Skip to content


खासगरी ५० को दशकयता नेपाली गजल विधा युवाहरूमाझ लोकप्रिय बन्दै गएको मात्र छैन असङ्ख्य साहित्यानुरागी यही विधाबाट प्रवेश गरेका छन । नयाँ उदियमान कवि कवयित्री यिनै गीत, गजल, सायरी र मुक्तक विधाका परिणाम हुन् । आज नेपाली साहित्य र काव्य धारा नेपाली जनजीवनका सुखदुःख, भोगाई र अनुभूति, देशको अव्यवस्था उजागर गर्ने माध्यमका रूपमा उभिएको छ । ‘देशप्रेम’, ‘राष्ट्रप्रेम’ जीवन सरोकार, मायापिरतीका विम्व प्रतिविम्बको उपजका रुपमा विकास भएको छ गजल विधा ।

नेपाली गजल विधामा असङ्ख्य रचना र दर्जनांै कृतिहरू छन । तिनै कृतिहरूको पङ्क्तिमा अर्को थपिएको छ । ‘जहरभित्रको रहर’ । युवा गजलकार खगेन्द्र भट्टराईले ‘त्रसित वसन्त’ का नाममा जहरभित्रको रहरको प्रकाशन गरेका छन् । देशको विद्यमान असुरक्षा, अव्यवस्था, र अराजकतावाट त्रसित बनेको मनलाई गजलमा उतारेका छन । झण्डै ३ वर्षको आफ्नो भोगाइ, अनुभूति र समाजका विभिन्न पक्षलाई केलाएर गजलका रचना गरिएको छ । समाजको जर्जर अवस्थाको व्यङ्ग्य हो जहरभित्रको रहर । यस गजल सङ्ग्रहमा विभिन्न परिवेशमा रचना गरिएका ६४ वटा गजल सङ्कलित छन । यी गजलहरूक माध्यमवाट गजलकार वसन्तले आफूभित्रको ‘देशप्रेम’ र ‘राष्टप्रेम’ अभिव्यक्त गरेका छन । यतिमात्र होइन उनका गजलले नेपाली क्रान्तिको भाका वोलेका छन । जनताले भोगेको दसक लामो सशस्त्र हिंसा, पछिल्लो जनआन्दोलन, लोकतन्त्रको बहाली र गणतन्त्रको स्थापनाप्रति उनको व्यङ्ग्यात्मक र सगौरव प्रस्तुति छ । नेपाली जनजीवनका अनेकन् भोगाइप्रति टिप्पणी गरेका छन् उनले । माया पिरतीका विम्ब र प्रतिविम्व, भोगाइ र अनुभूतिलाई गजलमा उतारेका छन ।

आयो फेरि अर्को तन्त्र, डाली फेरियो
सुन्दर यो फलबारीका, माली फेरियो
भन्न सकूँ मैले अव, छाती खुलाएर
विकास भयो मेचीदेखि, काली फेरियो

गजलकार यसरी देशको राजनीतिक परिवर्तनलाई शव्द र भावमा गजलमा प्रस्तुत गर्छन् । समाजको गरिबी, अशिक्षा र आक्रोसलाई गजलमा उतारिएको छ । मनमा उठेको छालहरू, विरहहरू र विम्वहरूलाई राम्रोसंग संयोजन गरिएको छ ।

तिमीसँग मित्रताको हात खोजे, त के बिराएँ
जुनीभरसँगै बस्न साथ खोजे, त के बिराएँ
मिल्छ भने तिम्रो दिलमा, वास मागेको छु
तिमीले नै पकाएको गास, मागेको छु

यसरी मनमा वेदना र विरहहरू प्रेमिकाप्रति गरिएको आग्रहका रूपमा छन् । यहाँ जीवन छ, जगत छ, समाज छ, देश छ, माया पिरती छ, त्यसको बिछोड पनि छ । तसर्थ साहित्यको आफ्नै परिवेशभित्र यो जहरभित्रको रहरको रचना भएको छ भन्न सकिन्छ । निश्चित रूपमा गजल विधा युवा पिँढीका माझ लोकप्रिय छ नै यसलाई सङ्गीतवद्ध बनाउदा लाखौँ सङ्गीत पारखीको मन बुझाउन सक्छ । नव प्रतिभा वा साहित्यानुरागीका लागि, सर्जकका लागि, सङ्गीतकार एवं गीतकारका लािग र आम पाठकका लागि यो कृति आकर्षण गर्न सक्ने सम्भावना धेरै छ ।

कृति : जहरभित्रको रहर
विधा : गजल
रचनाकार : खगेन्द्र भट्टराई (त्रसित वसन्त)
मूल्य रू : १०० संस्थागत, ५० व्यक्तिगत
प्रकाशक : कर्णाली स्वावलम्बन विकास मञ्च नेपाल
मुद्रक : लोकमञ्च अफसेट प्रेस सुर्खेत

1 thought on “नेपाली गजल र जहरभित्रको रहर”

Leave a Reply

Your email address will not be published. Required fields are marked *