Skip to content

पराय जिन्दगी


सुनकै टुक्रा हो
किन्नुस न ।
बिक्रीमा छ –
यौटा जिन्दगी:
तपाईंको आफ्नै मूल्यमा ।

जिन्दगीको
आधार सिविरमा
जमानत सहितको
जिन्दगी छ ।
त्यसैको भारि बोकेर
तपाईं चुली चढ्नु होला
अक्सिजन जिन्दगी लिएर
जीतको सास फेर्नु होला ।

जमाना अनुसारको
जिन्दगी
आफ्नै डम्फुमा बज्दैन ।
हराएका च्यांग्राहरू
राष्ट्रियता बोकेर फर्कँदैनन् ।
त्यसैले तपाईं ढुक्क हुनुस्
तपाईंले किन्ने जिन्दगीले
आफ्नो जिन्दगी बाँच्ने छैन ।
बेचिएपछिको जिन्दगी
तपाईंमा समाहित हुनेछ
समर्पित अक्षरहरू-
तपाईंको नाममा लेखिने छन् :
ए, मेरो प्रिय नायक !
मेरो देवता !!

बग्रेल्ती सम्भावनाका क्षितिजहरूमा
अंगालो हालेर पसारिएको
आकाश बोल्ने छैन ।
तपाईंको तिलष्मी हत्केलामा
स्वप्न दृष्टिका आभाहरू
एकाएक खसेर
मरे पनि
तपाईंको आँखामा जिन्दगी
फिलिङ्गो बनेर बल्ने छैन ।
माटोले सिकायत गर्ने छैन ,
मनले गुनासो गर्ने छैन ।

तपाईंको सत्ता छ –
स्वतन्त्र र सार्वभौम ।
तपाईंको
इच्छाको च्यादर ओढेर
जिन्दगीका शिशिरहरू
पल्टंदै जानेछन् ।
अवोधगम्य सपना
विपनामा परिणत हुने छैन ।
चट्टानी मनको तरेलीमा
दु:खको काँठो
जिन्दगी-
सुखको याचना गर्ने छैन
किनकी
त्यो पराय जिन्दगी
सीमानाभित्र छ
तर
सीमाना बाहिर छ ।

तपाईं स्वतन्त्र हुनुहुन्छ ।
स्वतन्त्रताको प्रतिमूर्ति हुनुहुन्छ ।
यौटा अमूल्य जिन्दगी,
तपाईंभित्र कैद हुनेछ,
चुपचाप तपाईंको सेवामा
आशक्त हुनेछ ।
किन्नुस त्यो-
तपाईंको आफ्नै मूल्यमा:
पराय जिन्दगी ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *