Skip to content


रातको करिब दुई बजिरहेको थियो । अस्पतालको एउटा कोठा । निस्पृह रात । सबै निद्रादेवीको शरणमा । अरू कसैलाई नभए पनि मलाई चाहिँ आज निक्कै निद्रा लागेको थियो । दिनभरिको खटनपटन ! परिश्रमले हैरान ! शारीरिक परिश्रम त के हुनु ? कुनै बोझ त उठाइएको होइन । उही सामान्य कामहरू ! ऊ त्यो डाक्टरलाई बोलाऊ ! फलानोलाई खोज ! बिरामीलाई सेवा गर ! औषधि किन्नु, ल्याउनु र बिरामीलाई दिनु ! ब्लडप्रेसर हेर्नु ! नाडीको गति कति छ, हेर्नु, आदिआदि कामहरू ! यसो हेर्दा त कुनै ठूलो काम र श्रमसाध्य गरेको जस्तो लाग्दैन तर काम त कामै न हो । त्यो पनि जिम्मेवारीपूर्ण काम !

मानसिक दबाब सदा बनिरहने काम ! अरूले के नै भन्लान् र, यति न हो कि बिरामीनजिक बसिरहन्छ तर बिरामीसँगै रहेर उसको मानसिकतासँग जीउने अभ्यास गरेर बिरामीसँग टाक्सिरहनुले कति मानसिक पीडा दिन्छ । अरूले त्यसको अनुमान मात्र गर्न सक्छन् ! जसले भोगेको हुन्छ र जसले भोग्छ यसको अनुभव उसैले व्यक्त गर्न सक्छ । दिन त जसरी पनि बितिहाल्छ । वरिपरि अन्य मानिसको जमघट ! दिउँसो डाक्टर, नर्स र अस्पतालका भाँतिभाँतिका कर्मचारीहरू पनि रहन्छन् । विभिन्न बेडमा सुतेका बिरामी र तिनैसँग समय काट्दै गरेका मजस्ता मान्छेहरू ! कुनैबेला भलाकुसारी, हाँसोठट्टा, साउती र रङ्गीबिरङ्गी कुराकानी ! मन बहलाउने विभिन्न बहाना र माध्यम नै यही हो । यसोभन्दा पनि हुन्छ कि बिरामीका कुरुवाले आफूलाई व्यस्त राख्ने उपाय नै यसैलाई बनाएका थिए । बिरामीको कुनै काम गर्दा शायद कुरुवाहरूमा आफ्ना बिरामीलाई कष्टबाट मुक्ति मिलोस्, छिटो निको होउन् र अस्पतालको जिम्मेवारीबाट मुक्ति पाइयोस भन्ने कामना रहन्छ । कुरुवाहरू सम्भव भएसम्म, विरामीको सेवा गर्न पछाडि पर्दैनन् । कुनैकुनै बेला बिरामीको कष्ट देख्दा, आफूले पनि कष्ट बाँड्न पाइयोस् बरू भन्ने कुरा पनि सोच्दछन कुरुवाहरू तर बिरामीसँगै आफ्नो मृत्युसम्मको कुरा सोच्नु ती कुरुवाहरूका लागि अपवाद नै हुनसक्छ । अपवाद त अपवाद नै हुन्छ । यो अवस्थाले आपसी प्रेम र स्नेहको नापो नाप्दछ । सान्निध्य र समपर्णको कोणलाई पनि हेर्दछ मनको कुनै क्षेत्रले ।

यी र यस्तै आदिइत्यादि कुराहरू मनमा खेलाउँदै र दिनभरिको झन्झटका कारण आज छिट्टै सुतेको थिएँ म । सुतेको के थिएँ भन्नु, बिछ्याउनामा पल्ँिटदा अनायास निदाएको थिएँ । अस्पतालको एउटा कोठाको छ वटा बेडमध्ये कुनाको एउटा बेडमा थिए मेरा बिरामी । विगत सात दिनदेखि उनको कुरुवा बस्ने जिम्मेवारी ममाथि थियो । नयाँ ठाउँ, नयाँ परिवेश । अब त म पनि यहाँको पुरानोमध्ये कहलिइसकेको थिएँ । कोठाका अन्य बेडमा रहेका अरू बिरामी र तिनका कुरुवालाई पनि मैले अब चिन्न थालेँ । एक प्रकारले अपनत्वको भावनाको विकास भएको थियो हामीबीच । सात दिनअघि यस कोठाका विषयमा मलाई धेरै कुराको जानकारी थिएन तर आज यस कोठामा सात रात व्यतीत भइरहेको छ । यसबीच भौतिकरूपमा कोठाको स्वरूपमा कुनै परिवर्तन भने भएन । मानिसको उपस्थिति पनि उस्तै थियो । उही रूप, उही रङ्ग र उही आकृति ! यस कोठामा आउने-जाने मानिसको पदचाप र मुखाकृतिमा मलाई यस सात दिनमा कुनै परिवर्तनको अनुभूति चाहिँ भएन । अँ, एउटा कुरा, यस कोठामा आउने मानिसमा धेरै कुराको समानता मैले अनुभव गरेको थिएँ । ती मानिस भोजन लिएर आउँथे र जान्थे । आ-आफ्ना बिरामीका बेडसँग टाँसिएर भुइँमा तयार गरिएको बिछ्याउनामा बस्नु र कुराकानी गर्नु ! हँासो-ठठ्ठा र मजाक गर्नु ! तर यी कुराहरू लुकेर नै गरिन्थ्यो ताकि उनीहरूको कुराकानी र व्यवहार बिरामीले थाहा नपाउन् । यो बेग्लै कुरा थियो कि उनीहरूको सबै हर्कत बिरामीले थाहा पाए पनि आफूलाई नियन्त्रित राख्दै चुप लागेरै बस्थे ।

अचानक मेरो बिरामी बेडमा उठेर बस्नुभयो । उहाँले मलाई बोलाउनुभयो- ‘बाबु, पिसाब गर्छु ।’ शायद उहाँले मलाई तीन पटक बोलाउनु भएको थियो । म उठेर बेडमुनि राखिएको पिसाबदानी (पिसाब गर्ने भाँडो) उहाँको सहुलियतअनुसार राखिदिएँ । केही बेरपछि उहाँले पुनः भन्नुभयो- ‘बाबु, भयो ।’ मैले पिसाबदानीलाई बाथरुममा लगेर पिसाब फ्याकेर आफ्नो ठाउँमा फर्किएँ । पिसाबदानीलाई बेडमुनि राखेँ र आफ्नो विरामीको बेडमुनिको आफ्नो बेडमा पल्टेँ ।

निद्रा त टुटिसकेको थियो । घडी हेरेँ, रातको दुई बजिरहेको थियो । अब निद्रा लाग्ने कुरै भएन । पल्टनुका अतिरिक्त कुनै विकल्प थिएन । मेरो मन-मस्तिष्कमा केही कुरा खेल्न थाले । जिन्दगी यही हो । आज अपेक्षाकृत कुरुवाको आउने-जानेक्रम कम भएको जस्तो लागेको थियो मलाई । मानिस साँच्चिकै ठूलो कलाकार हुन्छ । मैले अनेकौंँपटक के अनुभव गरेँ भने मानिस, खासगरी कुरुवाहरू यस कोठामा आउनुअघि निकै खुसी देखिन्थे । उनीहरू हाँसोमजाक गर्दै गरेको साक्षी म स्वयं पनि छु । थाहा भएन, उनीहरूको मनमा के खेलिरहेको हुन्थ्यो तर कोठामा आउँदा र बेडनजिक उभिँदा यस्तो लाग्दथ्यो मानौ उनीहरूभन्दा दुःखी यस संसारमा अरू कोही छैनन् । उनीहरूजस्ता शुभचिन्तक यस धरामा ती बिरामीका अरू कोही छैनन् तर फर्केर कोठाको ढोकानजिक आउँदा नआउँदै उनीहरूको भावभङ्गीमामा पूर्णतः परिवर्तन आइसकेको हुन्थ्यो ।

-‘बाबुलाई पनि निद्रा लागेन ?’ मेरो बिरामीले मलाई सोध्नुभयो ।

-‘होइन, ठीकै छ, आज खुब सुतेँ, अहिले मात्र निद्रा टुटेको हो, त्यसैले…।’

-‘के भन्नु, बिरामी म छु तर दुःख बाबुले भोगिरहनुपरेको छ, आज कति दिन भयो तपाईंलाई यहाँ ?’

-‘यसो किन भन्नुहुन्छ, मानिस नै मानिसलाई काम लाग्छन्, होइन र ? अहिले त सात दिन मात्र भएको छ नि म यहाँ आएको ।’

‘-सात दिन भयो, होइन । मनोहर त फर्केर आएनन् ?’

-‘मनोहरलाई कुनै काम पर्‍यो होला, त्यसमै फँसेको छ कि । काम पूरा गरेर आइहाल्छन् नि ।’

मनोहर अर्थात् मेरा बिरामीका एकमात्र पुत्र । मनोहर मेरो मित्र । मनोहरका बुबा आज पन्ध्र दिनदेखि अस्पतालमा भर्ना हुनुहुन्छ र यसै कोठामा रहेर उपचार गराइरहनुभएको छ । मनोहरले केही दिनपूर्व आफ्ना पिताको रोगका विषयमा मलाई भनेका थिए । मैले केही स्नेह र केही औपचारिकतावश मनोहरलाई भनेको थिएँ- ‘चिन्ता नगर्नु, यदि काम पर्‍यो वा सहयोगको खाँचो भयो भने निर्धक्क भन्नू । म पनि त उहाँको पुत्रजस्तै हो नि ।’

मनोहरका बुबा दुई-तीन महिनादेखि बिरामी हुनुहुन्थ्यो । घरमै राखेर उपचार भइरहेको थियो । अस्पताल आएको मात्र पन्ध्र्र दिन भएको छ । अस्पतालमा डायग्नोसिस हुन सकिरहेको छैन । अनुहारमा निराशाका रेखा गहिँरिदै गएको जस्तो लाग्दछ तर पनि जिउने उत्कण्ठा अहिले पनि छ उहाँमा ।

उहाँले फेरि भन्नुभयो- ‘बाबु, मनोहर किन आएन होला ? उसँग केही कुरा भएको छ ?’

मैले भनेँ- ‘छैन भएको । अहिले त उहाँको फोन पनि लाग्दैन ।’

उहाँको स्वभाविक प्रश्न- ‘किन ? यस्तो त पहिला कहिलै पनि भएको थिएन ।’

मैले उहाँलाई आश्वस्त पार्ने प्रयास गरेँ- ‘कुनै कुनैबेला यस्तो पनि हुन्छ । टेलिफोन र मोबाइलको नेटवर्क खराब रहन्छ ।’

-‘तर एसएमएसले त काम गर्छ नि, एसएमएस किन गर्नुहुन्न ?’

तर मैले उहाँलाई कसरी भन्नु कि एसएमएस त गइरहेको छ तर मनोहर जबाफ फर्काइरहेको छैन र फोन त उसले उठाउँदा पनि उठाउँदैन ।

मलाई आश्चर्य लागिरहेको थियो । मनोहरको यस्तो व्यवहार मेरालागि नितान्त नयाँ थियो । ऊ र म कलेजमा राम्रो मित्र थियौँ । आईएदेखि एमएसम्म हामी सहपाठी थियौँ । एउटै कोठामा बसेर हामीले कलेजका समय बिताएका हौँ । मेरो दृष्टिकोणमा ऊ अत्यन्त आदर र सम्मानित छ । ऊ सहयोगी र सहृदयी छ तर यो के ? आज सात दिनसम्म उनको कुनै अत्तो-पत्तो छैन । न फोन, न एसएमएस र न कुनै सम्पर्क ? मलाई के लाग्यो भने मानिसको दुई वटा रूप हुन्छ । जे देखिन्छ, शायद त्यो सत्य नहुन सक्छ र जे सत्य हुन्छ शायद त्यो नदेखिन पनि सक्छ । बेडमा सुतिरहनुभएका बूढाले बोलाउनुभयो- ‘बाबु, तपाईं मनोहरको विषयमा अन्यथा कुनै विचार भने निर्माण नगर्नुस् ।’ मलाई आश्चर्य लाग्यो, कि म मनोरहकै बारेमा सोचिरहेको छु भन्ने कुरा उहाँले कसरी थाहा पाउनुभयो । ‘बाबु, म बाउ हुँ, मलाई विश्वास छ मनोहरमाथि, ऊ कदापि अकर्मण्य छैन तर एउटा कुरामा भने आश्चर्य लागिरहेको छ, ऊ अहिलेसम्म किन आएन ?’

म केही बोलिनँ, चुप नै रहेँ । बूढाले फेरि भन्नुभयो-

‘मनोहरलाई मेरो मनका कुरा थाहा छ, म जिउन चाहन्छु । उसलाई थाहा छ कि मेरो रोग कुनै औषधिले निको हुँदैन ।’

बूढाको कुराले म अचम्ममा परिरहेको थिएँ । के भनिरहनुभएको छ- मनोहरलाई सबै कुरा थाहा छ रे, म जिउन चाहन्छु, औषधिबाट रोग निको हुँदैन…। मलाई उहाँको कुरामा रुचि लाग्न थाल्यो । मनमा एक प्रकारको जिज्ञासा र कुतूहलको जन्म भयो । म बूढाको कुरा बुझ्ने प्रयास गर्न थालेँ ।

मनोहरका बुबाको उमेर करिब सत्तरी हुनुपर्छ । कलेजमा पढ्दै गर्दा मनोहरसँग उसको गाउँ धेरैपटक गएको छु । बूढासँग कुराकानी हुन्थ्यो । मेरो अध्ययनमा उहाँ अरूभन्दा खासगरी आफ्ना समवयीभन्दा केही पृथक र विशेष हुनुहुन्थ्यो । क्रिकेटको लाइभ कमेन्ट्री उहाँ निक्कै मन पराउनुहुन्थ्यो । उहाँ सिनेमाको पनि सोखिन । एकपटकको कुरा हो । म उहाँकोमा गएको थिएँ । कुनै एक सन्दर्भमा उहँाले मलाई सोध्नुभयो- ‘बाबु, तपाईँ सिनेमा हेर्नुहुन्छ ?’ मैले भनेँ- ‘हेर्छु, तर कहिलेकाहीँ ।’

– ‘कस्तो सिनेमा मन पर्छ ?’

मैले उत्तर दिएँ- ‘सामाजिक विषयवस्तुको सिनेमा, जसमा कुनै सन्देश होस् र गीत-सङ्गीत राम्रो होस् । समय मिल्यो भने त्यस्तो सिनेमा कहिलेकाहीँ हेर्ने गर्छु ।’

मेरो उत्तर शायद उहाँलाई मन परेन । उहाँको नाक खुम्चिएको जस्तो लाग्यो । भन्नुभयो- ‘तपाईंसँग मनोहर पनि जान्थ्यो कि ?’ मैले भनेँ- ‘हो, हामीसँगै जान्थ्यौँ ।’

‘राम्रो गर्नुहुन्छ ।’

उहाँले फेरि भन्नुभयो- ‘म पनि सिनेमा हेर्छु तर मेरो रोजाइ भने केही फरक छ, तपाईंहरूजस्तो होइन ।’

उहाँ भन्दै गइरहनुभयो- ‘मलाई त अलि मारपिट, अलि रोमान्स हुनुपर्‍यो र हिरो-हिरोइन पवित्र हुनुपर्छ । हेर्दा आँखालाई मनलाई मन परोस् ।’ बूढाको कुरा सुनेर म अलि संशयमा परेँ । उहाँ भन्नुहुन्थ्यो- ‘मेरो रोजाइ मनोहरलाई थाहा छ ।’

उहाँ जोड दिदै भन्नुहुन्थ्यो- ‘सिनेमा त मनोरञ्जनका लागि हेर्ने न हो, त्यस्तो सिनेमा किन हेर्नु पर्‍यो जसले मानसिक तनाव थप्ने काम गरोस ? रह्यो कुरा सामाजिक सन्देशको त तपाईं-हाम्रो समाज र परिवार त्यसका लागि पर्याप्त छैन र ?’ उहाँ बरबराउँदै हुनुहुन्थ्यो- ‘आजका युवावर्गको समस्या नै यही छ कि उनीहरू आफ्नो समयसँग हिँड्न सकिरहेका छैनन् । हामीजस्ता मानिसले उनीहरूको साथ कहिलेसम्म दिन सक्छौ र ?’

उहाँको बेडसँगै टाँसिएको म आफ्नो बिछ्याउनामा उठेर बसेंँ । बूढाले बेडमै पल्टेर सोध्नुभयो- ‘बाबु, किन उठ्नु भयो ?’ मैले भनेँ- ‘होइन, कुनै खास कुरा होइन, त्यत्तिकै हो ।’

बूढाले अनायास एउटा प्रसङ्ग कोट्याउनुभयो- ‘बाबु, तपाईं त मेरो गाउँ धेरैपटक जानुभएको छ ।’ मैले ‘हो’मा टाउको हल्लाएँ । ‘तपाईंले मनोहरकी आमालाई हेर्नुभएको छ ?’- उहाँ बोलिरहनुभएको थियो । यी कुराहरू गर्दा उहाँका दुवै आँखाले कोठाको छततिर हेरिरहेको मैले अनुभव गरेँ । उहाँको यो प्रश्न मेरालागि अनपेक्षित थियो । मसँग यसको स्पष्ट जवाफ पनि थिएन । मनोहरको घरमा अनेक महिलालाई देखेको थिएँ मैले । त्यसमध्ये उनकी आमा को थिइन ? मलाई थाहा थिएन । मनोहरले कहिलै पनि आफ्नी आमासँग मेरो परिचय गराएनन् । मैले आमासँग भेट गराइदेऊ भनेर धेरैपटक भनेँ तर ऊ विभिन्न बहाना बनाउँदै मेरो कुरालाई किनारा लगाइदिन्थ्यो ।

उहाँको यो प्रश्न सुनेपछि मैले यस सन्दर्भलाई मनोहरले भनेका कुरासँग तारतम्य मिलाउने प्रयत्न गर्न थालेँ । मैले प्रत्यक्षतः बूढालाई भनेँ- ‘होइन, सम्झना छ मलाई । तपाईंको घर आउने-जाने गर्थें, धेरै महिलालाई सम्झिन्छु तर काकी (मनोहरकी आमा) को विषयमा भन्न सक्दिन ।’

बूढाको जवाफ थियो- ‘तपाईंले देख्नु नै भएकै छैन भने कसरी सम्झिनुहुन्छ ।’

-‘त्यो कसरी ?’

-‘मनोहर जहिलेदेखि ठूलो भयो, उनकी आमा त्यसैबेलादेखि मसँग छैनन् । अहिले उनी एउटा आश्रममा बस्छिन् । मनोहरलाई यो कुरा थाहा छ ।’

-‘तर मनोहरले त यसबारेमा मसँग केही कुरा गरेनन् त ।’

-‘कसरी भन्थ्यो कि उसकी आमा महन्थको सेवा गर्छिन् । सा…महन्थ ।’ उहाँको मुखबाट गाली निस्कन थालेको थियो । क्रोधित अनुहारले आक्रोशको अभिव्यक्ति प्रस्तुत गरिरहेको थियो । केहीबेरपछि शान्त हुँदै उहाँ भन्न थाल्नुभयो- ‘यसमा मनोहरकी आमाको कुनै दोष छैन ।’ यस्तो लाग्यो कि बूढाको मन स्नेहले अहृलादित भइरहेको छ ।

‘यो समाजमा कस्को विश्वास गर्न सकिन्छ र ? महन्थ त धर्माधिकारीको प्रतीक हुन्छ तर उसकै कारण यदि कसैको घर उजाडिन्छ भने कसको दोष ? मेरो वा तपाईंको ? तपाईंहरू सिनेमामा सामाजिक सन्देशको कुरा गर्नुहुन्छ । हामीकहाँ किन कसैले अहिलेसम्म यस्तो सामाजिक विषयमाथि सिनेमा नबनाएको ?’

त्यसबेला म प्रत्यक्षतः केही पनि बोल्न सक्ने अवस्थामा थिइनँ तर मनमा अनेक प्रकारका कुराहरू खेलिरहेका थिए । बूढाको मनको लाभा बाहिर निस्किसकेको थियो । उहाँ लामोलामो श्वास लिइरहनु भएको थियो ।

मलाई बुझ्न कुनै कठिनाई भएन कि उहाँ तनावमा हुनुहुन्छ । ओछ्यानबाट उठ्दै मैले भनेँ- ‘तपाईं बिरामी हुनुहुन्छ, यसरी तनावमा नबस्नुस्, रोग झन् बल्झिन्छ ।’

उहाँ केही बोल्नुभएन । एकटकले मतिर हेर्नुभयो । लाग्यो उहाँको आँखामा एक प्रकारको रिक्तता छ । एउटा प्रतीक्षा छ र उहाँका आँखाले केही खोजिरहेका छन् ।

मलाई के लाग्यो भने अब मैले धेरै कुरा बुझ्न थालेको छु । डाक्टरले रोगको निदान गरेको होस् वा नहोस्…? तर अब मलाई उहाँको रोगका बारेमा थाहा भइसकेको थियो । मैले उहाँको रोग पत्ता लगाइसकेको थिएँ । त्यतिकैमा केही खटखटजस्तो आवाज आएको अनुभव भयो । दुवैको आँखा कोठाको ढोकातिर ठोक्किन पुग्ो तर त्यहाँ केही पनि थिएन । उहाँ पुनः निराश देखिनुभयो । मैले बूढालाई भनेँ- ‘तपाईं निश्चिन्त रहनुस् । तपाईंको रोगका विषयमा मैले सबै कुरा बुझिसकेँ । जाऔं गाउँतिर । काकी अवश्य आउनुहुन्छ ।’

-प्रस्तुत कथा मैथिलीभाषाबाट अनुवाद गरिएको हो ।

अनुवादक- निमिष झा

मधुपर्क २०६८ कार्तिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *