Skip to content


कछुवाले अङ्गसरी खुम्च्याई बाह्य वृत्तिका तार ।
भित्र अलिकति हेर्दा अर्कै रसिलो चमत्कार ।।१।।

दुर्गम भै उर्लेकी तलतिर समतुल्य मोहकी गङ्गा ।
फरफर गर्छ उपर यो जीवनमय पातलो चङ्गा ।।२।।

ममतासहित अहन्ता ग्रन्थि परेका बडा रम्य ।
सुखदु:खका कका छन् खूब मिलेका दुवै टम्म ।।३।।

मनमय घुम्छ लटाइ पनफन फन्का पलापला मारी ।
अतिशय दुर्लभ तर त्यो रसिक लटाई लिने चमत्कारी ।।४।।

सङ्कल्पको छ धागो छुटी रहेको लगातार ।
गर्दछ जसका भरमा जीवन-चङ्गा विचित्र संचार ।।५।।

त्यो मसिना धागामा खिरिलोपन ल्याउने ताजा ।
घसिएको बहुत सफा विवेक, बुद्धिको माजा ।।६।।

चङ्गाको मुखचाहिँ प्रवित्तिमय रङ्गले लाल ।
अलिअलि कालो आशा-पुच्छर, उसको छ चलबले चाल ।।७।।

वैषम्य भै ककामा अलिकति गतिमा घुस्यो भने दोष ।
ग्वाँख मिलाउनलाई संयम, सुविचार, शान्ति, सन्तोष ।।८।।

यस्तो अद्भुत चङ्गा तयार पारी बडो चमत्कारी ।
नभमा कौतुक गर्ने कुन होला धीर अविकारी ? ।।९।।

जतिजति गडेर हेर्छु यस चङ्गाको विचित्र संचार ।
उतिउति शून्य गगनमा विलिन हुन्छु न देखदा पार ।।१०।।

कहिले नीलो दहमा सफारी माछो सरी भरी ।
लीला गर्छ गगनमा चक्कर लाखौं थरी मारी ।।११।।

कहिले प्रेम हावामा सररर अक्कासिँदै जान्छ ।
कहिले फरक्क फरकी तम तल कौंठी पनी खान्छ ।।१२।।

कहिले भुजङ्ग जस्तै सुलुलुलु बग्दै बटारिन्छ ।
कहिले विधिवश बिचमा अरूअरूसँग बेसी लठारिन्छ ।।१३।।

कहिले पुगेर माथि सोझै बहँदै शनै: शनै: सल्ल ।
निश्चल टक्कर मारी अडिन्छ बउडाइ-बोहरी-तुल्य ।।१४।।

जलचर नभचर सबका सुन्दर लाखौं थरी चाल ।
देखिन्छन् यही हाम्रो जीवन-चङ्गा विषे सदाकाल ।।१५।।

अक्काशिएर ज्यादा माथि जाँदा हराउने भय छ ।
तल गङ्गा-लहरीले लपक्क पार्ने विछट्ट सशय छ ।।१६।।

शीतल सरसर बहने बीच गगनको सफा हावा ।
जति पायो उति यसले खान्छ गजब चालले कावा ।।१७।।

कहिलेदेखि उडेथ्यो ? अब उड्ने हो कति बेर ।
आखिर चङ्गा ठहर्यो चुँडिनालाई छ के बेर ? ।।१८।।

जति दिन यो उड्ने हो उति दिन उडन्यै छ बीचमा नअडी ।
तर त्यो देखिनुपरने अद्भुत चङ्गा उडाउने लहडी ।।१९।।

जय जगदीश्वर ! देखेँ विश्वव्यापी प्रकाश त्यो खास ।
सूक्ष्म लटाई भित्रै रहेछ प्रभुको निवास वा भास ।।२०।।

विसं १९९२
शारदा वर्ष १, शंख्या २

Leave a Reply

Your email address will not be published. Required fields are marked *