Skip to content


तत्कालीन शासन प्रणालीप्रति वफादार रहेर मुलुकको निजामती, कूटनीतिक र संवैधानिक अङ्गहरूको नेतृत्वमा पुग्ने थोरै नेपाली प्रशासकमा पर्छन्, नयनबहादुर खत्री। वि.सं. १९७८ मा ललितपुरको जावलाखेलमा जन्मिएका उनी पञ्चायतकालमा राजदूत र प्रधानन्यायाधीश भए। प्रधानन्यायाधीश हुँदा शहीद यज्ञबहादुर थापाको मुद्दामा मृत्युदण्डको फैसला सुनाएर राजनीतिक रूपमा धेरै आलोचित भएका खत्री प्रजातन्त्र पुनःस्थापना र त्यसपछिको अर्को शाहीकालमा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष भए, दुई कार्यकाल। तिनै खत्रीले आफ्नो जीवनको ६ दशकमा पाएको जिम्मेवारी, गरेका अनुभव र अनुभूतिहरूलाई पुस्तकका रूपमा सार्वजनिक गरेका छन्।

भारतको लखनऊबाट अर्थशास्त्रमा एमए र कानूनमा बिएल गरेर २००४ मा श्री ३ पद्म शमशेरलाई दाम राखी दर्शन गरेपछि ऐन फाँटमा सुब्बाको रूपमा खत्री सरकारी सेवामा प्रवेश गर्छन्। त्यसपछि कानुन मन्त्रालयका सेक्रेटरी, सर्वोच्च अदालतका प्रधानन्यायाधीश, कानुन आयोग, पे्रस काउन्सिल र राष्ट्रिय मानवअधिकार आयोगको अध्यक्ष हुन्छन्। पुरानामा पद्म शमशेर, मोहन शमशेर, मातृकाप्रसाद कोइराला, टङ्कप्रसाद आचार्य, डा. के.आई.सिंह, बी.पी कोइरालालगायतका प्रधानमन्त्री झेलेका खत्रीले २०१५ सालको आम निर्वाचन र राजा महेन्द्रले २०१७ मा कु गर्दाको रोचक वर्णन गरेका छन्।

राजा वीरेन्द्रले २०४३ मा चीनका लागि नेपाली राजदूत बनाएका खत्री कम्युनिष्ट चीनको विकासबाट प्रभावित भएको देखिन्छन्। पुस्तकमा उनले राजा वीरेन्द्रको चीन भ्रमण र चिनियाँ प्रधानमन्त्री लि फङको नेपाल भ्रमणको जस लिन खोजेका छन्। खत्रीले त्रिभुवन, उनका छोरा महेन्द्र अनि नातिहरू वीरेन्द्र र ज्ञानेन्द्रसम्मका राजाहरूको सेवा गर्न पाएको गर्व गरेका छन्। त्रिभुवनको दर्शनमा जाँदा मौसुफबाट तिमी जेठीको कि कान्छीतिरको भनी सोध्दा राजा जस्तो मान्छेले पनि रैती परिवारको कति ख्याल गरेका होलान् भनेर अचम्म मानेका छन्।

चार राजामध्ये वीरेन्द्रलाई सबभन्दा उदार मानेका खत्रीले २०५७ मा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले राष्ट्रिय मानवअधिकार आयोगको अध्यक्ष बनाएपछि केही विषयमा अप्ठेरो पनि परेको सम्झ्ेका छन्। जस्तो, दोरम्बा घटनाको यथार्थ विवरण सार्वजनिक गरेपछि तत्कालीन शाही सेनाका मेजर राममणि पोख्रेलले जहाँ भेट्यो त्यहीँ गोली ठोक्ने भनेको उनले लेखेका छन्। वीरेन्द्रको हत्यापछि राजा बनेका ज्ञानेन्द्रले २०६१ मा अर्को कु गरेपछि मानवअधिकार आयोगका सदस्य सुशील प्याकुरेलले जेनेभामा भएको एसिया प्यासिफिक फोरममा अध्यक्ष नयनबहादुरले ज्ञानेन्द्रको बचाउ र दलहरूलाई गाली गरेको खबर नेपाल पठाएको प्रसङ्ग पुस्तकमा छ। त्यसपछि प्याकुरेल सुरक्षाका कारण केही समय भारतमा बसेको खत्रीले सम्झेका छन्।

लेखकको पृष्ठभूमि जे भए पनि पाठकलाई मेरो जीवनयात्राःअनुभव र अनुभूति राणाकालीन वि.सं. २००० देखि गणतन्त्रको अभ्युदय भएको २०६३ सालसम्मको नेपालको राजनीतिक-सामाजिक विकासक्रमको दस्तावेज भएको छ। लेखकको खानदान, घर-परिवार र अध्ययन विवरणबाट शुरु भएको सचित्र पुस्तक ६ परिच्छेद, उपसंहार र परिशिष्टमा विभाजित छ। परिवर्तित राजनीतिक परिवेशमा नयनबहादुर खत्रीको सार्वजनिक छवि जे-जस्तो भए पनि उनले भोगेका समय र गरेका अनुभवका फेहरिस्त खास गरेर पछिल्लो पुस्ताका नेपालीका लागि पठनीय छ।

लोकेन्द्र ‘ली

हिमाल खबरपत्रिका
वर्ष २१, अङ्क १४
पूर्णाङ्क २९८

Leave a Reply

Your email address will not be published. Required fields are marked *