Skip to content


मेरा अघिल्तिरबाट एउटा मान्छे गयोस
मलाई लागिरहेछ
धर्तिको चरम पीडाबोध गरेको
एउटा व्यथा गयो,
पातलो च्यादरले छोपीएर
आफ्नो करुण अनुहारमाथि
पसिनाका नूनिलो बस्ती बसाएर
लाग्दैछ, सारा नेपालीको विवशता गयो,
यही टन्टलापुरमा
यो लाउँ-लाउँ र खाउँ-खाउँको उमेरमा
एउटा पीडित; आशाको भोगी
मौन विलौना छर्दै गयो
र मलाई नमज्जा लागिरह्यो ।

मलाई थाहा थियो
ऊ सँगै एउटा झुपडीको कथा गयो
नेपालीको एउटा विवशता गयो
नाङ्गो भूमिमा, उसका नाङ्गा पाइला सँगै
नेपालीको एउट अटुट दरिद्रता गयो
म हेरिरहेँ र ऊ गयो ।

ऊ डुल्छ हरेक विहान ,
ऊ डुल्छ हरेक साँझ,
ऊ डुल्छ हरेक मध्यान्न यसैगरी
त्यसैगरी सिङ्गो नेपाल डुलिरहेछ
भोकका भकारीहरू डुलिरहेछन् ।

रुखहरू फेरिए र चराहरू फेरिए
जङ्गलहरू फेरिए र वस्तिहरू फेरिए
तर ऊ फेरिएन कहिल्यै पनि
वर्षातम झरीले पिटिएर सडकमाझ डुलिरह्यो
गृष्मको चर्कावटमा
भुटिएर डुलिरह्यो
ऊ परार साल डुल्थ्यो
ऊ पोहोर साल डुल्थ्यो
र अहिले पनि डुलिरहेछ
सँगसँगै सिङ्गो नेपाल डुलिरहेछ
र मलाई नमज्जा लागिरहेछ ।

ऊ आफ्नी सानी छोरीलाई गाडामा बसालेर
सदैब दुःख झेल्न कस्सिरह्यो
ऊ आफ्नो अनुहार
जवानीमै चाउरी पारेर
साँझ–बिहान अन्न पोल्न कस्सिरह्यो
आफै दश ठाउँ टालिएपनि
टालो किनिदिन कस्सिरह्यो
केही समयपछि फिर्ने गरी
आज फेरी ऊ यहीबाटो गयो
तातो सडकमा चर्किएका पाइलासहित गयो
उसँगै चरम दरिद्रता गयो
सम्पूर्ण नेपालीहरूको दुखान्त वेदना गयो ।

दिनेश न्यौपाने,
दाङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *