नमस्कार बिनाजी! मझेरी भलाकुसारीमा स्वागत छ । शुरुमा, आफ्नो परिचय दिनुस् न ।
नमस्कार सर, साथमा धन्यवाद यहाँलाई । मझेरीसँग भलाकुसारी गर्न पाउँदा अत्यन्तै खुसी लागेको छ ।
अब परिचयकै कुरा गर्नु पर्दा मेरो जन्म बुबा टिएस थिङ र आमा सरोदा देवी तामाङको कान्छी छोरीको रुपमा हेटौंडामा भएको हो । हाल म काठमाण्डौंको उत्तरी भेग बुढानीलकण्ठमा आफ्नो कर्मघरमा परिवारको साथमा छु भने अर्थोपार्जनको हिसाबले अध्यापन पेशामा स्थानीय स्कुल श्रीजयभद्रकाली मा.वि.मा कार्यरत छु । साथै साहित्यको बिद्यार्थी पनि हुँ त्यस हिसाबले म साहित्य लेखनमा आफूलाई व्यस्त राख्न मन पराउँछु ।
साहित्य क्षेत्रमा कसरी प्रवेश गर्नुभयो?
खासै भन्ने हो भने म बिना योजना हिड्ने मान्छे । योजनाबिना नै अन्य धेरै सामाजिक क्षेत्रमा आबद्ध हुन पुगेकी छु । यस क्षेत्रमा पनि प्रवेश गर्छु नै भनेर गरेकी हैन । साँच्चै भन्नु पर्दा म एक साहित्यनुरागी । सानैदेखि किताबको भूत अझ बिशेषत कथा र उपन्यासको । भोक निन्द्रा सबै बिर्सिदिने पुस्तकको संसारमा । । कहिलेकाहीँ देउसी भैलोमा गीत तयार पार्थे । वास्तवमै भन्नु पर्दा म ग्रामिण र शहरी परिवेशबीचको द्वन्द्वात्मक परिवेशमा हुर्किएकी मान्छे । यस्तोमा समाजमा द्वन्द्व देखिने । कही उत्पिडन, कहीँ दमन, कहीँ शोषण कही बिकृति । यस्तै घटनाहरूलाई म कविता, कथाको रुप दिन्थें । तर सबै पानामै सीमित । त्यतिखेर उस्तो साहित्यिक गतिबिधि संचालन हुन्नथ्यो । । पछि घर गृहस्थिमै दैनिकी बित्यो । नाम चलेका पुस्तक पढ्न भने छाडिएन ।
भावनाहरू मनमै उर्लन्थे र मनमै सुक्थे । सायद समयलाई पाखा लगाउन नजानेर पनि होला । केही वर्ष यतादेखि भने फुर्सदिला क्षणहरूको सदुपयोग गर्नतिर । केही वर्ष यतादेखि एक्लोपनको साथी जस्तै भएको छ साहित्य लेखन । मनमा उर्लेको असन्तुष्टिको भावहरू पोख्न यस क्षेत्रको सहायता लिन थालें । यसै क्रममा फेसबुक र मझेरी जस्ता सामाजिक संजालसँग भेट भयो । यसैलाई निरन्तरता दिनेक्रममै साहित्यमा प्रवेश भयो भन्दा अतियुक्ति नहोला ।
नेपाली तथा अन्तराष्ट्रिय भाषाका साहित्यमा मनपर्ने लेखक को हुन्?
मन पर्ने लेखक यही नै हो भन्नु भन्दा पनि म बढी यथार्थपरक लेख मन पराउँछु । नेपाली साहित्यमा हृदयमा बास जमाउन धेरै स्रष्टाहरू हुन्हुन्छ । म सम्मान गर्छु उहाँहरूलाई । कुनै र्यान्क(तह)मा बिभक्त गर्न सक्दिन । अझ भनु म त्यो हैसियतमा पुगेकी पनि छुइन ।
केको निम्ति लेख्नुहुन्छ ?
कुरो नघुमाईकन भन्नुपर्दा म आत्मसन्तुष्टिको निम्ति लेख्छु ।
साहित्य समाजको प्रतिबिम्ब हो जहाँ यही समाजकै पात्रहरूको सुख, दु:ख, खुसी, रोदन, हर्ष, बिस्मात समेटिएको हुन्छ । कहिले समाजमा व्याप्त बिसंगति, बिकृतिपूर्ण यथार्थपरक घटनाहरूप्रतिको रोष प्रकट गर्न त कहिले प्रेमिल भावहरू छरप्रष्ट पार्न लेख्छु । कल्पनाका केही अंश पनि यसमा समेटिने गर्छ । दर्पण जस्तै छर्लङ्गै हुन्छ । मनका भाव त्यसमाथि पनि असन्तुष्टिका लहरहरू तिव्र रुपमा छताछुल्ल गरेर पोख्न सकिने भनेकै यही क्षेत्र भएकोले नै म आफूमा तरङ्गित त्यस्ता भावहरू उराल्न लेख्छु । लेखिसकेपछि एककिसिमको मीठो आनन्दभूति हुन्छ । प्रशव पीडापछि आफ्नो सन्तानको कल्कलाउँदो मुहार हेर्दा गरिने आनन्दभूति जस्तो ।
व्यवसायिक रूपमा शिक्षण-पेशामा संलग्न हुनुहुन्छ, हो? यो पेशाले लेखनमा कत्तिको मद्दत मिलेको छ ?
हजुर सही आकंलन गर्नुभयो । शिक्षण पेशामा लागेका एक दशक बितिसक्यो । यस पेशामा लागिसकेपछि शब्द भण्डारण बढ्ने साथै व्यक्तिमा आत्मविश्वास बढ्ने । उसको शब्द छनौट र व्यक्त गर्ने शैली पनि परिस्कृत हुने । साहित्य र शिक्षण एक अर्काका परिपुरक हुन् जस्तो लाग्छ । शिक्षणको दौरान म साहित्यको सहयोग लिन्छु भने साहित्य सृजनाको बखत शिक्षण गर्दाको अनुभवहरूलाई समेट्छु ।
मझेरीमा तपाईँ कथा, कविता, गजल आदि विधाका रचनाहरू अक्सर पढ्न पाइन्छ । आफूलाई चाहिँ कुन विधामा स्थापित गराउन चाहनुहुन्छ ?
रूचिको कुरा गर्नुहुन्छ भने मलाई हरेक बिधामा (कथा, उपन्यास, कविता, गजल) रूचि छ ।
रचनाको हिसाबले गजल बिधा चुनौतीपूर्ण लाग्छ । चुनौतीसँग लड्न मन पराउँछु यद्यपि लेखनमा भने म बग्न चाहन्छु नदी जसरी सललल । आफ्नो भावना र समाजमा व्याप्त विसंगतिबीचको द्वन्द्वलाई सर्लक्कै उतार्न भने मलाई कथा बिधामा सहज लाग्छ । कवितामा पनि त्यो नसकिने हैन तथापि म कथा बिधा नै बढी रुचाउँछु । यही बिधालाई निरन्तरता दिने सोचमा छु । यसो भन्नुको अर्थ अरु बिधालाई वेवास्ता गरेको भने पटक्कै हैन । उसो त म भर्खर कख सिक्दैछु ।
मझेरीमा तपाईँका करिब ९० वटा जति रचनाहरू प्रकाशित भैसकेका छन् । त्यसमध्ये आफूलाई सबैभन्दा सन्तुष्टि लागेको वा पाठकलाई अवश्य पनि पढिदिन अनुरोध गर्न मन लाग्ने रचनाहरू कुन कुन छन् ?
वास्तवमै भन्नुपर्दा म एक स्वाभिमानी नारी । आत्मसम्मानमा ठेस पुर्याएर पब्लिसिटि चाहन्न । त्यसैले कसैलाई हात जोडेर रचना प्रकाशनको लागि अनुनय गरिन र गर्दिन पनि । यसलाई घमण्डीको उपमा दिइन्छ भने पनि स्वीकार्छु । त्यसो त म कुनै जानेमानेको साहित्यकार पनि होइन मात्र मेरा मित्र एवं साहित्यप्रेमीहरूले साहित्यकार भनेर मानिदिनुभएको छ । जहाँ अरुको सम्मान र सही मुल्याङ्कन हुन्छ त्यहाँ भने म पुग्छु नै । यसैक्रममा मेरो भेट मझेरीसँग भयो । मझेरीको प्रवित्ति अथवा बिशेषता भन्नु नै यहाँ चाकडीबाज चल्दैन र रुचाउँदैन पनि । त्यसमाथि लेखकको मनोबल उच्च बनाउन हौसला दिन र उत्कृष्ट रचना भन्डार गर्न खप्पिस (मेरो भाषामा) मझेरीमै हो मेरो यतिका रचना भन्डार भएको । त्यसो त अरु वेभ साईटमा पनि रचना प्रकाशित नभएका हैनन । तैपनि मझेरीलाई मनपराउनेहरूको संख्या दिनानुदिन बढ्दै गएको देख्छु । जुन आफैमा गर्व र खुसीको कुरा हो । यसका लागि मझेरीलाई बधाई तथा धन्यवाद दिनै पर्छ ।
अब एउटा सृजनाकारलाई आफ्नो हरेक सृजनाको सन्तान जतिक्कै माया लाग्छ । तैपनि लेख्दैजाँदा आत्मसन्तुष्टि भने निम्न लेख रचनामा अत्यधिक पाएको छु । अत म पाठकज्यूहरूलाई यी लेखहरूमा समय मिलाएर नजर पुर्याईदिन हुन अनुरोध गर्दछु ।
‘शंका'(कथा)
‘साँच्चै मेरो देश यस्ती देखिन्छिन्’(गद्य कविता)
‘भोगाइ’(कथा)
‘फेरि फर्केर माईत आउँदिन नि दाजु’ (गजल)
तपाईंलाई कस्तो समयमा भावना फुर्न र लेख्न आउँछ?
समयको त्यस्तो कुनै पावन्दी मलाई लाग्दैन । जहाँ जतिखेर र जहाँ पनि भावना फुर्छ । भन्नुको मतलब कोठामा बस्दा, सडकमा हिड्दा हिड्दै, भान्छामा खाना तयारी गर्दा गर्दै । फरक यति मात्र हो कि कुनै भावनाले पूर्णता पाउँछ भने कुनै गर्भमै तुहिएर जान्छ । तर एउटा नियम भने लागू हुन्छ । त्यो हो एकान्त । नत्र म आफूलाई एकाग्र गर्नै सक्दिन ।
निकट भविष्यमा केही विशेष योजना छ?
योजना अनुरुप चल्नेले सफलता हासिल गर्छ भन्ने मान्यता छ । तर म बिना योजना यहाँसम्म आइपुगेकी छु । बिशेष योजना बनाईहालेको छुइन सोचाइ भने छ । केही महिना यता साथीहरूको लगातारको अनुरोधले मलाई सोच्न बाध्य बनाएको छ । उहाँहरूको अनुरोधलाई मनन गर्दै आउँदो वर्ष सम्भव भएसम्म समयले साथे दिएसम्म एउटा कथा संग्रह भने निकाल्ने विचारमा छु । हेर्दै जाउँ के हुन्छ ।
काठमाण्डौँमा बसोबास गर्नुहुँदो रहेछ, त्यहाँ के-कस्ता साहित्यिक गतिबिधिहरूमा संलग्न हुनुहुन्छ ?
काठमाण्डौंको बसाइले डेढ दशक नाघिसक्यो । साहित्यिक गतिबिधिकै कुरा गर्नुपर्दा भने गृहिणी एवं जागिरे भएकै कारण त्यति खुलेर लाग्न सकिरहेकी छुइन । तैपनि केही बचेखुचेको समयलाई व्यवस्थित गरेर मातृभाषामा, साहित्यको संरक्षण हेतु स्थापित ’तामाङ डाजाङ’ को नियमित मासिक साहित्यिक गोष्ठीमा भने नियमित उपस्थिति जनाउँदै आएकी छु । जुन संस्थामा म सदस्यको रुपमा आवद्ध छु । जहाँ मातृभाषामा साहित्य लेखनमा निरन्तर कलम चलाउँदै आउनुभएका शसक्त एवं जुझारुक स्रष्टाहरूसँग भेटघाट गर्नुका साथै रचना वाचन मार्फत विचारहरू आदनप्रदान गर्ने गरिन्छ । त्यहाँ वाचन भएका रचनाहरू मासिक पत्रीका ‘तामाङ डाजाङ’मा प्रकाशित गरिन्छ । त्यस्तै स्थानीय साहित्यकारहरूसँगको जमघट र साहित्यिक विचारहरूको सम्प्रेषणमा टेवा दिन स्थापित बागद्दार साहित्य समाज’ नामक संस्थामा पनि आक्कझुक्कल आफ्नो उपस्थिति जनाउँदै आएकी छु ।
अन्य साहित्यिक संस्थाबाट पनि निमन्त्रणा हुने गरेतापनि समय मिलाउन हम्मे हम्मे नै पर्ने गर्छ ।
तपाईंका लेखहरूमा सरल शब्दमा गहिरो र मार्मिक प्रस्तुतिहरू पढ्न पाइन्छ । लेख्न लाग्दा त्यस्तो कुनै दायरा बनाएर लेख्नुहुन्छ कि स्वेच्छ लेख तयार हुन्छ ?
धन्यवाद यहाँलाई लेखको बारेमा सकारात्मक टिप्पणीको लागि । अघि नै भनिसके साहित्य समाजको दर्पण हो । जहाँ समाजमा व्याप्त घटनाक्रमलाई उपयुक्त शब्दहरूमा उनेर प्रस्तुत गरिन्छ । म प्राय सरल शब्दहरूको प्रयोग गर्न रुचाउँछु । मेरो आशय सामान्यभन्दा सामन्य मानिसले पनि लेख बुझ्न सकोस ।
अब लेख तयार पार्दा दायराको कुरा गर्नुहुन्छ भने म त्यस्तो कुनै सीमामा बाँधिएर साहित्य सृजना गर्नु लेखकप्रतिको अन्याय ठान्दछु र म अन्याय सहन्न । स्वेच्छाले लेख तयार गर्छु तर कुन थिममा आधारित रहेर सृजना गर्ने भन्ने चाहिँ पुर्व ज्ञात हुनु जरुरी रहन्छ । अन्यथा अन्योलमा परिन्छ ।
काठमाण्डौँमा समकालीन लेखकहरूसँग कत्तिको घुलमिल हुन्छ ? प्राय सम्पर्क भइरहने अरू स्रष्टाहरू कोही छन् भने नाम बताइदिनुस् न !
म ईन्टरनेटको दुनियाँमा रम्ने मान्छे । यसको कारण छ । एक त यसको लागि कुनै समयको हदबन्दी लाग्दैन । जतिखेर फुर्सद हुन्छ त्यतिखेर भ्रमण गरेर साहित्य रसपान गर्न पाइने । अर्को पहिले जस्तो मेरो रचना कस्तो छ लौ न प्रतिकृया दिनुस भनिरहनु नपर्ने । पाठकलाई मन पर्यो लाईक गरिदिनुहुन्छ प्रतिकृया दिन मन लागे दिनुहुन्छ । त्यसमाथि मेरो मोफसलका लेखकहरूसँग यही इन्टरनेटकै माध्यमबाट घुल्मिल छ । एकाध साथीहरू भने हुनुहुन्छ काठमाण्डौंकै कुरा गर्ने हो भने । प्राय सम्पर्कमा रहिरहनुहुने लेखकको नाम लिनुपर्दा आदरणिय स्रष्टा सन्चु ब्लोनको नाम लिन चाहन्छु । त्यस्तै धिर्जेमान थिङ, श्याम ‘संकल्प’ हुनुहुन्छ ।
विशेष गरी कस्ता कृतिहरू जन्माउन चाहनुहुन्छ ?
यस्तै सन्तान जन्माउँछु भनेतापनि गर्भभित्रको अबोध बालक कस्तो छ भन्ने अनुमानसम्म मात्रै लगाउने त हो त्योभन्दा बढी त गर्न सकिँदैन । तै पनि इच्छा त हृष्टपुष्ट, स्वस्थ्य सन्तानको हुन्छ । मेरो विचारमा कृति यस्तो होस् जसले समाजको हरेक पात्रलाई छुन सकोस । हरेकको स्पन्दनमा बास गरोस र व्याप्त विसंगतिलाई तोड्न सकोस । यस्तै कृति जन्माउने हरेक सृजनाकारको आकांक्षा । म पनि त्यसबाट अछुतो रहन सक्दिन ।
आफ्नो व्यक्तिगत र साहित्यिक जीवनसँग कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
यस सवालमा भने म आफूलाई एक्दमै भाग्यमानी ठान्दछु । व्यक्तिगत जीवन बडो आनन्दमय वातावरणमा बितिरहेको छ । यस अर्थमा म पूर्ण सन्तुष्ट छु । भनिन्छ नि मानिसले सन्तुष्ट हुन सक्नुपर्छ अनि पाइन्छ सुखी जीवन । त्यस मानेमा साहित्यक जीवनबाट मैले सन्तुष्टि लिएकी छु ।
नेपाली साहित्यको हालको स्थितिलाई कसरी मूल्यांकन गर्नुहुन्छ? साहित्यक्षेत्र उचित दिशातर्फ गइरहेको जस्तो लाग्छ?
भविष्यको निर्धारण वर्तमानले गर्द्छ । नेपाली साहित्यकै कुरा गर्ने हो भने अहिले साहित्यलाई माया गर्नेहरूको जमात दिनानुदिन बढ्दै गएको पाइन्छ । नयाँ पुराना दुबै पिढी साहित्य लेखनमा कलम तिखार्दै हुनुहुन्छ । जस्ले भोलिका दिनहरूमा अझ उत्कृष्ट रचनाहरू पाठकले पाउने कुरामा दुई मत रहन्न । समग्रमा भन्नुपर्दा नेपाली साहित्यको भविष्य उज्ज्वल देख्छु । एकाध विखण्डनका घटना बाहेक नेपाली साहित्य सही दिशातर्फ उन्मुख भैइरहेकोछ ।
नेपाली साहित्यमा नारी लेखनको बारेमा तपाईँको कस्तो धारणा छ ?
प्राचीन साहित्यको तुलनामा आधुनिक साहित्यले केही हदसम्म भएपनि नारी लेखनमा आफ्नो कलम दौडाएको पाउन सकिन्छ । तर पनि भने जसरी नारी वेदना, उत्पिडन, अन्याय, र नारी उत्कण्ठाहरूलाई उजागार गर्न सकिरहेको अवस्था भने छैन । नारी पीडालाई सम्बोधन गरिएका लेख तथा रचनाहरू न्युन संख्यामा छन् । साहित्यले जहिले पनि समाज परिवर्तनको लागि आवाज उठाउँछ । साहित्यले देशमा सुशासन एवं कानुनी राज्यको वकालत गर्दछ । तर जबसम्म समाजमा व्याप्त नारी उत्कण्ठाहरू सम्बोधन गरिदैन तबसम्म समाज परिवर्तनका लागि गरिएका आदर्शका गफहरू गफमै सीमित रहने । त्यसैले म नारी लेखनतिर साहित्यकारको ध्यानाकर्षण गराउन चाहन्छु ।
नेपाली साहित्य जगतमा देखिएका सकारात्मक प्रवित्ति र विकृतिहरू के हुन् जस्तो लाग्छ ?
हरेक पक्षको आफ्नै प्रवित्ति र बिशेषता हुने गर्दछन् । साहित्य जगतमा समकालिन परिवेशमा केही नयाँ प्रवित्तिहरू देखापरेका छन् । खुसीको कुरो हो । अहिलेको साहित्यमा यथार्थवादी चिन्तन हावी भएको पाउँछु । जुन सह्रानीय कुरा हो । त्यस्तै अहिले नेपाली साहित्यमा पनि साहित्यलाई माया गर्नेहरूको संख्या बढ्दो छ । जुन कुरा आफैमा गौरवमय कुरा हो । यसले आम मानिसहरूमा सकारात्मक सन्देश पुर्याउँछ । यो संगै सृजनाको जुन भेलबाढी आएको छ त्यसको उपयुक्त समालोचना एवं आलोचना हुन नसकिरहेको अवस्थामा वजनदार सृजनाको कमी महशुस हुदैछ । गुणात्मक भन्दा संख्यात्मक रचनाको ओइरो भएको आभास हुन्छ । अबका दिनमा संख्यात्मकलाई भन्दा गुणात्मकलाई पो ध्यान दिने हो कि?
तपाईँ त तामाङ भाषामा पनि कलम चलाउनुहुन्छ । तामाङ् साहित्यको स्थिति र भविष्य कस्तो देख्नुहुन्छ ?
आफू तामाङ भएकै नाताले पनि आफ्नो भाषा तथा साहित्यको रक्षार्थ कलम चलाउनु कर्तव्य हो भन्ठान्छु । र केही गर्नु पर्छ भन्ने मान्यता राख्ने मान्छे म । अहिलेको नयाँ पिढीमा आफ्नो भाषाप्रतिको क्रेज बिस्तारै घटेर गएको देखिन्छ । यसबाट बिमुख नहोस भन्नाको हेतु पनि तामाङ साहित्यमा कलम चलाउनेको जमात बाक्लै देखिन थालेको छ । खुसीको कुरा यो छ कि राजधानीको भन्दा मोफसलका साहित्यकारहरू यो कुराबाट बढी प्रभावित हुनुहुन्छ । उहाँहरूको त्यो लगाव, संचारमाध्यमको चासो र तामाङ समुदायको एकता यी तीनवटा पक्षहरूको कारण तामाङ साहित्यको भविष्य उज्जव देख्छु ।
अन्य नेपाली भाषाहरूको बारेमा के-कस्तो धारणा छ ?
आफ्नो पहिचान भनेकै आफ्नो भाषा, संस्कृति, कला हो । यसको संरक्षण गर्नु नै हाम्रो प्रमुख दायित्व हो । सबैले आ-आफ्नै ठाउँबाट यसको संरक्षण एवं विकासमा लाग्नुपर्छ जस्तो मलाई लाग्छ र यसको निम्ति अन्य नेपाली भाषामा पनि साहित्य सृजना हुनुपर्छ ।
नेपाली साहित्यलाई इन्टेर्नेटको कत्तिको प्रभाव देख्नुहुन्छ?
विश्वलाई आफ्नो कोठाभित्र कैद गर्न सक्ने इन्टरनेटको बयान जति नै गरे पनि कम नै हुन्छ । प्रयोगकर्ताले कुन ढंगबाट त्यसको प्रयोग गर्दैछ त्यही अनुरुपको महत्व रहन्छ । साहित्यकै कुरा गर्ने हो भने यसले साहित्यक मनहरूलाई नजिक बनाइदिएको छ । त्यस्तै चाहे अनुरुपको लेख रचना कुनै दौडधुप बिना नै एकै ठाउँमा प्राप्त गर्न सकिन्छ जसबाट सिकाइका सम्भावनाहरू प्रसस्त मात्रामा रहन्छ । नेपाली साहित्यलाई यसबाट नियाल्ने हो भने अहिले नेपाली साहित्यलाई माया गर्नेहरूको जमात नै भेटाउन सक्छौ यही इन्टरनेटमा ।
फेसबुक र ट्विटरजस्ता सामाजिक सञ्जालहरूले कसरी उपयोग गरिरहनुभएको छ ?
एउटै वस्तुको बिभिन्न प्रयोजन हुन सक्छ । फेसबुक र ट्विटरको प्रयोग पनि प्रयोगकर्ताको स्वाभाव र मानसिकता अनुसारको भएको पाइन्छ । मैले भने विशुद्ध साहित्यक गतिबिधिकै निम्ति यी सञ्जालहरूको प्रयोग गर्दै आइरहेकी छु । यसको आफ्नै फाईदा छ । फुर्सद हुदाँ आफ्नो रचना पोष्ट गर्यो । अन्य स्रष्टाहरूको सृजनामा सयर गर्यो । सिकाई पनि हुने । प्रतिकृयाहरूबाट थप हौसला र कृयाशिलता प्राप्त गरिने । आफूमा भएको कमिकमजोरी हटाई लेखनशैलीमा निखारता ल्याउन पनि म यी सञ्जालहरूको प्रयोग गर्न रुचाउँछु ।
मझेरीलाई कस्तो मूल्यांकन गर्नुभएको छ? तपाईँको लेखनलाई मझेरीले कत्तिको सहयोग पुर्याएको अनुभव गर्नुभा’छ ?
अब मझेरीको बारेमा मैले केही बोल्नुपर्ला जस्तो मलाई लाग्दैन । सबैलाई ज्ञात भएकै कुरा हो कि साहित्यक वेभ पत्रिकाहरू मध्य सबैभन्दा ठूलो र धेरैभन्दा धेरै पाठकहरूले पल्टाउने पत्रिका यही हो । सबै लेखक एवं पाठकहरूले माया गर्नुहुन्छ । मझेरीको आफ्नै अन्दाज र बिशेषता छ । यसमा लेखकको सम्पूर्ण लेखहरू सुरक्षितसाथ भण्डारण हुने गर्दछ र चाहेको समयमा अध्ययन गर्न पाइन्छ । मेरो पहिलो रोजाईमा पर्छ मझेरी । मेरो धेरैभन्दा धेरै लेख तथा रचनाहरू यसै मझेरीमार्फत प्रकाशित भएर पाठकसामु पुगेकोछ । साथै प्रतिकृयाहरू पनि प्राप्त गरेकी छु जसले ममा थप हौसला दिलाएको छ । यसैको माध्यमबाट मैले आफूलाई निखार्न पाएकी छु । धेरै जसो साथीहरूकोबीचमा म मझेरी लेखकको रुपमा परिचित छु । आज जे छु त्यसमा मझेरीको ठूलो हात रहेको कुरालाई नजरान्दाज गर्न सक्दिन ।
मझेरीका मन पर्ने लेखकहरूको नाम लिनु पर्दा कसलाई सम्झिनुहुन्छ ?
म हरसमय अनलाइनको दुनियाँमा हुदाँ मझेरीलाई ओल्टाई-पल्टाई गर्छु । यसका लेखहरूसँग परिचित नभएता पनि रचना वाचन गरेर मज्जा लुट्छु । अब मन पर्ने लेखकभन्दा पनि प्रभावको कुरा गरुँ जस्तो लाग्छ । नढाँटीकन इमान्दारीताका साथ भन्नु पर्दा राजेश रुम्बा लामा ‘अतृप्त’ सरबाट म निकै प्रभावित छु । उहाँको रचनाहरूमा सरल शब्द संयोजन पाउँछु । त्यस्तै तामाङ साहित्यमा पनि कलम चलाउनुहुन्छ । सायद यसको प्रभाव अलि बढी पर्यो । साथमा नन्दलाल आचार्यज्यू, तीर्थ यात्री पौडेलज्यू, ठिस बुढाज्यू, रुमन न्यौपानेज्यू, बुद्धि मोक्तान भाइ, सुषमा मानन्धरज्यू, रामकृष्ण पौडेल अनयाँसज्यू, आचार्य प्रभा दिदी, शरण आँशुज्यू र अन्य धेरै लेखकहरू मेरो मनपर्ने लेखकहरूमा पर्नुहुन्छ ।
यसलाई कसरी अँझ प्रभावकारी बनाउन सकिन्छ?
मझेरी आफैमा उत्कृष्ट छ । साहित्यिक मनहरूको बिसौनी बन्न सफल मझेरीले दिएको यिनै सेवाहरू नै काफी छन् हाललाई । यद्यपि आगामी दिनहरूमा अझ यसलाई प्रभावकारी बनाउन यसमा चारचाँद लगाउन केही कसरत भने पक्कै गर्नुपर्ला । जस्तै मझेरीमा प्रकाशित रचनाहरूको स्तरीयतालाई ख्याल राख्ने, फेसबुकसँग बढी पाठक आवद्ध हुने भएकोले सम्भव भएसम्म सबै लेख रचनालाई फेसबुकबाट सेयर गर्ने, समय अनुकुल यसको भित्तोमा पनि फेरबदल गरिरहने (उपयुक्त अन्दाजमा) । यसो गर्न सकिएमा यसप्रतिको क्रेज (मोह) बढ्ने कुरामा शंकै रहन्न ।
संसारभरि छरिनुभएका लेखक तथा पाठकहरूलाई के सन्देश दिन चाहनुहुन्छ?
जहाँ रहेपनि मझेरीलाई माया गरौं । नेपाली भाषा तथा साहित्यलाई सम्मान एवं माया दिउँ । नेपाली हुनुको परिचय दिउँ । नेपाली हुनुमा गौरव गरौं ।
अन्तमा, केही भन्न चाहनुहुन्छ भने बताइदिनुहोला ।
भन्न बाँकी केही छ जस्तो लागेन । अन्त्यमा भन्नै पर्दा मझेरीले म जस्तो सामान्य व्यक्तिको जुन मुल्याङ्कन गरेर आफ्नो भलाकुसारीमा मलाई समेट्नुभो त्यसको लागि मझेरी परिवार लगायत कुमार सरमा हृदयदेखि आभार प्रकट गर्न चाहन्छु । मझेरीको उत्तर-उत्तर प्रगतिको कामना । देशविदेश छरिएर रहनुभएको सम्पूर्ण लेखक तथा पाठहरूमा नव वर्ष २०१२को हार्दिक मंगलमय शुभकामना ।
बिना तामाङका रचनाहरूको लिस्ट : https://www.majheri.com/taxonomy_vtn/term/1531
बिना तामाङका रचनाहरू (सारांश सहित) : https://www.majheri.com/taxonomy/term/1531


धन्यवाद
-एक श्रष्ट्राको जीवन पढेर लुट्नु सम्मको आत्मासन्तुस्टी बटुले
-धन्यबाद लेखिका बिना तामाङ दिदी अनी उती नै बेला धन्यवाद मझेरी संचालक महोदय मानुभबहरु
-कलम चलिरहनेछन सधैं सधै ,यही कामना गर्दछु
धन्यवाद
लास्सो नमस्ते ।
म त भन्छु बिना तामांग
म त भन्छु बिना तामांग बिद्रोहकी प्रतिमूर्ति,एक सहासी,निडर नारि हुन
उनका रचनाले यसै भन्छ,उनि संग इन्टरनेट संजाल मार्फत चिनजान भएको हो,
उनि रम्नका लागि लेख्छिन
प्रकाशनका लागि जी हजुरी गर्दिनन यो उनको विशेषता हो,उनि यथार्थबादी हुन,
देखेको,भोगेको न लुकाई लेख्नु उनको लेखानिय धर्म हो,हामी यथार्थ बादीहरुले
झुटो प्रसंशामा रम्नु हुदैन,ताली र वाहा वाहा को ,,,,,,,,,आस राख्नु हुन्न भन्ने हेक्का
उनमा छ, नारी भएर श्रीजनालाई समय छुट्याउनु एउटा युद्ध जित्नु जस्तै हो,
बिना जी लाइ लेखानिया सफलताको शुभकामना,
तिर्थ”यात्री’पौडेल
मझेरी भलाकुसारी, अंक १० (बिना तामाङ)
बिनाजीलाई मझेरी भलाकुसारीमा सहभागी भैदिनुभएकोमा धन्यवाद छ ।
बिनाजी मझेरीको नियमित लेखक-पाठक हुनुहुन्छ । गत एक वर्षमा वहाँको लेख-रचनाहरू नियमित रुपमा पढ्ने, सम्पादन गर्ने, र प्रकाशित गर्ने क्रममा वहाँको लेखन परिमार्जित हुँदै गएको महसुस हुन्छ । वहाँलाई आगामी दिनको लेखकीय जीवनको शुभकामना छ !
मझेरी डट कम
बिना तामांग जी लाइ शुभकामना
बिना तामांग जी को ९० भन्दा धेरै रचना मझेरी डट कममा पोस्ट भयको कुरा अन्तर्वार्ता पढेर नै थाहा पाए । वहाको सबै रचना पढ्ने अवसर नपायको भय तापनि लगभग आधा-आधि रचनामा नजर भने पुगेको जस्तो लाग्छ मेरो। भित्रि मन देखि नै भन्नु पर्दा बिना जी को रचना दिन प्रतिदिन उत्कृस्ट बन्दै गयको अनुभूति गरेको छु। आगामी दिनमा पनि मझेरीमा नियमित रुपमा साहित्यका विभिन्न विधाका रचना अरु पढ्न पाउने अपेक्षा राख्दै बिना जी को साहित्यिक सफलताको शुभकामना ब्यक्त गर्दछु।
प्रकाश पौडल माइला
योकोहामा,जापान
nice
nice feelings and words 🙂 🙂
प्रथम त आदरणीय मेडम बिना ज्यु
प्रथम त आदरणीय मेडम बिना ज्यु प्रति हार्दिक आभार ब्यक्त गर्दछु जहाँ आफ्नो मझेरी लेखकहरु मन पर्नेहरुमा मलाई पनि समेट्नु भएकोमा |वास्तबमा भन्ने हो भने उहाँ जस्तोले मेरो लेख रचना मन पराउनु मेरो निम्ति अहोभाग्य हो भन्छु म | किन कि म उहाँहरु भन्दा निक्कै तल नै छु | र उहाँहरु बाट नै सिक्ने क्रममा छु | र यहाँ नि र मैले भन्ने पर्छ बिना मात्र बिना होइन यो समाजका दर्पण हो | जसको कलम बाट यो समाजको रुप देख्न सकिन्छ.यो समाजका हरेक रुप रेखा कोरिन्छ | भौगोलिक रुपले हामी निक्कै टाढा छौं र हामी परिचय समेत राम्रो संग छैनौ तापनि यो हाम्रो प्यारो मझेरी र फेसबुकको देनले नै हामी परिचित छौ र हामी बिचारले नजिक छौ | उहाँको हरेक रचनाहरु रचनाको लागि मात्रै रचना होइन,त्यो रचनाले धेरै र निक्कै गहकिला भाबहरु बोकेको पाउछु | उहाको आख्यान लेखनले साँच्चै बिना यौटा स्थिपित कथाकार नै झैं जो कसैलाई पनि भान हुन्छ |
अन्त्यमा उहाँको यो लेखन यात्रा कहिले पनि नारोकियोस र उहाँको अबको लेखन कार्य अझ ससक्त बनेर आयोस मेरो शुभकामना | साथै यहाँ उहाको अन्तरबार्ता बाट थाहा पाई अनुसार उहाँले कथा संग्रह निक्कल्दै हुनुहुँदो रहिछ अग्रिम बधाई र हार्दिक शुभकामना पनि |
साथै एक स्रस्टाको बिसयमा यति बिक्न जान्ने मौका दिनु भाकोमा प्यारो मझेरिलाई र्हिदय देखि नै धन्यवाद |
rajesh rumba lama “atript”
स्निग्ध, सुमधुर,सुन्दर भावना
स्निग्ध, सुमधुर,सुन्दर भावना अनि शब्दहरुकी धनी साहित्यकार बिना तामांग सितको भलाकुसारी पढ्न पाउँदा खुशी लाग्यो / वहाँको समुन्नत सर्जकीय जीवन पद्धतीको निरन्तरताको कामनाका साथ वहाँलाई र साहित्यिक भलाकुसारी प्रकाशनार्थ मझेरीलाई बधाई ज्ञापन गर्दछु /
शरण आँसु
राजेश सर,तीर्थ यात्री सर,शरण आँशु सर,प्रकाश ज्यू,बुद्दि
सर्वप्रथम त मझेरीलाई हृदयदेखिनै आभारानि न्यानो माया।त्यस्तै कुमार सरप्रति कृतज्ञका शब्दहरु अर्पित गर्न चाहन्छु म जस्तो सामान्य अनि भर्खरै साहित्य जगतमा बामे सर्दै गरेको साहित्य अनुरागीलाई यो भलाकुशारीमा समेटनु भएकोमा।त्यस्तै प्रतिकृया दिई हौसला बढाउनु हुने राजेश सर,तीर्थ यात्री सर,शरण आँशु सर,प्रकाश ज्यू,बुद्दि मोक्तान भाईलाई पनि हार्दिक धन्यवाद।
badai
didee good job..i m impressed from u …
tnx.. bhai sailesh
tnxx bhai sailesh 4 ur sweet comment
Majheri.com lai haardik
Majheri.com lai haardik dhanyebaad dedai Bina nana lai pani dhanyebaad dina chahanchu. Aafno bhasa, kala ra saskriti ani sahitya lekhan yatra bare bistrit jaankariko nimti hridaye dekhinai dhanyebaad dina chahanchu. Hami jasta pathak harulai dherai ramra ramra sahityik khurak haru paskane garnu huncha. Yo hamro lagi khusi ko kura ho. Yahako lekhan yatra nirantar rahi rahos subhakamana mero.
roshan bhailaaaaai tnx..
धन्यवाद आले हजुरलाई पनि सुन्दर अनि शालिन प्रतिकृयाको लागि।पक्कै पनि आगामी दिनहरुमा मेरो सकृयता रहनेछ लेखनमा।