Skip to content

प्रक्षेपण


आकाश ओर्लन्छ
आँगनमा-
अनि शुरु हुन्छ
छिचेमिराको
प्रक्षेपण ।

लघु मस्तिस्कका ज्वारहरूमा
तन्मय सपना मडारिन्छ
अनि
आकाशमार्गमा हराउँछ
छिचेमिराको धुमिल धुकधुकी ।

समानान्तर समयका
आयामहरूमा
घाम झुल्कँदैन ।
समय सम्बन्धको
तावामा
पाक्न सक्तैन –
घामको रोटी ।

छिचेमिराको प्रक्षेपणमा
नतमश्तक भएर समयले
कोल्टे फेर्न थाल्छ
अनि
ऊ उक्लन्छ क्रमश:
स्वर्गीय आकाशको
छुक्छुके
रेल यात्रामा ।

अदृश्य आत्मा यात्रीहरू
छिचेमिराको अभिष्ट
ओठहरू हुन् ।
उनीहरू
मृत्युको आल्हादित
समय गाउँछन्
पृथ्वीको विजय यात्रामा ।

प्रेमका
ज्यामिती रेखाहरू
आकाश यात्रामा देखिँदैनन् ।
छिचेमिराको मृत्युमा
प्रेमपिण्ड उल्काको
अवसान उत्ताप
हुर्हुरी बल्छ :
प्लाज्मा मन
उच्छ्वास प्रक्षेपण ।

वर्षैपिच्छे
आकाश यात्रामा
छिचेमिरा झैं मान्छे
उडिरहन्छ ।
उसको मनमा
प्रेमिल माटो
नौनी भएर पग्लँदैन
तर
चोट दुख्छ जिन्दगी
उड्नुको यात्रामा ।

छिचेमिरा निस्कने प्वालहरू
पोत्छ – पृथ्वी हृदयले
किनभने
यो प्यारो सुकोमल
पृथ्वी- हृदय आकाशमा
प्रतिबन्धित छ –
प्रक्षेपण
पराय चन्द्र फोवोस’ सम्मको ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *