Skip to content


चौथो दिन अस्पतालमा मेरो । रात क्रमश छिप्पिदों छ । अँधेरीले ग्वाम्ल्याङ्ग प्रकृतिमाथि आफ्नो बर्को ओढाइसकिन । सायद त्यस्तै कालो बर्को भाग्यले मलाई पनि ओढाउँदैछिन् । कोरिडोरमा म एक्लै महशुस गर्दैछु यद्यपि बिरामीका आफन्तहरू यताउता गरिरहेकाछन् । त्यो भीडमा आफूलाई नितान्त एक्लो पाइरहेकोछु । थाहा छैन किन हो मनभित्र बेचैनीले बास गरिरहेको छ । कतिखेर यिनले छोड्लिन भनेर बडो ब्यग्रताका साथ म प्रतिक्षारत छु ।

उफ्! नाक थुन्छु । कतैबाट ह्वास्स नमिठो दुर्गन्ध मेरो नाकैमा ठोक्किन आइपुग्यो । अस्पताल र मेरो हालत एउटै व्यवस्थापनको अभावमा लथालिङ्ग हालमा बेवारिसे जस्तो हामी जस्तो अर्थिक रुपमा कमजोरहरूको लागि बनेको होला अस्पताल भन्ने लाग्दैथियो त्यहाँको दयनीय स्थिति देख्दा । धनीबर्ग त प्राइभेट नर्सिङ होममा गैइहाल्छन् ।

हाँस्न मन लाग्यो । अस्पताल र आफ्नो हालत उस्तै उस्तै देखेर । विचरा! अस्पताल ।

“मायाजी भित्र जान सक्नुहुन्छ ।” नारी आवाजले झस्कन्छु । आजभोलि म सानो सियो खसेको आवाजले पनि त्रसित हुनथालेकोछु ।

“सकियो ?”

“अँ सकियो बेड कभर चाहिँ भोलि मात्रै झिक्ने ।”

“धन्यवाद ।”

निलो साडीमा मन्द मुस्कान सहित गइन परिचारिका ।

म भित्र पस्छु ।

म सिधै बेड नं २१ नजिकै पुग्छु ।

तिलचामले कपाल, आँखा वरिपरि कालो कालो धब्बा, मुखमा अक्सिजन मास्कमा यस्तै ५८ बर्षीय मेरो आमा निदाइसक्नुभएको रहेछ या भनुँ उहाँको मामा हुनुहुन्छ पछिल्लो ५ दिनदेखि । कता कता नमिठो लाग्यो । आज ४ दिन भैसक्यो उहाँको स्वास्थ्यमा कुनै सुधार आएको छैन । के कारण बिमारी पर्नु भयो त्यो पनि थाहा छैन । मन आमिलो भएर कुडिँयो । एक गेडो अन्न पनि परेको छैन ५ दिनदेखि । स्लाईनको भरमा त्यो ज्यान थेगेर राखिएको छ । आमाको यस्तो हालत देख्दा भक्कानिएर रुन मन लाग्छ ।

आमाको खुट्टामुनि बसेर धेरै रुन्छु ।

रातभर आमा संगै कुरुवा बस्नु दिनभरि पैसाको लागि दौडधुप गर्नु मेरो आजभोलिको दिनचर्या बनेको छ ।

“सुन्नुस त”

म फेरि झस्याङ्ग हुन्छु । रुदाँरुदै कतिखेर निदाइछु पत्तै भएन ।

“हजुर,” डाक्टर राउण्डमा रहेछ ।

“यो औषधीहरू ल्याउनुस ।”

“प्लिज डाक्टर आमालाई के भएको हो ? उपचारमा कुनै कसर नराख्नुस ।” मैले यसरी अनुनय गरें कि मानौ मेरो अगाडि साक्षात देवता उभिएको छ र म भगवानसँग भीख माग्दै छु ।

“म सक्दो गर्नेछु । भोलि रिपोर्ट् आउँछ अनि मेजर केश सल्भ गर्न पटि हामी लाग्नेछौँ ।”

डाक्टरको मुखबाट निस्किएका यी शब्दहरूले मेरो घायल मनलाई मल्हमपट्टि लगाएझैँ भयो ।

सिस्टरले डाक्टरले काटेको पुर्जी मेरो हातमा थमाइदिइन् । मैले कुरो बुझें । चुपचाप बाहिर निस्किन्छु । चिसो सिरेटो चल्दैरहेछ बाहिर । पातलो सल अझ च्यापेर पुरै शरीर ढाक्ने असफल प्रयत्न गर्छु ।

औषधालयमा पुग्छु । सुनसान रात । फाट्टफुट्ट अस्पताल परिसरमा मानिसहरू ओहरदोहर गर्दैछन् । पुर्जी दिन्छु । केटो फटाफट औषधी झिक्छ । हेर्छु हिजोको भन्दा पनि बढ्ता छ औषधीहरू । सिरिन्ज, स्लाईन, लगायत अरु पनि ।

“कति भयो ?”

“दुई हजार चारसय”

पर्स हेर्छु । ठ्याक्कै चारवटा रहेछ हजारका नोटहरू । पैसा तिरें र औषधीको झोला बोकेर अघि आएकै बाटो फर्कन्छु ।

डाक्टर गैसकेको रहेछ ।

“ल्याउनुभयो ?”

“अँ ल्याएँ ।”

झोला नै सुम्पिदिन्छु । स्लाइन फेरि चढाइयो । पाखुरामा सिरिन्ज खोपियो । आमाको हालत उस्तै छ ।

“केही अप्ठ्यारो पर्‍यो भने रिसेपसनमा भन्नुस है ।”

चुपचाप टाउको हल्लाउँछु ।

सिस्टर गैइन् ।

मन भारी भैइरहेकोछ । खाना खान मन पटक्कै छैन । नजिकै टुसुक्क बस्छु । टाउको आमाको काख नजिकै राखेर घोप्टन्छु । अतितले गांज्न थाल्छ । मन उडेर १३ वर्ष पछाडि पुग्छ क्षणभरमै । खरले छाएको घर । सेतो कमेरोले पोतिएको । भित्र म आफूलाई देख्छु ।

———————

“किन यतिले पुग्दैन ?”

“अहँ”

“मसँग यति नै छ ।”

“हुन्न ।”

“भनेको मान न लुरी म सँग यो भन्दा बढी फुटेको कौडी छैन ।”

म रिसले आगो भएको थिएँ ।

भुईंमा कचियाले छ्याक्छ्याक् हानेर खाल्डो नै बनाइसकेकी थिएँ ।

“सुनिनस्, मसँग चारसय मात्रै छ ।”

“त्यतिले त पुग्दैन । सबैले कस्ता कस्ता कपडा किनिसके । म चाहिँ नलाउनु ।”

मेरो मन त्यतिखेर फेशनमा चलेको मखमलको बुट्टेदार नरम भुवादार ज्याकेटमा गएर अट्किएको थियो ।

जुनसुकै हालतमा पनि लगाएरै छाड्ने निधो गरिसकेको थिएँ ।

मलाई थाहा थियो त्यो ज्याकेटको पन्ध्रसय पर्छ भनेर । त्यसैले ढिपि गरिरहेकी थिएँ ।

“मैले कहाँबाट ल्याउनु त्यत्रो पैसा ? यो पनि ११ दिन ज्याला र बनिबुतो गरेको पैसा हो । त्यसो नभन् । अरु के लाउँछन् सँग मतलब नराख । घरको अवस्था हेर । अब तँ पनि ठूली भैइसकिस् । म एक्लै छु । कसरी तैले भने जस्तो पुर्‍याउन सक्छु ?”

विचरी मेरी आमा । बाबा बित्नु भएको पनि ठ्याक्कै ४ पुगेर ५ वर्ष लागिसकेको थियो । मकवानपुरको तिनतलेमा सानो त्यो घर र २ पाखे बारी सिवाय सम्पतिको नाममा अरु केही थिएन । ज्याला बनिबुतो नगरी साँझ बिहान खान धौ धौ । कहाँबाट ल्याउन सक्नु त्यत्रो पैसा आमाले तर त्यतिबेला यो भुस भरिएको मष्तिस्कले त्यस्तो कुरा कहाँ सोच्न भ्याउनु ।

जुरुक्क उठें । सानु लिस्नु चढेर माथि नाममात्रैको बुईंगलमा पुगें । अलिकति पराल र भुईँमा मकैको खोस्टा छरपष्ट थियो । म डङ्ग्रङ त्यहिमाथि सुतिदिएँ ।

“लुरी ए लुरी”

सानामा सबैले मलाई दुब्ली भएकी भनेर नाम काढेर लुरी भनेर बोलाउने गर्दथे ।

आमालाई थाहा भैइसकेको थियो म रिसाई भनेर । अब जति गरे पनि म तल ओर्लिन्न भन्ने थाहा पाइसक्नुभएकोले दोर्‍हाएर बोलाउनुभएन ।

दु:ख मै हुर्केको भए पनि जिद्दि गरिसकेपछि नछोड्ने मेरो बानीले आमालाई बेला बेलामा दु:ख दिइरहने । सायद बालापन पनि मिसिएको थियो । अहिले भए कसरी म त्यस्तो व्यवहार गर्न सक्थें । आमाको पिर मर्का एक छेउ पनि बुझिन । एकहोरो त्यो मखमलको बुट्टेदार ज्याकेट लगाउने धुन सवार थियो ममा ।

कतिखेर निदाइछु पत्तै पाईन ।

खस्र्याक खुस्रुक् गरेको आवाजले म बिउँझिएँ । अध्याँरो भैईसकेको रहेछ । डर लाग्यो ।

“को हो ?”

पाखुरामा कसैले समातेको थाहा पाएँ । मन ढक्क फुल्यो ।

“किन आत्तिएकी ? म के ।”

आमा पो हुनुहुदोंरहेछ ।

“जान्न”

फेरि उहि घुर्की दोहर्‍याएँ ।

“हिड न तल ।

म अटेर गरेर बसिरहें ।

“मैले पैसा ल्याएकी छु । भोलि बिहानै हामी बजार जाने ।

“साँच्चै ?”

“साँच्चै ।

फुरुङ परें । कतिखेर लिस्नु ओर्ले थाहै भएन ।

भोलिपल्टै बजार गएर त्यो मखमलको बुट्टेदार ज्याकेट किनिछाडें । उतै बजारबाटै भीरेर साथीको घरतिर लागे । देखाउनको लागि । यताउता गरिरहे दिनभरि जसो नै । यति पनि सोचिन कि आमाले त्यत्रो पैसाको जोहो कसरी गरिन् होली भनेर ।

पछि कलेज पढ्दा पो थाहा पाएँ त आमाले मेरो वाहियात माग पूरा गर्न बाबाको अन्तिम निशानी स्वरुपको तिलहरी बेच्नु भएको रहेछ । मेरो नादानीपनले बाबाले दिनुभएको मायाको चिनो मास्न बाध्य मेरी आमाको त्यतो बेला असाध्यै माया लागेर आयो । त्यतिखेर सम्ममा म बुझ्ने भैसकेकी थिएँ ।

मकवानपुर क्याम्पसमा पत्रकारितामा प्रमाणपत्र तहमा अध्ययनरत थिएँ । मेरो नाजायज ईच्छा आमाले दिनुभएको त्यो कुर्बानीले मुटु छेडिएला झैँ लाग्यो । प्रण गरें आमालाई खुसी राख्छु । कहिल्यै दु:ख दिन्न । आमाको सेवा गर्छु ।

जसोतसो आमाले प्रमाणपत्र तह अध्ययनको लागि खर्च जुटाउनुभएको थियो । त्यसपछि अध्ययनलाई निरन्तरता दिन मैले स्थानीय पत्रीकाको लागि समाचार संकलनको काम गर्न थालें ।

पढाई खर्च आफै जुटाउँदै स्नाताक तह सकाएँ । त्यतिखेर सम्ममा मिडियामा काम गर्ने अनुभव प्रस्सतै बटुलिसकेको थिएँ । मास्टर्स गर्ने ठूलो धोको ।

काठमाण्डौं छिरें ।

शुरुका दिनहरू कठिन थिए । नयाँ नौलो परिवेश । पछि पछि हुदैँ गएपछि साथीभाई चिनियो । सहयोगी हातहरू बढे । साथीहरूकै सहयोगमा ‘प्रतिस्पर्धा’ नामक पत्रिकामा न्युज कलेक्सनको काम गर्न थालें ।

राम्रै कमाई नभए पनि एउटा जीवन बाँच्न सक्ने भएकी थिएँ । आमालाई यतै ल्याएर राख्ने विचारले बोलाएँ । तर आमा मान्नु भएन

“के गर्नु मैले काठमाण्डौं गएर । न कोही चिनेको छु न केही जानेको छु । फेरि म काठमाण्डौं गएपछि यी बस्तुभाउ कसले हेर्छ । भो जान्न ।”

आमा यस्तै भन्दै जित्दै आउनुभएको थियो ।

प्रशंसा पनि सुनिन्थ्यो यदाकदा ।

“राम्रो लेख्छे ।”

“स्मार्ट छे ।”

“ट्यालेन्ट पनि छे ।”

यस्तै यस्तै अनुभव गरें दाम नकमाए पनि नाम चाहिँ खुबै कमाईने रहेछ यो क्षेत्रमा ।

दिनहरू बित्दै थिए ।

५ दिन अघि म कोठामै बसेर न्युज तयार पार्दै थिएँ । खबर पक्का थियो । ललितपुरको बांडेगाउँको एकजना बिरामीको एउटा नर्सिङ होमम उपचारको क्रममा अप्रेशन गर्दा एउटा मृगौला चोरिएको रहेछ । खबर गोप्य थियो । म यसको लागि पछिल्लो एक महिनादेखि खबर तयार पार्दैथिएँ । अब समाचार प्रमाणसहित तयार भएको थियो । बाँकी थियो त न्युजफ्ल्यासको ।

“टिरिरिङ् टिरिरिङ्” टेबलमा राखिएको नोकिया एक्स टु मोबाइलको घण्टीले ध्यान भङ्ग गर्‍यो ।

“हेलो”

“मायाजी हो ?”

“हो ।”

“तपाईंसँग केही जरुरी कुरा गर्नु थियो ।” उताबाट भद्रपौरुष आवाज आयो ।

“भन्नुस ।”

“त्यो तपाईँले तयार पार्नु भएको न्युज फ्ल्यास नगर्नुस् । त्यसको लागि म जति माग्नुहुन्छ त्यति रकम दिन तयार छु ।”

पारा छुटेर आयो । आजसम्म स्वाभीमानलाई आत्मसाथ गर्दै आएकी मलाई त्यस्तो कुराले कन्सेरी तात्यो ।

“के भन्नुभएको ? तपाईँ होसमा हुन्हुन्छ ? ‘

“नरिसाउनुस न । म तपाईँकै भलोको कुरा गर्दैछु ।”

“माईण्ड योर ल्याङ्वेज । यु नो व्हाट काईण्ड अफ म्यान आई एम । थ्याङ्स ।”

“विचार गर्नुस । म तपाईँकै भलो को कुरा गर्दैछु फेरि पनि ।” उहि धोद्रो स्वर सुनें ।

फोन काटिदिएँ ।

फेरि मोबाईल बज्यो । उफ्! यसलाई त भनेर रिसले “यु स्टुपिड” जोडसँग कराएँ ।

“नानी के भो ? किन चिच्याएकी ? चिनिनौ म कान्छा काका ।”

लौ बित्यास परेछ । लज्जित भएँ ।

“हैन काका यहाँ बदमासहरूले दु:ख दिइरहन्छन् । त्यसैले हो ।”

अनि काका कस्तो छ घरतिर ?”

मैले आफूलाई सम्हाल्दै भनें ।

“नानी आमा बिमारी हुनुभएकोछ । तिमी आउनुपर्‍यो ।”

यति सुन्ने बित्तिकै मुटु चिसो भएको अनुभव गरें ।

अनायसै “के भएछ ? आमालाई” मेरो मुखबाट निस्किएछ ।

“खै नानी वनबाट घाँस ल्याएर बिसाउदैंहुन्हुन्थ्यो रे एक्कासी ढल्नुभएछ । हामीले भाउजुलाई हेटौडा अस्पतालमा भर्ना गरेका छौं ।”काकाको मुखबाट यति सुन्द नसुन्दै मेरो होसहवास उडिसकेकोथियो । निधारबाट पसिना चिटचिट निस्कन थाल्यो । आँखा धमिलो हुदैँगयो । एकदमै आत्तिएँ ।

“हुन्छ काका म भरेसम्म आइपुग्छु ।”यति भनिसक्दा मेरो हातहरू काँप्न थाल्यो ।

खल्ती छामें । जम्मा तीनहजार रहेछ । कपडा फेरें । होसै थिएन । सिधै हान्निएँ बल्खुतिर । घाम ढल्न लागिसकेको थियो । घडि हेरें । पाँच बज्न आँटेको रहेछ । काउण्टरमा पुगें ।

“टिकट छ ?”

“छ ।”

“कति बजेको ?”

“अन्तिम गाडी हो । ५:३० को छ ।”

“हुन्छ दिनुहोस ।”

टिकट लिएर एकछिन गाडी कुरें । सुमो आइपुग्यो । कति खेर चढें कति खेर गाडी हुईक्यो पत्तै भएन । एकदम अत्यासिएको मनलाई म छिटोभन्दा छिटो पुग्न गाडीभन्दा पनि छिटो हुईकाइरहेको थिएँ ।

१० बजिसकेको थियो । म सिधै हेटौडा अस्पताल पुगें । आमालाई आई .सि .यु .मा राखिएको रहेछ । सिसाबाहिरबाटै हेरें । गलत्तै गलें ।

“के भएछ ?” मेरो प्रश्न सोधाई डाक्टरलाई थियो ।

“अहिले नै केही भन्न सकिने अवस्थामा छैन ।”

“अनि ?”

“प्रब्लम अलिक कम्प्लिकेटेट छ ।”

“त्यसो भए ?” मेरो प्रश्न एकदमै छोटो तर उत्तर छिटो खोजिरहेको थियो ।

“उहाँलाई रेफर गर्नुपर्छ । काठमण्डौं लैजानुस ।”

डाक्टरकै सल्लाहमा आमालाई भोलिपल्टै काठमाण्डौंको विर अस्पतालमा ल्याइयो ।

आज ४ दिन बितिसक्दा पनि डाक्टरहरूले यहि रोग हो भनेर कुनै किटानी दिन सकिरहेका छैनन् ।

स्वास्थ्य अवस्थामा कुनै सुधार देखिएको छैन । यद्यपि मेरो हालत भने हेर्न लायकको भैसक्यो ।

दैनिकी भताभुङ्ग भएको छ । अफिसमा मुख देखाउन पुग्छु । खल्ती रित्तिसक्यो । चिनेजानेको आफन्त सबैसँग सरसापट चलाइसकें ।

न्युज तयार हुदाँहुदै पनि फ्ल्यास गर्न मेरै कारण ढिला हुदाँ सम्पादको केही तिता केही मीठा बचन पनि सुनिसकें ।

बिहान ८:३० भएको होला सायद । आजभोलि त घडी हेर्न पनि बिर्सिसकेछु । डाक्टरको हातमा रिपोर्ट रहेछ । केहीबेर घोत्लिए । म भने के रहेछ रिपोर्टमा भनेर जान्न आतुर अनि अलिकति शसंकित पनि भएँ ।

डाक्टरको मुखाकृति हेर्छु । निधार खुम्क्चिएको देख्छु । भयको बादल मडारिन थाल्छ ।

“सुन्नुस पेसेन्टलाई ब्रेन ट्युमर भएको छ । दिमागमा रगत जम्मा भएको छ । समयमै अप्रेशन गर्नु पर्छ । नत्र केही भन्न सकिदैँन ।” डाक्टरको बोली मलाई मुटु छेडिने अस्त्र जस्तै लाग्छ ।

म क्षतबिक्षत हुन्छु । कुनै बिषेश रोगले गाँजेको अनुमान लगाए पनि यति ठूलो रोगको मैले कल्पनै गरेको थिईन ।

आँखाबाट आँशुको धारा अबिरल बग्यो ।

“कहिले गर्ने अप्रेशन ? अनि खर्च कति लाग्छ ?”मेरो सोधाईमा डाक्टरले लभग ४ लाख लाग्ने र पैसको वय्वस्था हुने बित्तिकै अप्रेशन गरिने कुरा बतायो । तर यसको लागि धेरै ढिला गर्न नहुने पनि बतायो । जम्मा १ दिन अरु पर्खन सकिने । त्यो भन्दा पर जानु बिरामीको लागि खतरा भएको पनि बताए ।

म अलमल्ल परें ।

कहाँबाट ल्याउनु त्यत्रो रकम ? म सोचमा डुबें ।

दिमागले कामै गरेन । चिनेजानेको सबैकहाँ पुगिसकें । कतिले सहयोग गरे कतिले टारे । अब बाँकी नै कहाँ छ र ?

यस्तै प्रश्नले गाँज्दैगर्दा मोबाईलको घण्टी बज्यो ।

“हेलो माया स्पिकिङ्ग ।”

“मायाजी तपाईँ एक्कासी कुरै नबुझी रिसाउनु हुदोँरहेछ । हामीलाई थाहा छ यति खेर तपाईँको आमा अस्पतालमा हुन्हुन्छ र यो पनि थाहा छ कि यसको लागि तपाईँलाई लाखौं रुपैयाँको आवश्यकता छ । यदि तपाईँ चाहनुहुन्छ भने त्यो न्युज फ्ल्यास नगरी सबै प्रमाण हामीलाई फिर्ता दिनुहोस । हामी तपाँले माग्नुभए जति रकम तपाईँलाई दिन तयार छौ ।”

म केही बोल्न खोज्दैथिएँ ।

“अहँ अहिले कुनै निर्णय दिईहाल्नु पर्दैन । तपाईँ ठण्डा दिमागले सोच्नुस । आमाको जीवन वा स्वाभीमानी ? अनि हामीलाई यहि नम्बरमा रिडायल गर्नुस १ घण्टापछि । हामी प्रतिक्षामा हुनेछौं ।”

त्यो बोलीमा मेरो सहमती सहितको उत्तर आउँछ भन्ने यति विश्वास थियो कि मैले केही बोल्नु अगावै उनीहरूले फोन काटिदिए ।

थच्चक्क बसें । मेरो मष्तिस्क रोटेपिङ्ग झैँ जोडजोडले घुम्नथाल्छ । अतितका दिनहरूले भित्र-भित्रै खान थाल्छ । आमाको त्याग र समर्पणको मुल्य आज मैले आफ्नो स्वाभीमानीलाई बन्दगी राखेर तिर्न सक्छु भने त्यसको लागि मैले आज यो गलत नै सहि तर निर्णय लिनै पर्छ । यस्तै आवाजहरू गुञ्जयमान हुन्छ मेरो वरिपरि । म रिङ्गिदै रिङ्गिदै कुनै बिन्दुमा पुगेर टक्क अडिन्छु । सायद यहि बिन्दुले मेरो जीवनलाई दुर्भाग्यतिर मोड्दैछ तथापी म त्यहि बिन्दुलाई आत्मसाथ गर्न त्यो अघि आएको फोन नम्बरमा रिडायल हान्दैछु । हातहरू काँपिरहेछ अनि स्वरहरू भासिइरहेछन् । सायद म आज सम्झौता गर्दैछु । जीवनदर्शनसँग अनि आदर्शका सिद्धान्तहरूसँग म परास्त हुदैँछु ।

विना तामाङ ‘सुनगाभा’
काठमाण्डौं

Leave a Reply

Your email address will not be published. Required fields are marked *