Skip to content


सफल उपन्यास लेखकको दर्जा पाएका ध्रुवचन्द्र गौतमको अन्य विधाको लेखाइ पनि त्यत्तिकै चर्चायोग्य छ। उपन्यासबाहेक कथा, नाटक, संस्मरण र यात्रासंग्रहमा पनि गौतमको लेखाइ लोभलाग्दो मानिन्छ। उनको पछिल्लो यात्रासंग्रह रुसतिर रुमलिँदा पनि उनको अब्बल लेखाइको नमुनाका रूपमा बाहिर आएको छ।

यात्रामा भएका सबै कुराको जानकारी दिन लेखकले इमानदार हुनु जरुरी छ। जानकारी लुकाएर नियात्राको वर्णन पूर्ण हुन सक्दैन। गौतमले भएका घटनाक्रमलाई नलुकाईकन पाठकसामु प्रस्तुत गरेका छन्, जसका कारण नियात्रा रोचक र सफल भएको छ।

मान्छेहरू कति यात्रामा निस्कन्छन्। धेरै जना कोही नपुगेको ठाउँमा एक्लै पुग्न सफल हुन्छन्। तर, त्यसको जानकारी दिने मेसो पाउँदैनन्। लेखक र गैरलेखकबीचको फरक पनि यही हो, सायद। १० दिनको रुस भ्रमणलाई गौतमले कहिल्यै रुस नपुगेकाहरूलाई पनि यथेष्ट जानकारी दिने माध्यम बनाएका छन्। यात्रामा साथ रहेका सँगातीबारे पनि उनले सूक्ष्म रूपमा वर्णन गरेका छन्। जसका कारण यात्रा गर्दा लेखक कोसँग, कुन परविेशमा, कसरी निस्किए भन्ने कुरामा पाठकले स्वाद मानेर पढ्न पाउँछन्।

लेखकले सुरुमा नै स्वीकारेका छन्, भौगोलिक हिसाबले टाढा नभए पनि रुस गइरहने अवसर सबैलाई जुट्दैन। पुस्तक पढेपछि देख्नुपर्ने ठाउँमध्ये रुस एउटा हो भन्ने लेखकको जिकिर गलत लाग्दैन। रुसको वस्तुस्थितिको जानकारी त छ नै पुस्तकमा, यसका अतिरिक्त रुसमा रहेर अब्बल व्यापार व्यवसाय गरिरहेका उपेन्द्र महतो, जीवा लामिछाने, जुगल भुर्तेल, खेम लामिछानेलगायतको व्यस्तताको पनि उनले वर्णन गरेका छन्। यसै व्यस्तताले उनीहरूको सफलताको मापन गरेको ठहर लेखकको छ।

लेखकले सेन्टपिट्वर्गको शीतकालीन दरबारको चर्चा गरेका छन्। क्याथरनि द्वितीयाले संकलन गरेका सेजा, गोँगा, रेम्ब्रान्ट, पिकासो, भ्यानगग आदि विश्वका महान् चित्रकारका चित्र आजसम्म संरक्षण गर्नाले दरबार अहिले पनि त्यत्तिकै चर्चित छ।

पटक-पटक आफ्नो भुलक्कड बानीले धोका खाएको उल्लेख गर्नु र सम्झनाका आधारमा यति राम्रो पुस्तक लेख्न सक्नु आफैँमा विरोधाभासपूर्ण कुरा हुन्। आफ्नो क्यामरा नभएका कारण पुस्तकमा तस्बिर नराख्ने निर्णय गर्नु तर तस्बिर र क्यामरा दुवै उपहारका रूपमा पाएको वर्णन गर्नु पनि आफैँमा अमिल्दा प्रसंग छन् पुस्तकमा।

अर्को रोचक कुरो, ‘अनावृत यथार्थ र रहस्यमय शैलीको यात्रासाहित्य’ शीर्षकमा १६ पेज लामो भूमिका लेख्ने लक्ष्मणप्रसाद गौतमबाहेक अरू सबैलाई ‘मेरा केही शब्द’मार्फत धन्यवाद दिएका छन् लेखकले। गौतम कसरी छुटे, बुझ्न सकिएन।

यशोदा तिम्सिना

रुसतिर रुमलिँदा
लेखक : ध्रुवचन्द्र गौतम
प्रकाशक : रमाकृष्ण सृजना प्रतिष्ठान
पृष्ठ : २४+८७
मूल्य : १५० रुपियाँ

नेपाल साप्ताहिक ४६१

Leave a Reply

Your email address will not be published. Required fields are marked *