Skip to content


मखमली र सयपत्री फूलले आँगन झपक्क ढाँकेको छ । गोदावरी फूल मीठो वास्ना र्छर्दै हावासँग रमाएर झुलिरहेछन् । आँगनीको डिलमा रोपेको सेतो गुलाफको बोटमा लटरम्म कोपिलाहरु तँछाड-मछाड गर्दै फक्रने सुरमा छन् । आ-आफ्नो रुप रङ्ग निखार्नमा व्यस्त ती पुष्पहरु अभिमानी समान भुइँमा त्यत्तिधेरै लत्रिएका पनि छैनन् । हावालाई महकदार बनाएर गमक्क पर्दै ढकमक्क फुलेका सुगन्धित फूलमा झुमेका भँमराहरु भुँ भुँ गर्दै फूलको मीठो रस चुस्नमानै व्यस्त छन् । चन्द्रमाको टहटह चाँदनीरुप झलमल्ल झल्कँदा पृथ्वीमाता पनि पूरै शरीर कपुरले लिपेजस्तै देखिएकी छन् । उनको त्यो स्नग्ध अनुहार दीव्य आनन्दले अझ धपक्क बलेको छ ।

प्रकृतिको यस्तो मादकतापूर्ण सौर्न्दर्यमा लठ्ठिएर म त्यसै-त्यसै फुरुङ्ग परिरहेकी थिएँ । रातको शून्यतालाई चिर्दै सल्लाका बोटहरु एकोहोरो सुसेलीरहेका थिए । चङ्गाझैं उडिरहेको मेरो मन लस्करै लागेर उभिएका तिनै बोटहरुको सुसेली सुनेर त्यतैतिर मोडिन्छ । सल्लाको सुसेलीले आज मलाई अनायासै भावुक बनाउछ । सल्लाको सुसेली मलाई मेरो साथी सागरको रुवाइ जस्तो लाग्छ । सागर मेरो वाल्यकालदेखिको साथी । उसलेनै यी सल्लाका विरुवाहरु मलाई दिएको थियो हामी दुइजना मिलेरनै यी विरुवा रोपेका थियौं ।

सागर हाम्रै घरमानै हुर्केको भनेपनि हुन्छ । उसको बुबा कान्छीआमासँग बस्ने भएकोले उसले बुबाको माया पनि त्यति पाउन सकेन । उसकी आमा वित्नुभएको बेला ऊ ८ वर्षो मात्र थियो । आमाले सधैंका लागि छोडेर गएपछि ऊ आफ्नो दाइभाउजूको जिम्मामा रहन पुगेको थियो । आमाबुबाको माया नपाएपछि ऊ मलजल नपाएर ट्याक्सिएको विरुवाझैं हुर्केको थियो । दाइभाउजूलाई नटेर्ने स्वभावका कारण दाइहरुबाट सधैंजसो पिटाइ खानुपथ्र्यो उसले । पिटाइ खाएपछि रुँदै हाम्रो घरमा आएर मेरी आमासँगनै घुँक्कघुँक्क गरेर धेरैबेर रोइरहन्थ्यो । आमाले पनि आफ्नो छातिमा टाँसेर कपाल सुम्सुम्याउँदै धेरै फकाउनु हुन्थ्यो उसलाई । हामीलाई आमाबुबाले नयाँ सामान किनेर ल्याइदिँदा ऊ निकैबेर टोलाएर हेरिरहन्थ्यो अनि केही नवोली लुरुलुरु आफ्नो घर जान्थ्यो । उसको त्यो बाल हृदयमा चोट पुगेको देखेर कतिपल्ट त हामीलाई सँगै उसलाई पनि सामान ल्याइदिनुहुन्थ्यो बुबाले । उसका दाइहरुले बुबालाई त्यसो नगर्नु भनेपछि बुबाले सामान ल्याइदिन छाड्नुभएको थियो । सागर पढ्नेबेलामा पनि त्यत्ति मन लगाउँदैनथ्यो । एकोकोरो भएर टोलाइरहन्थ्यो । त्यसैले उसले शिक्षकहरुबाट पनि त्यत्ति माया पाउँदैनथ्यो जसले गर्दा उसको व्यवहार झनै रुखो किसिमको हुँदैगयो । ऊ आफ्नो परिवारसँग भन्दा पनि हाम्रो परिवारसँगनै बस्न पाएहुन्थ्यो भन्ने सोच्थ्यो क्यारे । त्यसैले ऊ वेलुका सुत्नेबेलामा हाम्रै घरमानै आमासँगै सुत्छु भन्दै दाईहरुसँग जान मान्दैनथ्यो । कतिपल्ट त हाम्रै आमासँगनै सुतेको थियो ऊ । उ भाउजूहरुले खान दिएको मीठो कुरा नखाइकन लुकाएर मेरी आमालाई नखुवाइकन मान्दैनथ्यो । उसको चित्त बुझाउन आमाले खाइदिनै पथ्र्यो । आमालाई काकी भनेर बोलाउने सागर भन्थ्यो ” काकी मैले हजूरलाई आमा भन्नुहुन्छ ? म पनि हजूरलाई आमानै भन्छु है ” भन्दै आमाको सारीको फेर समात्थ्यो । आमाले हुन्छ बाबु म पनि तेरीआमा जस्तै त हो नि भन्दै उसको मन राखेपछि आमाको कुरा सुनेर फुरुङ्ग हुँदै उसका भाउजूहरुलाई सुनाउन पुगिहाल्थ्यो । उसको यसप्रकारको व्यवहारले मेरीआमाको मन कटक्क काटिन्थ्यो क्यारे उहाँपनि सागरलाई हामीलाई जत्तिनै माया गर्नुहुन्थ्यो । हरेक खानेकुरा सागरलाई पनि छुट्याएर राखिदिनुहुन्थ्यो । त्यसैले ऊ साथी भएपनि आफ्नै दाइजस्तै लाग्छ मलाई ।
अहिले ऊ इण्डियन आर्मीको निकै ठूलो तहमा पुगेको छ तर पैसा र इज्जतले मात्र पनि मान्छेलाई सबकुरा पुग्दो रहेनछ । मायाप्रेममा तुषारापात परेपछि मान्छे त्यसै-त्यसै विरक्तिँदो रहेछ । वाल्यकालमा आमाबुबाको मायाबाट बञ्चित सागर अहिले आफूले प्रेम गरेर वैवाहिक बन्धनमा बाँधिएकी सरिताको प्रेम नपाएर एक्लिन पुग्यो । हुन त सरिताले उसलाई अतिनै प्रेम गर्थी भन्ने कुरा सागरले हामीसँग भन्ने गथ्र्यो । विवाह गर्नुभन्दा अगाडिनै सरिताको बारेमा मेरीआमासँग सबैकुरा बताएको थियो । ऊ भन्थ्यो “मैले मेरो पारिवारिक पृष्ठभूमिको बारेमा सब कुरा बताएको छु । उसलाई आफ्नो पढाइको बारेमा पनि भनेको छु तरपनि ऊ मसँग प्रेम गर्छे । म विना बाँच्न सक्दिन भन्दै बिहेको प्रस्ताव राखेकी छे ।” उसले आफूले सल्लाह माग्ने मान्छे कोही नभएरनै मेरीआमासँग यीसब कुरा सुनाएको हुनुपर्छ । मैले र मेरी आमालेनै उसलाई विवाह गर्नुनै राम्रो हुन्छ भनेका थियौं । प्रेम गरेको ५ वर्षछि उसले सरितालाई विहेगरी हाम्रो घरमा आमाको आशिर्वाद थाप्न लिएर आएको थियो । सरिता रुपवान मात्र होइन सबै गुणले सम्पन्न थिई । ऊ सबैसँग चाँडैनै घुलमिल हुने किसिमकी थिई । सम्पन्न र निकै ठूलो घरानाकी छोरी भएपनि मध्यम वर्गीय परिवारको त्यसमा पनि ऊभन्दा कम पढेको सागरलाई अतिनै सम्मानका साथ प्रेम गर्थी ।

समयले मानिसलाई सधैं एकनाससँग कहाँ राख्दो रहेछ र ! रातपछि दिन आएजस्तै सुख र दुःख मान्छेका लागि अपरिहार्यनै बनेर आउँदो रहेछ । पीडाको पोखरीमा चुर्लुम्म डुबेर पनि मान्छेलाई यस निस्सार संसारमा खै के ले हो झीनो आशा दिएर तैराउन सफल हुँदो रहेछ । त्यो झनिो आशा पनि उमार्न नसक्ने हो भने रुखो मरुभूमि बनेर सृष्टिनै रोकिन पनि सक्ने थियो होला । आशाको झीनो त्यान्द्रोलेनै पीडाको मुस्लोले भित्रभित्रै खङ्गरङ्ग बनाएको सागरलाई पनि यस संसारमा उभ्याएको हो ।

उसको वास्तविक जीवनको यथार्थ सत्यलाई आज म कथाका माध्यमबाट ओकलिरहेको छु । उसको सम्झनाका छालहरु छताछुल्ल भएर मेरो अन्तस्करणमा एकपछि अर्को गर्दै चुलिँदै आइरहेका छन् तर म बाध्य छु ती छालहरुलाई समेट्न । साँच्चै भन्ने हो भने सागरको उसकी श्रीमतीसँग अलग भएर बस्नुपर्ने बाध्यतानै उसको जागिर थियो । अलग भएर बस्नु परेपनि दुबैले एक अर्कालाई मुटुभित्र नै राखेका थिए । सागरको सामीप्यताको अभावलाई उसकी छोरी सँस्कृतिले पूरा गरिदिएको आभास सरिताले गरेकी थिई । सागर पनि श्रीमतीको प्रेम र छोरीको मायाले खुब पग्लिएको थियो । उसको रुखो स्वभावलाई सरिता र छोरी सँस्कृतिको मायाले वसन्तको बहारनै ल्याइदिएको थियो । प्रेमलाई संसार चलाउने अदृष्य शक्तिको रुपमा उसले हेरेको थियो । प्रेम बिनाको संसारलाई मशानघाटको संज्ञा दिने गथ्र्यो । श्रीमतीको मायाको तलाउमा चुर्लुम्म डुबेको सागरले श्रीमतीको हर बचनलाई पूरा गरिदिन्थ्यो । यसै क्रममा उसले श्रीमतीको इच्छा अनुरुपनै पैतृक सम्पत्ती बेचेर आफूले कमाएर जम्मा गरेको पैसा जोडेर भारतको मुम्बइ शहरमा एक सुन्दर बङ्गला जोडेको थियो । त्यो बङ्गला श्रीमती र छोरीकै नाममा पास पनि गरिदिएको थियो ।

इमान्दारिता र मेहेनतका कारण सागरको पदोन्नति पनि भएछ । पदोन्नति भएको एकहप्ता भित्र छोरी सँस्कृति र श्रीमतीलाई भेटेर आफ्नो जीवनको खुशि बाँड्ने निर्णय गरेर पूर्व जानकारी बिनै ऊ घर पुग्यो । ऊ श्रीमतीलाई सरप्राइज दिन चाहन्थ्यो । पदोन्नतिको समाचारले श्रीमतीको खुशीले गद्गद् भएको अनुहार हेर्न चाहन्थ्यो ऊ । उसको सरप्राइज दिने इच्छाहरु श्रीमतीले दिएको झनै ठूलो सरप्राइजले भताभुङ्ग भए । उसकी श्रीमती कुनै जानकारी नदिई घरमा आफ्नो श्रीमान पुगेकोमा अपराधीझैं समातिन पुगेकी थिई । ऊ छोरीलाई मामाघर पठाएर परपुरुषको अङ्गालोमा बाँधिरहेकी थिई । उसको त्यो घृणित कार्यले गर्दा सागरलाई भूकम्प गएझैं भयो । उसको प्रेममा अतिक्रमण भैसकेको कुरा बिचरो सागरलाई के थाहा ? ऊ आफ्नो शरीरको अभिन्न अङ्गझैं बनेकी सरितालाई यसरी परपुरुषको साथमा त्यसमा पनि आफ्नै घरमा भेट्दा उसको शरीर खङ्ग्रङ्ग भएर आउँछ । सरिता लोग्नेले कुनै जानकारी नदिइ आएकोमा आफ्नो चरित्र उदाङ्गो हुन गएकोले भित्रभित्रै मुर्मुरिन्छे । अपराध बोधले उसलाई अलिकति पनि छोएन । ऊ लोग्नेलाई कुनै वास्तै नगरी घरमा बस्ने आग्रह गर्दै हत्त न पत्त बाहिरिन्छे । सागरलाई सरिताको पतीत कार्यले मर्माहत बनायो । त्यहाँ उसलाई एकछिन पनि बस्न मन लाग्दैन । ऊ केही सोच्न सक्दैन । उसले सरिताको अगाडि केही बोल्न पनि सकेन । ऊ शब्दहीन बन्न पुग्यो । मानौं उसको दिमाग पूरै खालि बन्यो । जीवनमा सबैभन्दा बढी विश्वास गरेकी सरिताले आज उसलाई उसको सोझोपनको फाइदा उठाएर बिश्वासघात गरेकोमा सागरको मुटु भतभति पोल्यो । श्रीमती अर्काको साथ लागेर आफ्नै अगाडि बाटो लाग्दा पनि केही गर्न नसकेकोमा ऊ आत्मग्लानीले तड्पिन्छ । क्रोधले दाह्रा किटकिटाउँछ । बेलैमा केही गर्न नसकेकोमा आफूदेखिनै भित्रभित्रै मुर्मुरिन्छ । दुबैजनालाई खत्तम गरिदिएको भएपनि मेरो मन शान्त हुनेथियो होला भनेर सोच्छ तर उसको चेतन मन सक्रिय भएकोले उसले केही अप्रिय घटना घटाउन सकेन । निरीह प्राणीझैं बनिरहृयो दुबै अपराधीहरुका अगाडि ।

श्रीमती निस्कनासाथ ऊ पनि ससुरालीतर्फ छोरीलाई भेट्न भनी निस्कियो । उसको घरबाट ससुराली घर दुइ किलोमीटर मात्रै टाढा मात्रै थियो । बाटोभरी उसलाई त्यै अघिको घटनाको सँस्मरणले निमोठिरहृयो । उसको पुरुषत्वलाई धिक्कार्दै ऊ लमतन्न परेर लम्पसार परेको सडकलाई नापिरहेको थियो । उसलाई सरिताको घृणित कार्यले गर्दा ससुराली तर्फा सबैसँगनै रीस उठेर आउँछ । आक्रोस पोख्ने कोही पाउँदैन । उसको आक्रोस छोरीमाथि खनिन्छ । त्यसैले ऊ त्यो अवोध वालिकालाई पनि नभेट्ने निर्ण्र्ाागरी निरुद्देश्य सडकमा भौंतारिरहन्छ । छोरीलाई भेट्न लम्किएका उसका हरेक पाइलाले उसैलाई व्यङ्ग्य गरेको आभास भैरहृयो उसलाई । अलिअलि गर्दै साँझ पर्न लागेको थियो । प्रत्येक अभ्यस्त अँध्यारा सडकहरुले उसलाई गिज्याइरहेको पायो ।

उसका पाइलाहरु आफ्नै कर्मथलोतिर मोडियो । ऊ बस चढेर र्फकने सुरमा लाग्यो । बसमा चढेपछि लामो सास तान्छ । आँखा चिम्लिएर अघि दिउँसोको सरिताको चर्तिकला बिर्सन खोज्छ । दिमाग भरी सल्बलाएका हरेक कुराहरुलाई सधैंका लागि मेट्न खोज्छ । अब ऊ र सरिताको सम्बन्ध केही बाँकी रहेन । ऊ अब अर्कैकी भैसकी म किन उसको बिछोडमा रन्थनिएको भन्दै आफै सम्हालिन खोज्छ । दुबै आँखाहरु बन्द भएपनि सोचाइहरु बन्द गर्न सक्दैन । अतीतका हरेक पानाहरु एकएक गर्दै पल्टिँदै जान्छन् । ऊ हरेक पानाहरुलाई नियाल्दै जान्छ ।तिनै पानाहरुमा घोत्लिँदे जान्छ ।
हुन त प्रेम प्रस्ताब सरिताले नै राखेकी थिई जतिबेला ऊ सामानय पदमा कार्यरत थियो । सरिताको मिलनसार स्वभावका कारण उसले पनि सरिताको प्रेमप्रस्ताव अस्विकार गर्न सकेन । प्रेमको दार्शनीक अर्थ लगाएर सरिताले सागरको मन जितेकी थिई ।ओहो ! कस्तो सुन्दर सपना बुनेर दुबैले एक् अर्कालाई प्रेमको डोरीले बाँधेका थिए । ती सुन्दर सपनाहरु आज कसरी आधि बाटोमै चकनाचुर भए ।
हुन त सरिताको प्रेम पाएरनै सागरले हरेक कुरामा सफलता चुम्दै अघि बढेको थियो । सरिताको प्रेम पाएर उसले संसार जितेको महसुस गरेको थियो । उसको दुःखमा सरिता पनि साथ दिने गर्थी । उसको दुखद वाल्यकालको व्यथा सुनाउँदा सरिताले आफ्नो आँखा अश्रु सरिताले टिलपिलाउँदै अतीतलाई विर्सेर वर्तमानलाई हेर्नुस् भन्दै सुँक्कसुँक्क गर्दै सान्त्वना दिएको घटना सम्झेर सागर भक्कानिन्छ । किन सरिताको मन बदलियो ? के भयो उसलाई ? के प्रेमको नाटक गरेर फसाउन मात्र खोजेकी थिई उसले ! उसको त्यो केटासँग सम्बन्धनै थियो भने किन मसँग सम्बन्ध बढाउनु पथ्र्यो ? के सम्पत्ती जोड्ने माध्यमका रुपमा मात्र उसले प्रेमलाई हेरेकी थिई ? प्रेमको नाटक गरी कसैको जीवनमा कुठाराघाट गर्न पाइन्छ ? एकएक गर्दै प्रश्नमाथि प्रश्न चाङ्ग लागेर आउँछ । मष्तिष्क भारी भएर आउँछ ।

सागरलाई साँसारिक प्रेमको स्वार्थी रुप देखेर प्रेमको परिभाषा देखिनै घृणा लागेर आउँछ । ऊ आफूलाई जन्म दिने आमाले मात्र आफूलाई निस्वार्थ प्रेम गरेको महसूस गर्छ । भगवानसँग गरिने प्रेम मात्र साँचो हो र आमानै उसको भगवान हो भन्ने सोच्छ । त्यसैले आफूलाई चाँडैनै भगवानको काखमा पुग्न पाऊँ भन्दै मनमनै प्रार्थना गर्छ । यो संसार फेरि उसका लागि महाशून्यमा परिणत हुन पुग्यो । असँख्य मान्छेहरुका बीचमा पनि ऊ आफूलाई एक्लो पाउँछ । यो संसार दुःखको भवसागर रहेछ । अपरिमित दुःखहरुको जड अस्तित्व भनेकोनै यो संसार रहेछ । जसलाई न त हटाउन सकिन्छ । न त अनेक मीठा मीठा भावनाका आभुषणहरुले सजाउननै सकिन्छ । त्यसैले ऊ यस संसारलाई निर्रथक र भगवानलाई शास्वत ठान्न पुग्छ ।

ऊ एकोहोरो भएर सोचिरहन्छ । उसको सोचाइ छोरीतर्फमोडिन्छ । उसको छोरी भेट्न लम्किएका पाइलाहरु सरिताको आक्रोशले डेरातर्फमोडिएकोमा पश्चाताप गर्छ । बिचरी त्यो अवोध वालिकाको के दोष थियो र आखिर छोरी मेरीनै हो । मेरी प्यारी छोरी सँस्कृति म तिमीलाई टुहुरी बन्न दिन्न म कायर भएर यस संसारदेखि भाग्न चाहन्न । एउटा बाबुले गर्नुपर्ने दायित्व पूरा गरेर छाड्छु । तिमीनै मेरो जीवनको बाँच्ने आधार हौ भन्दै आफ्नो निरस यात्रालाई अगाडि बढाइरहन्छ र आजसम्म पनि बढाइरहेकोनै छ ।

टीका खरेल सुवेदी
कुलेश्वर , काठमाण्डौं
[email protected]

2 thoughts on “सागरको शास्वत प्रेम”

  1. शास्वत प्रेम त त्यत्तिबेला घट्दछ ,जब तिमी मौन हुन्छौ ।
    शास्वत प्रेम त त्यत्तिबेला घट्दछ ,जब तिमी मौन हुन्छौ । यत्ति शान्त र सिथिल हुन्छौ कि जस्तो यस कथामा सागरले सरप्राइज दिनलाई आउँदा उसको सपना सबै शून्यमा परिणत हुन्छ र त्यस्तैबेला जो कोही पनि बिष्फोट हुन्छ । तिम्रो आत्माको आलोकको बिष्फोट । जसले शास्वत प्रेमलाई अत्यन्त कठिन र दुरुह सम्झ्यो भने उसलाई बुद्धत्व प्राप्त हुन्छ । जो थोरैलाई मात्र शास्वत प्रेमको नसिब हुन्छ उसले उसको आफ्नो बुद्धि र देहलाई जरुर बरबाद गरेकै हुन्छ । बिश्रामको भूमिबाट शास्वत प्रेमबाट बुद्धत्व पलाएको हुन्छ । तर त्यहाँ एकै छिनपछि आफ्नो छोरी प्रतिको प्रेमले फेरि जीवनमा ल्याएर उभ्याइ दिन्छ । हो यी र यस्तै उत्कर्षबोकेको कथाले वास्तविकता झल्काएको छ ।
    कथाकारको साहित्यिक सफलताको कामना !
    …………..बिजु सुवेदी “विजय”………………

  2. हजुरको कमेन्टमा ओजपूर्ण दम छ ।
    हजुरको कमेन्टमा ओजपूर्ण दम छ । यस प्रकारका कमेन्टले सुसुप्त अवस्थामा रहेका लेखक लेखिकालाई जागृत बनाउने मात्र होइन एक प्रकारको उर्जानै प्रदान गर्दछ । धन्यवाद छ यहाँलाई , सह्राहनिय कमेन्टका लागि ।
    ………..टीका खरेल सुवेदी…………….

Leave a Reply

Your email address will not be published. Required fields are marked *