Skip to content

देश दुखेको कविता

  • by


म देख्दैछु
हिमाल रुदैँछिन्
पहाड ढल्दैछिन्
अनि तराई बग्दैछिन्
सायद देश दुख्दैछ
हो यति बेला देश दुखेको छ
र मसँग भाव व्यक्त गर्न शब्दहरू छैन
ती दुखाईका पीडा शान्त पार्न
शब्दहरूको अभाव छ
रिक्तता अनुभव गर्दैछु
मसँग शब्दै छैन

यद्यपि म खोतलखातल पार्दैछु
शब्दकोश
अनि टुटेफुटेका शब्दहरू जोड्ने
असफल प्रयास गदैछु
हो अब म कविता लेख्दैछु

मलाई लाग्दैछ
प्रकृतिले तिमीहरूलाई बोलाउँदैछिन्
असह्य वेदनाका आवाजले
आव्हान गर्दैछिन्
स्वीकार गर
आउ आजै आउ
अहिल्यै आउ
हेर यी प्रकृतिलाई
पहाडका छागाँछहरा हेर
सुन्दर हिमशृंखला हेर
लहलह झुलेका तराईका फाँट हेर
के थाहा यी भोलि देख्न पाउँछौ पाउन्नौ?
त्यसैले आज भरपूर दृश्यावलोकन गर
क्यानभासमा रङ्गहरू पोत
अनि क्यामरामा बन्द गर
भावी सन्ततिलाई ईतिहास देखाउन
किनकि सायद भोलि यी रहन्नन्
मानव अतिक्रमण यति बढ्यो कि
क्षतबिक्षत् भैइसकिन् प्रकृति
भोलि मात्र यिनको अवशेष रहन्छ
अस्थिहरूसँग मलामी जानुपर्छ
सायद त्यसैले होला आज देश दुख्दैछ

खै कहाँ गए बाग्मतीको स्वच्छ जल?
खै कहाँ गए ती भञ्ज्याङ्ग चौतारी?
खै कहाँ गए बुद्यका अस्थिहरू?
बाँकी छ त केवल दुषित जल
उहि भत्किएका स्वयंम्भुको स्तुपहरू
अनि परिवर्तनको नाममा
मासिएका गाँउघरका संरचनाहरू
हराएका छन् काष्ठकलाहरू अरनिको संगै
प्रतिस्थापन भएका छन्
देवदेवलहरू सिङगमरमरका भित्ताहरूमा
सायद त्यसैले देश दुख्दैछ
आउ आजै आउ
सहलाउ यी दुखेका घाउहरू
सादृश्य छदैँ प्रकृतिलाई
के थाहा भोलि अदृश्य हुनेछिन्
हो त्यसैले देश दुख्दैछ
यहि दुखाईभित्र म पनि
दुखेको कविता लेख्दैछु
अझै सकिएको छैन
म लेखिनै रहनेछु कविता
देश दुखेको कविता निरन्तर निरन्तर

बिना तामाङ’सुनगाभा’
काठमाण्डौं

Leave a Reply

Your email address will not be published. Required fields are marked *