Skip to content


उफ् ! कहाली लाग्दो गगनचुम्बी महलहरूले घेरिएको यो कोलाहलपूर्ण शहर जताहेर्‍यो घरैघर मात्र छ । आफूलाई थिच्ला कि जस्तो । हेर्दाहेर्दैनै सासनै निस्सासिन खोज्छ ।

भदौको उखरमाउलो गर्मी त्यसमा पनि टण्टलापुर घाम । हरियाली हेर्न त सातजन्म तपस्या गर्दा पनि कहाँ पाउनु र यो शहरमा अब । त्यसैत्यसै अत्यास लागेर आउँछ । घाम आफ्नो निरङ्कुश शक्तिको प्रदर्शनीमा उत्रिएको भएपनि बादल आफ्नो भएभरको बल निकालेर घामसँग पौंठेजोरी खेल्न आकाशमा मडारिरहेको छ । कसोकसो गरेर घामलाई आफ्नो कब्जामा पार्न सफल भएको बेला यसो अलिकति भएपनि राहतको महसुस हुने गर्दछ । त्यही मौका छोपी पूर्वीय चञ्चले बतासले आफ्नो दाइ बादलको र्समर्थन जनाउदै खुशिले गदगदभै बहँदा शरीरको पसिना ओभाउन खोज्छ । तर तानाशाही घामको अघिल्तिर कमजोर बादलले घुँडा टेक्नु परेको छ । किनकी निर्दयी घामले उसलाई कप्लक्कै निलिदियो ।

प्रकृतिको यो एकअर्काप्रतिको संघर्ष देखेर गर्मीले खङ्ग्रङ्ग बनाएको मेरो शरीर कतिबेला हो भुइँमा गर्ल्याम्म पछारिन पुगेछ । म कसोकसो भित्ताको आड लिएर जुरुक्क उठ्छु ।

ए साँच्ची आज त मलाई हस्पिटल जानुपर्छ रिपोर्ट लिनको लागि । कस्तो भुसुक्क बिर्सिएकी । म हतारहतार गरेर लुगा फेरेर बाटो लाग्छु । बाटोमा आधुनिक शहरिया युवायुवतीको घुइँचो देखेर म अचम्म पर्छु । छँदाछँदाको प्रकृतिक रुप बिगारेर अनेकथरी डरलाग्दा जीव जनावरको टाटु शरीरमा खोपेर ढटुवारेझैं मुखाकृतिमा नशामा लठ्ठिएका छन् । आफ्नै संसारमा हराइरहेछन् । तिनीहरू पक्कै पनि निक्कै सभ्रान्त परिवारकै हुनुपर्छ । कोही स्कूटीमा त कोही बाइकमा मर्छन् कि मार्छन् कि जस्तो गरेर मेरो अगाडिबाटै हुइँकिए उनीहरूको आफ्नै गन्तब्य तिर । कोही कलेजको युनिर्फममै थिए भने कोही आधा शरीर मुस्किलले ढाक्ने पहिरनमा । बिचरा बाबुआमा भने आफ्ना सन्तानहरू कुलतमा फसेर कलेजको चर्को फि तिर्न भनी ल्याएको पैसा नशामा उडाइरहेको बारेमा अनभिज्ञनै होलान् । गरीव दुःखीका छोराछोरी भने पढ्छु भन्दा पनि गरीबीको चपेटामा परी हातमुख जोड्ने समस्यामानै अल्झिरहेका छन् । उनीहरूको पढ्ने इच्छा पैसाको अभावमा मरेको छ । बाध्य छन् बिचरा निमुखा गरीब आमाबुबाका सन्तान श्रम बराबरको मूल्य चुकाउन पनि । आफ्नो बगेको पसिनाको मूल्य लिनका लागि कति सङ्घर्ष गर्नुपर्छ साहूसँग । कतिले त अनेक मानसिक तथा शारिरीक यातनासम्म खप्नु परेको छ । आफ्नै साहूबाट अस्तित्व लुटिएका कारण आत्महत्या समेत गर्नु परेको छ तर पैसावालका छोराछोरीको भने यो चाला छ । मेरो मन त्यसैत्यसै गाँठो परेर हुँडलिएर आउँछ । हाम्रै गाउँकी सानी भन्ने एउटी अबोध किशोरीको जीवन कहानी सम्झेर ।

बिचरी कति इच्छुक थिई पढ्नलाई । सानोमा मैलेनै कखरा सिकाएकी थिएँ उसलाई । उसकी आमाले छोरी ठूलै मान्छे बनोस् र आफूजस्ता गरीबको आवाज बन्न सकोस् भन्ने बिचार धेरैपल्ट मसँग पोखेकी थिई । उनीहरूको गरीबीका कारण मैले पनि कुनै फी नलिइकनै उसलाई पढाइदिएकी थिएँ । पढ्नमा पनि अति तेज थिई सानी । जसोतसो ५ कक्षासम्म त उसकी आमाले पढाएकी थिई तर नियतीको खेल भनौं या के भनौं सानीकी आमा मजदूरी गर्ने क्रममा सडक दुर्घटनामा परेर ज्यान गुमाउन पुगेकी थिई । त्यसपछि सानीलाई उसको बाबुले नाताले फूपूपर्नेको जिम्मा लगाएर सम्पत्ती कमाउने बहानामा मुग्लान पस्यो । आजसम्म कुनै अत्तेपत्तो छैन ।

सानी उसकी आमा दुर्घटनामा पर्दा मात्र ९ वर्षी थिई । सानीकी आमालाई सडक दुर्घटनामा परी प्राण छोड्न कत्ति गाह्रो भएको थियो आधा शरीर किच्चिएर पानी बिनाको माछोजस्तो छट्पटिएर पनि ५ दिनसम्म उसको प्रँण निस्किएर गएन । उसको अन्तिम घिडघिडो छोरी सानीनै भएकी रहेछ । उसले प्राण त्याग गर्नुभन्दा अगाडि उसको लोग्नेलाई मेरो नाम लिएर मलाई बोलाउन पठाएकी रहिछ । उसको लोग्ने मलिन अनुहार लिएर सानीकी आमाले तपाइँलाई भेट्ने इच्छा व्यक्त गरेकीले म तपाइँलाई बोलाउन आएको हुँ भनेर मेरो सामु आएर भनेपछि म उसको साथ लागेर हस्पिटल पुग्दा त सानीकी आमा छट्पटिरहेको देखेँ । अनायासै मेरो आँखा तुवाँलोले ढाकेझैं भएर आयो । गला अबरुद्ध भयो । केही क्षण त मैले आफूलाई सपना हो कि बिपना हो छुट्याउनै सकिन । ५ दिन अगाडि दुर्घटना परेको बिहान मात्र मलाई उसले छोरीलाई राम्रोसँग पढाउनु भएकोले मेरी छोरी प्रथम भइछ भन्दै खुशीले गदगद हुँदै हर्षो आँसु झारेर आभार व्यक्त गर्न आएकी सानीकी आमाको अनुहार पूर्र्णोको जूनझै भर्भराउँदो बलेको देखेकी थिएँ तर अहिले यसरी असहृय पीडामा छट्पटिएर अन्तिम भेटको लागि मेरो प्रतीक्षामा बसिरहेकी रहिछ । मेरो आवाज सुन्नासाथ उसको बन्द आँखाबाट बलिन्द्र आँसु तपतप गर्दै आँखाको कोशबाट बगेको देखेपछि त मैले आफूलाई सम्हाल्न निक्कै गाह्रो भयो । उसकी छोरी सानी भने आफ्नो आमाको आँखाबाट आँसु पुछ्दै बेलाबेला आफ्नो नाकबाट बगेको सिङ्गानका लुँडा तह लगाउँदी रहिछ ।

आमा दुर्घटनामा परेको दिनदेखि उसको कपाल कोरिदिने कोही भएनछ । उसको अनुहारभरी छरिएको कपाल सुम्सुम्याउँदै मैले सानी भनेर छातीमा टाँसेँ । सानीकी आमाले सन्तुष्टिको लामो सुस्केरा लिँदै पुलुक्क मेरो मुखमा हेरेर केही भन्न खोजिरहेकी थिई । उसको नीलो भएको अनुहारमा केही खुशि सलबलाएको मैले देखेँ । उसका ओठ थर्थराइरहेका थिए । केही भन्न खोजिरहेका थिए । सानी भने मेरो माया पाएर आफ्नो दुःख बिसाउने मान्छे भेटेझैं कोकोहोलो गरेर डाँको छोडी रुन थाली । उसको रुवाइले त्यहाँ वरिपरि बस्ने सबैलाईनै स्तब्ध बनायो । म मेरो मनलाई दह्रो बनाएर आँसुले डम्म भरिएका आँखा कसैले थाहा नपाउने गरी पुछ्दै सानीकी आमालाई सहानुभूति स्वरुप दर्ुइचार शब्द व्यक्त गर्न खोजिरहेथेँ तर उसको घिडघिडो के थियो कुन्नी सानीलाई मैले अङ्गालोमा लिनासाथ उसको प्राण पखेरु यस सन्सारबाट उडेर अन्त कतै गइसकेछ । उसको नीलो अनुहार पहिलाकोझैं भर्भराउँदो भएर आयो । अहिलेनै बोलीपो हाल्छे किजस्तो । बिचरीले सानीको लागि मेरो हात मागेकी रहिछे क्यारे । मैले आफ्नो काखमा लिनासाथ सांसारिक मायामा अल्झेको उसको आत्मा केहीक्षणमै मुक्त भयो ।

मृत्युलाई कसले पो जित्न सक्छ र ऊ पनि आफ्नी बालक छोरीको लागि जस्तोसुकै कष्ट सहेर भएपनि बाँच्न चाहन्थी होली । छोरीले पढेर असल काम गरेको हेर्ने रहर दैवलेनै चुँडेर लगेपछि के नै पो लाग्यो र ।

उसको मृत्युपछि सानीलाई हुर्काउने , पढाउने र आत्मनिर्भर बनाउने अठोटका साथ मैलेनै सानीलाइ उसको बाबुलाई सहमत गर्राई मेरै घर लिएर गएँ । आमाले दिनुपर्ने मायामा कुनै कसर नराखी १ वर्षम्म त पढाएँ तर उसको बाबुले छोरी दिए बापत जमिन दिनुपर्ने माग राखेपछि मेरो हैसियतभन्दा माथिको सहयोग मैले दिन सकिन त्यसैले छोरीलाई जबर्जस्ती मबाट खोसेर लग्यो । बिचरी सानीले रुनुसम्म रोएर आफ्नो बाबुलाई मैसँग बस्छु भनी विनय अनुनय गर्दा पनि उसको बाबुको मूर्खताको कारण बाबुकै पछि लागेर जानुपर्ने भयो । सानीलाई उसको बाबुले नाताले फुपूपर्नेको जिम्मा लगाएर मुग्लान पसेछ ।

सानी अब टुहुरी भई । पढ्न अब के पाउँथी । फुपूपर्नेको घरको कामधन्दामै उसले बाल्यकाल बिताइछ । किशोरी सानीले बिहान बेलुका घरको कामधन्दा गर्दै दिउँसो एउटा कारखानामा काम गरेर कमाएको पैसा पनि फुपूलाईनै बुझाउनु पथ्र्यो रे । बिचरी सानीले कारखानामा काम गर्न जाँदा कारखानाको साहूबाट बलात्कृत हुनुपरेछ त्यसैले यस पापी संसारमा बाँच्नुको कुनै औचित्य नदेखेपछि उसले आत्महत्याको बाटो राजी सदाका लागि बिदा भइछ । उसले आत्महत्या गर्नुभन्दा केहीक्षण अगाडि एउटा चिठ्ठी लेखेर मेरो ठेगानामा पठाएकी रहीछ । त्यो चिठ्ठी यसप्रकारको थियो :-

आन्टी नमस्कार !

सर्बप्रथम त हजू् समक्ष क्षमाको भीख माग्दैछु कि हजूरले मलाई आफ्नी छोरी सम्झेर मलाई अवश्य पनि माफी दिनुहुन्छ होला । अब मलाई यस पापी संसारमा बाँच्न मन लागेन । मलाई मेरी आमाको इच्छा पूरा गर्ने ठूलो चाहना थियो तर त्यो चाहनाहरू वालुवाको महलझैं एकाएक हावामा हराउन पुगे ।

जन्म दिने आमाको काख खोसिँदा भन्दा पनि हजूरको स्नेहपूर्ण साथ खोसिएको सम्झनाले एकदमै सताउँथ्यो । म हजूरकै साथमा रहन पाएकी भए आज पढेर निकै नाम कमाइ सक्थेँ हुँला तर मेरो बुबाले सम्पत्तीको लोभमा परेर मलाई एक बिघा जमिनमा साट्नु भएछ । अझ सम्पत्ती कमाउन मुग्लान पस्नु भएको रहेछ । आजसम्म बुबाको तर्फाट एउटा चिठ्ठीसम्म पनि मैले पाइन । मलाई मेरो नाताले फुपू पर्नेले घरको सारा काम भ्याएर पढ्न जान्छु भन्दा पनि दिनुभएन । उल्टै तँलाई पढाउन ल्याएको हो र – मैले त तँलाई १ बिघा जमिन दिएर यो घरको काम गर्न भनी किनेको पो हो त भन्दै मेरो मुटु छियाछिया हुनेगरी गाली मात्र गर्नुभयो । घरको कामले नपुगेर मैले साहूको कारखानामा गई काम गर्नुपर्ने भयो । साहूको काम गरी पैसा बुझाए बापत घरमै ट्युसनको ब्यवस्था गरी पढ्न पाउने कुरा गरेपछि मैले पढ्न पाउने आशामा साहूको कारखानामा काम गर्न शुरु गरेँ तर त्यो साहू त मान्छेको रुपको पशु रहेछ । उसले त मजस्ता कुमारी केटीको धरैको जीवन बिगारेको रहेछ । उसले मलाई तलब लिन भनी उसकै कोठामा बोलाएर बलात्कार गर्यो । आन्टी म कत्ति रोएँ , कराएँ तर मेरो पुकार सुन्ने भगवानले कान थुनेर बसे । आँखा चिम्लिए , अनि म लुटिएँ । यो संसारमा मेरो कोही रहेनछ । मलाई यो संसारमा बाँचेर नारकिय जीवन बिताउन भन्दा चाँडैनै आमाको मायालु अङ्गालोमा बाँधिन मनलाग्यो । त्यसैले म आफूलाई आफै तिलाञ्जली दिन लागिरहेछु । अब बाँचेर नरपिचासहरूको इच्छा पूर्तिको साधन हुनुभन्दा त मैले रोजेको बाटोनै ठीक होला हैन ?

आन्टी हजूरले सानो बेलामा मैले मेरो तोतेबोलीमा असल मान्छे बन्छु भनेको कुरा बिर्सनु भएको छैन होला नि हैन ? म असल मान्छे बनेर देशको सेवा गर्ने मेरा इच्छाहरू सबै खरानी भएपनि मैले मलाई बलात्कार गर्ने साहूलाई हतकडी लगाएर मजस्ता अरु दिदीबहिनीको अस्तित्व लुटिनबाट जोगाउन पाएकोमा भने खुशि छु । तर मलाई यो संसारमा घृणा सहेर बाँच्न मन लागेन त्यसैले म बिदा हुँदैछ । मेरो यो निर्णयलाई हजूरले पक्कै पनि माफी दिनुहुनेछ । मेरो आत्महत्याको खबरले हजूरलाई मप्रति घृणा नलागोस् भनेर यो एउटा छोटो पत्र पठाएकी छु ।

उही सानी

सिर्फहजूरकी

सानीको यादले आज गाल्नसम्म गाल्यो । अतितलाई पल्टाउँदा पल्टाउँदै हस्पिटल आइपुगेछु । उसको सम्झनामा आँसु बगाउन बाहेक के नै पो गर्न सक्छु र ! मेरो आँखाबाट बगेका आँसुलेनै उसको आत्माको लागि श्रद्धा सुमन अर्पण गर्दछु ।

टिका खरेल सुवेदी
कुलेश्वर , काठमाण्डौं

[email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *