Skip to content


रहस्यहरू धितो राखेर
हरेक दिन समयचक्रमा
सकी नसकी आफैँलाई पिस्दै/भर्जिनिया र डीसीतिर
घिसारिएका यी विवश जिन्दगीका टिठलाग्दा अनुहारहरू पढ्दा
लाग्छ, यी मान्छेहरू वर्तमानका
जिउँदाजाग्दा यन्त्रका अद्वितीय नमुना हुन् ।

कृत्रिमताको आवरणभित्र सकी नसकी पीडाहरू लुकाउँदै
वर्षौंदेखि हाँसो हराएर कलेटी परेका ओठहरूले वेदना मुस्कुराउँछन्
म्याकडोनाल्ड र क्विजनोजका स्वादहरूमा भेजी-नन्भेजी बर्गरहरूले
अघाउन नसकी दाब्रिएको पेट/थाकेर पनि विश्राम नपाएका पाखुरी
चिन्ता र रोगले गालेको
विवश लाचार तन र गह्रुँगो मनसँगै
जति बाट्न खोजे पनि फुस्किरहने
बालुवाको कसारजस्तै
यो पराई मुलुकमा
बीभत्स कोलाहल बर्बराउँदै खै के खोजिरहेछन् उनीहरू ?

यहाँ न उनीहरू अरूको हुन सक्छन् ?
न त अरू नै उनीहरूको ?
मरुभूमिमा पोखिएको पानीजस्तो उनीहरूको पसिना
मूल्य भेट्नुअघि नै उधारोमा रूपान्तरित हुन्छ
न मूल्य छ श्रमको, न त आभारका प्रेमिल शब्दहरू नै ।

मात्र उही नियमित भोगाइमा ‘उनीहरू’ आफैँ
आफ्नो कार्बनकपी भएर अहोरात्र
ऊडब्रिज-भिएना/फियरफ्याक्स-स्प्रिङ्फिल्ड
आहोरदोहोरमा व्यस्त देख्दा
आज म
बन्द कोठामा, निर्जीव-निष्प्राण
घटघट घटघट निरन्तर चलिरहने
मानवनिर्मित यन्त्र र
यन्त्र नियन्त्रित मानवबीचको
गहिरो भेद खोजिरहेछु ।

नेपाल साप्ताहिक अंक ४६४

Leave a Reply

Your email address will not be published. Required fields are marked *