Skip to content

साँच्चै मेरो देश यस्ती देखिन्छिन्


आजभोलि मेरो देश
एक्ली एक्ली भएकी छिन्
कस्ती कस्ती भएकी छिन्
खै कस्तो भनौं
मानौं सिंदुर पोते बिनाको
सौभाग्यवती नारी भएकी छिन्

मेरो देश
प्रकृतिका अनुपम छटाँहरूले
तराईका मस्त बैशाँलु फाँटहरूले
हिमालका चुलिएका शिखरहरूले
पहाडका सुन्दर थुम्काहरूले
अनि विशाल अविछिन्न नदीहरूले
सिंचिएको भएपनि, लिपिएको भए पनि
खै किन हो किन?
कता हो कता
के नपुगे जस्तो देखिएकी छिन्
मानौ सिंदुर पोते बिनाको
सौभाग्यवती नारी भएकी छिन्

सायद मायाले रङ्गाउनुपर्ने सन्ततिले
मेरो देशको माटोको रङ्ग उडाएको छ
स्वच्छ, निर्मल गंगाहरूको सौदा गरेको छ
व्यक्तिगत स्वार्थमा लिप्त भै
मेरो देशको अस्मिता बेचेको छ
कतै मुटुमा सीमाङ्कनका खम्बा गाडेकोछ
गरिबी, अशिक्षा, रोग, भोकबाट
अलग राख्नु त कता हो कता
झन् झन् ग्रस्त पारेकाछन्
त्यसैले होला मेरो देश
आजभोलि यस्ती भएकी छिन्
मानौ सिंदुर पोते बिनाको
सौभाग्यवती नारी भएकी छिन्
आउ अब हामी मिलौं
आस्थाका रङ्गहरू पोतौं
आशाका फरिया र चोली लगाईदिउँ
कर्तव्य र एकताका पोते उनिदिउँ
विकासका सिंदुर भरिदिउँ
चिटिक्क परेको शान्तीको
बिन्दिया माथमा लगाईदिउँ
सहकार्यका हातले कपाल बाँटिदिउँ
प्रेमका गाँजल दलिदिउँ
अनि हेरौं त
कस्ती देखिन्छिन्
पक्कै पनि मेरो देश
सुन्दर देखिन्छिन्
शालिन देखिन्छिन्
खुसी देखिन्छिन्
बैशाँलु देखिन्छिन्
उन्मुक्त देखिन्छिन्
यस्ती देखिन्छे
मानौं भर्खरै गृहप्रवेश गरेकी
नव दुलही हुन्
भर्खरै सुहागरात मनाएकी
लजावती वधु हुन्
वर्षा पछिको आकाशमा
खुलेकी इन्द्रेणी हुन्
साँच्चै मेरो देश यस्ती देखिन्छिन्

बिना तामाङ ‘सुनगाभा’
काठमाण्डौं

8 thoughts on “साँच्चै मेरो देश यस्ती देखिन्छिन्”

  1. धन्यवाद मुकुन्द जी
    धन्यवाद मुकुन्द जी हजुरलाई सुन्दर प्रतिकृयाको लागि।

  2. सुनगाभाको देश
    नमस्कार !

    मिठो कविता मन पर्यो ।

    हजुरको देशको पिडा, र गुनासो मिठो छ ।
    तारिफेलायक !

    कविताको सुरुवात:
    “…सिंदुर पोते बिनाको
    सौभाग्यवती नारी भएकी छिन्…”

    र कविताको अन्त्य:

    “…यस्ती देखिन्छे
    मानौं भर्खरै गृहप्रवेश गरेकी
    नव दुलही हुन्
    भर्खरै सुहागरात मनाएकी
    लजावती वधु हुन्
    वर्षा पछिको आकाशमा
    खुलेकी इन्द्रेणी हुन्
    साँच्चै मेरो देश यस्ती देखिन्छिन्”

    कविता मिठो छ। सुरुवात र अन्त्य सबै भन्दा मन पर्यो ।

    शुभकामना ।
    धन्यवाद !

  3. नाम नभन्नुस
    धन्यवाद सर कबिता मनपराइदिनुभएकोमा साथै मीठो प्रतिकृया दिनुभएकोम।
    नाम नभन्नुस ।गुमनामै जिउनुमै मज्जा छ भने त्यसलाई हस्तक्षेप गर्नु जायज हुन्न।त्यो अधिकारको कुरा हो।
    तै पनि यति मीठा मीठा प्रतिकृयाले हौसला जगाउन सफल हुन्हुन्छ।बधाई पनि ।

  4. manko kuraa
    “साच्चै मेरो देश यस्ती देखिन्छिन” कविताले देश प्रेम ओकलेको छ,भावना मिठो छ,सरल भाषामा गहकिलो सन्देश पाईन्छ कविता भित्र बिना जी बधाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *