Skip to content


अरूनसँग जोड्नुपर्छ नाता । सयौँ आफन्तहरूले विशेषणको तानाबाना बुने, कैयौँ शुभेच्छुहरूले स्वर खापेर सिफारिसको माला उने । छोरीका लागि योग्य केटा खोज्ने कुरा चल्यो । अनेकौँ प्रस्तावहरू जोखिए, दर्जनौँ विकल्पहरू तौलिए । सब ब्यर्थ । निराशाको बादल हटाउँदै एक दिन श्रीमतीले आल्हादित मुद्रामा सुनाइन् इन्टरनेटमा एउटा प्रस्ताव फेला परेको छ, हाम्रो सर्वसम्मति छ, हजुरको अन्तिम निर्णय चाहियो ।आफन्तहरूको गोलमेच इजलासबीच इन्टरनेटबाट निकालिएको प्रिन्टआउट केलाइयो । थप जानकारीहरू इमेलबाट मगाइयो ।

केटो अमेरिकामा बस्छ । के काम गर्छ, कति पढेको भन्ने चाहिँ खुलेन । सबैले एकै स्वरले राय दिए – विदेशमा बस्ने भनेपछि पढाइसढाइ कामसाम हेर्नुपर्दैन । पिनाकधारी पण्डितले स्र्किनमा आँखा जोतेर पुख्र्यौली सम्पत्ति विवरण बरबराए, “चार वटा बंगलाहरू । काठमाडौँमा, चोभारमा गलैँचा कारखाना, धुलिखेलमा पाँच चारे होटल, शिवपुरीमा जमिन, परासीमा मौजा ….. ।” रूपको कुरा उठ्यो । कम्प्युटरमा हेर्दा ग्याँचे, ध्वासे, पुर्वपश्चिम देखाउने कम्पासतुल्य दाँत । “उमेर नि ?” अर्धांगिनीले इमेलमार्फ जिज्ञासा पोखी । उताबाट स्पष्टीकरण आयो “केटीभन्दा मात्र बाइस वर्षेजेठो ।” रूपले उमेरले खान दिँदैन, लाउन दिँदैन ।” सभाबाट सामूहिक निष्कर्ष तेर्स्याइयो ।

र्सर्वेक्षणको र्सवसम्मत राय प्रकटित भयो – यदि लियोनार्र्डो भिन्ची बाँचेका भए मोनालिसाको विवाह ऊबाहेक अरूसँग हुन्नथ्यो । सङ्कलित मतहरूबाट निर्विरोध निष्कर्ष निस्कियो, “यत्तिको सुयोग्य वर पाइँदैन, विवाह पक्का गरौँ ।”

“असम्भव” फैसला सुनाएँ मैले, सोचाइको पुस्तैनी खाडलको धर्मसङ्कटको धरापमा धस्सिएर ।

सन्नाटा सर्वत्र सल्बलायो । एक छिनपछि एउटा आवाज फोनमा बोल्यो, “डाक्टरसाप, पागलखानामा एक सिट खाली होला बुवालाई ….”

महिला स्वर । एकदमै परिचित । उर्मिला अर्थात् छोरी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *