Skip to content


लघुकथा आख्यानको एउटा प्रभेद हो, र कथाको उपभेद पनि हो । यो स्वयम्मा पूर्ण, खँडिलो, सूत्रात्मक, प्रभावकारी, चोटिलो, सटीक र प्रभावोत्पादक हुन्छ । घटना र अनुभूतिको एउटा झोँक्का उत्पन्न गराउनु र पाठकमा त्यसको तीव्र तथा तीक्ष्ण प्रभाव छाड्नु लघुकथाको विशेषता एवम् अभिलक्षण हो । श्रीओम श्रेष्ठ ‘रोदन’को ‘भ्रममार्ग’ (२०६७) नामक लघुकथा सङ्गृहीत लघुकथाहरू उपयुक्त विशेषता र अभिलक्षणका दृष्टिले समेत सवल र सफल देखिन्छन् । उनको पछिल्लो लघुकथा कृति ‘भ्रममार्ग’ समकालीन नेपाली लघुकथाका क्षेत्रको पृथक प्राप्ति हो । ५१ लघुकथा रहेको यस कृतिभित्रका लघुकथामा नेपाली जीवन र समाजका असङ्गत परिस्थिति एवम् परिवेशलाई अन्तर्वस्तु बनाइएको छ, र मान्छेका वैयक्तिक कमजोरीलाई पनि उदाङ्ग पारेर प्रस्तुत गरिएको छ ।

यस कृतिभित्रका लघुकथामध्ये शिक्षकको आडम्बरी प्रवृत्तिलाई देखाउने ‘विडम्बना’, उपचारका नाममा धर्म प्रचारको मनोविज्ञानको विश्लेषण गर्ने ‘मनोविज्ञान’, नेपालमा विदेशीले कसरी गोटी चाल्दा रहेछन् भन्ने देखाउने ‘गोटी’, मान्छेका मनोरचनाको व्याख्या गर्ने ‘सर्त’, साम्प्रदायिक शक्तिप्रति व्यङ्ग्य गरिएको ‘शक्तिसूत्र’, नारीका अतृप्त चाहना र कुण्ठा प्रस्तुत गरिएको ‘तृष्णा’, मान्छेका भ्रमपूर्ण जिजीविषा र पुरुषको नारीप्रतिको भ्रामक आकर्षणलाई अभिव्यक्त गरिएको भ्रममार्ग, समकालीन यथार्थ र युगबोधका विविध भाव र घटनावलीलाई अभिव्यञ्जित गर्ने सुरक्षा, आयोग, तालीको लत, डिभीप्रेम, भीडतन्त्र, शक्ति आदि विविध लघुकथा यस सङ्ग्रहका उल्लेखनीय लघुकथा हुन् ।

लघुकथाकार श्रीओम श्रेष्ठको प्रस्तुत भ्रममार्ग शीर्षकको लघुकथा कृति युगीन सामाजिक, आर्थिक, प्रशासनिक, राजनीतिक, शैक्षिक, साहित्यिक, धार्मिक, सांस्कृतिक आदि विभिन्न क्षेत्रमा देखिएका तमाम सङ्गतिहीनता र बिब्ल्याँटा परिस्थितिको यथार्थ अभिव्यक्ति र घटनावलीहरूको सङ्ग्रह हो । यस सङ्ग्रहका धेरै लघुकथामा यिनै र यस्तै सङ्गतिहीनताप्रति तीव्र व्यङ्ग्य गरिएको छ, र मान्छेका नीचता, स्वर्थीपना, पुच्छर मनोवृत्ति र दृढताप्रति पनि तीव्र एवम् उपहास्यात्मक व्यङ्ग्य गरिएको छ । तमाम सङ्गतिहीनता, निषेध र नकारात्मकताप्रति विमति प्रकट गरेर सङ्गति तथा सत्पक्षप्रतिको झुकाव र चेतना यस कृतिभित्रका लघुकथाहरूको चुरो कुरो हो । भ्रममार्गभित्रका लघुकथाहरू यस दृष्टिले सवल र प्रभावी छन् ।

लघुकथाले ‘क्लोज स्पेस’ (संवृत स्थान) होइन, ‘ओपन स्पेस’ (विवृत स्थान) को अपेक्षा गर्छ र श्रीओमका धेरै लघुकथामा यही ‘ओपन स्पेस’को प्रयोगले उनका यी लघुकथा शक्तिशाली बनेका छन् । लघुकथामा अर्थका लागि यही खुला ठाउँ चाहिन्छ । यस्ता ‘ओपन स्पेस’बाट लघुकथाहरू बहुअर्थी, साङ्केतिक, प्रतीकात्मक र विम्बात्मकसमेत बनेका हुन्छन् । श्रीओमका लघुकथाहरू नेपाली जीवन र समाजका विविध आयामको यथार्थ प्रतिच्छवि हो र यो नै यस कृतिको शक्ति पनि हो । परिष्कृत र यथार्थपरक भाषा यस कृतिका विशेषता हुन् । कृति पठनीय एवम् सङ्ग्रहणीय छ ।

डा. लक्ष्मणप्रसाद गौतम

शनिबार, गोरखापत्र
भदौ ३१, २०६८

Leave a Reply

Your email address will not be published. Required fields are marked *