफलता पनि यस्तै हो ।

कुनै पनि महान् सफलताको सुरुवात सपनाबाट हुन्छ । प्रायः सपना सुरुवातमा अपत्यरिला हुन्छन् र त्यो सपना पुरा गर्छु भन्ने मान्छे पनि । तर, समय परिवर्तनशील छ आफ्नो सपना भनेको जीवनको लक्ष्य हो । सपना बिना जीवन अधुरो नै हुन्छ त्यसैले सपना देख्नु मानिस हुनुको अर्थ हो जस्तो लाग्छ मलाई। हामी धेरै जनाको सपना जीवनमा सुख पाउने र सफल हुने नै हुन्छ। तर, कसरी जीवन सुखी हुन्छ र सफलता कसरी हासिल गर्न सकिन्छ भन्ने कुरामा भने ख्याल भने राख्दैनौ। जसले गर्दा सपनाहरू अधुरो रहन्छन । जे होस् यो सपना भन्ने कुरा उमेर, वाताबरण र संगतमा भर पर्ने कुरा रहेछ।

धेरै मानिस सपना पूरा गर्न नसकिने डरले सपना नै देख्दैनन् । उनीहरूको साथमा जहिले पनि बहाना तयार हुन्छ । कहिले परिवारको, कहिले साथीभाइको तथा कहिले समयको बाध्यताको बहाना बनाउने चलन मानिसले आफ्नो सुविधाका लागि नै बनाउँछ । यस्तै, आफ्नो गच्छे र दक्षअनुसारको सपना देख्नुपर्छ भन्ने मानिसहरूको पनि कमी छैन यो संसारमा । सत्यता यदि त्यही हो भने मानिसले आफ्नो गच्छे र दक्षअनुसारले सपना देखेको भए अब्राहम लिङ्कन, महात्मा गान्धी, अल्बर्ट आइन्स्टाइन, थोमस अल्बा एडिसन, बिल गेट्सजस्ता मानिसहरूलाई हामीले चिन्दैनथ्यौ होला ।

जीवनमा हरेक मानिसको सपना हुन्छ। अधिकांश मानिस आफूलाई सफल, सबल र सक्षम बनाउन चाहन्छन। तर पनि किन हुन्न हरेक मानिसको जीवन सोचे जस्तो ? किन सबै मानिस सफल हुन सक्दैनन् ? किन एउतै परिवेशमा हुर्केर बढ्ने र पढ्ने वा एउतै परिवारमा जन्मेका छोरा छोरीहरू कोही सफल हुन्छन भने कोही किन असफल हुन्छन ? असफल हुँदा कसैले आफ्नो भाग्यलाई दोष दिन्छन भने कसैले आफ्नो कर्मलाई दोष दिन्छन। के यो भाग्यको खेल हो वा कर्मको दोष हो ? वा, भगवानको आशिर्बादले त्यस्तो भएको हो? कि नियतिले नै त्यस्तो बनाएको हो? मेरो मनमा मात्रै हैन हामी अधिकांशको मनमा यो कुरा खेलेको हुन सक्छ।

हामी सबैलाई थाहा छ मानिस जुन परिवारमा, परिवेशमा र जुन परिस्थितिमा जन्मन्छ त्यो त परिवर्तन हुन सक्दैन। न त हरेक मानिसको हुर्काई र बढाई नै आफ्नो हातमा हुन्छ। कसैले जन्मदैमा राजकुमार हुने भाग्य लिएर आउँछन् त कोही एकदमै बिपन्न वा केवल मागेर जीवन पाल्ने परिवारमा जन्मन्छन। यो त केवल भाग्यको खेल हो। कसैले यसलाई पूर्वजन्मको फल भन्छन भने कसैले यसलाई नियतिको खेल पनि भन्छन।

संसारमा धेरै उदाहरणहरू छन्, जो बिपन्न परिवारमा जन्मेर पनि पछि सम्पन्न भएको र सम्पन्न परिवारमा जन्मेर पछि कंगाल भएको। किन त्यस्तो हुन्छ ? के यो भगवानको देन हो वा आफ्नै कर्मको फल हो ? मलाई लाग्छ मानिसले जस्तो कर्म गर्यो त्यस्तै फल पाउँछ। सत्मार्ग, सत्कर्म र मेहेनतको फल हो सफलता। हरेक मानिस कुनै न कुनै कुरामा योग्य हुन्छ। हामीले यो संसारमा कुनै मानिस देखेको छौ जुन दोश्रो मानिससँग रुप, बुद्धि, विचार र गुणमा ठ्याकै उस्तै हुन्छ ? बिल्कुल हुँदैन। त्यसैले हरेक मानिस आफैमा विशेष हुन्छ। यदि हरेक मानिस आफैमा विशेष हुन्छ भने किन ऊ सफल हुँदैन ? त्यसको एउतै कारण हो – सबै मानिसले आफ्नो गुण पहिचान गर्न सक्दैनन् र मौका वा अवसरको फाइदा लिन सक्दैनन्।हरेक मानिसको जीवन सोचे जस्तो त कहाँ हुन्छ र? कहिले कुनै कुराको कमी हुन्छ, कहिले आफूले सोचेको केही पुग्दैन। अनि हरेक मानिस आफैमा कहिले पनि सन्तुष्ट हुन सक्दैन। एउटा कुरा पुग्यो, फेरि अर्को चाहना हुन्छ।

हुन पनि लक्ष्य पुरा गरेर चुप लगेर बस्ने हो भने फेरि प्रगति र उन्नति कसरी हुन सक्छ र ? प्रगति र उन्नतिको लागि एउटा सिढी चढेपछि अर्को उक्लने प्रयास गर्नु पर्छ। तर, आफ्नो हैसियत, परिवेश, क्षमता र दक्षताको सीमा र परिधि भने आफैले तोक्ने हो।जसरी खाना मीठो बन्नको लागि धेरै चिजहरूको आवश्यकता पर्छ त्यसरी नै सपनादेखि सफलतासम्म पुग्नका लागि पनि थुप्रै चिजको आवश्यकता पर्छ । सदैव याद राख्नुहोला, जसको सपना हुन्छ, त्यसलाई पुरा गर्ने आँट र साहस धैर्यता र निरन्तर मेहनत हुन्छ उसले नै सपना पूरा गर्छ, किनकि जसले सपना देख्छ त्यो सपना पूरा गर्ने जिम्मेवारी पनि त्यही व्यक्तिकै हुन्छ ।

हरेक व्यक्ति समाजसँग जोडिएको हुन्छ। उसले एक्लै पनि प्रगति गर्न त सक्छ तर समाजको प्रगति विना उसको समग्र प्रगति हुँदैन। त्यसैले समाजलाई अगाडि बढाउन वा समाजको अगाडि बढ्ने दर तिब्र पार्न आफ्नो जीवनकालमा बढीभन्दा बढी भौतिक र दिमागी श्रम लगानी गर्न सकियोस् भनेर गरिने संकल्प नै हामीले देख्नुपर्ने सपना हो।
आफ्नै जीवनकालमा मानिसहरुले यथासम्भव परिवर्तन भोग्न पाउन् भनेर लक्ष्य किटान गरेर यात्रा गर्नु र त्यो लक्ष्य पूरा गर्न दिनरात एक भएर लाग्नु नै परिवर्तनकारीले देख्नुपर्ने सपना हुनुपर्छ।मेरो विचारमा त्यस्तो सपना नै देख्न हुँदैन जुन पूरा भएन भनेर दुःखी हुन परोस्। स्वभाविक रुपमा सपना पूरा हुन पनि सक्छ र नहुन पनि। यसको कुनै ग्यारेन्टी हुँदैन। सम्भावना पूरा भएन नै भनेपनि त्यस्तो सपना देख्नेको जीवन गौरवमय नै हुन्छ। आफ्नै जीवनकालमा सबै कुरा पूरा हुनुपर्छ भन्ने पनि ठिक होइन।

कुनै पनि मानिसले आफ्नो जीवनकालमा सबै कुरा प्राप्त गर्न सक्दैन।तर तपाईंको मुख्य लक्ष्य अर्थात ठुलो लक्ष्य त कार्यकारी हुने नै राख्नुहोस् । जति ठुलो लक्ष्य राखिन्छ, त्यति नै ठुलो विश्वास कायम राख्नुपर्छ । र, त्यति नै ठुलो योजना समेत बनाउनुपर्छ । यदि यसो गरिए त्यति नै मात्राको उपलब्धि अर्थात लक्ष्य हासिल गर्न सकिन्छ । ठुलो लक्ष्य लिऔं, ठुलो उपलब्धि प्राप्त गरौं ।

लाक्पा शेर्पा समर्पित
ताप्लेजुङ हाल धनगडी कैलाली नेपाल
सम्पर्क : +9779804690381

Leave a Reply

Your email address will not be published. Required fields are marked *