कहिले वारी मनभित्र कहिले पारी मनभित्र
पालैगरि वारिपारी दुबै मनभित्र बसी
मीठा सपना बुन्दा बुन्दै
च्वास्स घोच्यौ मुटु माझ
अनि सोध्यौ निर्दयी भई–दुख्न न त दुखेन नी!
मुस्कुराउदै मैले भनें–अहँ छैन कत्ति पनि!
फूललाई हेरे डाह गर्थ्यौ,कर्के आँखा लगाई हेर्थ्यौ
मेरो मोह फूलतिर सर्ला कि झैं भन्ने गर्थ्यौ
भन्दा भन्दै नजिक गई फक्रिएको फूल चूँड्यौ
अनि सोध्यौ निर्दयी भई–ओईलिएर मर्दैन नी!
मुस्कुराउँदै मैले भनें–अहँ मर्दैन यो कहिल्यै पनि!
इन्द्रेणीका सातै रंग चोरी ल्याइदेउ भन्यौ तिम्ले
ल्याइदिएँ जसैगरी
संगीतका सातै सुर पनि ल्याइदेउ भन्यौ तिम्ले
ल्याइदिएँ उसैगरी
रंगसुर इन्द्रेणी र संगीतका पाएपछि
फूल्यौ तिमी घमण्डले
अनि सोध्यौ निर्दयी भई –यी भन्दा त राम्री छु नि!
मुस्कुराउँदै मैले भनें–अहँ छैनौ कत्ति पनि!