Skip to content


रिन्छिन् हवाईजहाजबाट ओर्लेर खाली खुट्टै सरासर आगमन कक्षसम्म आइपुगिन् । उनले दायाँबायाँ कतैतिर पनि हेरिनन् । आगमन कक्षमा आएर उनी एउटा कुर्सीमा थचक्क बसिन् र एकोहोरो टोलाउन थालिन् ।

रिन्छिन् चढेको हवाईजहाजमा कुनै विशिष्ट व्यक्ति पनि थिए । उनको स्वागतका लागि थुप्रै मानिसहरू आएका थिए र पत्रकारहरू पनि थिए । त्यो विशिष्ट व्यक्ति आगमन कक्षमा आउनेबित्तिकै पत्रकारहरू उनीतिरै झुम्मिए । क्लिकक्लिक क्यामेराहरू चल्न थाले । सबै पत्रकारहरू विशिष्ट व्यक्तिको पछि लागे तर एउटा पत्रकारको ध्यान भने एक्लै टोलाइरहेकी रिन्छिन्तिर आकषिर्त भयो । एउटी युवतीलाई त्यो पनि अन्तर्राष्ट्रिय विमानस्थलमा खाली खुट्टै बसिरहेको देखेर त्यो पत्रकारको ध्यान आकषिर्त भएको हुनुपर्छ । रिन्छिन्ले थाहै नपाउने गरी टोलाइरहेको अवस्थामा उसले एउटा फोटो खिचिहाल्यो । क्यामेराको क्लिक आवाज र क्यामेराबाट निस्केको झिलिक्क उज्यालोले गर्दा रिन्छिन्को एकाग्रता भङ्ग भयो र उनले झसङ्ग भएर पत्रकारतिर हेरिन् ।

पत्रकारले आफैँलाई हेरिहेको देखेर रिन्छिन् फिसिक्क हाँसिन् । मिलेर बनेको दन्तलहरको बीचमा एउटा दाँत भाँचिएको रहेछ । उनको गोरो मुहारमा त्यो भाँचिएको दाँत चन्द्रमामा लागेको कालो दागजस्तै देखिन्थ्यो । उनी हाँसेको देखेर पत्रकारले फेरि अर्को फोटो खिच्न खोज्यो तर उनले झटपट दुवै हात उठाएर मुख छोपिन् र माथितिर हेरेर फेरि टोलाउन थालिन् ।

पत्रकारले सानो हाते टेपरेकर्डर अन गरेर रिन्छिन्लाई सोध्यो, ‘कहाँबाट आउनु भा’को ?’

आफ्नै मातृभाषामात्रै जानेकी रिन्छिन्ले सायद कुरा बुझिनन् र फिसिक्क हाँसिन् मात्र । पत्रकारले फेरि दोहोर्‍याएर कहाँबाट आएको भनेर सोध्यो । यसपटक पनि उनले केही नबोली पहिला आफ्नो पेट र त्यसपछि आफ्नो झोला सुमसुम्याउन थालिन् । उनको साथमा एउटा मैलो खालको हाते झोला थियो । त्यो झोला पनि सम्भवतः रित्तो थियो ।

एउटा पत्रकारले रिन्छिन्लाई अघिदेखि केरकार गरिरहेको देखेर अब अरू पत्रकारहरू पनि त्यतैतिर आए । धेरै मानिसहरूलाई आफ्नो वरिपरि देखेर रिन्छिन् डरले काम्न थालिन् र रुन पनि थालिन् । उनको यस्तो हालत देखेर सबैले उनको मानसिक स्थिति ठीक नभएको अनुमान लगाए । मानिसहरूको अनुमान त्यतिखेर सही निस्कियो, जब केही बेरपछि नै आफ्नो वरिपरि झुम्मिएका मानिसहरूतिर हेरेर रिन्छिन् फेरि एक्लै फिसिक्क हाँसिन् ।

रिन्छिन्ले हप्तौँदेखि ननुहाएजस्तो लाग्थ्यो । उनको कपाल पनि नकोरिएको र असरल्ल थियो । जीउमा लगाएका कपडा पनि मैला थिए । अनुहारमा घाउका खतहरू थिए । पाइताला सुन्निएजस्ता थिए । उनको आँखाको हेराईलाई हेर्दा लाग्थ्यो उनी भित्रभित्रै डराएजस्ती र कताकता हराएजस्ती थिइन् । रस निखि्रएको सुक्खा ऊखुजस्तै नीरसनीरस रिन्छिन् । कहाँ पैसा कमाउन भनेर जोशजाँगरका साथ विदेशिएकी सुकुमारी रिन्छिन्, कहाँ सबै जोशजाँगर र यौवन निखारेर बल्लतल्ल आफ्नो घर फर्किएकी उदास, उराठ र नीरस रिन्छिन् !

पहाडको घर । उब्जनी र आम्दानी कम तर खाने मुख धेरै । घरको जेठो सन्तान भएको हुँदा जिम्मेवारी रिन्छिन्कै काँधमा आएको थियो । दुईचार पैसा कमाउने मेसो गर्नैपर्ने बाध्यता उनले महसुस गरेकी थिइन् तर पहाडमा कुनै उपाय थिएन कमाउने । उनका धेरै सङ्गीहरू कमाउन विदेश गइसकेको हुँदा उनले पनि उतैतिर जाने निधो गरिन् । तैपनि जानका लागि कुनै मेसो थाहा थिएन । बल्लतल्ल नाताले फुपू पर्ने एउटी स्वास्नीमान्छेले उनलाई विदेश जाने बन्दोबस्त गरिदिने भइन् । उनी उनैको भरमा पर्न थालिन् ।

बूढो बाबुले घरमा भएभरका खसीबाख्रा बेचेर सहरसम्मको बाटोखर्च जुटाइदिए । बाँकी विदेश पुग्ने खर्च उनै फुपू पर्ने स्वास्नीमान्छेले चर्कै ब्याजदरमा मिलाइदिने भइन् । भएभरका खसीबाख्राहरू बेचेर रित्तिएका खोर देखेर रिन्छिन्लाई निकै नरमाइलो लाग्यो । आँखाभरि आँसु पारेर उनले बाख्राको खोर हेरिन् र मनमनै विदेशबाट फर्केपछि फेरि त्यो खोर खसीबाख्राले भर्ने अठोट गरिन् । चर्को ब्याजदरको ऋणले उनी केही दिन त अत्तालिन् पनि तर विस्तारै स्थिति सहज हुँदै गयो । पासपोर्ट र भिसा हात परेको दिन रिन्छिन् निकै खुसी भइन् र त्यसलाई ओल्टाइपल्टाई हेरिरहिन् । नपढेकी रिन्छिन्लाई सुनेको भरमा त्यो पासपोर्ट र भिसा भनेर थाहा पाएकी हुन् । घरेलु कामदारको रूपमा काम गर्न विदेश जान लागेकी रिन्छिन्लाई विदेशमा के र कसरी काम गर्ने भेउ पनि थिएन । तैपनि त्यही स्वास्नीमान्छेकै भरमा उनी ढुक्क थिइन् ।

केही दिनपछि नै रिन्छिन् त्यो स्वास्नीमान्छेसँगै हवाईजहाज चढेर विदेशतिर लागिन् । हवाईजहाजबाट हेर्दा गाउँसहर सबै निकै रङ्गीन लाग्यो रिन्छिन्लाई । अनि आफूले पनि सुखी भविष्यको रङ्गीन सपना बुन्न थालिन् ।

विदेशमा पुगेर रिन्छिन्लाई एउटा घरमा छोडेर ती स्वास्नीमान्छे फर्किन् । फर्केर ती स्वास्नीमान्छे कता गइन् त्यो पनि रिन्छिन्लाई केही थाहा भएन । नौलो देश, नौलो परिवेश, नौलै भाषा अनि नौलै भेष । रिन्छिन्ले त्यहाँको बोली, व्यवहार र संस्कृति केही पनि बुझिनन् । न अरूले बोलेको आफूले बुझ्नु, नत आफूले बोलेको अरूले बुझ्नु । रिन्छिन् त लाटीजस्तै भइन् । आफू कुन देशको कुन ठाउँमा छु भन्ने पनि रिन्छिन्लाई केही थाहा भएन । खाडी मुलुक भन्नेसम्म उनले सुनेकी थिइन् तर त्यो कुन मुलुक हो भन्ने उनलाई थाहा भएन । ती स्वास्नीमान्छेले बेलाबेलामा भेट्न आउँदै गरुँला भनेकीले रिन्छिन्लाई उनैको मात्र भर लागिरह्यो ।

पुगेकै दिन रिन्छिन्ले मालिकको बेडरुममा ओछ्यान् मिलाउने काम गरिन् । ओछ्यान मिलाउँदै गर्दा मालिक आइपुग्यो । मालिककले उनलाई निकै लोभिएर हेर्‍यो । हिउँजस्ती गोरी अनि भर्खरै फक्रेको फूलजस्ती मस्त तरुनी रिन्छिन्लाई देखेर मालिक निकै लोभियो । ओछ्यान मिलाएर रिन्छिन् कोठाबाट निस्कनै लाग्दा मालिककले उनको हात च्याप्प समात्यो । रिन्छिन्लाई निकै डर लाग्यो । डरले मुटु निकै जोडजोडले धड्किन थाल्यो । उनले बल गरेर हात फुस्काउन खोजिन् तर मालिकको बलसामु उनको बलको केही लागेन । मालिकले एकछिनसम्म हात समातेर उनलाई हेरिरह्यो तर केही गरेन । एकछिन् पछि उनको हात छोडिदियो । रिन्छिन् दौडेर त्यहाँबाट बाहिर निस्किन् । रिन्छिन् स्वाँस्वाँ गर्दै दौडेर आएको देखेर बाहिर बसिरहेको मालिकको छोरोले उनलाई अनौठोसित हाँसेर हेर्‍यो । रिन्छिन्लाई त्यहाँ पनि डर लाग्यो ।

अब रिन्छिन्लाई लाग्यो – यो अनिष्टको सङ्केत हो । किनभने उनको पहिलो गाँसमै ढुङ्गा लागिसकेको थियो । घरमा स्वास्नीमान्छेलाई नदेखेपछि रिन्छिन्ले अनुमान लगाइन् मालिक एक्लो छ र छोरो पनि अविवाहित छ । त्यहींकी एउटी महिला साँझबिहान खाना बनाउन आउँथी र खाना खुवाएर जान्थी । त्यो महिला गएपछि रिन्छिन् घरमा एक्लै हुन्थिन् । अब यी दुई हिंस्रक जनावरहरूबाट कसरी बचेर बस्ने ? रिन्छिन्लाई चिन्ता लाग्न थाल्यो ।

रहँदै, बस्दै र गर्दै जाँदा रिन्छिन्ले काम सिक्दै गइन् । भाषा नबुझे पनि इशारा र अनुमानका भरमा काम गर्दै गइन् । कहिलेकाहीं इशारा नबुझेर र अनुमान फरक परेर काम बिग्रँदा उनले नबुझिने भाषामा घरको मालिकबाट गाली खाइन् भने कहिलेकाहीं कुटाइ पनि खाइन् । त्यतिबेला उनी झल्झली आफ्नै गाउँठाउँ सम्झेर रोइन् ।

मालिक बिहानै घरबाट निस्कन्थ्यो र साँझ परेपछि मात्रै र्फकन्थ्यो । मालिकको छोरा पनि दिनभरि बाहिर जान्थ्यो तर केही दिनदेखि भने ऊ दिनभरि घरमै बस्न थाल्यो । रिन्छिन् यताउति गर्दा ऊ पनि रिन्छिन्को पछि लाग्नथाल्यो । रिन्छिन् पनि ऊबाट सकेसम्म बचेर हिँड्न थालिन् ।

एक दिन दिउँसो रिन्छिन् कपडा फेर्न लागेकी थिइन् । त्यही बेलामा ढोकामा ढकढक्याएको आवाज आयो । उनले हतारहतार लुगा फेरेर ढोका खोलिदिइन् । ढोकामा मालिकको छोरा उभिइराखेको रहेछ । ढोका खुल्नेबित्तिकै ऊ भित्र पस्यो । उसले अनौठोसित हाँसेर रिन्छिन्लाई हेर्नथाल्यो र विस्तारै रिन्छिन्को हात समातेर आफूतिर तान्नथाल्यो । रिन्छिन्ले बल लगाएर पछाडि हट्न खोजिन् तर सकिनन् । उसले रिन्छिन्लाई च्याप्प समातेर गालामा बेसरी टोकिदियो । रिन्छिन्को स्याउजस्तो रातो गालामा उसको दाँतको डामै देखियो र त्यहाँबाट रगत चुहिएलाजस्तो भयो । रिन्छिन् त्यहीँ थचक्क बसेर सुँक्कसुँक्क रुन थालिन् । रिन्छिन् रोएको देखेर ऊ त्यहाँबाट लुसुक्क बाहिर निस्क्यो ।

एव्म रितले यस्तो क्रम बढ्दै जानथाल्यो । कहिले मालिकले त कहिले मालिकको छोराले रिन्छिन्लाई सताउन थाले । रिन्छिन्ले केही सोच्न सकिनन्, अब के गर्ने भनेर । उनले यस्तो पनि हुन्छ भनेर कल्पना पनि गरेकी थिइनन् । उनले मनमनै सोचिन्, ‘यस्तो हुन्छ भन्ने थाहा पाएकी भए जस्तै दुख परे पनि यस्तो ठाउँमा आउने थिइनँ । यी भोका कुकुरहरूको लुछाचुँडी सहेर बस्नुभन्दा आफ्नै गाउँठाउँमा घाँसदाउरा गरेर बस्थेँ ।’

फेरि अर्को दिन रिन्छिन् कामहरू सकेर लुगा फेर्न लाग्दा ढोका ढकढक्याएको आवाज आयो । हतारहतारले लुगा फेरेर ढोका खोल्दा ढोकामा मालिकको छोरा नै उभिइराखेको रहेछ । उसले हातमा केही कुरा लुकाइराखेको रहेछ । रिन्छिन्लाई घचेट्दै कोठाभित्र ल्यायो र आफूले ल्याएको कुरा देखायो । देखेर रिन्छिन् चकित् परिन् । त्यो लुगा फेर्न लाग्दाखेरिको उनकै फोटो थियो । रिन्छिन् अचम्ममा परिन्, कसरी खिच्यो उसले त्यो फोटो ? रिन्छिन्ले यताउती हेरिन्, बाहिरबाट देखिने खुला ठाउँ कतै थिएन । अनि मालिकको छोरा आफैँले माथि सिलिङ्तिर देखायो । उनले उतै हेरिन् । त्यहाँ क्यामेराजस्तो वस्तु थियो । त्यो सीसी -क्लोज सर्किट) क्यामेरा थियो । अब रिन्छिन्ले धेरै नबुझे पनि यति कुरा बुझिन् कि त्यो कोठाभित्र उनका सबै क्रियाकलापहरू उनीहरूले त्यो क्यामेरामार्फत् अर्को ठाउँबाट हेरेर बस्दा रहेछन् । अनि रिन्छिन्ले अरू ठाउँमा पनि त्यस्तो छ कि भनेर हेरिन् । जहाँजहाँ रिन्छिन् जाने गरेकी थिइन्, ती सबै ठाउँमा त्यस्तो वस्तु राखेको देखिन् । त्यसपछि रिन्छिन् सतर्क हुन थालिन् तर जतिसुकै सतर्क भए पनि लुगा त फेर्नैपर्थ्यो । बाथरुममा गएर नुहाउनै पर्थ्यो । आफ्ना सबै क्रियाकलापहरू उनीहरूले त्यसरी हेरिरहँदा रहेछन् भन्ने थाहा पाएर रिन्छिन्लाई एकैसाथ लाज र डर पनि लाग्नथाल्यो । सायद रिन्छिन्को दुर्दिन सुरु भइसकेको थियो । एक पछि अर्को दुर्घटनाहरू हुन थाले ।

एक दिन रिन्छिन् कोठामा बसिरहेको अवस्थामा मालिकको छोरा आएर मनपरि गर्न थाल्यो । रिन्छिन्ले उसले भनेजस्तो नमान्दा उसले रिन्छिन्लाई मरणासन्न हुनेगरी पिट्यो । रिन्छिन् पीडाले बेहोस भइन् । उनको बेहोसी अवस्थामै मालिकको छोराले आफ्नो वासना पूरा गर्‍यो । होसमा आउँदा रिन्छिन्लाई आफू निकै कमजोर भएको महसुस भयो । पीडाले उनलाई अझै छोडेको थिएन ।

यति भइसकेपछि रिन्छिन्ले अब केही सोच्नैपर्ने भयो र सोचिन्, ‘अब के गर्ने ?’ तर उनले केही निर्णय भने गर्न सकिनन् । भागेर जानलाई पनि कहाँ जाने र कसरी जाने उनलाई केही थाहा थिएन । कसैको गुहार माग्नलाई पनि कोसित माग्ने ? कोहीसित सम्पर्क छैन । बेलाबेलामा आउँदै गर्छु भन्ने ती स्वास्नीमान्छे पनि फर्केर आएकी होइन । चुपचाप बसिरहनलाई पनि कसरी बसिरहने ? अब यस्तो ज्यादती सधैं दोहोरिन सक्छ । प्रतिकार गर्नलाई पनि कसरी गर्ने ? रिसले सडकमा लगेर छोडिदियो भने के गर्ने ? र कहाँ जाने ? अन्तिममा रिन्छिन्सित चुप लागेर बस्नुसिबाय अरू केही उपाय भएन । कमाउनकै लागि आएको हुँदा नकमाइकन कसरी र्फकने भन्ने प्रश्नले उनलाई बारम्बार पिरोलिरह्यो । त्यसैले केही नकमाउञ्जेल चुपचाप सहेरै बस्ने निर्णय गरिन् रिन्छिन्ले ।

रिन्छिन्माथि बाबुछोराको ज्यादती भने बढ्दै नै गयो । कहिले बाबुले त कहिले छोराले रिन्छिन्लाई आफ्नो वासना पूरा गर्ने साधन बनाउन थाले । मालिकको छोराले दिउँसै रिन्छिन्सित अनेक प्रकारले खेल्न थाल्यो भने मालिकले पनि राति सुटुक्क रिन्छिन्को ओछ्यानमा घुसि्रएर वासना पूरा गर्न पल्क्यो ।

एक दिन दुई दिन गर्दागर्दै रिन्छिन्लाई पनि बानी पर्दै गयो । उनले नाईंनास्ती गर्नै छाडिदिइन् । आखिर उनले जतिसुकै नाईंनास्ती गरे पनि केही हुने होइन । करले वा बलले समर्पण गर्नैपर्छ । नत्र झन् बढी ज्यादती सहनुपर्छ । त्यो भन्दा त बरु सहिदिनु नै जाती । यस्तै सोचेर रिन्छिन्ले इन्कार गर्नै छाडिदिइन् । तब त मालिक र मालिकका छोरा दुवै जना रिन्छिन्सँग खुसी हुनथाले । तब रिन्छिन्ले पनि मनमनै सोचिन्, अब त राम्रै कमाउँला र ऋण तिर्ने र घर चलाउन पुग्ने कमाइ लिएर स्वदेश फर्कुंला ।

तर रिन्छिन्को कल्पना तब भङ्ग भयो, जब उनी गर्भवती भएको कुरा मालिकले थाहा पाए । काममा खटिँदाखटिँदै रिन्छिन् आफैँलाई पनि हेक्कै भएन उनको महिनावारी कहिले रोकियो भनेर । आफ्नो पेट स्वाभाविकभन्दा निकै ठूलो भएपछि मात्रै उनी झसङ्ग भईन् आफू गर्भवती भएको थाहा पाएर । अनि एक दिन आफ्नो बढेको पेट मालिकलाई देखाएर सहानुभूति पाउन खोज्दा उल्टै मालिकले लात हानेर उनलाई घरबाट निकालिदिए र राति नै सडकमा ल्याएर छोडिदिए ।

उनी अलपत्र परिन् । कहाँ जाने ? के गर्ने ? कसलाई गुहार्ने ? उनलाई केही पत्तो थिएन । त्यसैले सडकमै बसेर विलौना गर्न थालिन् तर कसैले उनको विलौना सुन्ने चेष्टा गरेनन् । मानिसहरू उल्टै खिसी गर्दै हाँस्दै जान थाले । रुँदारुँदै थाकेर र भोकप्यासले इन्तु न चिन्तु भएर उनी बेहोस भएर ढलिन् ।

गस्तीमा आएको नगर प्रहरीले देखेर झक्झक्याउँदा मात्रै उनी ब्यँुझिन् । प्रहरीले केके सोधँे र केके भने रिन्छिन्ले केही बुझ्न सकिनन् । धेरै बेरको प्रयासपछि प्रहरीले कहाँबाट आएको भनी सोधेको होला भन्ने ठानेर उनले यत्ति भनिन्, ‘नेपाल ।’ त्यति भएपछि पुगिहाल्यो प्रहरीलाई पनि । उनीहरूले रिन्छिन्लाई सीधै नेपाली दूतावासमा लगेर जिम्मा लगाइदिए । अनि दूतावासले पनि सीधै नेपाल पठाइदियो ।

अब खाली खुट्टा, रित्तो हात, रित्तो झोला र पेटमा बिदेशीको पापको निशानी बोकेर कहाँ जाने ? रिन्छिन्ले केही सोच्न सकेकी छैनन् तर एउटा कुरा निश्चित छ, भोलिको अखबारको मुखपृष्ठमै उनको ठूलो फोटोसहित ‘पीडित घरेलु कामदार’ शीर्षकमा समाचार भने अवश्य छापिनेछ । किनभने अघि नै पत्रकारले उनको फोटो खिचिसकेको छ ।

मधुपर्क २०६८ साउन

Leave a Reply

Your email address will not be published. Required fields are marked *