Skip to content


विकास छिटोछिटो अघि बढिरहेको थियो । ऊ असनचोक निस्कियो । त्यसपछि ऊ पश्चिमतिरको बाटो हुँदै उग्रतारा माई स्वर्ण मन्दिरको अघि पुग्यो र टक्क अडियो अनि उसले मन्दिरतिर फर्केर टाउको निहुन्यराएर हात जोड्यो । त्यसपछि ऊ फेरि अघि बढ्यो ।

ऊ नरसिंह आजुको मन्दिरसम्म पुग्दा बेलुकाको ६ बज्नलाई पाँच मिनेट बाँकी थियो ।

नरसिंह आजुको मन्दिर वरिपरि र बाटोको छेउमा प्रायःनयाँ ढाँचाका घरहरू देखिन्थे तर त्यही नै कतैकतै काठले बनेका पुराना घरहरू पनि थिए झ्याल, ढोका र टुँडालमा अनेक प्रकारका कलात्मक चित्रहरू कुँदिएका थिए । त्यस्ता चित्ताकर्षक घरहरू सर्सरी हेर्दै विकासले लामोलामो डेग भर्‍यो । ऊ ठहिटी रक्तकाली चौबाटोमा पुग्यो । त्यही नजिकैको गणेश मन्दिरदेखि अलिपरतिर एउटा स-सानो खुला ठाउँमा एकजना मानिस तातो तेलमा धमाधम प्याजको पकौडा तार्दै थियो उसको नगिचै अर्को मानिसचाहिँ स्टोभ बालेर गहुँको बाक्लोबाक्लो रोटी पकाउदै छेउमा राखिएको सिलाबरको थालमा चाँङ लगाउँदै थियो

केहीबेर एकनाससँग हिँडेपछि ऊ क्षेत्रपाटीमा श्रीश्वेत भैरवनाथको मन्दिरछेउमा पुग्यो । त्यसपछि मन्दिरलाई दाहिने पार्दै ऊ अघि बढ्यो ।

६ बजेर पन्ध्र मिनेट जाँदा विकास ठमेलको रौनकमय भीडभाडमा मिसियो ।

‘आइ लभ बुक्स’ पुस्तक पसलमा डेस्कको पछिल्तिर कुर्सीमा बसेको आयुष डायमण्डशमशेरद्वारा लेखिएको उपन्यास ‘सेतो बाघ’ पढ्नमा तल्लिन थियो ।

‘हेल्लो…! क्यान आइ सी सम बुक्स ?’ एउटा विदेशी पर्यटकको स्वरले उसको एकाग्रतालाई भङ्ग गर्‍यो । ‘यस ! यस ! अफकोर्स….’ भन्दै आयुषले पुस्तक बन्द गर्‍यो । पर्यटक पसलभित्र पस्यो र पुस्तक खोज्न थाल्यो । केहीबेर दराजहरू चहारेपछि पर्यटकले आफूले चाहेको पुस्तक फेला पार्‍यो र उसले खुसी हुँदै पुस्तकको मूल्य तिर्‍यो अनि ‘थ्याङ्क्यू !’ भन्दै पसलबाट बाहिरियो । आयुष फेरि बसेर अघि पढ्दै गरेको पुस्तक पढ्न थाल्यो । त्यसैबेला उसको मोबाइलमा नारायणगोपालले गाएको ‘लौ सुन म भन्छु मेरो राम कहानी’ गीतको धुन बज्यो । ‘हेल्लो…..!’ मोबाइल उठाएर कानमा पुर्‍याएपछि आयुष बोल्यो ।

‘म मम्मी बोलेको आज रातिको खाना खानको लागि तिमी र विकास यतै आउनू है ! मैले तिमीहरूलाई मनपर्ने परिकार बनाएकी छु । विकासलाई गितार पनि ल्याउनु भन्नू ! तिम्रो बुबाले आफ्नो साथीको परिवारलाई पनि निम्त्याउनुभएको छ । सकेसम्म चाँडै आउनु !’ आयुषकी मम्मीले स्नेहपूर्वक छोरोलाई भन्नुभयो ।

‘हुन्छ मम्मी, हामी चाँडै आउँछौँ’ आयुषले उत्तर दियो । मोबाइलमा कुरा गरेपछि आयुषले पढ्दै गरेको पुस्तकमा चिन्ह राख्यो र टेबलमा छरिएका पुस्तकहरू जतनसाथ व्यवस्थित गरेर मिलाएर राख्न थाल्यो । त्यसैबेला अचानक बाटोतिर हल्लाखल्ला सुनियो । उत्सुकतावश आयुष आफ्नो पसलको ढोकामा उभिएर यताउति हेर्न थाल्यो ।

आयुषले देख्यो एकजना बृद्ध र अर्को एकजना अधबैँसे उसको पसलअगाडिको पेटीमा उभिएर बात मार्दै थिए ।

‘यी प्रहरीहरूले कतै चोरलाई लखेटेका त होइनन् ?’ बृद्धले अधबैँसे मानिससँग प्रश्न गर्‍यो । ‘होइन कहाँ चोरलाई लखेट्नु ? यी त त्यै बाइफाले केटीहरूजस्ता सिँगारपटार गरेर हिँड्ने केटाहरू हुन्छन् नि….! हो, तिनैलाई लखेटेका हुन् । दुई जनालाई त अघि नै समातेर प्रहरी भ्यानमा राखेका छन्- ‘अरे एउटा चाहिँ कसोकसो गरेर फुत्किएछ, त्यसैलाई खोज्दै छन् ।’ अधबैँसे मानिसले भन्यो ।

‘हरे…..। यो कस्तो युग आयो । कलियुग भनेको यस्तै रहेछ । हिजोआज यो के भएको होला । केटी-केटी, केटा-केटा पनि बिहे गर्छन् अरे । त्यस्ता समाजलाई भाँड्ने सन्तान जन्मनु चाहिँ त नजन्मेकै बेस हुन्छ ।’ बृद्धले विरक्तिएको स्वरमा भन्यो । ‘हो त कस्तो लाजमर्दो कुरा, केटा भएर पनि केटीले झैँ सिँगारपेटार गरेर हिँड्छन् । अझ त्यत्ति मात्र हो र ! लोग्नेमान्छेसँग शारीरिक सम्बन्ध पनि राख्छन् अरे । यस्ताहरूलाई त समाजबाट बहिष्कृत गर्नुपर्दछ ।’ अधबैँसे मानिसले बडो रोबका साथमा भन्यो ।

आयुषले चुपचापै उनीहरूका कुरा सुनिरह्यो ।

ती मानिसहरू केहीबेरसम्म त्यहीँ पसलअगाडिको पेटीमा उभिएर कुरा गरेपछि छुट्टिए ।

उनीहरू गएपछि पनि आयुष ढोकामा उभिइरहेको थियो ।

केहीबेरपछि विकास हतारिँदै पसलमा आइपुग्यो ।

‘किन ? किन यसरी झोक्राएर उभिराखेको ?’ विकासले आयुषको मलिन अनुहारतिर हेर्दै प्रश्न गर्‍यो ।

‘आज पनि प्रहरीले दुई जनालाई समात्या’अरे, अनि एउटा चाहिँ भागेर कतै लुकेको छ होला । प्रहरीहरूले उसलाई खोज्दै छन् ।’ आयुषले भन्यो ।

‘यी प्रहरीले पनि कति दुःख दिएका होलान् ।’ खुइय…..गर्दै विकासले भन्यो ।

त्यसैबेला युवतीजस्तै भेषभूषाको एउटा युवक हस्याङ्फस्याङ गर्दै दगुर्दै उनीहरूको छेउमा आएर भन्यो ‘दाइ….! म एकछिन तपाईंहरूको पसलमा लुक्छु है ! प्रहरीले मलाई खोज्दै छ ।’

‘ल, ल आऊ, यो टेबलपछाडि मुढामा बस ! डराउनु पर्दैन’ । मुढातिर सङ्केत गर्दै विकासले त्यो युवकलाई भन्यो ।

‘तिमीहरूलाई प्रहरीले किन लखेटेको ? के गरेका थियौँ र तिमीले ?’ केटो मुढामा बसेपछि विकासले सोध्यो ।

‘हामीले के गर्नुपर्छ र दाइ । तिनीहरूले हामीलाई देख्नासाथ दुःख दिन तम्सिन्छन् ।’ युवकले बिस्तारै भन्यो ।

‘म मेरा दुई जना साथीहरूसँग डान्सबारमा जाँदै थिएँ । त्यहाँ हामी रातिराति नाच्ने काम गर्छौं । अरू बेला त हामी ट्याक्सीमा हिँड्ने गरेको हुँदा त्यत्ति याद गरेका थिएनन् तर आज चाहिँ पैसा नपुगेको हुनाले तीन जना पैदलै जाँदै थियौँ, अचानक प्रहरीहरू आएर हामीलाई तथानाम गाली गर्न थाले । हामीले उनीहरूलाई कति सम्झाउने कोसिस गर्‍यौँ तर हाम्रो कुरो सुने पो…..! उल्टै एक हजार रुपियाँ दे, नभए थानामा हिँड् भन्न लागे । मेरा साथीहरूले मुख छोड्दा उनीहरूलाई लछारपछार पार्दै प्रहरी भ्यानतिर लगे ।’ मलाई चाहिँ एउटा प्रहरीले ‘कि त पैसा दे, कि त मसँग मैले भनेको ठाउँमा हिँड्’ भन्यो, मैले ‘मसँग पैसा छैन र म तिमीले भनेको ठाउँमा पनि जान्नँ’ भनेको त मलाई पनि ‘हिँड् साले, तँलाई रातभरि थानामा राखेर ठीक पार्छु’ भन्दै घिच्रोमा समातेर घिच्याउन थाल्यो । त्यै बेला भएभरको बल लगाएर म उसको हातबाट फुस्किएँ र भाग्दै आएर ऊ पर मन्दिरपछाडि लुकेर बसेँ । अहिले डान्सबारतिर जाऊँ भने उनीहरूले देख्छन् कि भन्ने डर छ । त्यसैकारण तपाईंहरूकहाँ एकछिन लुकेर बस्छु ।’ युवकले आफूमा घटेको कुरा बतायो ।

‘यो संसार बडो निर्मम छ भाइ । यहाँ मानिसले मानिसको मर्मलाई बुझ्दाबुझ्दै पनि बुझ पचाइदिन्छन् । तिमी आफैँले आफ्नो लागि सङ्घर्ष गर्न सिक्नुपर्छ ।’ विकासले युवकलाई सान्त्वना दिँदै भन्यो ।

‘कति सङ्घर्ष गर्ने दाइ ! कति लड्ने ! सानो छँदा मेरो कोमल शरीर र सुन्दर अनुहार देखेर मेरा परिवारले मलाई केटीलाई जस्तै लाली-पाउडर, गाजल-टीका लाइदिएर नचाउँदथे । त्यसबेला उनीहरू मेरो रूप र केटीको जस्तो हाउभाउ देखेर मेरो प्रशंसा गरेर थाक्दैनथे । जब म हुर्कंदै गए र ममा प्राकृतिकरूपले साँच्चै नै बालिकाको जस्तो लक्षण देखिन थाल्यो तब उनीहरू अत्तालिए अनि बिस्तारै मबाट टाढिन थाले । मलाई उपेक्षा गरे । सत्य भन्ने हो भने शरीरले म पुरुष भए तापनि मेरो मन र मस्तिष्कले म आफूलाई केटो होइन, केटी सम्झन्थेँ र अहिले पनि म आफूलाई केटी नै सम्झन्छु तर मेरो मनको भावनालाई यो समाज, साथीभाइहरूले त बुझेनन्बुझेनन्, मेरा आफ्नै मातापिता र परिवारले समेत बुझ्ने प्रयास गरेनन् । उनीहरू सबैले मलाई शरीरमा लागेको कुष्ठरोगीझैँ घृणा गरे । सबैले मेरो तिरस्कार गरे…..।’ युवकले आदर््र स्वरमा भन्यो ।

‘हेर…..! अरूले तिमीसँग कस्तो व्यवहार गरे भनेर चित्त दुखाउनु व्यर्थ छ । मानिसले जीवनमा धेरै समस्याहरूसँग जुध्नुपर्ने हुन्छ ।’ विकासले युवकको कुम थपथपाउँदै भन्यो ।

‘हुन त दाइ, मैले एसएलसी पास गरिसकेको छु । घरबाट निकालिदिएपछि मैले सानोतिनो जस्तोसुकै भए पनि जागिर पाइन्छ कि भनेर जागिर पनि खोजेँ तर मानिसहरूले मेरो बाहिरी रङ्गरूप देखेर मलाई जागिर दिन त परै जाओस्, मसँग राम्ररी कुरा पनि गर्न चाहेनन् । हामीजस्ताले डेरा खोज्न गयो भने डेरा पाइँदैन । आखिर हामी पनि त मानिस नै हौँ । हामीले त्यस्तो के अपराध गरेका छौँ र हामीलाई सबैले घृणा गर्ने ? के उनीहरूको घरमा पनि हामीजस्तै सन्तान जन्मन सक्दैन र ? आफ्नै देश, आफ्नै समाज र आफ्नै परिवारजनहरूबाट यसरी अपहेलित र उपेक्षित भएर बाँच्नुभन्दा त बरू आत्महत्या गर्नु नै ठीक होजस्तो लाग्दछ कहिलेकाहीँ त मलाई ।’ बोल्दाबोल्दै दुवै हत्केलाले मुख छोपेर घुँक्कघुँक्क गर्दै रुन थाल्यो युवक ।

‘नरोऊ भाइ ! नरोऊ, हेर ! सबै मानिसहरू एकनासका हुँदैनन् । समयले मानिसको सोचाइमा पनि परिवर्तन ल्याउँदैछ । यसरी हरेस नखाऊ ! एक न एकदिन मानिसहरूले मानव मस्तिष्कको फरक भावनालाई अवश्य पनि बुझ्नेछन् । हतास नहोऊ ! रुँदै गरेको युवकलाई हौसला दिँदै भन्यो विकासले ।

त्यत्ति नै खेर आयुषको मोबाइलमा सङ्गीतको धुन बज्यो-‘खोइ त अझसम्म पनि तिमीहरू किन नआएको ।’ उताबाट आयुषका पिता बोल्नुभयो ।

अघिसम्म विकास र त्यो युवकको कुराकानी सुनेर चुपचापै टोलाएर बसिरहेको आयुष मोबाइलमा पिताको स्वर सुनेर उत्साहित बन्यो ।

‘हिँड्नै लाग्यौँ बुबा अब ट्याक्सी लिएर आइपुग्छौं ! आयुषले उत्तर दियो ।

‘ल हिँड जाऊँ अब ! मम्मीबुबाले हामीलाई खाना खान पर्खिरहनुभएको छ ।’ आयुषले विकाससँग भन्यो । ‘अँ अब तिमी पनि हिँड हामीसँगै जाऊँ ! त्यहाँ विकासले गितार बजाउँछ, म गाउँछु अनि तिमी चाहिँ नाच, हुँदैन ?’ त्यो युवकतिर हेरेर आयुषले भन्यो । ‘हुन्छ’ युवकले सङ्क्षिप्त उत्तर दियो ।

क्षणभरमै जान भनी सबैजना उठे । ‘ए….एकछिन पख है ! म यो राम्ररी मिलाउँछु ‘ भन्दै आयुष भित्तामा झुण्ड्याइराखेको ऐनाको अघि गएर उभियो । त्यसपछि आफूले ओढेको रातो चुन्नी मिलाएर उसले ब्यागबाट तीनओटा लिपिस्टिक निकालेर विकासको आँखामा हेरेर मुस्कुराउँदै सोध्यो ‘म कुन रङ्गको लिपिस्टिक लाऊँ ?’

मधुपर्क २०६८ मंसीर

Leave a Reply

Your email address will not be published. Required fields are marked *