Skip to content


जनयुद्धका संस्मरणहरू – महान् जनयुद्धका अविस्मरणीय आख्यानलाई संस्मरण विधामा उन्ने काम विभिन्न स्रष्टाले गर्दै आएको सन्दर्भमा ‘समरका स्मृतिहरू’ नामक थप कृति आएको छ । विगतको घटना प्रसङ्गमा आधारित हुने र स्मृतितत्त्वका साथै पश्चकालिक प्रस्तुति रहने संस्मरण विधाको मूल अभिप्राय भुक्तजीवनको अभिव्यक्ति गर्नु मात्र नभई उदात्त वा आदर्श विचारको अभिव्यञ्जन गर्नुसमेत रहेको पाइन्छ । संस्मरणका स्रष्टा शोभा कट्टेल ‘प्रतिभा’ ले यौद्धिक जीवनलाई ज्यादै नै कलात्मकताका साथ ‘समरका स्मृतिहरू’मा प्रतिविम्बित गरेकी छन् ।

सोह्र खण्डमा विभाजित कृतिमा महान् जनयुद्धको आरम्भ हुनुभन्दा अघिका केही अनुभव र अनुभूतिलाई समेट्दै जनयुद्धका प्रसङ्गमा प्राप्त विशिष्ट भावबोधलाई अभिव्यक्ति दिइएको छ । यसमा जनयुद्धका प्रक्रियामा योद्धाहरूले खेलेको भूमिका, जनयुद्धका क्रान्तिकारी चरित्र, प्रतिक्रियावादीको कुरूपता आदिलाई देखाइएको छ । शाही सेनाको ब्यारेकभित्र बस्दा र बाहिर पुरानो सत्ताका किल्ला ध्वस्त बनाउने अनेकन् कार्यवाहीहरूलाई नेतृत्व प्रदान गरिएको घटना-सन्दर्भलाई सत्यतथ्य पूर्णरूपमा पस्किएको छ । कृतिमा जनयुद्ध, पार्टी र सेनाको यथार्थ सत्यको प्रस्तुति कलात्मक ढङ्गले गरिएको छ । जनताको मुक्ति र साम्यवादी आदर्शप्रति प्रतिबद्ध रहेकी शोभा कट्टेल ‘प्रतिभा’ आफ्ना संस्मरणमा कुनै किसिमको सम्झौता नगर्ने सर्वहारावादी नायिकाका रूपमा उपस्थित भएकी छन् । युद्धमोर्चाका बीच योद्धा साथी समरको सहादतलाई स्वीकार गर्न तथा वर्ग-सङ्घर्ष र अन्तर्सङ्घर्षलाई सँगसँगै लैजान समर्थ योद्धा-प्रतिभा शोभा आफ्ना संस्मरणलाई वैयक्तिकताको रङ्गबाट विरूप बन्नबाट जोगाएकी छन् । यी संस्मरणमा क्रान्तिकारी योद्धा पात्र यौद्धिक विचारसहित उभिएकी छन् । आहृलाद र त्रासद दुबै स्थितिका बीच स्रष्टाले विगत महान् युद्धका सौन्दर्यलाई अभिव्यक्ति दिएकी छन् । सानो, कलिलो उमेरदेखि नै क्रान्तिकारी जीवनलाई आत्मसात गर्दै र चुनौतीपूर्ण एवम् प्रवहणशील पथलाई पछ्याउँदै अनि अनैतिहासिक परिघटनासँग गाँसिदै व्यक्तिगत चाहना र रहरबाट मुक्त हुँदै मुक्तिकामी चेतनाबाट सुसज्जित भई अगाडि बढेकी शोभा कट्टेलका यी संस्मरण अप्रतिम साहसजन्य हुन् । जनयुद्ध र तत्जन्य मनोवेगलाई अकृत्रिम, सहज र मिठासपूर्ण शैलीमा अभिव्यञ्जन गर्ने कलाले शोभालाई कुशल आत्मसंस्मरणकारको कोटीमा उभ्याएको छ । यिनमा युद्धको, जीवनको, मुक्तिको, युद्धपथको, समूहको र आदर्शको नयाँ विम्ब छ । युद्धमोर्चाबाट सोझै जन्मिएका हुनाले यी संस्मरणमा आत्मीयता र तातो सम्पर्क पाउन सकिन्छ ।

आफ्ना अनुभव र अनुभूतिलाई प्रभावकारी शैलीमा प्रस्तुत गरिएको यो कृति सार्वजनिक रुचिलाई आकषिर्त गर्न समर्थ छ । भोक्ता पात्र शोभा संस्मरण समूह नायक भएर उपस्थित छन् र उनका माध्यमबाटै यौद्धिक जीवनका घटना र परिघटनालाई वृत्तात्मकरूपमा उपस्थापन गरिएको छ । यौद्धिक सन्दर्भ र त्यसका कठिन पक्षहरू, आशा-निराशाका, आत्मिक सङ्घर्षका अनेकन् रूप, आदर्श संरक्षण र विचलन हुने स्थितिका दुर्द्धर्ष प्रयत्न र त्यसबाट सग्लै निस्किएका आश्चर्य लाग्दा क्षणपुञ्जका चित्रणमा स्रष्टाले चमत्कार देखाएकी छन् । उनको यो युद्ध प्रातिभ कौशल महनीय एवम् उच्च छ । सोह्रवटा उपशीर्षकका शृङ्खलालाई ‘समरका स्मृतिहरू’ शीर्षक दिइ महान् जनयुद्ध र स्रष्टाकै योद्धा साथी समर दुबैलाई सङ्केतिक गरेको राखी शीर्षकलाई ध्वन्यात्मक तथा आलङ्कारिक बनाइएको छ । ‘समर’ को अर्थ जनयुद्ध हो र योद्धा पात्र पनि हो, जससँग स्रष्टाको आत्मीय एवम् भौतिक सम्बन्ध रहेको छ । युद्धलाई पनि कलात्मक एवम् अर्थपूर्णरूपमा अभिव्यञ्जन गरिएको छ, जसले पाठकलाई भावोत्तेजक तथा गतिशील बन्न उत्प्रेरित गर्दछ । दर्शन, राजनीति, वर्ग-सङ्घर्ष, इतिहास, संस्कृति र मानवताका पक्षमा चिन्तन मात्र होइन, निर्माणका निम्ति हौस्याउने सामर्थ्य कृतिकारमा रहेको छ । पहिलो कृतिबाट नै प्रभाव पार्न सफल रहेकी शोभा कट्टेल ‘प्रतिभा’ मा गम्भीरता छ र कथन गर्ने चमत्कारपूर्ण शैली देखिन्छ । उनको एक्लो अनुभवको बयान होइन, सर्वहारा वर्गको महान् यात्राको इमान्दारीपूर्ण सङ्कथन हो यो कृति ।

कृति ः समरका स्मृतिहरू (संस्मरणसङ्ग्रह)
लेखक ः शोभा कट्टेल ‘प्रतिभा’
प्रकाशक ः समर-प्रतीक मासिक, चितवन
प्रकाशन ः २०६८, वैशाख
पृष्ठ ः १४४
मूल्य ः रु. १००।-

मधुपर्क २०६८ साउन

Leave a Reply

Your email address will not be published. Required fields are marked *