Skip to content

मरूभूमिको देशबाट



एक अन्जुली
सपना बोकेर
मिरमिरे बिहानिमा
निस्कन्छ आजिबुङ माइला !
घरको बलेसी टेकेर
टक्क उभिन्छ,

राख्छ शिर, त्यही भुईमा,
अनि,
टिप्छ एक मुठ्ठी माटो ।
आफैँ भरभरिन्छ,
के के हो के के ? फलाक्छ ।
सायद हिम-साम्माङसँग
आशीर्वाद माग्दो हो,
आफ्नो परदेशी यात्रा
सफल, खुखमय

फलदायी होस् भनेर,
अनि
घरका स-परिवारमा
हिम-साम्माङले
रक्षा गरुन भनेर ।
उता —–
बिधाइको बेलामा सुकसुकाएकी
तान्छोहाङ र युन्छोहाङ्को आमालाई
अङ्गालोमा कस्दाइ
माया नै मायाको बर्षाहरू
अन्तिम पटक
ओठ भरी भरी पोखेर,
लाग्छ आजिबुङ माइला,
घरलाई पछाडि पारेर
सेलेजुङ्को ओरालाई ओरालो ।
आजिबुङ माइलालाई
स्वदेशमा बसुन्जेल
हसिया हताउडा
अङ्कित झण्डा बोकाए,
चारा तारा
अङ्कित झन्डा बोकाए,
कतै लाल सेना

वाइसिएल बनाए ,
यस्ताइ यस्ताइ
जिन्दबाद र मुर्दाबादको
सयौ जुलुसहरूमा घुमाए,
कतै घुङ्गा हान्न बोलाए,
कतै टायर बाल्ना बोलाए,
कतै मसाल बोक्न बोलाए,
कतै बन्द र हद्ताल गर्न बोलाए,
कतै सेन्ट्री बस्न बोलाए,
आजिबुङ माइलाले
यस्तै यस्तैमा बितायो,
आफ्नो उर्बर जवानीहरू ।
अन्तत…
आजिबुङ माइलाले
सघाएका तिनीहरू..
झन्डावाला चिल्ला गाडीमा
माथि हुइकिरहेको देख्यो,
उनिहरू गाउ फर्केनन ।
आजिबुङ माइला भने
उस्ताको उस्ताइ रहयो,
झन कङ्गाल माइला बन्यो ।

अन्तिम बिकल्प !!
आफ्नो जण्मभूमि छाडेर
सात समुन्द्र पारी पुगेको
आजिबुङ माइला,
उस्ले त त्यहाँ पो देख्यो
आफू जस्तै
लाखौं अजिबुङ माइलाहरू
छटपटिएर बाचिरहेको ।
लीलाममा बिक्री भएको
मालसमान जस्तै,
स्वाभिमान बन्दक राखेर
आपमनजनक
जुद्दाइ गरेको जीवनहरू,
परायको गुलामीमा
वाध्य भएर
सलाम ठोग्दाइ गरेका
झुकेका ती
स्वाभिमानी शीरहरू ।
अनि,
आजिबुङ माइलाले
देश बर्बाद पार्नेहरूलाई,
जनता चुसेर
देश खोक्रो पार्नेहरूलाई,
यहाँ सम्म पुग्न
बिबस गराउनेहरूलाई ।
बेस्सरी सराप्यो ।
त्यो,
बिरानो देशबाट ।
त्यो,
मरुभूमिको देशबाट ।

१२-१२-२०११
केही भाषिक अर्थहरू:आजिबुङ माइला-(टाकिबोटे माइला), हिम-साम्माङ-कुल देब, तान्छोहाङ, युन्छोहाङ-(छोराहरूको लिम्बु नाम), सेलेजुङ-गाउको लिम्बु नाम

Leave a Reply

Your email address will not be published. Required fields are marked *