Skip to content


म,
मेरो घरको बार्दलीमा बसेर
एक दृष्य नियालिरहेकी थिएँ
क्षितिजबाट हावा दौड्दै-दौडदै आयो
पहाड चुमेर फिर्‍यो
गगनबाट खसेको
एक ढिक्का मोती
त्यही शिरमा अडियो
समुन्द्रबाट उर्लिएका उत्तेजित छालहरू
उसैको बाहुपासमा कसिए र फर्किए,
जुनबेला पहाड
बिनासको आँधिलाई पिठ्यूले छेकेर
सृष्टिलाई बचाइरहेको थियो,
मेरो भाव र आँखा इष्र्यालु बने,
र, भने
म पनि पहाड बन्छु !
मेरो मुटुमा टेकेर, कसैले
तारा टिप्न सक्छ भने,
म उसको पैतालाको माटो बन्छु
मेरो छातीको आयतनले
जुनलाई हत्केलामा राखेर
धर्तीको सहने मन र टेक्ने छाती खोज्छु,
मैले मेरो आँचल फिजाएर
भूमिको पूरै नग्नता ढाकिदिनुछ
त्यसैले म पहाड बन्छु !!
म मेरो मुटुमा हिमाल हँसाउँछु
हिरा चम्काउँछु
गुराँस फुलाउँछु
निलो सागर बगाउँछु
बारिका कान्लाभरि स्वर्ग रोप्छु
ऐसेँलुका बुट्टाहरूले मुक्तिको गेट बुन्छु
मेरो काखमा झरना बर्सन्छ
शिरमा सूर्य उदाउँछ
पर, मैदान बडार्न हिडेको हुरी
मैले रोक्नु पर्छ
त्यसैे म पहाड बन्छु !!!
तर, म पहाड बन्नलाई
हावा बदलिनु पर्छ
पानी बदलिनु पर्छ
सृष्टि बदलिनु पर्छ
अझ भनौँ भने
सिङ्गै आकाश र धर्ती
बदलिनु पर्छ !!

मधुपर्क २०६८ मंसीर

Leave a Reply

Your email address will not be published. Required fields are marked *