Skip to content


केबुलकार चढ्न लाइन बसेकाको उत्साह गजबकै थियो । दुई चारपटक केबुलकार शयर गरिसकेकामा समेत फेरि चढ्दा कस्तो हुँदो हो भन्ने कौतूहलता हुँदो रहेछ । ‘तीन पटक त आउने जाने गरिसकेँ तैपनि केबुलकारमा बस्दाको खुल्दुली लागिरहेछ,’ चौथो पटक मनकामना दर्शनका लागि पुगेका धादिङका राजन दुवाडी भन्दै थिए ।

दर्शनार्थीको दैनिक भिड लाग्ने मनकामना मन्दिरमा शनिबार र सार्वजनिक बिदाको दिन आगन्तुकको उपस्थिति बाक्लिँदो रहेछ । कुनै समय मनकामना मन्दिर दर्शनकै लागि धाउनेको उपस्थित बाक्लो हुन्थ्यो । अचेल धर्मकै बहानामा मन्दिर धाउनेहरू घटेका छन् । समय र प्रविधिले उपलब्ध गराएको सेवा र सुविधा उपभोगका लागि तन्नेरी पुस्ता सिपालु भइसकेको रहेछ । “मनकामनाको दर्शन त बहाना मात्रै हो । हामी त रमाइलोका लागि घुम्न आएका,” मनकामना आउनुको खास कारण खोले राजनले । उनको समूहमा भएका चारैजनाको उद्देश्य घुमफिर नै रहेछ । भर्खरै मोटरसाइकल किनेका किरण लम्सालले पनि घुमफिरमै काठमाडौँबाट अढाई घण्टा खर्च गरेको सुनाए ।

केबुलकारको टिकट लिएर लाइन बसेकाहरूमा धेरैजसो केटाकेटी थिए । भाकल पूरा गर्ने बहानामा बोका डोर्‍याएर पुग्नेहरू पनि नभएका होइनन् तर भिड तन्नेरी पुस्ताकै थियो । मन्दिरमा पूजाका लागि पुगेका पाका भने इमान्दारीपूर्वक लाइनमा हुन्थे तर केटाकेटी खासखुस चलिरहे जस्तो भावमा हुन्थे । प्रायः आफ्नै समूहमा गएकाले पनि होला उनीहरूको हल्लिखल्ली बढी नै हुन्थ्यो ।

प्रायःको हातमा क्यामेरावाला मोबाइल थियो । गतिलो क्यामेरा बोक्नेहरू पनि धेरै थिए । डिजिटलको प्रविधिको फाइदा उठाउने त कति कति ! रूप परेकी केटी देख्नै नहुने । एक हूल केटाहरू केटीको छेउमा गएर कुरा गरे जस्तो गर्थे भने त्यही समूहका अर्काथरि साथीको फोटो खिच्ने बहानामा केटीको अनुहारमा क्यामेरा फोकस गर्थे ।

लमजुङबाट दोस्रोपटक मनकामना आएका भोजबहादुर गुरुङले भने- “मलाई त यही मन्दिरले प्रेमिका जुराइदियो ।”

दर्शनका लागि एक्लै आएका भोजबहादुरले प्रेमीप्रेमिका मन्दिर आउन नहुने मिथक सुनाए । उनी भन्दै थिए- ‘गर्लफ्रेन्ड मन परेन भने मात्रै मनकामना मन्दिर ल्याउनु । यहाँकी माताले त छुटाइदिन्छिन् अरे !

केटाकेटीको चर्तिकला हेर्दाहेर्दै केबुलकार चढ्ने बेला भएछ । १५ मिनेट आकाशमा उडेको अनुभव गर्दा नगर्दै केबुलकार स्टेसनमा पुगिसकेछ । निश्चित समयमा नउत्रेमा फेरि एक राउन्ड लाउनुपर्ने नजिकै उभिएका सुरक्षाकर्मीले सुझाएपछि हामी हतारहतार उत्रियौ । तलजस्तो भिड थियो माथि पनि लगभग त्यस्तै रहेछ ।

त्यसपछि अलिकति हिँडेपछि सुरु भयो मनकामना बजार । पहिलो गौडोमै ठ्वास्स गन्हाएका बोका साहु भेटिए । हेर्दै काठमाडौँमा भेटिने ट्यापेजस्ता लाग्ने केटाहरू कराउँदै थिए- लौ हजुर बोका चाहिन्छ भने लानुस् । छानिछानी ।

विभिन्न सामान बेच्न बसेका साहुसाहुनीको गन्गन पनि कम थिएन । ‘तपाईंलाई के चाहिन्छ ? साँचो झुण्ड्याउने ? ठेकी ?? मादल ??? आदि आदि । होटल साहुको गन्गन झन् चर्को । ‘ल आउनोस् । हाम्रोमा सबैभन्दा मीठो पाइन्छ । सबै कुरा सुविधा छ ।’

मन्दिर मुन्तिर प्रत्येक गरामा रेस्टुराँ खोलेका साहुजीका कामदारका कुरा सुन्दा लाग्थ्यो ‘नेपालमा भएका होटलमध्ये सबैभन्दा मीठो खान पाइने नै यही हो ।’

अझ सुन्तला खाने सिजनमा जानुभयो भने प्रत्येक होटल साहुले आलाप्नेछन्- हामीकहाँ खाना खानुभयो भने पेटभरि सुन्तला खान पाउनुहुनेछ । होटलको गेट पार नगर्दै होटलका कर्मचारीले मीठो शैलीमा आउनुस् भन्दा जो सुकैलाई लाग्छ ‘अब भने स्वादिलो सुन्तला खान पाइने भो ।’

ख्ाँना खाने टेबिलमा बसेपछि भने ‘सुन्तला खान आउनुस्’ भन्ने मान्छे वरिपरि नै ढिम्किँदैन । ढिलो गरी एकजनालाई एउटाको दरले सुन्तला दिएपछि उ फेरि अर्को मान्छेलाई त्यही भन्न गौडामा पुगिसकेको हुन्छ । थप सुन्तला माग्नुभयो भने होटलवालाको गाली आउनसक्छ । त्यसकारण सावधान रहनु ने बेस !

मन्दिर परिसरको अव्यवस्थित भिडभाडको वास्ता नगर्ने हो भने ठीक छ तर मन्दिरको छेउमै बनेका अग्ला निजी भवनले मन्दिरलाई साह्रै हेपेको अनुभव हुन्छ । भारतवाट आएका एकजना यात्रु गनगन गर्दै थिए- ‘नेपाली नागरिकले मन्दिरको महत्त्व बुझेका रहेनछन् ।’

पूजा गर्नेहरूको लाइन त्यति अव्यवस्थित हुँदैन । जुत्ताचप्पलको जोहो आफैँले गर्नुपर्छ । तपाईंलाई त्यहाँको चिनो ल्याउन पर्‍यो भने अवसरहरू धेरै छन् । स-परिवार घुम्न जानुभएको छ भने मनकामनालाई पृष्ठभूमि बनाएर फोटो खिचाउन सक्नुहुन्छ । डिजिटल क्यामेरा बोकेका किशोरहरूले तपाईंल भने जस्तै फोटो खिचिदिनेछन् ।

मन्दिरमा देखिने हल्का फोहोर, होटलवालाको चर्को शुल्क त सामान्य नै हो । काठमाडौँमा निस्सासिएको मान्छेका लागि एक दुई दिन मनकामनाको बसाइँ ठीक्कै छ । केही नभए पनि स्वस्थ हावा खान पाइन्छ ।

युवामञ्च २०६८ साउन

Leave a Reply

Your email address will not be published. Required fields are marked *