Skip to content

संप्तरंगी टिका माला अर्को साललाई राख बैनी

  • by


सवाल – रामकृष्ण पौडेल अनयाँस

संप्तरंगी टिका माला अर्को साललाई राख बैनी
आउँदो भाइटिकामा मलाई, अलि छिट्टै डाक बैनी

सबको निधार भाइटिकाले सजिएर हिँड्दा खेरि
तिमी दाइको आयु बढोस्, भन्दै देवी भाक बैनी ।

नजाऊँ त बल्दैन खैं चिसो हुन्छ घरको चुलो
कमाएर आउँदा तिहार खाउँला मिठो छाक बैनी ।

जसो तसो पालो पैँचो, गरी सास त राखेकै थे
ओत बस्ने घर मात्र चाहिँदो रैछ गाँस बैनी ।

पीर नगर अर्को पटक कसो भेट नहोला र
छिट्टै आउछु के बस्थेँ र बिदेशीको दास बैनी ।

जवाफ – सरस्वती न्यौपाने

सयपत्री र मखमली फूल उन्छु दाजु भाइटिकामा
सधै जस्तै यसपाली नि रुन्छु दाजु भाइटिकामा ।

सबले टिका माला लाउदा सम्झन्छु म तिमीलाई नै
हर्के दाई नि आउँदै छन् रे सुन्छु दाजु भाइटिकामा ।

मिठो पिठो जे छ घरमा रमाएर खाउँला बरु
धन सम्पत्ति हैन माया चुन्छु दाजु भाइटिकामा ।

दुःख सुख मेलापात गाउँमै गासबास जोडौँला नि
फर्क स्वदेश यहाँ एक्लै हुन्छु दाजु भाइटिकामा ।

बिदेशीको दास बनी नबस भो छिट्टै आउ
सँगै बस्ने रहर सपना बुन्छु दाजु भाइटिकामा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *