Skip to content


नैश्वरीय चेतनामा काव्य संरचना गर्ने युवाकवि हुन्- ठाकुर बेलबासे । जीवन्त विषयवस्तुमा सूक्ष्म र शालीन शब्दहरूमार्फत उच्च कल्पनासहितको अभिव्यक्ति उनको विशिष्ट निजत्व नै बन्न पुगेको छ । सुन्दर विम्बहरूसँग साइनो गाँसेर ठाकुर कवितामा आलोकित र उच्छ्वासित भएका छन् ।

अचानक यो साँझ नामक काव्यसङ्ग्रहका साथ उनी विज्ञ पाठकमाझ प्रस्तुत भएका छन् । वैश्विक चेतना, सार्वकालिक भाव, लोकतन्त्रका पृष्ठपोषक, मानवीय सहअस्तित्वले ओतप्रोत यी कविताहरूमा मानवताको हरपक्षबाट स्वतन्त्रता र न्यायको उद्घोष गरिएको पाइन्छ । यी कविता निरङ्कुशताका अचुक विषादी मात्र भएका छैनन्, बहुलवाद एवम् नैसर्गिक भावधाराका बलिया सिपाही भएर उभिएका छन् ।

समकालीन काव्य लेखनीमा कविता थोर अकविता ज्यादा पढ्दै आएका पाठकहरूलाई ठाकुरका कविताले साँच्चै एउटा पृथक स्व्ाादले आस्वादन मात्र जगाउँदैनन्, उनका कविताले बौद्धिक पाठकहरूका अन्तसंस्करणमा ‘झ्याम्म’ अँगालो मार्दै पाठकीय मस्तिष्कका तारहरूमा समेत एउटा मीठो झङ्कार छाड्न सामर्थ्य राख्दछन् ।

सामाजिक मूल्यप्रति सापेक्ष रहेर चराचर जगत्का प्राणीहरू, वनस्पति र पर्यावरणप्रति सचेत रही काव्य साधनाको उत्कृष्ट अस्त्र प्रयोग गर्ने उनको सौन्दर्य चेतना समकालीन कविता साहित्यमा एक्लो वृहस्पतिझैँ लाग्दछ । प्रकृतिप्रेमी विश्वविख्यात कवि विलियम वर्डस्वर्थले ‘कविता भनेको भाषाको सर्वाधिक प्रशोधित र सबैभन्दा शक्तिशाली स्वरूप हो’ भनेका छन्, जसको सबुत ठाकुरका कविताले थामेका छन् ।

ठाकुर विम्ब, प्रतीकका कुशल प्रयोक्ता मात्र देखिएका छैनन्् उनको कविताको बनोटले जोकोहीलाई सहजै आकृष्ट गर्न सक्षम देखिएका छन् । झट्ट उनका कविता पर्गेल्न सामान्य पाठकलाई सकस नै पर्दछ । विम्ब र प्रतीकले उनिएका उनको कविता सौन्दर्यका अपार बुनोट एवम् असङ्ख्य भावका रत्नले जडिएका विशिष्ट आभूषण नै बन्न पुगेका छन् ।

‘अचानक यो साँझ’ शीर्षक कविता निक्कै प्रतीकात्मक लाग्दछ । उनले साँझमार्फत असहजतालाई सहजताको सहअस्तित्वको मूल्यमा उभ्याएका छन् । यो कविता शीर्षक कविताको साख राख्न सक्ने सार्थक कविता हो । कवि बैरागी काइँलाको शब्द सापटी लिने हो भने ठाकुरका कविता ‘जीवन र जगत्लाई सङ्कटग्रस्त पारेको खग्रासबाट हामी मान्छेलाई बाहिर निकाल्न उनका कविताले सक्छन् भन्ने विश्वासको दियो बालौँ ।’ वास्तवमै ठाकुरका कविता सङ्क्रमण मुक्तिका सञ्जीवनी नै बन्न पुगेका छन् ।

यस सङ्ग्रहमा प्रायः कविता एउटा युवाले आफ्नो समयमा भोगेको दुर्दान्त संवेदनाले भरिएका अनुभूतिहरू नै छन् । उनले सङ्ग्रहको मुहूर्त ‘आगोको रङ’ कविताबाट गरेका छन् । यसमा वैश्विक चेतना छर्दै, हामीले आत्मसात् गरिरहेको भ्रान्तिलाई उजिल्याउने प्रयास छ । ‘पहिरोमान्छे’ कवितामा प्रकृति र मावनबीच निरपेक्ष रहन नसक्ने तथ्य उद्घोष प्रकट भएको छ । तीन खण्डमा विभक्त कविताक्रममा सशस्त्र ईश्वर यात्रा, मृत्युको झोला, अँध्यारोविरूद्ध, उपशीर्षक प्रदान गरिएको छ । यस सङ्ग्रहमा रहेका कविता मूल्यका हिसाबले स्वतन्त्रता मुक्ति र नैश्वरीय चेतनाबाट अनुष्ठित भएका छन् । उनका कविता पूर्ण मर्यादामा रहेर आममानवका संवेदनाका अन्तरकुन्तरलाई केस्रा- केस्रा केलाउँदै समाजको विकृति, विसङ्गति र विकारलाई निर्मल, स्वस्थ र स्निग्ध बनाउने सत्कर्म काव्य साधनाबाटै गरेको प्रस्ट हुन्छ ।

शनिबार, गोरखापत्र
भदौ २४, २०६८

Leave a Reply

Your email address will not be published. Required fields are marked *