निरपेक्ष भाव
र असंलग्न चिन्तनधारामा
कविता लेख्नेहरूलाई
आइन्सटाइन महोदय भन्नुहुन्छ,
सापेक्षित सिद्धान्तको/ कविता लेख्नुहोस्,
जीवन सापेक्षित छ
सापेक्षित नै भएर रहनेछ, यो
परस्पर, कोही कसैबाट
अलग्गिएर रहन सक्तैन,
भावावेशमा आएर
निषेधको कुरा नगर्नुहोस्
निषेधले निषेध बढाउँछ,
हामी यो विश्वलाई
स्वच्छ दृष्टिले हेरौँ
हिमाली तेजले हेरौँ
सबै सुन्दर देखिन्छ
सबै कञ्चन देखिन्छ
श्रेष्ठ छन्, सबै
प्रेय छन्, सबै,
सबै सबै
आफ्ना विशिष्टतामा,
कसैलाई वहिष्कार गरेर
आफ्नो श्रेष्ठता
कायम हुन सक्तैन,
अलग्याएर आफूलाई
आफ्नो महान्ता पनि
स्थापना हुन सक्तैन,
म सोचिरहेको छु
अझै आइन्सटाइनको टाउकोमा
कति कुरा अटाएको होला,
ठेलीका ठेली
विज्ञान-प्रविधि
आविष्कार-अनुसन्धान
सूत्रमाथि, सूत्रहरू रचेर
विश्वलाई
सुन्दर तुल्याउने आइन्सटाइन
टाउकोमा, कविता पनि
अटाउनुहुन्छ, उहाँ ।
सृष्टिको निरन्तरता पनि
अर्थ्याउनुहुन्छ, उहाँ ।
आखिर आइन्सटाइन नामक
यो टाउकोमा, के छ हँ !
मधुपर्क २०६८ कार्तिक