Skip to content

उसिनेको फर्सी खाएर पनि सुतेका छौँ

  • by


नेपाली साहित्यमा उपन्यास, कथा, संस्मरणमा अलग्गै स्थान बनाउनुभएका ध्रुवचन्द्र गौतम धेरै पाठकले रुचाउने स्रष्टामा पर्नुहुन्छ । सिर्जनाशक्ति प्रवल भएका र निरन्तर लेखिरहन सक्ने स्रष्टाको पहिचान बनाउनुभएका डा. ध्रुवचन्द्र गौतमका अलिखित, तथाकथित, अप्रिय, अग्निदत्त अग्निदत्त, फूलको आतङ्क, स्व. हीरादेवीको खोज, घुर्मीलगायत २५ वटा उपन्यास प्रकाशित छन् । कथा, नाटक, यात्रा संस्मरण, संस्मरणका कृतिसमेत प्रकाशित गर्ने डा. गौतम मदन पुरस्कार, साझा पुरस्कार, मधुपर्क सम्मान, सरस्वती सम्मानलगायत विभिन्न सम्मान र पुरस्कारबाट सम्मानित हुनुहुन्छ । भाषाविज्ञानमा विद्यावारिधि गरेर सिर्जनामा रमाउने र नाम कमाउने ध्रुवचन्द्र गौतमलाई ध्रुवचन्द्र गौतम हुन अनेकौँ सङ्घर्ष गर्नुपर्‍यो । आफ्ना जीवनमा भोगिएका सङ्घर्षका गाथाहरू उहाँकै अभिव्यक्तिमा प्रस्तुत छ –

मेरो जीवनमा सङ्घर्षको कुरा गर्नुहुन्छ भने त्यो म जन्मनुअघिदेखि नै आरम्भ भयो । म आमाको पेटमै छँदै जान्नेलाई देखाउँदा ‘छोरो नै हुन्छ’ भनेपछि मेरो परिवार खिसि्रक्क परे रे ! उहाँहरू लगातार चार छोरा जन्मिसकेपछि छोरी चाहनुहुन्थ्यो, तर छोराका रूपमा म जन्मन लागेको थाहा भयो । अझ मलाई खाटमा जन्माए राम्रो हुन्छ भनेछन् । तर, म भुइँमै जन्मिएछु । म भुइँमा जन्मदा नराम्रो भयो-भएन त्यो त मलाई थाहा भएन । यसरी जन्मनुअघिदेखि नै एक किसिमको सङ्घर्ष भयो ।

धेरैको बाल्यकाल सुखदै हुन्छ, तर मेरो बाल्यकाल दुःखपूर्ण रह्यो । सात वर्षको उमेरको हुँदै आमा दीपवतीदेवी गुमाउनुपरेपछि हाम्रो परिवार छरिन पुग्यो र त्यसपछि हाम्रो परिवारमा सङ्घर्षको दिन सुरु भए । आमा भनेको मियो रहेछ । मियोविनाको जीवनमा धेरै अप्ठेरा आउँदारहेछन् भन्ने कुरा मैले बाल्यकालमै बुझेँ । मेरा दाइहरू कोही काठमाडौँमा, कोही कता पुगे, बहिनीहरू पिताजीसँग गाउँमै बसे । ईश्वरचन्द्र, भाइ र मचाहिँ सँगै बस्यौँ । एउटै परिवार आमाको निधनपछि छरिएर बस्नुपर्‍यो । कमाइ खासै थिएन, गाउँमा फलेको रातो-मोटो धान खानुपर्थ्याे, त्यो पनि कहिलेकाहीँ समयमा आइदिँदैनथ्यो । म यतिखेर फर्सी उसिनेर छाक टारेको, चना उसिनेर भोक मेटेर कैयौँ रात सुतेको सम्झन्छु । त्यस्तो बेलामा पनि हजुरआमा केही न केही पकाएर खुवाउनुहुन्थ्यो । त्यतिबेला खाजा खानेकुरो त कल्पनाबाहिरको थियो ।

केही पछि दाजु ईश्वरचन्द्र जागिरे भएपछि केही राहत भयो । बुबाले जागिरे ठाउँमा खाजा खान दिने गरेको एकआनासमेत पहिले नै लिएर फिल्म हेर्न गइन्थ्यो । खाजा खाने पैसा फिल्म हेरर सकाएपछि खाजा खाने कुरै भएन । आईए पास भएपछि भर्खरै वीरगन्जमा खुलेको औलो उन्मूलन अफिसमा सुब्बा तहको जाँच पनि दिइयो, तर सफल हुन सकिनँ । अझ २०१५ सालमा एसएलसीबाट उम्कन भागेर कलकत्ता पनि पुगियो । साथीहरूको लहैलहैमा लागेर धर्मशालामा समेत बास नपाएको, सख्खर, चिउरा खाएर त्यही राति वीरगन्ज र्फकनुपर्‍यो । त्यतिबेला भोकले सताएर आफूलाई मन पर्ने फिल्म मधुमती नहेरेर टन्न खाजा खाएको अझै बिर्सन सक्दिनँ । एसएलसी दिन नपरोस् भनेर भागेको मान्छे आखिर दिनैपर्‍यो र विज्ञानमा फेल भएँ । त्यही वर्ष पुनः परीक्षा दिएर पास गरेपछि आईए पढ्न काठमाडौँ आएँ । राति नेसनल कलेज पढ्ने, दिउँसो संसद्को क्यान्टिनमा काम गर्थें । तर, मैले काम सुुरु गरेकै राति क्यान्टिनमा चोरी भएर रित्तियो र बन्दै भयो । काठमाडौँ बस्दा नै मलाई टीबी भएछ, कतिसम्म भने डाक्टरले त तीन दिनभित्र मर्छसमेत भने । उपचारका लागि वीरगन्जै र्फकें गाउँमा । त्यतिबेलै गीत लेख्न थालेँ, गाउँथेँ पनि । मेरो चिनारी गायककै रूपमा भयो । लेखन, गायनबाट पैसा आउँदैनथ्यो । गोरखापत्र र मधुपर्कले मात्र लेखेबापत पारिश्रमिक दिन्थे, त्यसो त लेखन र गायनले परिचय भने दियो । आर्थिक सङ्कटले गर्दा धेरै सङ्घर्ष गर्नुपर्‍यो । एजुकेसनल बुक सेन्टरमा बुक सेलर भएर काम गरियो, गोरखापत्रमा २०१९ सालमै महिनाको एक सय २० रुपैयाँमा प्रुफरिडर भएर पनि काम गरियो । राति सुतिरहेको बेला ‘लौ यो प्रुफ हेरिदिनुपर्‍यो’ भन्दै ल्याउँथे । रातको निद्रा बिगारेर धेरै समय जागिर खान सकिनँ ।

लेखनमा सङ्घर्ष गर्नुभन्दा प्रकाशनमा बढी सङ्घर्ष गर्नुपर्ने अवस्था छ हामीकहाँ । विसं २०२० साल वैशाखको रूपरेखामा रचना छपाएपछि निरन्तर लेखिरहेको छु । त्यतिबेला रचना छाप्न पाउनु नै पारिश्रमिक पाएसरह थियो । मेरो पहिलो उपन्यास ‘अन्त्यपछि’ रूपरेखाले नै छाप्यो । दोस्रो उपन्यास ‘बालुवामथि’ साझा प्रकाशनले छापिदियो । यसको प्रकाशनपछि धेरै टिका-टिप्पणी भए, कतिले निरस, निद्रा लाग्ने, निद्राको औषधि खानै नपर्ने भने । अझ एकजनाले त कतिसम्म भने भने तपाईंको नाम भएर मात्र पाँच पेज पढेँ, नत्र… । यसपछि प्रकाशित डापीले मलाई अलि चिनायो, कट्टेल सरको चोटपटकले स्थापित नै गरिदियो । उपन्यास लेखनका आरम्भकाल सङ्घर्षपूर्ण नै रह्यो, सङ्घर्ष यथावत् नै छ ।

जीवनको झन्डै पाँच दशक लेखनमै लागे पनि अझ पनि चर्चा र चासोको विषय बन्न अर्काको मुख ताक्नुपर्ने अवस्था छ, सङ्घर्षको योभन्दा उत्तम उदाहरण अरू के होला ? तर पनि मलाई के लाग्छ भने जीवनमा जतिसुकै सङ्घर्ष गर्नुपरे पनि जीवन बाँच्ने र परिवार पाल्ने विकल्प पाएँ भने म जीवनमा सम्पूर्ण समय लेखनमै लगाइरहन्थेँ । एउटा कुरा भनौँ तपाईंलाई जन्मनुअघिदेखि आइपरेको सङ्घर्षले अझै छाडेको छैन ।

शनिबार, गोरखापत्र
भदौ २४, २०६८

Leave a Reply

Your email address will not be published. Required fields are marked *