लुभेन, बेल्जियम ।
साहित्यिक वेवसाइट “प्रतिनिधि बेल्जियम डट कम”को आयोजनामा बेल्जियममा त्रैमासिक काव्ययात्राको थालनी यही डिसेम्वर १२ का दिन स्थानीय लुभेनबाट प्रारम्भ गरियो ।
मूलतः नेपाली भाषाका सर्जकहरूलाई अवसर, प्रोत्साहन र उर्जासँगै साहित्यिक क्रियाशीलता प्रदान गर्दै वेवसाइटको संवर्द्धन गर्ने हेतुुले शुरु गरिएको यात्राको पहिलो केन्द्र हुनुहुन्थ्यो नवहस्ताक्षर कवि मोहन खत्री ।
स्थापित गजलकार एवं समसामयिक स्तम्भकार इन्द्र क्षत्री “पकवान”को आतिथ्यता र कवि खत्रीकै सभापतित्वमा सँचालित यात्राको प्रारम्भमा वेवसाइटका सम्पादक एवं स्रष्टा दीपेन्द्र के.सी.ले काव्ययात्रावारे प्रकाश पार्नु भएको थियो ।
कार्यक्रमको दोस्रो चरणमा स्रष्टा दीपकज्योति पौडेल, विष्णुु सापकोटा, इन्द्र पकवान, दीपेन्द्र के.सी. र दीपक सुवेदीले कविता र मुक्तकहरू वाचन गर्नु भएको थियो । प्रमुख प्रस्तोता खत्रीले आफना कविता प्रस्तुत गर्नु भएपछि प्रस्तुुति र स्वरुपवारे आख्यानकार पञ्चम अधिकारी, शिल्प पक्षवारे इन्द्र पकवान र भाव र शैलीवारे दीपेन्द्र के.सी.ले टीप्पणी गर्नुभएको थियो ।
सिंगो काव्ययात्रा र पहिलो यात्रीको प्रस्तुतिमाथी पुष्पराज अधिकारी, रमेश सापकोटा, जयनारायण पौडेल, रामचन्द्र सापकोटा, रामजी पाठक, गोपाल सिंखडा आदिले सदृष्टिकोण टिप्पणी व्यक्त गर्नुभएको थियो ।
सो अवसरमा यात्रामा प्रस्तुत सिर्जनाहरू प्रतिनिधि वेल्जियममा प्रकाशन गर्दै भविष्यमा ग्रन्थको रुपमा प्रकाशित गरिने जानकारी गराउदै दोस्रो काव्ययात्राको कार्यक्रम शीघ्र प्रकाशित गरिने वताइएको छ ।
