Skip to content
DeependraKC


ए फतुरो !
तँ फगत घोषणा गर्छस्
खोेक्रो नवयुगको !
हेर त एकचोटी
तैले घोषणा सुनाउन
जम्मा पारेको भीडलाई
कुपोषित नाँगा देहहरू !
एकचोटी तिनका फाटेका पैताला
फर्काएर हेर त
त्यहाँ भेटछस तेरो नवयुग !

तेरो भाषा ऊ त्यो
अल्लारे बुझदैन
उसको स्कूल
तेरो वमले उडाउँदा
ऊ स्कूलसँगै लाटो वहिरो भएको छ ,
ऊ नसुनेर, नवुझेर टाउको चलाउँदा
तँ स्वागत ठान्छस नवयुगको !

दिन्छु धेरै भनेको थिइस्
तँसँग छैन केही
त्यही भएर अहिले
कुरा घुमाउदैछस्
कपडा फेरेर, झण्डा फेरेर
आउँदैन नवयुग !
फेरि कपडा पनि कति फेर्छस्
तँसँग कपडा बनाउने कपास पनि छैन
उहिले तैले
कुन्नि केको अवशेष भनेर जलाइसकिस;
सीधै भन्दा–
तैले गास, वास, कपास
दिन्छु भनेको होस्
तर हैसियत छैन तेरो
तैले सकेनस्
वास्तवमा तँ सक्दैनस पनि
सके त नगरौं थिएन होला वरा !
पहिलेका झैं ।
तैपनि तँ कुरो घुमाउन सिपालु छस्
त्यसैले भकाभक घोषण गर्दैछस् नवयुगको !
वाचामात्रै जीवित राख्न ।

तेरो फतुरो नपत्याएपछि
अहिले तँ कसमै खाएर भन्दैछस्
आइसक्नै लागेको छ नवयुग !
अर्काले बनाएको घर
धुन्धुकारीहरू लगाएर
भत्काएरै दिन्छु भन्दैछस्
१०८ जातका भाईहरूलाई
प्लटिङको चिरा लगाएर,
मुख थुन्दैछस् तिनीहरूको
अनि भन्दैछस्
गर खाउ !

तर पटमूर्खहरू !
बनाउने भए किन भत्काउथे र !
गर्ने भए किन खोस्थे र !
लड्छन सकेसम्म
मिच्न, लुटन, मार्न, खान
अनि नसक्नेहरू
वेचिदिन्छन सस्तो मूल्यमा
उत्तर-दक्षिणका छिमेकीहरूलाई
परेर शरणमा
त्यतिवेला वल्ल आउनेछ
तेरो नवयुग !

तर अभागी तँ
त्यसको स्वागतमा तँै हुनेछैनस्
किनकि तँ
चेपिइसकेको हुनेछस्
इतिहासको कालो पानामा !
अनि पश्चतापका आँशु
भेटी पठाउनेछस् टुक्रिएको नवयुगलाई !

बागलुङ ः हाल ओस्टेण्डे बेल्जियम ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *