Skip to content


उनी यजमानी गर्थे र पण्डित कहलिएका थिए । यजमानीका भरमा परिवार चलाउन समस्या हुँदै गयो । उनी श्रीमतीसँग सल्लाह गरेर खाडी मुलुकतिर लागे । यता गाउँमा पण्डितनीको कान फुक्न थाले छिमेकीहरूले । विदेशमा त केटीले केटालाई बोलाएर लान्छन् रे । बूढाले सम्पति चै कुन्नि ठूलो रोग चै लिएर आउने भए । बूढी सधैँ सशङ्कित हुन्थिन् । बिस्तारै बूढालाई बिर्संदै गइन् र परिस्थिति अनुसार चल्न थालिन् । तीन वर्ष बितेपछि बूढा फर्केर आए । बूढी झसङ्ग भइन् र सम्झिन्-रामले त सीतालाई दरबार भित्र्याउँदा अग्निपरीक्षा गरेका थिए, यदि गल्ती गरेको छैन भने त आगोले पनि केही गर्दैन, गल्ती भए मात्र डढाउँछ । अनि बूढीले बूढालाई अग्निपरीक्षा नगरी घरभित्र पस्न नदिने भइन् । बूढाले धेरै सम्झाए, हेर बूढी त्यो त सत्यजुग थियो । यो कलिजुगमा त अग्निको के भर हुन्छ र !

‘जुन जुग भए नि आगो त उही हो नि, म घरमा पस्नै दिन्न ।’ बूढीले जिकीर गरिन् । बूढालाई पनि रिस उठ्यो ः त्यसो भए दाउराको दुइटा खलियो लगाउँ, तेरो पनि के विश्वास ? दुवै जना एक/एक ओटामा बसेर आगो लगाऊँ ।

बूढी झसङ्ग भइन् र सोच्न थालिन् । अनि कुरो मिलाइन् र भनिन्- हेर बूढा, श्रीमान्ले श्रीमतीको, श्रीमतीले श्रीमान्को विश्वास नगरे कसरी व्यवहार चल्छ ? दुवैले एकअर्कालाई विश्वास गरौँ । यस्तो अग्निपरीक्षाको कुरै छोडौँ अब ।

अग्निपरीक्षा रोकिएकोमा दुवै खुसी देखिए ।

सेर्ना-८, ओखलढुङ्गा

मधुपर्क २०६८ मंसीर

Leave a Reply

Your email address will not be published. Required fields are marked *