Skip to content


जताततै मान्छेको बाक्लो हूल
औँलाझैँ फिँजिएका बाटाहरू, सडकहरू
कताबाट पसेथ्यो काठमाडौँको चोक र गल्लीहरूमा
अलमलिन्छ कहाँबाट निस्कने हो
नाक भरिन्छ अचम्मको मान्छे गन्धले
मात्तिन्छ त्यो मान्छे प्रथमपटक रक्सी पिएको मान्छेजस्तै
उसले त्यस्तो मान्छे गन्ध गाउँघरमा थाहा नै पाएको थिएन ।

गुन्यू चोलो, मिठाई, कोसेली
श्रीमती र लालाबालाहरूलाई बाँडिरहेको
दिवास्वप्न टुंगिँदा मात्र चाल पाउँछ
भव्य पसलअगाडि रगताम्य लडिरहेको हुन्छ ऊ
रमितेहरूले भनिरहेका हुन्छन्
एउटा पाङ्ग्रा आतंकले यसलाई धक्का दिएर गयो
पुरानो झोला बोकेको थियो
थोत्रा लुगाफाटा र कागजपत्रहरू सडकभरि छरिए ।

अवश्य हुनुपर्छ त्यस झोलामा एउटा सुधामा पोका
जतनले राखिएको हुनुपर्छ त्यसमा
दुब्ली-पातली श्रीमती, लालाबालाका रहरहरू
चर्किएको, भत्किएको घरलाई नयाँ बनाएर बस्ने सपनाहरू
आश्वासनका टिपोट र प्रमाणपत्रहरू
सुनेको थियो गाउँघरमा नै उसले पढेको थियो
धेरै द्वारिकाधीशहरू बस्छन् यहाँ र उनीहरूले
सुधामा पोका साटेर
झोलाभरि हर्ष र खुसी राखिदिनेछन् ।

हावाको सुसेली भए पढेसुनेका कथा र देखेका सपनाहरू
हावासँग खोसेर लिन सक्दैन, कतै पाउन सक्दैन
धूलो, धूवाँ र धमिलो पानी मात्र पसेको शिथिल शरीर छ
रिँगटा लागेझैँ हुन्छ चारैतिर तिरिमिरी झ्याइँ
अग्ला सबै घरहरू आफैँमाथि खसेझैँ लाग्छ उसलाई
भुइँचालोमा चर्किएझैँ हुन्छ उसका लागि बाटाहरू पनि
सडक, टोल, चोक र गल्लीतिर
देख्दैन उसले पढेको, सुनेको ठूलो छाती भएको काठमाडौँ
भेट्दैन सुधामा पोका साटेर
हर्ष र खुसी झोलामा राखिदिने द्वारिकाधीशहरू
केवल आफ्नो घाँटीमा
बल्छी भएर अल्झिएको काठमाडौँ पाउँछ
निल्न सक्दैन ओकल्न पनि सक्दैन ।

चप्पल घिसार्दै
पुरानो झोला बोकेर गाउँघरबाट हिँड्दा
त्यो मान्छे स्वयंले
नयाँ जुत्ता लगाएर विदेशी सुटकेश बोकेर
सुटबुटसहित नयाँ पहिरनमा नयाँ घरमा प्रवेश गरिरहेको
आफ्नो नयाँ चित्र अवश्य कोरेको थियो ।

मेटियो अधुरोमा नै त्यो चित्र
हरायो पनि छायाँ भएर त्यो मान्छेसँगै ।

नेपाल साप्ताहिक अंक ४६९

Leave a Reply

Your email address will not be published. Required fields are marked *