Skip to content

थारु लोकरामायणको मौलिक स्वरूप ‘रौँनक पैयाँ’

  • by


थारू लोकजीवन आफ्नै भाषा र संस्कृतिले सम्पन्न छ । नेपालको तराई तथा भित्री मधेस र भारतको विशेषगरी उत्तरप्रदेशतिर बसोबास रहेको यस जातिको संस्कृतिमा स्थानअनुसार सामान्य पृथकता पनि पाइन्छ । थारू जातिको संस्कृतिमा छिमेकी भाषा-संस्कृतिको प्रभाव पनि भेटिन्छ । नेपालका थारू जातिमा विशेषगरी हिन्दी, अवधी, मैथिली, भोजपुरी, मगर, धिमाल, नेपाली आदि समुदायको सांस्कृतिक प्रभाव परेको देखिन्छ ।

‘रामायण’ हिन्दू लोकजीवनको प्रतिबिम्ब हो । हरेक समुदायले यसलाई आफ्नै प्रकारले बुझ्ने र तद्नुरूप अवलम्बन गर्ने गरेका छन् । थारू लोकजीवनमा रामकथाको व्यापक प्रयोग पाइन्छ । यो कथा, गीत, गाथा र काव्यका साथै समग्र जीवनशैलीका रूपमा व्यक्त हुने गरेको छ । यहाँ दाङ-देउखुरी उपत्यकाका थारू जातिमा प्रचलित ‘रौँनक पैयाँ’ को पृष्ठभूमिमा थारू जातिमा प्रचलित लोकरामायणको मौलिक पाटोबारे चर्चा गर्ने उद्देश्य राखिएको छ ।

‘रौँनक पैयाँ’ भनेको ‘रावणको पैयाँ’ अर्थात् रावणप्रति समर्पित गाथा हो । थारू जातिले राम र रावण दुवैप्रति बराबरी सम्मान गर्दछन् । ‘रौँनक पैयाँ’ रावणलाई नायकको भूमिकामा राखेर गाइने गाथा हो । यो दाङ उपत्यकाका थारू जातिमा डस्या (दसैँ) को अवसरमा थारू बठिन्याहरू (युवतीहरू) सामूहिकरूपमा नाच्दा स्वयं नर्तकीहरूद्वारा गाइन्छ । ‘रौँनक पैयाँ’ को सुरुवात रावणको प्रशस्ति गायनबाट भएको देखिन्छ । जस्तैः

राहावन राहावन सनठुँ हो भवजी
ए हो राहावन लिखी र डेखा
जौ टुहूँ ननडी राहावन लिखी र मँगठो
मही री खेडैबो बनीबास
जो मही भवजी डाडु अन्ट कहबुँ
मयरी कटही मरी जा ।

गीतमा सीता र उनकी नन्दबीच रावणको विषयमा गोप्य संवाद छ । नन्दले सीताबाट रावणका विषयमा अनेक गुणगान सुनेकी छन् । त्यसैले भाउजूलाई रावणको तस्बिर बनाएर देखाउन अनुरोध गर्दछिन् । यता सीता, नन्दको इच्छापूर्ण गर्न रावणको तस्बिर बनाएको कुरा राम-लक्ष्मणलाई जानकारी भएमा घरबाटै निस्कनुपर्ने अवस्थाप्रति चिन्ता गर्दछिन् । गाथाअनुसार नन्दबाट यो कुरा कसैलाई जानकारी नदिने वचन दिएपछि सीताले कोठाको भित्ता गाईको गोबर र गङ्गाजल पानीले लिपिन् । जस्तैः

डाहिन हाँठ लेली भवजी गङ्गाजल पानी हो
ए हो ठारी भिटिए व डरली निपा
बाउँ हाँठ लेहली भवजी गैयाकही गोबरा

त्यसपछि गाजल र सिन्दूरको रङ्गद्वारा रावणको तस्बिर बनाउँछिन्, जस्तैः

ढरल सीटा भवजी कजलकै रेट हो
ढरल सीटा भवजी सेंडुरकै रेट हो
ए हो परिगैल रौनाके सरूप
ढरल सीटा भवजी सेंडुरकै रेट

यसरी रावणको तस्बिर बनाइरहेको बेला राम-लक्ष्मणको आगमन हुन थालेको देखिन्छ । यसबाट सीता ज्यादै हतास हुँदै लुकाउने प्रयासमा लाग्दछिन्, जस्तैः

ढकियाले छोपूँकि पटियाले छोपूँ
ए हो रौना छोपिनहीँ जाए
घनी रौना ढरल माछीकै भेख हो
ए हो घनी रौना ढरल जोगीयकै भेख

जति प्रयास गरे पनि सीताबाट रावण विलुप्त हुन सक्दैन । ऊ कहिले माछी (झिँगा) को त, कहिले योगीको स्वरूपमा प्रस्तुत हुन्छ । अर्थात् ‘रावण’ सीताको प्रेमीपात्र हो । सीताभित्र रावणप्रतिको प्रेम र प्रभाव ज्यादै बलियो भएर रहेको छ । सीताले रावणलाई प्रेम गर्छिन् भन्ने कुरा थारू लोकजीवनमा गाइने अन्य गाथाहरूले पनि प्रस्तुत गर्दछन् । यस सन्दर्भमा थारू जातिमा माघ पर्वमा पुस मसान्तको रात्रिमा गाइने एउटा ‘ढुमु्र गाथा’ मा सीता आश्रमबाट अपहरण भएपछि राम-लक्ष्मण सीताको खोजीमा हिँडेका र लक्ष्मण अग्लो सिमलको रूखमा चढेर हेर्दा रावणको फूलबारीभित्र पिङ खेलिरहेको देखेको प्रसङ्गले पनि महत्त्व राख्दछ । जस्तैः

सेमरक डाँर चह्री हेरो न लछुमन भाइ
डेखी न डारो सीटाकै सरूप
सेमरक डाँर चह्री मै हेरनु हो राम डाडा
डेखी न डरनु हो राम डाडा सीटाकै सरूप
एक सरन ढेलवा खेलटन् बाटी
डेखी न डरनु हो राम डाडा सीटा व भौजी
सीटा व भौजी बाटी लङ्कापटि राजक पास

प्रस्तुत अंशले सीता रावणको फूलबारीमा पिङ खेलिरहेको देखाउँछ । पिङ रमाइलोको अवसरमा मात्रै खेलिन्छ । यसले सीता रावणको दरबारमा सुखसुविधा र हार्दिक प्रसन्नताका साथ बसिरहेकी थिइन् भन्ने देखाउँछ ।

वास्तवमा सीता धेरै अघिदेखि नै रावणको व्यक्तित्वबाट प्रभावित थिइन् । उनीभित्र सायद, रावणलाई कसरी प्राप्त गर्न सकिन्छ भन्ने चिन्ता थियो । यहाँनेर रावण सुनको मृगका रूपमा फूलबारीमा प्रस्तुत भएको र सीताद्वारा सो मृग माग गर्नु पनि सुनियोजित विषय त होइन ? भन्ने शङ्का जन्माउँछ । सीताको हठको अगाडि राम-लक्ष्मणको केही लाग्दैन र अन्त्यमा राम सो मृगका पछि लाग्दछन् । एक्कासि ‘मरेँ’ भन्ने आवाज आएपछि सीताले लक्ष्मणलाई राम गएतिर रामको खोजीमा जान भन्छिन् । लक्ष्मणलाई यो सबै रावणको क्रियाकलाप हुनसक्ने शङ्का छ, त्यसैले उनी सीतालाई छाडेर नजाने विचार गर्दछन् । यसबेला सीताले लक्ष्मणलाई अनेक दुर्वाच्य बोलेकी छन् । उनले लक्ष्मणलाई आफ्नो रूप लावण्य भोग गरुँला भन्ने कुत्सित विचारले रामको खोजीमा जान नचाहेको भन्ने किसिमको लाञ्छना लगाउँछिन् । यसले लक्ष्मणलाई ठूलो चोट पुर्‍याउँछ र उनी सीतालाई एक्लै छाडी रामको खोजीमा जान बाध्य बन्छन् । यसै अवसरलाई प्रयोग गरीरावणले सीताहरण गरेको छ । थारू लोकरामायणमा यस विषयले चर्चा पाएको छ । सीता रावणबाट सर्वप्रथम जनकपुरमा सम्पन्न धनुषयज्ञको अवसरदेखि नै प्रभावित रहेको देखिन्छ । थारू लोकरामायणका आधारमा सीता विवाहका सन्दर्भमा आयोजित धनुषयज्ञमा कैलाशबाट महादेव, गोकुलबाट कन्हैया तथा लङ्काबाट रावणको पनि आगमन भएको देखाइएको छ । रावणलाई देख्नासाथ सीता लजाएकी छन् । उनको यो लज्जा रावणको व्यक्तित्वबाट प्रभावित सहज प्रतिक्रिया हो, जस्तैः

ए कैलासपतिसे महादेव चलिआवे
माथे मामुत शिर जटाहु रखाए
ए गोकुल नगरीसे कन्हैया चलिआए
हाथे लिहेँ मुख मुरली बजावे
ए लङ्कापतिसे रावण चलिआवे
देखी सीता जानकी गैला लजाई

यस प्रभावले सीताभित्र रावणको मृदुचित्र कोरिन पुग्यो र यसले उनलाई सधैँ सताइरह्यो । थारू लोकरामायणमा उपलब्ध हुने यस आख्यानले रावणलाई सीताको प्रेमपात्रका रूपमा स्थापित गरेको छ । थारू लोकरामायणमा उपलब्ध यो मौलिकतालाई थारू जातिमा रहेको रावणप्रतिको विशेष सम्मानसँग जोडेर पनि हेनपर्दछ । धनुषयज्ञमा बाबु जनकको इच्छा र शर्तअनुसार धनु तोडेर रामसँग विवाह भए पनि धनुषयज्ञको अवसरदेखि रावणबाट प्रभावित भएकी सीताभित्रको रावणप्रेम क्रमशः बढ्दै र झाँगिदै गएको छ र त्यो ‘रौँनक पैयाँ’ मा मुखरित हुन पुग्यो । त्यसैले ‘रौँनक पैयाँ’ थारू लोकरामायणलाई मौलिकता प्रदान गर्ने ठोस साहित्यिक सामग्री बन्न पुगेको छ ।

‘रौँनक पैयाँ’ सङ्गीतात्मकताका दृष्टिले पनि महत्त्वपूर्ण छ । यो कहरूवा तालको मध्यलयमा बद्ध छ । त्यसो त दाङ-देउखुरी उपत्यकाका थारू जातिका लोकगीतहरूमध्ये ७५ प्रतिशत जति गीतहरू कहरूवा तालमा रहेका छन् । यो विशेषताले भारतमा प्रचलित लोकगीतहरूसँग समानता राख्दछ । यसमा ‘सा रे म प’ शुद्ध स्वर तथा ‘नि’ कोमल र शुद्ध स्वरको प्रयोग भएको छ । गीतमा प्रयोग भएको कोमल निषाद् स्वरले बेग्लै मिठास दिएको अनुभूति हुन्छ । उक्त ‘रौँनक पैयाँ’ गीतमा आएको आरम्भिक चरणको स्वलिपि यसप्रकार छ ।

गीतको बोलः

रहाउन रहाउन सुनठु हो भवजी
ए हो रौँना लिखी रे डेखा
रे प प प म प रे म रे रे सा रे नि नि नि प
र हा उ न र हा उ न सु न ठु हो भ व जी ऽ
प नि नि नि सा रे सा- सा—
ए हो रौ ना लि खी र डे खा ऽ ऽ ऽ

-यस आलेखमा आएको ‘रौँनक पैयाँ’ २०६४ साल जेठ ९ गते हेकुली गाउँ विकास समिति वडा नं. ७ पोटली दाङको ५८ वषर्ीया फिर्‍या चौधरी र ‘ढुम्रु’ गीत २०६४ साल वैशाख २६ र २७ गते गरी रामपुर गाउँ विकास समिति वडा नं. ३ पलाँसे दाङका ४९ वषर्ीय सुरतबहादुर चौधरीबाट सङ्कलन गरिएको हो ।

-प्रस्तुत ‘रौँनक पैयाँ’को स्वरलिपि सङ्गीतकार अनिल लामाद्वारा गरिएको छ ।

मधुपर्क
कार्तिक, २०६५

Leave a Reply

Your email address will not be published. Required fields are marked *