Skip to content


एउटा कर्कश रोदनले मेरो ध्यान आकषिर्त गर्‍यो । आर्यघाटमा कसैको लाश आइपुगेछ । सायद ती महिलाको दाइको हुनुपर्छ । दुई जनाले वरपरबाट समाएर उनलाई सान्त्वना दिँदै थिए र उनी चिच्याइरहेकी थिइन् । लाशलाई ब्रहृमनालमा राखेर जल चढाएपछि जलाउन चिता भएतिर लैजान लागेपछि यस्तो क्रन्दन सुरु भयो सायद । किनकि म पनि अघिदेखि यही दृश्य हेर्दै थिएँ एकटकसँग तर ध्यान रहेनछ भन्ने बल्ल महसुस भयो ।

जिन्दगीको अन्तिम र कटुसत्य हेर्दै थिएँ पशुपतिको पारिपट्ट िबसेर । भोलि, पर्सि या कुनै पनि क्षण, कुनै दिन या केही वर्ष या धेरै वर्षपछि म पनि यसरी नै ल्याइने छु । मेरो अन्तिम बिदाइका लागि कोको आउलान् वा को रोलान् या कति खुसी होलान् जिन्दगी सोच्दै गर्दा झन्झन् जटिल लाग्न थाल्छ । को होलान् यी जसका चिता जलिरहेका छन्, कोही भर्खर सुरु गरेका, कोही केही क्षण अगाडि र कुनै सकिन लागेका ।

आर्यघाट जीवनको अन्तिम बिसौनी, पशुपतिको काखमा । किन पशुपतिकै छेउमा ? भद्रकाली, दक्षिणकाली, भए के हुन्थ्यो ? जब कि बलि देवीहरूलाई चढाइन्छ । मेरो मन विद्रोह बोल्छ । साँझको ६ बजिसकेको छ र घर फर्किन मन छैन । चिताहरू क्रमशः एकपछि अर्को जल्दैछन् । भर्खर मात्र मेरो काकाको चिता जलेको हो, त्यही ठाउँमा अर्को सुरु गरिसके । कस्तो विडम्बना एकछिन पनि सेलाउन नपाउने । कति व्यस्त यो आर्यघाट । मर्नेहरू पनि जल्नलाई लाइनमा बस्नुपर्ने । जन्मेदेखि सुरु भएको यो क्रमअनुसार लाइनमा बस्ने काम मृत्यु उप्रान्त पनि कायम छ ।

म किन अनुभव गरिरहेछु, मेरो काका सौभाग्य शाहलाई म यही बसेरै भेट्ने छु, भर्खरै त हो जलाएको । आत्मा यही कतै छ जस्तो लागिरहेको छ । पीडाबोध गरिरहेछु । अहँ ! एकपटक आत्मालाई नै भेट्ने इच्छा जाग्छ । कसरी सम्भव छ र ? जलेर खरानी भएको शरीरलाई पनि पानी हालेर पखाली दिने कस्तो नराम्रो चलन ? कमसेकम केही क्षण, शरीरको खरानी स्पर्श गर्न त पाइन्थ्यो ।

मेरो आमालाई जलाउँदा पनि यस्तै पीडाबोध भएथ्यो । शब्दमा व्यक्त गर्न नसकिने पीडा । लोकेन्द्र भाइको पालामा आर्यघाट आउन दिएनन् । जानु हुँदैन यस्तो बेला भनेर । यी आएका दुवैपटक अत्यन्त मर्माहत भएँ । कसरी आगोले पनि जलाउन सक्यो होला मेरा आफन्तहरूलाई । आगोसँग मेरो दुश्मनी भएको छ अचेल । म मरे पनि यही आगोले जलाउँछन् होला तर मलाई योसँग जल्न मन पटक्कै छैन किनकि यसले मेरै सामुन्ने मेरो आमालाई खरानी बनाएको छ । सुन्दर शरीर झन् छिटो जल्छ कि के हो ? क्षणभरमै आमाको अस्तित्व विलीन भयो । मेरालागि अपार मायाको खानी थियो त्यो, कल्पवृक्षजस्तो जति लिए पनि, जे मागे पनि पाइरहने ममताको भण्डार र आशीषको पोखरी थियो । म कसरी त्यो चिताको आगोलाई माफ गरुँ जसले मलाई टुहुरो बनायो । त्यसैले मलाई त्यसको रापले पनि डस्ने गर्छ । हजारौँ विषालु सर्पले जस्तो । पर्खेर बसेको होला मेरालागि पनि तर मलाई त्योसँग जलाइमाग्न मन छैन ।

बास बस्न खोजेका चराहरूको चिरविर र डुब्न लागेका घामको मरन्च्यासे आलाप फैलिएको छ वातावरणमा । केटाकेटीहरू बाग्मतीको पल्लो किनारमा फुटबल खेल्दैछन् । छाडा छाडेका गाईवस्तुहरू पनि मन नलागी नलागी वासस्थानतिर फर्किन थालेका छन् ।

बाबाजीहरू सुल्पा तान्दैछन् र वातावरणमा एक प्रकारको गन्ध मिसि्रत धूँवा छोडिरहेका छन् । फेरि अर्को लाश आइपुगेछ, शव वाहन आइपुग्यो । लाश आउने क्रम रोकिएको छैन । कस्तो गतिशीलता हो, जन्मने र मर्नेक्रमको ? चिताहरू बलिरहेका छन् र लाशहरू ओइरिरहेका छन् ।

जीवनका हजारौँ उतारचढावहरू सकेर अन्तिम बिसौनीमा बागमतीको फोहोर पानीले नुहाउनैपर्ने मोक्ष प्राप्तिको लागि ? कसले देखेको छ मोक्ष प्राप्त गरेको र कसरी गरिन्छ मोक्ष प्राप्ति ? शास्त्रहरूमा वणिर्त बागमती शिवजीको वासस्थानको पवित्र नदी दुर्गन्धित भएको छ मानवीय संवेदनहीनताले । सभ्यताको नाममा भित्रिएको असभ्यताले मूकदर्शक बनेका छन् । शिवजी आफ्नै आँगन फोहोर हुँदा पनि ।

जीवनका हजारौँ विसङ्गतिहरूमध्ये मोक्षप्राप्तिका लागि गरिने अन्तिम विसङ्गति । फेरि रुने क्रम जोडले सुरु भयो । मौन रुवाई हुँदै थियो । आँसुबाट पीडा बगाउन सक्नु पनि धेरै राम्रो हुँदोरहेछ यदि सक्यो भने जीवनचक्र हाम्रो वशमा छैन, सोचिन्छ अर्कै र भइदिन्छ अर्कै ।

भोलिका लागि हजारौँ सपनाहरू साँचेर सुतेको मान्छे बिहानको सूर्योदय हेर्न पाउँदैन । कम्प्युटरमा आधा रहेका कामहरू भोलि पूरा गर्नुपर्ने थियो, अधुरै रहन्छन् । धेरै ठाउँमा हुने समारोहमा प्रतिनिधि, अतिथि या विशिष्ट वक्ताको रूपमा निम्त्याइएका सौभाग्य शाहको के दोष थियो र ? राम्रै सुतेर पनि भोलिपल्टको सूर्योदय हेर्न नपाउनु ?

रेडियोमा ‘घटना र विचार’ मा बोली सकेर टि.भी.को ‘कुराकानी’ कार्यक्रमको रेकर्ड गरी घर फर्किन लागेका लोकेन्द्र शाहको के दोष थियो र ? बेलुकै एम्बुलेन्सले पेटीमा हिँडेका बेला किचेर ज्यानै लिनुपर्ने । कवितासङ्ग्रह छपाउनका लागि प्रेसमा कुराकानी नमिलेपछि घर ल्याएर टेबुलमुनि थन्क्याएको उनको कवितासङ्ग्रहको पाण्डुलिपिमा पनि धेरै दिनसम्म उनको परिश्रमको गन्ध आइरहेको थियो । उनले एकपटक लगाएर खोलेर राखेको कमिजमा आएको शरीरको गन्धजस्तै । धेरै दिनसम्म मैले त्यसलाई महसुस गरेँ । उनकी आमाले सायद आफ्नो जीवनको अन्त्यसम्म बिर्सन सकिनन् । छोराको बिहेका लागि केटीको कुरा इष्टमित्रकहाँ चलाइरहेका बूढा बाबु र बुहारीको (हुनेवाला) लागि गहना जोड्दै गरेकी बूढी आमाले सोचेका थिए र छोराका लागि १३ दिने किरिया कर्म गर्नु पर्ला भनेर ? जीवनको यो कस्तो विसङ्गति ? सोचिने अर्कै र हुने अर्कै ।

पशुपतिमा साँझको आरती गर्ने बेला भएछ क्यारे भक्तजनहरू कार्पेट मिलाउन थाले । दीयाहरू ठीक पार्न र कोही माइक मिलाउन थाले सधैँको जस्तो सामान्य तरिकाले । जीवनका यी चलिरहने प्रक्रियालाई सहजताका साथ स्वीकार गर्दै अँध्यारो ओर्लिने तरखरमा छ ।

चिताको धूँवासँगै मेरो मन अकासिँदै छ र शरीर जडवत् खडा छ पशुपतिको पारिपट्टकिो पेटीमा । अँध्यारोमा विलीन हुन चाहन्छु आज सदाका लागि ।

वनस्थली

मधुपर्क २०६८ साउन

Leave a Reply

Your email address will not be published. Required fields are marked *