Skip to content


खस्तैन तल,
माथि माथि जान्छ- बादल
आकाश मार्गमा ।

मडारिएर बग्छ ऊ
अमेरिकी युद्धपोत विमानहरू झैं।
मिसिँदै जान्छ ऊ
नदीहरू झैं
अनि
महासागर बनेर भरिँदै जान्छ –
आकाश मार्गमा ।

निश्चय छैन –
आकारको ।
निश्चय छैन –
परिमाणको ।
निश्चय छैन –
अस्तित्वको ।
बादलले बनेका चिन्हहरू
क्रमश: मेटिदै र फेरिँदै गर्दा
आकाश फेरिन सक्तैन ।
तैपनि बादल
सधैं भरि
तुवाँलो भन्दा माथि हुन्छ ।
तुवाँलो जीवन दुखिरहँदा
बादलका सेता अमिवाहरू
गदगद खुसीले खेली रहन्छन् ।

एकाबिहानै
बादलहरूले
आकाशियताको शंखघोष गर्दा
मृत्यु त्रासदी
धर्तीको सीमाना नाघेर
स्वर्गसम्म पुग्छ
अनि
अपवित्र आत्माका पाइलाहरूले
आकाश कुल्चँदा
आहत भएर रन्थनिँदै
धर्तीमा बर्सन्छ –
पापको झरी
परन्तु
मेरो स्वतन्त्रता
पानी बनेर बग्दैन ।

धर्तीमा
आकाश खस्न सक्छ
तर
आकाशको अस्तित्व,
कुनै गुण या
निरंकुशता
धर्तीमा खस्न सक्तैन
किनभने
मेरो गाउँमा
अलेक्जेन्डर महान्’हरू
हलो बोकेर उभिएका छन् ।
आकाश खसेर
उनीहरूको
हलो अड्कंदैन।
मेरो राष्ट्रियता
बन्न सक्तैन –
आकाशियता ।।

2 thoughts on “आकाशियता”

  1. ekdum ramro.
    sharan “aansu” ji… tapaiko kabita ekdum maan paryo….. bhawisya ma ajhai dherai rachana haru padhna paune apekchya rakhda6u. ani hajur ko “Najarana” ko prakashan k hudai cha?

  2. कविता मन पराइ दिनु भएकोमा
    कविता मन पराइ दिनु भएकोमा धेरै धन्यवाद

    मेरो गजल संग्रह ‘ नजरभरिको सपना ” ( नजरानाको सट्टा ) नेपाली लेखक संघ कास्कीद्वारा प्रकाशित भै यही २०६८भाद्र चौबिस गते कवि बिष्णुबिभु घिमिरेज्यूबाट विमोचित भएको कुरा अवगत गराउन चाहन्छु

    मझेरीबाट केही समय ओझेल रहेँ / भारत तथा स्वदेशका केही ठाउंहरुको शैक्षिक भ्रमणबाट घर आइपुगे पश्चात मझेरीका स्वप्निल अक्षरहरुमा रम्दै रचना सम्प्रेषण गर्ने सुरमा रहेको छु /
    शरण आँसु

Leave a Reply

Your email address will not be published. Required fields are marked *