Skip to content


नेपाली साहित्यमा पहिचान बनाएका दधिराज सुवेदीको ‘तीर्थयात्रा’ विशुद्ध आध्यात्मिक खोज र चिन्तनमा आधारित देखिन्छ । सुवेदीले यस दिशामा इमानदारी देखाएका छन् ।

गत २०६५ साल असोजमा द्वारकापुरीको तीर्थयात्राका रूपमा हिँडेका सुवेदीले द्वारकाधीशको द्वारमा बसेर श्रीमद्भागवत महापुराण श्रवण गरी त्यसबाट प्राप्त आध्यात्मिक ज्ञानका आधारमा यस कृतिलाई तयार पारेका पाइन्छ । वैदिक सनातन धर्मको विशेषताको विश्लेषण गर्नु र श्रीमद्भागवत गीताका विशेषतालाई सरल भाषामा सूत्रात्मक रूपमा व्याख्या गर्दै द्वारका र त्यस क्षेत्रका सम्पूर्ण धार्मिक पर्यटकीय स्थलको परिचय प्रस्तुत गर्नु यस कृतिको विशेषता हो । हुन त अध्यात्मको नाम सुन्नेबित्तिकै नाक खुम्च्याउने मानिस पनि हाम्रा समाजमा नभएका होइनन् । त्यसमा पनि पछिल्लो अवस्थाको कुरो गर्ने हो भने बढी छन् भन्नुपर्दछ । उनीहरूको त्यो सोच सतही मात्र हो । जतिसुकै भौतिकवादी हुँ भने पनि अन्ततः सबैलाई अध्यात्मको शरणमा नगई सुखै छैन । जति नै अभिनय गरे पनि जब भौतिवादको पटाक्षेप हुन्छ त्यतिबेला सबै अध्यात्मको विशाल काखमा शरण लिन पुगिरहेका हुन्छन् । यस अर्थमा भन्नुपर्दा जीवनमा आध्यात्मिक क्षेत्रको महत्त्वबोध गराउने अभिप्राय रहेको सुवेदीजीको प्रस्तुत कृति प्रशंसनीयसमेत हुन पुगको छ ।

यसमा सम्पूर्ण तीर्थहरूमा सम्मिलित २२५ वटा तस्बिर पनि समेटिएका छन् । यसबाहेक विभिन्न मठ एवम् पीठका पीठाधीश तथा महामण्डलेश्वरहरूका आशिर्वचनहरूसमेत समेटिएकाले कृति बढी नै आध्यात्मिक महिमायुक्त हुन पुगेको छ ।

कृतिभित्र शृङ्खलाबद्ध धार्मिक यात्रा मात्र नभएर ओमकारको महत्त्व, पञ्चतत्त्वको विशेष ज्ञान, षड्दर्शनको परिचय, दुर्गासप्तशती चण्डीको महिमा, प्रभासक्षेत्र र सोमनाथ दर्शनका साथै सामुदि्रक सौन्दर्य र त्यहाँ पाइने शङ्ख, गोमतीचक्र आदिका बारेमा समेत विशेष खोज गरिएको हुँदा कृति अझ बढी रोचक ज्ञानबर्धक हुन पुगेको देखिन्छ । परिशिष्टमा सजाइएका पण्डित भवानीशङ्कर निरौला, शारदा दाहाल, यमुना दाहाल, शिवदत्त भट्टराई र आचार्य रविदेव आदिका धार्मिक लेखहरूले पुस्तकको ओजलाई अरू बढाएको छ । समग्रमा भन्नुपर्दा पाठकले एकैठाउँमा बसेर धेरै आध्यात्मिक स्थान र विषयवस्तुको जानकारी पाउन सक्ने भएकाले पुस्तक पठनीय र सङ्ग्रहणीयसमेत हुन पुगेको छ ।

शनिबार, गोरखापत्र
भदौ २४, २०६८

Leave a Reply

Your email address will not be published. Required fields are marked *