Skip to content


मलाई के लागेको थियो भने सधै १५ मिनेटमा पुग्न सक्ने त्यो एकान्त जंगलमा आज १ घण्टामा त अबश्य पनि पुग्छु किनभने आज अरु दिनको जस्तो तागत थिएन मेरो शरीरमा । डाक्टरले मलाई अब एक घण्टा भन्दा वढी वाच्न नसक्ने वताएका थिए । त्यसैले पनि मैले जंगलको वाटो समाते किनकी मलाई मानिस भएको ठाउँमा सकभर मर्न नपरे हुन्थ्यौ भन्ने लागेको थियो । गाउँमा मरेमा मलाई कसैले पनि चिन्न सक्दैनथे । सवैले मेरो वेवारिसे लाशलाई छि छि र धुर धुर गर्थे । मैले सो‌चे म मर्नका लागि त्यो एकान्त जंगल नै उपयुक्त छ । म छिटो छिटो दौडन थाले जंगल तर्फ । तर अकस्मात म दौडदा दौडदै म एउटा ठुलो ढुंगामा ठोक्कीन पुगे उठ्ने प्रयास गरे अहँ सकिन मेरो पहिले नै भाँचिएको दाहिने खुट्टा फेरी भाँचिएछ । अब मसँग त्यही गाउँमा मेरो मृत शरीरलाई समर्पण गर्नु वाहेक अरु कुनै विकल्प थिएन । म बाटोको छेउमा रहेको एउटा रुखको फेंदमा अडेस लागेर मलाई मर्छ भनी डाक्टरले दिएको समय हेर्न हातमा लगाएको घडी तर्फ आँखा पुर्याए जुन घडी मलाई तिमीले प्रेमपुर्वक मायाको चिनो भनी दिएकी थियौ । तर त्यो घडी बन्द भैसकेको रहेछ । घडीका पुर्जा चल्न छाडे पछि मलाई आभाश भयो एक घण्टा पुरा भएछ अब मेरा शरीरका पाटपुर्जा पनि चल्न छाडे म मरे त्यही ठाउँमा मरे ।

म मरे पछि मैले सोचे झै त्यहा मानिसहरु जम्मा हुन थाले । उनीहरु मेरो लाशको नजीक आएर गाइँ गुइँ गर्न थाले । कसैले भने कहाबाट आएर यसलाई यही गाउँमा मर्न परेको होला । अर्काले थपे जिन्दगीभरि पाप गरेको थियो होला त्यसैले मर्ने बेलामा पनि यसका कोही भएनन् । अर्को तन्नेरी चिच्चायो यो पुलीस केस हुन सक्छ अब यसले सारा गाउँलेलाई प्रहरीकहाँ पुर्याउने भयो । यस्तै यस्तै नानाथरी कुरा गर्दै गए गाउँलेहरु । उनीहरुलाई मेरो लाशको अन्तेष्ठीको कुराले सवैभन्दा वढी पिरलिरहेको थियो । म भने मेरो लाशलाई अब धेरै रमिते नबनाएर छिटो अन्त्यष्ठि गरे हुन्थ्यौ भन्ने चाहान्थे ।

त्यस पछि अचम्म भयो त्यो भिडमा तिमी देखियौ र तिमीसँग अर्को एक मानिस पनि थियो । मेरो मनमा एकै पटक धेरै आशा पलायो । म अब एक्लो र कोही नभएको भईन । वाँच्दा सम्म तिम्रो साथ नपाए पनि मर्दा त पाए भन्ने भयो मलाई । म खुसी भए धेरै रमाए ।

तिमी र तिमीसँगै आएको मानिस मेरो लाश नजिकै आयौ । म अझै खुसी भए । तर विडम्वना मेरो खुसी केही पल पनि रहेन । तिमी मुख खुम्चाउदै कराउन थाल्यौ यो मर्न नसकेको असती यहाँ आएर पो मरे छ । यसको मुख कहिल्लै हेर्न नपरोस भनेको त मर्दा पनि छाडेन पापीले । यसको लाशमा किरा परुन । यस्तै यस्तै नानाथरी भन्दै गयौ ।

मैले सुने तिमीसँगै आएको मानिसले तिमीलाई उड्ने समय भयो एयरपोर्ट तीर जाउँ भनेर कर गरिरहेको थियो तर तिमीले मानिरहेकी थिईनौ । हुन त अब तिमी त्यहा रहनु र नरहनुमा मेरो लागि कुनै अर्थ थिएन ।

त्यस पछि मैले सुने तिमीले भैरवको मन्दिरमा जाने कुरा गरिरहेको । अनि तिमी दुई जना त्यहाबाट हिडेयौ । मलाई लाग्यो म मरे पछि शायद तिम्रो भाकल पुरा भएछ त्यसैले भैरवलाई रोट चडाउन तिमीहरु भैरवको मन्दीर तर्फ गयौ ।

मेरो लाश त्यही थियो । गाउँलेहरुले निकास निकाले वर्षाको बेला गण्डकीमा भेल वढेको छ त्यही लगेर फालिदिने बगाउछ । उनीहरुले मेरो लाशलाई त्यही भेलमा फाले झ्याम्म।

कता कता छोरीले बाबा बाबा भन्दै चिच्याएको सुने । निद्रा खुल्यो म त सुतिरहेको खाटबाट भुइमा पो लडेको रहेछु । हतपत मेरो भाँचीएको खुट्टा छामे सग्लै थियो । घडी हेरे विहानको तीन वजेको थियो । तिमीलाई खोज्न सडकतिर दौडिए अहँ सधै झै आज पनि तिमीलाई भेटाईन ।

प्रिय तिमी कहाँ छौ हेर त तिमीले यो घर छाडेको पनि आज ६ वर्ष पुगीसके छ ।

2 thoughts on “प्रेम”

Leave a Reply

Your email address will not be published. Required fields are marked *