Skip to content


हाम्रा यी हिमशैलका कुसुमले बास्ना पठाए कि त ।
अग्ला पर्वतबाट र्झछ झरना झङ्कार आए कि त ।।

नेपाली इतिहास वीर गरिमा सम्झेर आए पनि ।
घुम्छन् मन्दिरलाई झक्तहरुले निम्तो नपाए पनि ।।

खोलाकै धुन बज्छ घण्ट जसरी सङ्गीत रागात्मक ।
मीठो गाउँछ कोइली अरु कुनै छैनन् यहाँ गायक ।।

इन्द्रेणी नवद्वार पर्यटकको हुन्छिन् धरा द्वारिका ।
धर्ती लाग्दछ बेहुली सरि यहाँ शृङ्गारकी साधिका ।।

पाइन्नन् घुम विश्वमा जुन कुरा पाइन्छ नेपालमा ।
धेरै चीज अटाउने मन लिई आइन्छ नेपालमा ।।

भाँडामा त्यतिमात्र अट्छ जलधी कत्रो लियौ अम्खरा ।
जे छन् प्राकृत छन् र छैन यसमा विज्ञानका टाकुरा ।।

उठ्नेछन् दिन फेरि पर्वतसँगै थापी टीका घामको ।
खोजी गर्दछ सूर्य वृद्ध जसरी गन्तव्य आरामको ।।

पानी फूल बनी तलाउहरुमा फुल्छिन् सदा चन्द्रिका ।
धेरै वर्णन भो कि भो कम अझै भन्नू घुमी बाटिका ।।

धादिङ-५, सिम्ले

मधुपर्क २०६८ कार्तिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *