Skip to content

हाइकुको मिठास बुझ्नेलाई मात्र थाहा हुन्छ

  • by


वि.सं. २००२ मा कोसी अञ्चल, तेह्रथुम जिल्लाको सावलामा जन्मनु भएका अभि सुवेदीको साहित्यमा प्रवेश बनारसबाट प्रकाशित हुने ‘नौलो पाइलो’ मा वि.सं. २०१३ मा प्रकाशित ‘नानी रोयो’ कविताबाट भए पनि हाइकुमा चाहिँ उहाँको प्रवेश कुन सालमा भयो, उहाँ नै सम्झन सक्नुहुन्न । मधुपर्कमा भने उहाँका हाइकु आजभन्दा २३ वर्ष अघि सर्वप्रथम २०४५ साल साउनको अङ्कमा हाइकु शैलीका छोटा कविता शीर्षकमा २५ वटा हाइकु प्रकाशित भएका थिए । वि. सं. २०४४ मा उहाँको ‘जापानी हाइकु ः हिजो र आज’ नामक जापानी हाइकुहरू अनुवाद गरिएको कृतिसमेत प्रकाशित छ । स्रष्टा सुवेदीसँग मनोज न्यौपानेले गर्नुभएको हाइकु वार्ता प्रस्तुत छ ः

तपाईंं हाइकु कवितातर्फ कसरी आकषिर्त हुनुभयो ?

जापानी साहित्य र जेन दर्शनप्रतिको चाखले गर्दा हाइकुमा आकषिर्त भएँ ।

हाइकु कविताको जन्म कसरी भयो ?

जापानी परम्परामा हाइकाइ-नो-रेङ्गा भन्ने कविहरूले पालैपालो श्लोक लेख्ने लामो कविता हुन्थ्यो । त्यो लामो कविताको विषय चिनाउने सुरूको छोटो कवितालाई होक्कु भन्थे । पछि कविहरूले त्यो होक्कु मात्रै पनि लेख्न थाले । यसरी हाइकुको जन्म भयो ।

हाइकुको अरू भाषामा अनुवाद सम्भव छ ?

सबै कवितामा त्यो लागू हुन्छ । हाइकुको अनुवाद पनि अप्ठेरो हुन्छ ।

प्रायः नेपाली हाइकु कविले पहिलो हरफमा पाँच, दोस्रोमा सात, तेस्रोमा पाँच वर्ण -अक्षर) को फर्मुलामा हाइकु लेख्छन्, तपाईंं भने यसरी लेख्नुहुन्न, किन ?

हाइकु लेख्ने सबै जापानी कवि पनि ५-७-५ अक्षरको नियम पालना गर्दैनन् तर धेरैले गर्छन् । जापानीमा अक्षरको अर्थ हाम्रो वा अङ्ग्रेजीको भन्दा भिन्न हुन्छ । खाञ्जीले प्रतिनिधित्व गर्ने एक अक्षरमा धेरै अर्थका सम्भावना हुन्छन् । चित्रका आयाम हुन्छन् त्यसमा । त्यसैले अरू भाषामा हाइकु लेख्नेले भरसक त्यो १७ अक्षरको छेउछाउमा पुग्ने लम्बाइमा लेख्दा मात्र स्वाभाविक हुन्छ । अक्षर गनेर हाइकु लेख्दा बनावटी मात्रै हुन्छ ।

तपाईंंले धेरै ठाउँमा हाइकुशैलीका कविता भन्नु भएको छ, किन सोझै हाइकु भन्नुहुन्न ?

हाइकु जापानी नाम हो । त्यसको शैलीमा लेख्न सकिन्छ तर ठीक त्यस्तै लेख्न सकिँदैन भन्ने लागेर ‘शैलीका’ भनेको हुँ तर आजकल हाइकु नै लेख्छु ।

प्रायः नेपाली हाइकु कवि शीर्षक राख्दैनन् हाइकुमा । तपाईं राख्नुहुन्छ किन ?

हाइकुको शीर्षक हुन्छ तर त्यसलाई प्रयोग गर्ने तरिकाहरू हुन्छन् । एउटा फराकिलो परिवेश, सन्दर्भ र लेखिएको विषय हाइकुको शीर्षक हो । त्यसलाई हेर्न सक्नुपर्छ । अरू भाषामा हाइकु लेख्ने कतिले शीर्षक राख्छन् तर मेरा शीर्षक हाइकुका हरफका अङ्गजस्तै भएर आउँछन् । ती शीर्षक हाइकुले नै लेखिन्छन् ।

हाइकु लेख्न सजिलो छ भन्छन् नि !

त्यो सत्य होइन । हाइकु लेख्न अति गाह्रो छ । हाइकु लेख्नु भनेको छोटो लम्बाइमा वा १५-२० अक्षरमा एउटा महाकाव्य लेख्नु हो । विम्बको भयानक नाटक वा ‘पर्फमेन्स’ हुन्छ हाइकुमा । जेन दर्शनको सातोरी वा अन्तिम प्रष्फुटन वा आविष्कार हाइकुको लक्ष्य भएकोले मलाई त धेरै गाह्रो लाग्छ हाइकु लेख्न ।

तपाईंले अचेल अखबारी निबन्धमा हाइकु राख्न छोड्नुभयो, किन ?

अहिले सायद हाइकुको सूक्ष्मताले अखबारका लेखमा अर्थ राख्न छाडेर हो कि । अहिले आँधी धेरै लेखिन्छ । हाइकु आँधीपछिको ध्यानको क्षण हो । अलिक त्यो भेट्दिन कि आजकाल ।

तपाईंलाई मनपर्ने हाइकु कुन हो र किन ?

मलाई मात्सुओ बासो (१६४४-९४) को ‘पुरानो पोखरी/फुत्त छ्याप्ल्याक्क-/भ्यागुतो’ सबभन्दा धेरै मनपर्छ । यसमा हाइकुको सरलता र महानताको संयोग छ । परिवेश, प्रकृति, गति र पोखरीभित्रको सहज समर्पणको यस हाइकुमा सङ्गम छ । हाइकुको मिठास बुझ्नेलाई मात्र थाहा हुन्छ ।

हाइकु कविहरूमा चाहिँ को को मन पर्छन् ?

मलाई जापानीमा बासो, सोरा, इसा, शिकी, तानिजाकी । अङ्ग्रेजीमा बिट कवि ज्याक केरुओक र नेपालीमा केही भाइहरूका हाइकु मन पर्छन् ।

जापानी हाइकु नेपालीमा अनुवाद गर्ने योजना छ कि छैन ?

अनुवाद गर्ने इच्छा छ । मेरो एकडेढ वर्षको टोकियो आप्रवासको बेला निकै कवि भेटेँ । उनीहरूसँग घुमेर हाइकु लेखेँ र देखाएँ । धेरै हाइकुलाई आधुनिक प्रतीकवादी कविता भए भने । उनीहरूले मन पराएका मेरा हाइकुमा मैले अत्यन्त आनन्दको अनुभव गरेका क्षणको चित्र छ । ती कविहरूका अनुवाद गर्ने मन छ । खै के हुन्छ, हेरौँ ।

आफ्नै हाइकुहरूको सङ्ग्रह प्रकाशन गर्ने योजना छैन ?

यसबारे मनोज न्यौपानेसँग छलफल गर्दैछु ।

तपाईंलाई हाइकु लेख्न कस्तो वातावरण चाहिन्छ ?

मलाई अति साधारण क्षण चाहिन्छ हाइकु लेख्न । हिँडेर, साधारण चुनौती नभएको प्रकृतिसँग भेटेर, साधारण अवस्थामा कोठामा पनि हाइकु लेख्छु । मन मुक्त र केही ध्यानातित भएको बेला हाइकु लेख्न राम्रो हो ।

हाइकुको पहिलो हरफमा किन प्रकृतिबोधक शब्द नै राखिन्छ ?

जापानी कविता र जेन ध्यानहरू प्रकृतिको नजिकमा हुने भएकोले ।

के दुई पङ्क्तिमा हाइकु लेख्न सकिन्छ ?

लेख्छन् लेख्नेहरूले ।

तपाईंको विचारमा एउटा राम्रो हाइकु हुन के-के चाहिन्छ ?

सरल चिन्ता, ध्यान, थोरै विम्बले धेरै बोल्ने सामर्थ्य, तीन हरफ, १५-२० अक्षर, ठाउँ राखेको संयोजन र सबभन्दा मुख्य कुरा हाइकु जत्रो भए पनि बौद्धिक आडम्बर नभएको आविष्कार हो यो ।

मधुपर्क २०६८ कार्तिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *