Skip to content

मैले च्यात्न नसकेको मेरो बुढो डायरी

  • by
20110911_AcharyaPrabha_01


धेरै बर्ष अघिदेखि मैले यो डायरीलाई सुरक्षितसँग सम्हालेर राखेकी छु । मानौं यो डायरी मेरो निम्ति जनम जनमको साथी हो। हर स्वास्नीमान्छेहरू विवाहपश्चात सुन, चाँदीका गर-गहनाहरू सुरक्षित साथ राख्दछन् । राम्रा राम्रा लुगा कपडाहरू जतन गरेर राख्दछन् । घर जग्गा जोढ्ने र भएकालाई पनि बडो संचित गरेर राख्दछन् । तर म भने यही डायरीलाई जिन्दगीको सेरोफेरो मानेर जता बसाईँ गए पनि आफूसँग सँगै लैजाने गर्दथेँ र अहिले पनि यो सात समुद्रपारिको देशमा उक्त डायरी मेरो अचुक सम्पत्ति बनेर मसँग नै लेप्सिएर बसेको छ । चाहे छोटै गन्तब्यको बाटोमा होस् वा अहिलेको लामो दुरीको बसाईमा होस् ।

यहाँहरू भन्नु होला । उसोभए त्यो डायरीको के त्यस्तो भूमिका र महत्व होला त ? जस्लाई जहाँ गए पनि जतन र मायाको साथ लैजानु पर्ने । हो, मान्छेका आ-आफ्नै रहर, ईच्छा, आकाँक्षा हुन्छन् । मेरो भने ईच्छा, उदेश्य नै लेखन थियो । म सानैदेखि लेख्न रुचाउँने भएकीले म लेखन क्षेत्रमा नै आफ्ना सपना साँच्न थालेँ । पत्र- पत्रिकाहरूमा २०३४ सालदेखि नै रचनाहरू यदा कदा आउँन थाले जतिबेला म यस्तै १३/१४ बर्षकी थिएँ शायद । उतिबेलैदेखिका कतिपय मेरा रचना प्रकाशित भएका पत्रिकाहरू मैले पाएसम्म बटुलेर राख्न थालेकी थिएँ । अब उक्त डायरी मलाई लेख्नलाई होइन मेरा प्रकाशित रचनाहरू त्यस्मा सुरक्षाको लागि टाँस्न सजिलो भयो र मैले पाए जति रचनाहरू उक्त डायरीमा काटेर टाँस्न थालेँ । म जहिले जहाँ जाँदा पनि लेख्न नै मन पराउँने स्वभाव भएकीले उक्त डायरी मलाई भारतस्थित सिलिगुडीका मेरा एक जना भेनाज्यूले उपहार स्वरूप दिनुभएको थियो आज भन्दा बिस बर्ष अघि । वहाँले त्यो डायरी दिने बेलामा मलाई के भन्नु भएको थियो भने “प्रभा तिमीलाई म यो डायरी राम्रा राम्रा कविताहरू भर्नलाई दिन्छु तर तिमीले फेरिको भेट्मा मलाई यो डायरी भरेर देखाउनु पर्छ नि “भन्ने बचन दिनु भएको थियो । त्यो समय मैले वहाँलाई पनि त्यही बाचा गरेकी थिएँ र उक्त बाचा मैले पुरा पनि गरें तर त्यस्मा कविता लेखेर होइन प्रकाशित्मेरा सबै अन्तर्वाता र रचनाहरू संगालेर । आज म सम्झिन्छु । त्यो डायरी नै मेरो लेखन मार्गको पथप्रदर्शक बन्यो जुन मैले उपहारमा पाएँ । त्यो उपहारले गर्दा म जतिबेला त्यो डायरी आफ्नो सामु देख्छु उक्त भेनाको मुहार झल्झली सम्झिन्छु जो मेरो लागि अप्रत्याशित रूपमा लेखन क्षेत्रको प्रेरक बन्नु भयो ।

लेखन क्षेत्रकै हाराहारीसँग मेरो जीवनको दैनिकी पनि त चलिरहेथ्यो । एउटी गृहिणी अनि आमा, पत्नी, बुहारी अनेक साइनोभित्र म आफ्नो भूमिका पनि निभाउँन वाध्य थिएँ । जीवन हो। घाम पानी त भइरहन्छ र भइरहन्थ्यो पनि । साँच्चै भन्नु हो भने मेरो जीवनमा घामको झुल्को भन्दा पानीको मुलको नै आधिपत्य बढी थियो उस्बेला । म हर आफ्ना भावनाहरू कलमको साहारामा छताछुल्ल पोख्ने गर्दथें । अनि पत्रपत्रिकाको माध्यमबाट आफ्ना जिन्दगीका उकुसमुकुसहरू सबैलाई बाँड्दथेँ र त्यही डायरी थियो मेरो भावनाका शब्दहरू सुरक्षित गरिदिने । साँच्चै मलाई त्यो बेला लाग्दथ्यो त्यो डायरी मेरो जीवन हो। मेरो दु:खको आसुँ पुछ्ने साथी हो र’त म त्यस्लाई माया गर्थें र मुटुको टुक्रा झैँ जतन गरेर राख्दथें । समयानुसार डायरीले बुढ्यौलिको रूप फेर्दै गयो । उस्का शरीरले मेरा रचनाका भारहरू थाम्न नसक्ने भइसके ता पनि म उसलाई भार थमाउँदै गई रहेँ । मानौं ऊ मेरो संरक्षक हो जस्ले मेरो सम्पत्तिको सुरक्षा गरिरहेको छ । कहिले मन आत्तिएको बेला त्यही डायरी पल्टाउँथेँ र शान्त्वनाको स्वास फेर्दथें । मान्छे हो सबैलाई बाधा अड्चन त आउँछ नै । मलाई पनि बाधा बिरोध त अदृश्य रूपमा नआएको थिएन उस बेला मेरो कलमी यात्रामा । कतिपटक त्यही डायरी आँखाको कसिङर पनि नबनेको होइन । त्यही डायरीलाई मैले पनि मेरो आकाँक्षाको पर्याय भए पनि मेरो संसारको बिरोधी ठानेकी थिएँ । कहिले त लाग्थ्यो च्यातेर मिल्काई दिऊँ झैँ । हात अघि बढे पनि मनले रोक्दथ्यो र त्यो डायरी मेरो बिनाशी स्वभावबाट बँच्दथ्यो ।

हो, त्यही डायरीले मलाई साहित्यकाशको चुचुरोमा झिनो आशा बनेर भएपनि लेप्सिएर बाँच्न वाध्य गरायो । उतिबेला त्यो प्रकारको डायरी किन्ने ममा सामर्थ्य पनि थिएन । त्यो डायरी साधारण डायरी थिएन । ज्यादै बाक्लो र महत्वपूर्ण थियो । कती पटक त्यो डायरीको सुरक्षाकोलागि मैले गाता लगाएँ र पुरानो हुँदै च्यातिँदै गए तर पनि बुढो डायरी अझै आफू कम्जोर बनेर पनि अझसम्म मेरा रचना र सम्पूर्ण मेरा कलमी लगानीहरूको पाले बनेर मेरो लेखनको रक्षक बनेर अझै मेरो कोठामा पल्टिरहेछ । उसो त यो डायरी मेरो सब थोक मात्र थिएन । घरमा कोही साहित्यिक तथा सांगीतिक पाहुनाहरू आए भने उनीहरूलाई देखाउने माध्याम पनि थियो । त्यो जमानामा प्राय:सबैको घरमा जाँदा पाहुनाहरूलाई फोटो अल्बम देखाउँने चलन थियो तर म भने ति पाहुनाहरूलाई मेरो उही बुढो डायरी अघाडी राखी दिन्थें । ति साहित्यिक, सांगीतिक वा कोही पनि पाहुनाहरू मेरा डायरी हेरेर छक्क पर्दथे र भन्दथे । आहा ! तपाईँको यो अमुल्य सम्पत्ति हो । यस्लाई सुरक्षित गरेर राख्नोस है ? यसरी यो डायरीको प्रचार प्रसार पनि यदा कदा भएको थियो । कहीं कतै साहित्यिक, सांगीतिक कार्यक्रमहरूमा कसै कसैले यो डायरीको कुरा गर्न पनि पछि पर्दैनथे ।

एकदिन म घरमा यत्तिकै बसिरहेकी थिएँ । एकजना बहिनी आइन् (जस्को नाम अहिले मैले बिर्सेँ र मनमा गुनेर राख्न पनि जरुरी सम्झिइन तर मैले सम्झिन अति नै जरुरी रहेछ जुन कुराको महत्व अहिले बुझ्दैछु ।) र भनिन् “दिदी मलाई हजुरको बारेमा जानकारी चाहिएको छ । झापाकी महिला हस्ताक्षरमा यहाँ चिनिनु भएकोले मेरो मास्टर्सको (THESIS) “सोधपत्र” यहाँको बारेमा लेख्ने बिचारले म हजुरसँग अनुरोध गर्न आएकी हुँ ।” मैले पनि हुन्छ भन्ने जवाफ दिएँ र फेरि उसैलाई प्रश्न गरेँ । बहिनी मैले त्यस्तो के नै गरेकी छु र मेरो बारेमा thesis लेख्ने ? जवाफमा उनले भनिन् “होइन दिदी, मोफसलमा बसेर र घर गृहस्ती सम्हाल्दै भए पनि यहाँले धेरै गर्नु भएको छ साहित्यिक सांगीतिक क्षेत्रमा। जुनसुकै पत्र पत्रिका र रेडियो एफ.एमहरूमा यहाँ छाउँनु भएको छ। झापामा अहिलेको परिप्रेक्षमा यसरी लेखन क्षेत्रमा समर्पित महिला हजुर नै हुनुहुन्छ त्यसैले मैले यहाँलाई सम्झिएर आएँ ।” कुराकानी छोटो नै भयो किनकि म पनि घर धन्दामा ब्यस्त नै थिएँ । मैले उन्को नाम दोहोर्याएर सोध्ने जमर्को पनि गरिन । अल्पपरिचयमा नै मैले उन्लाई त्यही डायरी थमाएर भनेँ । “बहिनी लु, मेरो श्री सम्पत्ति भनेको नै यही डायरी हो। यहाँ तपाईँले मेरो बारेमा “क”देखि “ज्ञ”सम्म सबै जानकरी पाउँनु हुनेछ । यही डायरी लगेर मेरो ईतिहासदेखि बर्तमानसम्म पल्टाउँनु र जे, जे देख्नु हुन्छ मेरो बारेमा लेख्नु ।” (हुन पनि उक्त डायरीमा बिभिन्न पत्रपत्रिकाका मेरा अन्तर्वाताहरू प्रकाशित भएका पेपरहरूका कटिङहरू मैले जतनसाथ टाँसेकी थिएँ।) यही भनेर मैले उक्त डायरी त्यो बहिनीलाई जिम्मा लगाई दिएँ ।

डायरी लगेर त्यो बहिनी बेपत्ता भइन् । केही दिनसम्म त मलाई चिन्ता पनि लाग्यो । मेरो त्यत्रो मेहेनतको कमाई खेर गयो भनेर । फेरि मलाई त्यसरी अर्को डायरी बनाएर नयाँ श्रीजना गर्न मन पनि लागेन र मैले उक्त डायरीलाई बिर्सने कोशीस गरेँ । बेला बेलामा आफैलाई भने सराप्दै बसेँ । कम्सेकम डायरी लैजाने मान्छेको पुरा ठेगाना र नाम त सोध्नु पर्छ भन्दै मनमनै गुन्दै रहें । अँ….यत्ति भने थाहा थियो कि त्यो बहिनी भद्रपुर क्याम्पसमा पढेकी हो भन्ने । यसरी त्यो डायरीले मलाई केही समयसम्म चिन्तित बनाइरहेको थियो । एकदिन अचानक लग्भग ६ महिनापछि त्यो बहिनी झुलुक्क झुल्किइन्। त्यो डायरी हातमा लिएर । उनको मुहारमा हर्षको हाँसो झल्की रहेको थियो । उन्ले मलाई उक्त डायरी थमाउँदै भनिन् । “धन्यवाद दिदी यहाँलाई । यहाँले मेरो ठुलो खुड्किलो काट्न सहयोग गर्नु भयो । यहाँको डायरीमा त संसार रहेछ । यो डायरीले अझ तपाईँ नजिक गराईदियो । म अति नै आभारी छु दिदीसँग । यस्तो काम गर्न हर कसैले सिकोस् । जसरी यहाँले आफ्ना सारा रचनाहरूको सुरक्षा गर्नु भयो ।” त्यो बहिनीको कुराले म प्रफुल्लित भएँ तर अफसोच ! उस्को नाम सोध्ने भन्ने बुद्धी चाँहि फर्किएन मेरो ।

एकदिन अचानक उक्त डायरीलाई च्यातेर फाल्न मन लाग्यो मलाई। (कारण त्यस्तै पर्यो । यहाँ सबै कुरा भन्न असमर्थ छु म) कुनै कुनै घट्नाहरू चाहेर पनि भन्न सकिन्न, स्त्रीजातिले जुन उनीहरूको जीवनसँग गाँसिएको हुन्छ । म त्यो डायरी हातमा लिएर आँखाभरि आसुँ पार्दै किङ्कर्तब्यबिमूढ बनेर अल्झिरहेकी थिएँ । मेरो एकजना भाइ “लाक्पा” (जो मेडिकल रिप्रेजेन्टेटिव थियो) दमकमा उस्को ड्युटी पर्दा मेरोमा नै आएर बस्दथियो जस्ले मलाई अति माया गर्दथ्यो कारण उस्ले पहिला दमककै बोर्डिङमा पढाउँदा मेरा नानीहरूलाई पढाएको कारणले ऊ र हामी बिचमा सामीप्यता बढेको थियो । ऊ त्यो दिन आउँदा मलाई त्यो स्थितिमा देखेर छक्क पर्दै सोध्यो । “दिदी के भयो ? किन तपाईँ आज यस्तो हालतमा ? ” मैले अलि अलि आफ्नो अवस्था भनेँ । उस्ले छोट्करीमा सबै कुरा बुझ्यो र भन्यो । “दिदी तपाईँले यस्तो गल्ती नगर्नुहोस् । यो डायरीको महत्व अहिले तपाईँलाई छैन तर यही डायरीले तपाईँलाई जीवन्त बनाउँनेछ । यो त तपाईँको सम्पत्ति हो । यस्ले के बिगारेको छ र यस्लाई च्यात्न खोज्नु हुन्छ ? प्लिज दिदी यस्तो गल्ती नगर्नुहोस् “भन्दै उस्ले त्यो डायरी खोसेर अन्तै राखिदियो । मैले पनि सोँचे । हो मैले त्यस्तो गल्ती गर्नु हुन्न । त्यही डायरीले गर्दा कसैले आफ्नो पढाईको सिँढी पनि उक्लियो । मेरो लागि पो यो साधारण कुरा भयो त ! कुनै दिन फेरि मलाई पनि यस्ले सफलताको सिँढी उक्लन मद्दत अवश्य गर्ला । अबदेखि जे जस्तो भएपनि म यो डायरीलाई च्यात्ने मुर्खता गर्ने छुइन । त्यो दिन देखि मैले झन त्यो डायरीलाई माया र सुरक्षा गर्न थालेँ । जे जस्तै परिस्थिति आईपरे पनि डायरीमाथि आफ्नो रोष पोख्ने कुमति गरिन र लग्भग ३० बर्षदेखि उक्त डायरी अझै मेरो छाँया बनेर अघिपछि नाँचिरहेछ ।

म अमेरिका आएको दुई बर्षपछि एक दिन अचानक एकजना भाइको ईमेल आयो जतिबेला म ईन्टरनेट चलाउँन भर्खर मात्र घरमा नै सिक्दै थिएँ । बस मलाई ईमेल पठाउँन चेक गर्नसम्म मात्र आउँथ्यो । त्यो बेला उक्त भाइ जस्लाई मैले चिनेकै थिइन । उस्को ईमेलमा पनि त्यही कुरा थियो कि उस्ले ब्याच्लर दोश्रो बर्षको एउटा पेपरमा त्यस्तै आर्टिकल लेख्न पर्यो रे । उस्ले मलाई सम्झिएछ र ईमेल पठायो । त्यो समयमा साइबर-संसारमा मेरो अन्तर्वार्ता छापिएको रहेछ र त्यही देखेर उस्ले शायद सम्झियो मलाई। उस्लाई मेरै बारेमा लेख्ने ईच्छा भयो रे (उस्को नाम भने मलाई अझै थाहा छ । त्रिबेण गलामी जो मेरो अहिले फेसबुकको लिस्टमा पनि छ ।) मैले पनि हुन्छ भनेँ र त्यही डायरीबाट साभार गरेर मैले उस्लाई मेरो बृतान्त पठाएँ। त्यो समय पनि त्यो बुढो डायरीले सकारत्मक भूमिका खेल्यो ।

त्यही डायरी जस्ले मलाई अमेरिकामा बस्न पाउँने अधिकार दियो भन्न म पछि पर्दिन । मैले यहाँ बस्न पाउँने अधिकार माँग्नलाई त्यही डायरीलाई साधन बनाएँ । मैले “इमिग्रेसन एण्ड नेचुरलाइजेसन” (immigration and naturalization) म आफूलाई म के हुँ र आफ्नो देशमा हुँदा मैले के गरेँ? भन्ने प्रमाण दिनलाई त्यहाँको हाकिमलाई त्यही डायरी फरर पल्टाएर देखाएँ । उस्ले नेपाली नबुझे पनि अंग्रेजीमा भन्यो Wow ! you are Great ! मैले पनि उस्लाई त्यही कुरा अर्थ्याएँ कि म नेपालमा हुँदा लेख्थें भनेर । यदि त्यो डायरी मसँग नभएको भए मैले लेखिकाको प्रमाण कसरी देखाउँन सक्थेँ ? मलाई त्यहाँ अनेक प्रमाण, सबुत चाहिन्थ्यो तर त्यही डायरीभित्र नै मेरो संसार थियो त्यसैले उक्त अफिसरको आँखा त्यही डायरीका मेरा सम्पत्तिहरूले दंग पारिदियो र उस्ले “नाई” वा “हुन सक्दैन” भन्ने शब्द निकाल्नै सकेन । बरु दोहोर्याई, तेहेर्याई पो हेर्यो । त्यहाँ मेरा केही तस्बिरहरू पनि थिए जुन कोही कविता बाचन गर्दै गरेका । कोही अन्तर्वाता दिँदै गरेका । कोही नेपालका कविज्यूहरूसँग बसेका यस्तै यस्तै । बरु उक्त अफिसरले त तस्बिर हेर्दै उल्टै मलाई जिस्काउँन पो थाल्यो । हो, त्यो समय त्यो डायरीले मेरो इज्जत जोगाएको थियो र त्यही डायरीले मलाई आज यहाँ बस्ने सुबिधा प्रदान गरेको आभास छ मलाई । त्यो डायरी नै मेरो बलियो आधार बन्यो । त्यो डायरीको महत्व फेरि एकपटक मनमा गढ्यो । मलाई त्यो समय यस्तो महसुश भयो कि आफ्नो देशमा हुँदा म त्यही डायरी च्यापेर नोकरीको लागि कहाँ कहाँ भड्किएर हिँडिन होला ? त्यही लेखनको आफ्नो देशमा महत्व भएन तर आज आएर अर्काको देशले त्यही कलम र लेखनलाई महत्व दिएर बस्न पाउँने सुबिधा दियो । त्यो समय मैले मेरो कलम, साहित्य र लेखनलाई मन मनै सलाम गरेँ र उक्त डायरीलाई मन मनै चुमेँ । कहिले कहीं यसो डायरी नियाल्छु र सोँच्छु । साँच्चै तिमी मेरो जीवन हौ भन्ने लाग्छ । आजभोलि इन्टर्नेटको सुबिधाले कलमले लेख्ने क्रम कम छ न त पत्रपत्रिकामा नै रचना छापिन्छन् । सबै वेब पत्रिकाले रचनाहरूलाई कैद गरिसकेको छ त्यसैले यो डायरी अचेल बेकामे भएको छ समयको परिबन्दले । तर मेरो लागि भने झन् यस्को महत्व बढेकोछ । म आफ्ना पुराना दिनका भावनाहरू यसैमा पल्टाउँने गर्छु । जब म यो डायरी पल्टाउँछु। म अतितको सुखद लेखन पलमा हराउँन पुग्छु । यो डलरको खेती गर्ने ठाउँमा हरियो डलरको सुरक्षा गर्नको सट्टा म यही बुढो डायरीलाई च्यापेर सुखको अनुभव गरिरहेकी छु । अब त कालो रंग बदलिएर फुस्रो रंगमा मेरो डायरी अनुवाद हुँदै जाँदैछ । जति बुढ्यौलीको रेखा पार गर्दैछ, मेरो डायरीले उति उस्को आयुमा म दिर्घायुको प्रार्थना थप्दै जाँदैछु । मेरो सन्तानहरू झैं बहुमुल्य मेरो यो डायरी शायद मेरो मृत्युपश्चात पनि बाँचिरहने छ। जस्ले यस्को रक्षार्थ यस्लाई महत्व दिएर राख्नेछ ।

आचार्य प्रभा
(अमेरिका)


Leave a Reply

Your email address will not be published. Required fields are marked *